हामीकहाँ  गल्तीबाट सिकिँदैन

- जनक तिमिल्सिना

असार २४, २०७६

सूर्य कार्कीले चीनको तासिङहुवा युनिभर्सिटीबाट म्यानेजमेन्ट अफ इकोनोमिक एन्ड बिजनेसमा मास्टर्स गरेका छन् । उनले अमेरिकाको कलेज अफ एटलान्टाबाट सस्टेनेबल बिजनेस एवं डेभलपमेन्ट इकोनोमिक्समा ब्याचलर गरेका हुन् । संखुवासभाका २८ वर्षीय कार्कीलाई फोर्ब्स म्यागजिनले २०१७ मा सोसल इन्टरप्रेनर युवाहरूमध्ये एसियाका उत्कृष्ट ३० मा राखेको थियो । उनले विश्वकै सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकको कम्युनिटी लिडरसिप कार्यक्रमअन्तर्गत ५० हजार अमेरिकी डलरको फेसबुक कम्युनिटी फेलोसमेत प्राप्त गरेका थिए, जसबाट प्रदेश नम्बर १ का स्कुलका लागि १ सयवटा कम्प्युटर ल्याब तयार हुँदैछन् । कार्की युनाइटेड वर्ल्ड स्कुल, नेपाल तथा दियालो फाउन्डेसनका संस्थापक एवं निर्देशक समेत हुन् । कार्की आबद्ध संस्थाले २९ वटा सामुदायिक विद्यालयको व्यवस्थापन हेरिरहेको छ । पहिलो विश्वका देशहरूको शिक्षा प्रणाली एवं नेपालको शिक्षा प्रणालीलाई नजिकबाट नियालेका कार्कीसँग साप्ताहिकका लागि जनक तिमिल्सिना गरेको कुराकानी :

अहिलेको नेपालको शिक्षा प्रणालीलाई कसरी हेर्नहुन्छ ? 

यो घोकन्ते विद्या हो । हाम्रो देशमा अचम्मको शिक्षा प्रणाली छ, स्कुल गए पनि नगए पनि पास हुने यो कस्तो शिक्षा हो ? आधारभूत तहदेखिको कुरा गर्ने हो भने बालबालिका इसिडी कक्षामा छिर्छन्, नेपाल सरकारको एकमात्र कक्षा हो यो, जसमा एक कक्षाअघि बालबालिकाहरू त्यहाँ एक वर्ष बिताउँछन् । त्यसपछि एक, दुई, तीन, चार–नयाँ प्रणालीअनुसार फेल हुने व्यवस्था छैन । हो, फेल हुनु हुँदैन तर बेस नै नराम्रो भएपछि बालबालिकाले सिक्दै सिक्दैनन्, कक्षा चढेको चढ्यै मात्र गर्छन् । राम्रो पढ्यो कि पढेन शिक्षकले भनिदिँदैनन्, त्यसपछि उसले आधीबाटोसम्म मात्र पढ्छ । अहिले प्राइमरी स्कुलमा आधीबाटो भनेको कक्षा ४ हो । उसले कक्षा ४ मा स्कुल छाडिसक्छ, किनभने उसलाई कक्षा मात्र चढाइन्छ, अनि केही सिक्ने वातावरण पनि हुँदैन । घर र स्कुल दुवैतिर पढाइको वातावरण नभएपछि उसले स्कुल छोड्छ । 

विदेशको शिक्षाको अवस्था पनि हेर्नुभएको छ, त्यहाँ कसरी पढाइँदो रहेछ ? 

विदेशमा कक्षा ३ सम्मलाई प्राइमरी भनिन्छ । उनीहरूको शिक्षालाई गुणस्तरीय भन्न नमिल्ला तर सफल त उनीहरू नै छन् । नर्सरी, एलकेजी, युकेजी पढाइनुको केही कारण छ, अहिले हाम्रोमा तीन वर्ष पुगेका शिशुलाई स्कुलमा लगेर छोड्ने चलन छ । त्यो भनेको नर्सरी हो । नर्सरीमा बालबालिकाहरू लडीबुडी गर्छन्, कार्टुन हेर्छन्, लेगोस भन्ने बनाउने चिजसँग खेल्छन्, त्यसपश्चात् उनीहरू एलकेजीमा जान्छन् । एलकेजीमा बिस्तारै स्कुल के हो भन्ने सिक्छन्, त्यो नर्सरीजस्तै पनि हुन्छ, धेरै प्रेसर पनि हुँदैन । 

 

नेपालमा त्यस्तो प्रणाली किन लागू हुन नसकेको होला ? 

