गलामा गलबन्दी

- किशोर नेपाल

असार २६, २०७६

 

उहिलेको गीत थियो मदनकृष्णको स्वरमा, ‘तिमी मेरी राधा, म तिम्रो घनश्याम ।’

अहिलेको गीत छ, बबालको । हरेक मानिसको गलामा गलबन्दी छ । प्रकाश सपूतको स्वरमा ‘गलबन्दी च्यातियो, तिमीले तानेर ।’

दुवै गीत रोचक छन् । मदनको स्वर, ऊ जमानाका लागि । सपूतको स्वर, यो जमानाका लागि । सपूतको गीत अलिकति विवादमा तानियो । एक जना ‘सिनियर’ संगीतकर्मीले सपूतमाथि नमीठो आरोप लगाए  : उसले मेरो लय कपि गर्‍यो । प्रकारान्तरमा भन्दा लयको चोरी गर्‍यो । पहाडको कुनै एउटा खोलामा गाईको कोरली बाच्छी पानी पिउँदै थिइन् । त्यसको अलिकति तल पानी पिइरहेको चितुवाले उनलाई देख्यो । ऊ लोभियो । उसले बाच्छीलाई आफनो नजिक बोलाएर सोध्यो, ‘मैले पिउने पानी किन धमिलो पारेकी ?’

बाच्छीले कुरा बुझिन् र ठाडो पुच्छर लाएर भागिन् त्यहाँबाट ।

सपूतको भाग्ने ठाउँ थिएन । सामाखुसीको पाखामा हाँसीखुसी बस्दै आएका प्रकाश कहाँ जाऊन् भागेर ? संगीतको संसारमा भर्खरै गति लिन लागेको एउटा संगीत सर्जक, आकर्षक प्रस्तोतालाई सिनियर संगीतकर्मीको आरोपले बिरामी नै पार्‍यो । संगीतको संसारमा चम्किन थालेको एउटा गायकको मुड खराब भयो भने त्यसको परिणाम के हुन्छ ? आश्चर्यको कुरा पश्चिम नेपालका यी तन्नेरी गायकले पूर्वका सिनियर संगीतकर्मीको लय कसरी चोरे, के साइनोले चोरे ? यो त अति नै ‘जेपीटी’ आरोप भएन र ? लौ सपूतले त चोरे चोरे । सिनियर संगीतकर्मी महाशयले चाहिं त्यसलाई कहाँबाट उठाउनुभयो ? आखिर लोकलय त लोकको आफ्नै लय हुन्छ । यसको पूर्वाधिकारी र उत्तराधिकारी कोही हुँदैन ।

जस्तो मैले लेखिरहेको यी अक्षरका बारे कसैले आएर आफ्नो कपीराइटको दाबी गर्‍यो भने म के गर्न सक्छु र ? ‘हो, मलाई त थाहै थिएन । यो तपाईंको प्रोडक्ट रहेछ’ भनेर लेख्थें र त्यहाँबाट भाग्थें । मुजुरा चढेका मानिससँग धेरै वादविवाद गर्नु हुँदैन । सपूत भागेनन् । सिनियरले मुद्दा हालेपछि त्यसको फेस गरे । त्यसपछि सम्झौता गरे, ‘भैगो, लय तपाईंकै भयो, मलाई गाउन दिनुहोस ।’ सुन्ने मानिस हाँसेर लज्जित भए । गलबन्दीमा देउसीको लय परेको रहेछ । मान्नैपर्‍यो, किनभने प्रकाशले मानिसके ।

गलबन्दी प्रामाणिक हिसाबले नै पपुलर छ । लोकलयमा खासै रुचि नभएका श्रोताले पनि गलबन्दी मन पराएका छन् । ओहो ! गलबन्दी त साँच्चै राम्रो रहेछ भन्ने प्रतिक्रिया आएको छ । गीत वैदेशिक रोजगारको छायाँमा तयार पारिएको छ । गीतको प्रारम्भ र समाप्ति निकै दुःखद र संवेदनशील छ । लोकगीत र संगीतमा वैदेशिक रोजगारीका दुःखद पक्षको प्रतिविम्ब अनौठो कुरा पनि होइन । जुन देशको घर खर्चको ठूलो हिस्सा वैदेशिक रोजगारीमा पूर्णतः निर्भर छ त्यो देशको लोकलयमा वैदेशिक रोजगारीका तस्बिर प्रतिविम्बित हुनु स्वभाविक हो । 

बाहिरबाट हेर्दा वैदेशिक रोजगारी जति आकर्षक देखिन्छ भित्रबाट त्यो उति नै कुरूप छ । विदेशमा काम गर्नेलाई कति बेला कफिनमा चढाएर फर्काइने हो : यो नै हो मुख्य त्रासदी ।

यता गलबन्दीको सन्दर्भमा चाहिं ‘सिनियर’ शम्भु राईले ‘जुनियर’ प्रकाश सपूतलाई थकाएर छाडे । सिनियरसँग सम्झौता भएको भोलिपल्ट उनले बताए, ‘यो विवाद मेरा लागि अनावश्यक तनावका रूपमा आयो । बितेका केही दिन मैले केही गर्न सकिनँ । कुनै सिर्जनामा ध्यान गएन । मेरा कारणले अरूको चित्त दुखोस्, म त्यस्तो चाहन्नथे । यस्तो मुद्दा–मामिलाका बारे पनि मलाई केही थाहा थिएन । अहिले पो थाहा भयो कानुन त आफैं कन्फ्युज रहेछ । यहाँ त कोही सर्जक सुरक्षित रहेनछन् । जे होस्, मैले आफ्ना आदरणीय सिनियरको चित्त दुखाउने होइन, चित्त बुझाउने मौका पाएँ । यो नै राम्रो कुरा हो मेरा लागि ।’

गलबन्दी विवादमा केही व्यक्तिले जातीय दुर्गन्ध फैलाउने प्रयत्न पनि नगरेका होइनन् । खुसीको कुरा– श्रोताहरूले यसलाई रिजेक्ट गरे । मानिस–मानिसका बीच जातीय भेदभावको तगारो हाल्नेहरू न सिनियरका मानिस हुन्, न जुनियरका । उनीहरू उपद्र्याहा हुन् जो सामाजिक तन्तु भत्काएर आनन्द लिन चाहन्छन् ।

 

प्रकाशित :असार २६, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्