रुढिवादी समाजको गतिलो चित्रण दयारानी

- अनोज रोक्का

असार २०, २०७६

बाँझोपनको समस्या र मनोविज्ञानमा आधारित कथामा दजनौं चलचित्र निर्माण भएका छन् । सन्तान हुनैपर्ने नेपाली समाजको मान्यता छ, अझ छोरा नै हुनुपर्ने । परिवार र समाजको यही दवाबबीच श्रीमान्–श्रीमतीबीच गुज्रने मानसिकता, मनोवैज्ञानिक असर एवं किचलो नै चलचित्र दयारानीको विषय हो । चित्रजंग (दयाहाङ) ले हार्न जानेका छैनन् । गाउँमा हुने छेलो प्रतियोगिता होस् वा मितसँगको जिद्दीपन सवैमा उनकै हालिमुहाली चल्छ । 

आफूले मन पराएकी केटी दयारानी (दिया पुन) सँगै उनको विवाह पनि हुन्छ, तर विवाह गरेको ५ वर्षसम्म सन्तान नभएपछि परिवार र समाजको टोकसो खप्न बाध्य हुन्छिन्— दयारानी । यी विविध कुरा थाहा पाएर पनि आफ्नो जंगि स्वभावमा अलिकति पनि कमी हुन दिँदैनन् चित्रजंग । 

कामिता (बिजय बराल) ४ जना छोराछोरी भैसक्दा पनि अर्को सन्तान जन्माउने तयारीमा छन् । गाउँमा बोकालाई खसी बनाउँदै हिँड्ने पेसा भएका कामिता घरिघरी चित्रजंगको पुरुषत्वप्रति व्यङ्ग गरिरहन्छन् । 

दयारानीको दबाबपछि कसका कारणले बच्चा नभएको भन्ने कुरा जान्न चित्रजंग अस्पताल पुग्छन् । डाक्टरले उनको वीर्यमा पर्याप्त शुक्रकिट नभएकाले जीवनमा कहिल्यै बच्चा नहुने भने पनि आफ्नो साख गिर्ने डरले चित्रजंगले यो कुरा श्रीमती (दयारानी) लाई सुनाउँदैनन् । बरु उल्टै दयारानीकै कमजोरीका कारण बच्चा नभएको भनि दिन्छन् ।

चित्रजंगका बाबु र ससुराबाले वंश जोगाउने विषयमा गरेको बहसबाट दयारानी पनि आजित हुन्छिन् । फलतः घरमा सौता भित्र्याउने तयारी गरिरहेका बेला चित्रजंगको पेट भएको भन्दै एक महिलाको प्रवेश हुन्छ । 

के चित्रजंगले ती महिलालाई स्वीकार गर्लान् ? दयारानीले आफ्ना श्रीमान्को वंश जोगाउन सौतालाई आफ्नो घरमा प्रवेश देलिन् ? चित्रजंगले कसरी भन्लान् आफ्नो कमजोरी ? यि यावत् प्रश्नहरूको सेरोफेरोमा घुमेको छ चलचित्र दयारानीको कथा । 

दर्जनभन्दा बढी गुरुङ चलचित्रको लेखन तथा निर्देशन गरेर आफूलाई खारेका माओत्से गुरुङद्वारा लिखित एवं निर्देशित चलचित्र हो— दयारानी । गुरुङ चलचित्रमा व्यस्त रहेका बेला लेखन एवं अभिनयमार्फत चलचित्र पुरानो डुङ्गाबाट मुलधारको सिनेमामा प्रवेश गरेका माओत्सेले पहिलो चलचित्रबाटै चरित्र अभिनयमा गहिरो छाप छाडेका थिए । तिनै माओत्से पहिलो पटक लेखनसँगै निर्देशनमा होमिएका हुन्— दयारानीमार्फत । 

चलचित्रमा बाबुको भूमिका निर्वाह गरेका पुष्कर गुरुङ र डिबी गुरुङको अभिनय तथा कमेडी टाईमिङ गजबको छ । दयाका मित विजय बराल चलचित्रका थिम हुन्, उनको प्रवेशले दर्शकहरूलाई उत्साहित बनाउँछ । महिलाप्रेमी विजयको डार्क कमेडी घरीघरी हल हाँसोले गुन्जिन्छ । कथाको पात्र दयाहाङ फिट छन् । नव–अभिनेत्री कृष्टि गुरुङको भूमिका सानो भए पनि प्रभावकारी छ । 

चलचित्रमा दयारानीको भूमिकामा दिया पर्फेक्ट देखिन्छिन् । सोझी, श्रीमान् तथा परिवारको हेरविचारमा पर्याप्त बहुत ध्यान दिने गाउँले महिलाको भूमिकामा दयारानीले न्याय गरेकी छिन् । दयाहाङको चलचित्र हेरिरहेका दर्शकले उनको जंगी स्वभाव, ठाडो बोल्ने शैली जस्ता चरित्र यो फिल्ममा पनि पाउँछन् । दयाको अभिनयमा खास नौलोपन भने अनुभव गर्न पाइँदैन, बरु दियाको आँशुले सबैलाई भावुक बनाउँछ । 

माओत्सेले आफ्नो पहिलो चलचित्रमा जति मेहनत गरेका छन् त्यो मेहनत पर्दामा भने देखिँदैन । सुरुका केहि मिनेट चलचित्र मज्जाले बगे पनि बीचमा कथा सुस्त भएको महसुस हुन्छ । फिल्मको क्लाइमेक्स सिक्वेलका लागि छाडिएको भान हुन्छ । फिल्मको अन्त्यमा महिलाको मनोविज्ञान एवं पीडालाई निर्देशकले नजरअन्दाज गरेका छन् । जम्मा ९० मिनेटको मात्र भएकाले यो चलचित्र कतिपयलाई छोटो लाग्न सक्छ । 

पोखराको रमणीय दृश्यले मन शान्त बनाउँछ । ड्रोनबाट लिइएको लोभलाग्दो दृश्यले पोखराको पर्यटकीय सम्भावनालाई मज्जैले झल्काउँछ । फिल्ममा समावेश लोक फ्लेवरको गीतले पनि दर्शकहरूलाई राहत दिन्छ । दयारानीमा मौलिक संस्कृति तथा आफ्नै माटोको सुगन्ध पाइन्छ । चलचित्रमा बोलिने संवाद र झर्रा–ठेट शब्दहरूले आफ्नोपन महसुस गराउँछन् । 

प्रकाशित :असार २०, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्