हो, यस्तो प्रकारको प्रणाली लागू गर्दा सरकारलाई आर्थिक भार पर्छ, किनभने जनशक्ति र सामग्री त्यहीअनुसार लाग्छ । जबकि अहिले नै हाम्रो देशमा शैक्षिक सामग्री कम छन् । एउटा स्कुललाई बर्सेनि १५ हजार मसलन्द खर्च दिइन्छ र त्यही पैसाले पूरै स्कुल चला भनिन्छ । त्यो रकममा यो प्रणाली लागू गर्न सकिँदैन ।  

यो प्रणाली लागू गर्ने उपाय के–के हुन सक्छन् ? 

सजिलो छ, हामीले गरिसकेका छौं । हामीले नर्सरी, एलकेजी र युकेजी त चलाउदैनौं तर नर्सरी र युकेजी चलाउँछौं । हामीले व्यवस्थापन गरिरहेका २९ वटा स्कुलमा यस्तो व्यवस्था छ । गुल्मीको एउटा स्कुलमा हामीले गरेको देखेर नगरपालिकाले हाम्रो प्राविधिक सहयोगमा सबै स्कुलमा यस्तो व्यवस्था लागू गरेको छ । स्थानीय सरकारहरूले चाहे स्कुलहरूमा समेत यस्तो व्यवस्था लागू गर्न सक्छन् । हामी उहाँहरूलाई प्रणाली सिकाइदिन्छौं, के–कस्तो तयारी गर्नुपर्छ पनि भनिदिन्छौं । दुईवटा इसिडी टिचर चाहिन्छ पनि भनिदिन्छौं, दोस्रो इसिडी टिचरलाई अलि बढी तालिम दिनुपर्छ किनभने उनीहरूले बालबालिकाहरूलाई एक कक्षाका लागि तयार पार्छन् । त्यो तीनवटै तहका बालबालिकालाई सम्हाल्न ४ हजार रुपैयाँ दिएर राखिएको एउटै शिक्षकले सक्दैनन् । 

भनेपछि हाम्रो शैक्षिक ओरेन्टेसन आधारभूत तहदेखि नै गलत बाटोमा छ ? 

यसमा दुईमत छैन । हाम्रो शैक्षिक ओरेन्टेसन, शैक्षिक प्रणाली, वातावरणदेखि सबै कुरा तलैदेखि बिग्रिएको छ । एलएलसीसम्म पुग्ने बालबालिका त फिल्टर भएर आएका हुन् । १ सय जना बालबालिका सामुदायिक विद्यालयमा १ कक्षामा छिरेपछि कक्षा ११ सम्म पुग्दा ३८ जनामात्र बाँकी रहन्छन् । यस विषयमा कहिल्यै बहस हुँदैन । बाँकी भएका ६२ जना बच्चा कहाँ गए त ? मिलिनियम डेभलपमेन्ट गोलमा हामीले ९६ दशमलव ६ प्रतिशत बालबालिका स्कुलमा छन् भनेर रिपोर्टिड गरेका छौं । बाहिरबाट हेर्ने राष्ट्रसंघ नै चकित भए पनि भिक्र गुदी खोत्रो छ ।

 

ती सबै विद्यार्थीलाई निरन्तर स्कुलमै राखिरहन के गर्नुपर्ला ? 

