आङ खस्ने समस्याको रोकथाम तथा उपचार

- डा. सुमनराज ताम्राकार

असार २६, २०७६

 

स्त्रीरोगको बहिरङ विभागमा आउने बिरामीहरूमा महिनावारीको गडबडीपछि दोस्रो ठूलो समस्या आङ खस्ने नै हुन्छ । पाठेघर स्थिर अङ्ग होइन, यो केही मात्रामा चलायमान हुन्छ । पाठेघरलाई यथास्थानमा राख्न विभिन्न प्रकारका बाक्ला तन्तु (लिगामेन्ट) ले टेवा दिएका हुन्छन् । पाठेघर वा योनिको माथिल्लो भागले ठाउँ छाडी तल सर्ने/खस्ने समस्यालाई बोलीचालीको भाषामा आङ खस्नु भनिन्छ ।

समस्याका प्रकार

आङ खस्ने समस्यालाई चार प्रकारमा बाँडिएको छ । 

पहिलो : पाठेघर तल झर्ने क्रममा पाठेघरको बाह्य मुख इस्चियम (पुठ्ठाका हड्डीहरूमध्ये एक) को एउटा चुच्चोसम्म आइपुग्छ ।

दोस्रो : पाठेघरको बाह्य मुख योनिद्वारसम्म आइपुग्छ ।

तेस्रो : पाठेघर योनिद्वारभन्दा बाहिर निस्कन्छ ।

चौथो : पाठेघर पूर्ण रूपमा बाहिर निस्कनुका साथै योनिद्वारको माथिल्लो भाग पनि उल्टिएर बाहिरिन्छ ।

आङ किन खस्छ ?

खासगरी पाठेघरलाई टेवा दिने तन्तुहरूमा कमजोरी देखिंदा आङ खस्छ । सुत्केरी व्यथामा पाठेघरको मुख पूर्ण रूपमा खुल्नुअगावै व्यथा लागेकी महिलालाई कन्न (बल गर्न) लगाए, पेट थिचे गरे, पहिलो पटक शिशु जन्माउँदा योनिद्वार ठूलो पार्ने घाउ (इपिजिओटोमी) नबनाए, सुत्केरी व्यथाका क्रममा च्यातिएको घाउ राम्रोसँग नसिलाए, सुत्केरीपश्चात् यथेष्ट आराम नगरे, गर्‍हुँगो काम वा भारी उठाउन थाले, यथेष्ट जन्मान्तर नराखे, लामो र कष्टपूर्ण व्यथा लागे आङ खस्ने समस्या देखा पर्न सक्छ ।

कसै–कसैमा पाठेघरलाई टेवा दिने तन्तुहरू जन्मजात रूपमै कमजोर हुन्छन् । शिशु नजन्माएका महिला वा सहजै सुत्केरी व्यथा भएका महिलामा पनि आङ खस्नुको कारण यही हो । यसका अतिरिक्त ढल्कँदो उमेरमा महिनावारी सुकिसकेपछि इस्ट्रोजेन नामक हार्मोनको अभावमा पाठेघर वरिपरिका तन्तुहरू कमजोर भए, पाठेघरमा ठूलो मासु पलाए, लामो समयदेखिको धूम्रपानबाट दम खोकी लागे तथा कब्जियतका बिरामीमा पेटभित्र पटक–पटक बढी बल गर्दा पनि आङ खस्ने समस्या सिर्जना हुनसक्छ ।

नेपालको परिप्रेक्ष्यमा भौगोलिक वातावरण (घाँस दाउरा पानी पँधेराका लागि उकाली–ओराली गर्नुपर्ने), महिलाहरूले धूम्रपान गर्ने वा धूवाँरहित चुलो प्रयोग नगर्ने, महिलाको दयनीय पोषण स्थिति तथा रक्तअल्पता, बुहारीले (सुत्केरी नै भए पनि) घरायसी कामकाज गर्नुपर्ने तथा छोटो–छोटो अन्तरालमै धेरै शिशु जन्माउँदा पनि आङ खस्ने समस्या देखा पर्न सक्छ । आङ (पाठेघर) खस्ने समस्यासँगै अगाडिपट्टिको पिसाब थैली र पछाडिपट्टि आन्द्रा तथा मलद्वार पनि झोल्लिन सक्छ ।

आङ खस्ने समस्याको लक्षण 

बिरामीले योनिद्वारबाट केही बाहिर निस्किएको अनुभव गर्नुका साथै ढाड दुख्ने, अत्यधिक सेतो पानी बग्ने, हल्का रगत मिसिएको योनिश्राव हुने, पिसाब थैली झोल्लिएको छ भने पिसाब फेर्न गार्‍हो हुने, पिसाब पूरै ननिख्रने, पिसाब छिटो–छिटो फेर्न मन लाग्ने, पिसाब छुट्ने, पिसाब पोल्ने तथा मलद्वार झोल्लिएको छ भने दिसा गर्न गार्‍हो हुन सक्छ । शारीरिक जाँचका क्रममा पिसाब थैली तथा मलद्वार झोल्लिएको प्रस्ट देखिन्छ भने दोस्रो प्रकारको आङ खस्ने समस्या आन्तरिक परीक्षणबाट पत्ता लगाउन सकिन्छ ।

आङ खस्ने समस्याको रोकथाम तथा उपचार

आङ खस्ने समस्याको प्रमुख कारण पटक–पटकको गर्भसँग सम्बन्धित भएकाले गर्भावस्थामा पोषण, सरसफाइ तथा शारीरिक अभ्यास, सुत्केरी व्यथाका बेला चाँडै कन्न नलगाउने, लामो र कष्टपूर्ण व्यथा हुन नदिने तथा आवश्यकताअनुसार योनिद्वार यथेष्ट बनाउने (इपिजियोटोमी) वा शल्यक्रियामार्फत् सुत्केरीपश्चात् आराम गराउने तथा योनिद्वार र मलद्वार वरिपरिको मासु कसिलो बनाउने अभ्यासहरू गरे आङ खस्ने समस्याबाट जोगिन सकिन्छ । दोस्रो प्रकारको आङ खस्ने समस्याको उफचार शल्यक्रियाबिना नै गर्न सकिन्छ । यसका अतिरित्त अवस्था हेरी चुरा (रिङ्ग पेसरी) लगाउन सकिन्छ । गर्भवती तथा सुत्केरी महिला, शल्यक्रिया गर्न योग्य नभएका महिला, शल्यक्रिया पर्खिन्जेल तथा बिरामीको चाहनाबमोजिम चुरा लगाइदिन सकिन्छ ।

तेस्रो एवं चौथो प्रकारका आङ खस्ने समस्या भएका महिला तथा महिनावारी सुकिसकेकामा योनिद्वारबाट पाठेघर निकाल्ने शल्यक्रिया गर्न सकिन्छ । कतिपय अवस्थामा पेटमा घाउ बनाई पाठेघर निकाल्ने शल्यक्रियाको विकल्प स्वरुप योनिद्वारबाटै पाठेघर निकाल्न सकिन्छ ।

प्रकाशित :असार २६, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्