सजिलो छ, एउटा बच्चा किन विद्यालय जान्छ ? प्रश्न उठाउनुपर्छ । एक कक्षाको वातावरणले चार कक्षासम्म पुग्छ कि पुग्दैन भन्ने कुरा जनाउँछ । बालबालिकाको स्कुलको पहिलो पाइला शिशु कक्षा हो, शिशु कक्षाकै अवस्था गज्याङगुजुङ छ भने चार कक्षामा पुग्दा उसले इरिटेट भएर स्कुल नै छाड्छ । स्कुलमा सामग्री हुँदैन, नजिकका अलि आर्थिक भार बोक्न सक्ने साथीहरूलाई हेर्छ, ऊ प्राइभेट स्कुल गैरहेको हुन्छ उसको लवाइखवाइ र ओरेन्टेसन नै फरक हुन्छ । स्कुलमा पनि रटाएर पढाइन्छ, क्लासरुम चिटिक्कको हुन्छ । अधिकांश सरकारी स्कुलमा अँध्यारा र गोबरले लिपिएका कक्षाकोठा हुन्छन् । म त भन्छु सरकारले सक्ने हो भने ५० वर्ष कटेका भएभरका सरकारी शिक्षकलाई अवकाश दिनुपर्छ । उहाँहरूले गर्न सक्ने गरिसक्नुभयो । अब गाह्रो हुँदै जान्छ, त्यसैले समयमै धन्यवाद दिऊँ । त्यो ठाउँमा सबै उत्साही युवाहरूलाई भर्ना गरौं । सर्वोच्च अदालत र संसद मिलेर यस्तो नियम बनाउनुपर्छ कि जहाँ ५० कटेका सबै शिक्षकलाई अवकाश दिन सकियोस्, बरु एक हप्ताका लागि सबै स्कुल बन्द गरौ । त्यो गर्नुभन्दा पहिले यस्ता खालका सबै स्टेप तयार गरौं, जहाँ शिक्षकका गुण के हुने, उनले के–के गर्न सक्नुपर्छ निर्धारण गरौं ।

५० माथिका सबैलाई निकालेर नयाँ भर्ती गर्न सक्ने जनशक्ति हामीसँग छ त ? 

छ जस्तो लाग्छ, नेपालका युवाहरूलाई हेर्नुहोस् न । हामीले एउटा फेलोसिप कार्यक्रम सुरु गरेका छौं, जसमा नेपालभरबाट १० देखि १५ जना युवा छानेर दुई वर्षका लागि स्कुलमा पठाउँछौं । उहाँहरूले गरेको काम र हाम्रा विद्यालयमा भएका शिक्षकहरूले गरेको काम फरक देखिन्छ । हामीले खोजेका युवा शिक्षकहरूले स्कुललाई नै परिवर्तन गरेका छन् । अहिले हामीले व्यवस्थापन गरेका स्कुलमा विद्यार्थीले तीन कक्षामै अंग्रेजीमा लेख्न थाल्छन्, अंग्रेजीमै अलिअलि पढ्न थालिसकेका छन् र उनीहरू अंग्रेजीमै बोल्छन् । त्यो सम्भव छ, त्यो हाम्रा सरकारी शिक्षकहरूसँग मिलेर भएको काम हो । हामीले उहाँहरूलाई सम्भव छ भनेर देखाएका छौं तर, नेपालका सामुदायिक स्कुलका शिक्षकहरूले हार मानिसकेका छन् किन भने त्यहाँ मोटिभेसन छैन । 

किन सरकारी शिक्षकहरूलाई मोटिभेनसन नभएको ? 

मसलन्द खर्च १५ हजार छ, त्यसबाट तपार्इंले सिकाउन के–कस्ता सामग्री किन्नुहुन्छ ? सेतो बोर्ड र मार्करमा मात्र उसलाई पनि बोर हुन्छ नि ! शिक्षक पनि विद्यार्थीलाई राम्रो सिकाउँछु भनेर आएको हुन्छ, तर राम्रो सिकाउन राम्रा–उपयोगी सामग्रीहरू चाहिन्छ । शिक्षकलार्ई पढाउन सामग्री चाहिन्छ, बच्चालाई सिक्न सामग्री चाहिन्छ । बच्चालाई फराकिलो तरिकाले विकास गर्न फराकिलो बजेट चाहिन्छ ।  विदेशमा बालबालिकाहरूलाई यस्ता सामग्री कति प्रदान गरिन्छ–गरिन्छ । यसले एक ठाउँमा उसले राम्रो गर्न सकेन भने अर्को ठाउँमा राम्रो गर्न सक्छ, पढाइमा राम्रो गर्न नसक्नेले खेलमा राम्रो गर्छ । खेल मैदान राम्रो बनाइदिऊँ । अहिले हाम्रा सरकारी स्कुल भनेका चप्पल चुँडिएका, पाइन्ट फाटेका र अत्यधिक मैलो सर्ट लगाएर आउने बालबालिका जाने स्कुल हो भन्नेछ । सामुदायिक स्कुलमा सेतो सर्ट र नीलो पाइन्ट लगाएका शिक्षक मस्तसँग क्लासमा बस्छन्, १० मिनेट ढिलो आउँछन्, क्लासमा पढाउने वातावरण नै हुँदैन । 

प्रसंग बदलौं, ११ र १२ कक्षाको शिक्षालाई चाहिँ कसरी हेर्नुभएको छ ? 

त्यो पनि काम नलाग्ने नै छ । जतिसुकै जेसुकै भनून्, डाक्टर–इन्जिनियर प्रोडक्सन गरेको छ भन्छन् । सबै डाक्टर र इन्जिनियर त भएका छैनन् नि ? हरेक वर्ष एउटा विद्यालयबाट औसत ३८ जना उत्पादन हुन्छन् भने ती सबै डाक्टर–इन्जिनियर भएका छन् र ? 

विदेशतिर कक्षा ११ र १२ को एजुकेसन कुन प्रणालीअन्तर्गत चलाइएको हुन्छ ? 

बालबालिकाहरूले कहिल्यै ११ र १२ मा पुगेर म डाक्टर, इन्जिनियर, इकोनोमिस्ट बन्छु भनेर सोचेका हुँदैनन् । दिमागमा लिएको हुन सक्छ तर यहाँ त त्यहाँ पुगेर निर्णय नै गर्नुपर्छ । त्यो निर्णय परिवार र सामाजिक प्रेसरका आधारमा गरिन्छ । प्रायः विकसित देशमा एउटा विद्यार्थीले स्वतः निर्णय गर्न सक्ने प्रणाली छ । विश्वविद्यालयमा पढ्न सजिलो होस् भनेर उसलाई ११ र १२ कक्षामा सबै थोक चाख्न दिइन्छ । म्यानेजमेन्ट, साइन्स, इकोनोमिक्स, आर्ट सबै पढ्न दिइन्छ, दुईवटा भाषा पढ्न दिइन्छ । हाम्रो सरकारी तथा सामुदायिक विद्यालयबाट निस्किएका विद्यार्थीहरू कक्षा ११ र १२ मा अंग्रेजीमा पढ्न सक्दैनन् । त्यसैले जहाँ नेपालीमा पढाइ हुन्छ, त्यहीं गएर पढ्छन् । 

भनेपछि, भाषिक र आधारभूत शिक्षामा रहेको असक्षमताकै कारण सरकारी तथा सामुदायिक विद्यालयका धेरै विद्यार्थी साइन्स, म्यानेजमेन्टजस्ता विषय पढ्ने कुरा सोच्न सक्दैनन् ? 

हो, एउटा सरकारी स्कुलबाट कति जना डाक्टर पढ्न जाँदा रहेछन् भनेर प्रश्न सोध्नुपर्‍यो । मलाई जहाँसम्म लाग्छ एकदमै न्यून छ । कतिपय सन्दर्भमा बाध्यतावश शिक्षा, आर्ट्स वा म्यानेजमेन्ट पढ्नुपर्छ । हाम्रो ११ र १२ को कक्षा संकुचित छ । मैले संकुचित भन्नुको अर्थ एउटै बाकसमा ल्याएर राखिएको भन्ने होइन । मैले भनेको सबैलाई बाकस, बाकसमा राखिएको छ । 

कक्षा ११ र १२ मै विज्ञान, व्यवस्थापन, मानविकीजस्ता शाखा छुट्याइएका छन् । त्यसरी छुट्याउन आवश्यक छ कि छैन ? 

यसलाई हटाइदिनुहोस् । यो छुट्याउनु आवश्यक छ, तर छात्रछात्राले एउटा मात्र छान्नुपर्छ भन्ने हटाइदिनुहोस् अनि परिवर्तन हेर्नुहोस ।   हाम्रो नेपालको पाठ्यक्रम परिवर्तन गरौं, परिमार्जन गरौं जसमा एउटा बच्चाले विज्ञान, मानविकी, भाषा, व्यवस्थापनमध्ये आफू विकास हुन चाहिने कुरा पढ्नैपर्छ भन्ने बाध्यता राखिदिऊँ । किनभने १२ पढ्नेबित्तिकै कोही स्पेसलाइज भएर निस्कँदैन । पछि गएर स्नातकमा फेरि पढ्नैपर्छ । बरु ११ र १२ मा उसलाई सबै कुरा चाख्न दिऊँ । चाख्न नदिई मःम मन पर्छ कि छोइला भन्ने कुरा कसरी थाहा हुन्छ ? १० कक्षा पास गरेको विद्यार्थीलाई म डाक्टर हुन्छु भन्ने कुरा कसरी थाहा हुन्छ ? अहिलेसम्म डाक्टर भएका मान्छेलाई त डाक्टर बन्छु भन्ने थाहा छैन भने त्यसबाट त हामीले केही सिक्नुपर्‍यो नि । मलाई अचम्म लाग्छ, हामीकहाँ गल्तीबाट सिकिँदैन, अझ अर्को गल्ती गरिन्छ । गल्तीलाई गल्तीले छोपिन्छ ।

 

सरकारले १२ नसकी विदेश जान नदिने नीति ल्यायो नि ? कसरी हेर्नुभएको छ ? 

म आफ्नो सन्तानलाई राम्रो शिक्षा दिन चाहन्छु, किन पढाउन नपाउने ? समस्यामाथि समस्या थपिदिने ? पहिले हाम्रो ११ र १२ को शिक्षालाई राम्रो बनाऊँ, त्यसपछि विदेश जान नदिऊँ । ११ र १२ को शिक्षा गएगुज्रेको छ अनि केही थोरै विदेशमा छात्रवृत्तिमा पढ्न जान सक्ने बालबालिकालाई पनि यहीं रोकेर राखेको छ । यो निर्णय केही सोचेर लिइएको होला, तर गलत छ । पहिले हामीसँग भएको चीजलाई राम्रो बनाऊँ, त्यसपछि बालबालिकाहरू यहींको शिक्षामा आकर्षित हुन्छन् । त्यसपछि मात्र विदेश जान दिन बन्द गरौं ।

ग्रेडिङअनुसार विषय छान्न पाउने व्यवस्था गरिएको छ, त्यो ठीक छ कि बेठीक ? 

यो बेठीक हो । यो हामीले आधारभूत तहमा गरेको गल्तीको प्रतिफल हो । हामीले समस्यालाई टार्‍यौं, त्यो समस्याले अर्को समस्या निम्त्यायो । सरकारी विद्यालयका विद्यार्थीहरूको के आउँछ ? सी आउँछ, बी आउँछ, एकदमै थोरैको अथवा ८ कक्षासम्म बोर्डिड पढेर सरकारी विद्यालयमा छिरेको छ भने ए आउला जसले जिन्दगीभरि सरकारी स्कुलमा पढ्यो, जो गरिब छ, जसको अभिभावकको आर्थिक अवस्था राम्रो छैन, जसले ८ कक्षासम्म प्राइभेटमा पढेन उसको भविष्य त अन्धकार नै भयो, उसलाई डाक्टर बन्न मन थियो होला । अहिले ग्रेडिङ प्रणालीअनुसार विज्ञान पढ्न पाउने/नपाउने जुन नियम छ, त्यसमा त्यो सी ल्याउने यदि जेहेन्दार नै थियो भने पनि उसले अवसर पाउँदैन । उसले त्यो अवसर नपाउनुमा ऊ आफैं मात्र त दोषी होइन, सरकार दोषी हो । सरकार किन दोषी हो भने सरकारले पालेको शिक्षकले राम्रो काम गरेन, त्यसैले उसले सी ग्रेड पायो । हो, उसको अभिभावक दोषी छ, तर अभिभावकको घरमा वातावरण मिलाउने, चेतना दिने काम सरकार र स्कुलको हो । 

कुना–कन्दाराका विद्यार्थीहरूलाई मूलप्रवाहमा ल्याउन के गर्नुपर्ला ? 

कुना कन्दराका एउटा विद्यार्थी पनि डाक्टर बनेर निस्कँदैनन् । ८१ प्रतिशत जनसंख्या त कुना–कन्दरामा बस्छ, त्यो भनेको धेरै ठूलो हो । चार जना बच्चाको नाम लिएर तपार्इंले कुना–कन्दराका बालबालिका पनि डाक्टर बन्न सक्छन् भनेर हुन्छ ? यसलाई परिवर्तन गर्न सजिलो छ, तर त्यसका लागि आधारभूत तहबाटै काम गर्नुपर्छ । अस्ति बजेट भाषण भयो, शिक्षामा खासै लगानी बढेको देखिनँ । लगानी बढाउनुपर्छ भनेको होइन, सिस्टमलाई इफिसेन्स बनाउनुहोस् । हाम्रो देशमा १ किलोमिटर सडक बनाउन करोडौं खर्च हुन्छ, त्यसमा इफिसेन्सी बढाउने त केही उपाय होला नि । सरकारले आफैं गर्ने हो कि ठेक्का नखुलाउने हो कि ? शिक्षामा पनि त्यस्तै हो । नचाहिने काम काट्दै जानु भनेको तलदेखि काट्दै आउनु हो । बेसमा लगानी राम्रो गरियो भने माथि त त्यति लगानी गर्नै पर्दैन । 

 

किन यस्तो भएको ? 

हाम्रो देशको नीति बनाउनेहरूले ११ र १२ को सबै समस्या समाधान गरियो भने तल पनि समाधान हुन्छ भन्ने सोच्नुभएको छ । त्यो हुनै सक्दैन । बालबालिकाहरूलाई तलैदेखि खुला छाडियो भने माथि आउँदा उसको सोच पनि खुला हुन्छ । १० कक्षामा आएर मात्र फोसक गरेर त हुँदैनन् । हाम्रो छिमेकी चीनकै हेरौं न, त्यहाँ ११ र १२ मा यही बन्छु भनेर सोच्नु पर्दैन । १२ पछि भने बल्ल निर्णय गर्नुपर्ने हुन्छ । सबै फल चाखिसकेपछि मात्र उसलाई यो फल मीठो भन्ने थाहा हुन्छ । त्यसैले ११ कक्षामा सबै चाख्न दिनुपर्छ, १२ मा अलि फोकस गर्न सिकाउनुपर्छ । ११ मा ६ वटा कुरा चाख्छ भने १२ मा ६ वटामध्ये ३ वटा कुरामा गहिरो लेभलमा पढोस् । ती तीनवटामध्ये एउटा उसले तब छान्छ, जब उ ब्याचलरमा पुग्छ ।

 

कक्षा ११ र १२ को पाठ्यक्रम कस्तो छ ? 

प्राक्टिकल कहाँ छ, प्राक्टिकल छैन भनेर भोकेसनल शिक्षा सुरु गरियो तर त्यसले मात्र पुग्दैन ।

 

 मेन स्टिमको विकल्प भोकेसनल होइन ? 

अवश्य पनि होइन । बरु भोकेसनललाई पनि यसैमा गाभिदिनुहोस् । विज्ञानको किताबमा पढेको कुरा ल्याबमा अभ्यास गर्न पाए पो हुन्छ ? हरेक ठाउँमा ल्याब हुनुपर्छ, प्राइभेट स्कुलमा मात्र ल्याब हुनुपर्छ भनेर कहीँ लेखिएको छ ? म्याथको पनि ल्याब हुन्छ, कसले भनेको म्याथको ल्याब हुँदैन ? अर्को कुरा, हामीकहाँ प्रविधिको प्रयोग भएको छैन । हाम्रो देशको सबैभन्दा ठूलो कमजोरी प्रविधिको प्रयोग नहुनु हो । भर्खरै प्रोजेक्टर उपलब्ध गराइएको छ, के हो प्रोजेक्टर भन्ने पनि कसैलाई थाहा छैन । भएभरकालाई निकाल्नुहोस्, नयाँ ल्याउनुहोस् भन्नुको कारण पनि यस्तै–यस्तै हुन् । नयाँ आउनेहरूका लागि प्रविधि र प्राक्टिकालिटी गर्न सकियो भने भोकेसनल शिक्षातिर जानै पर्दैन ।

प्रकाशित :असार २४, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्