परीक्षा

- अविरल थापा

असार १७, २०७६

घर–परिवार र आफन्तमा पनि कहिले को सम्पन्न र कहिले को विपन्न हुन सक्छ । धनीको पछि धेरै जना लाग्छन् तर गरिब अनि कमजोरलाई सबैले हेप्छन् । आज सानो भएको मान्छे भोलि ठूलो हुन्छ, आजको निर्धन भोलि धनी हुनसक्छ ।

जिन्दगीले सबैसँग अनेक खालका परीक्षा लिन्छ । दिन्न भने पनि कतिपय परीक्षा दिनैपर्छ । विद्यार्थी जीवनमा स्कुल–कलेजले लिने परीक्षा त आफ्नो ठाउँमा छँदैछ । यो परीक्षा त बरु समय तोकेर आउँछ र तयारी गरेर दिन पाइन्छ, तर धेरै परीक्षा बिना तिथिमिति आइलाग्छन् र व्यक्तिको परीक्षण गरेर जान्छन् । कहिल्यै अनुमान नगरेका प्रश्न र परिस्थितिहरू बोकेर अनायास आइदिने संकटले व्यक्तिको हिम्मत एवं क्षमताको असली परीक्षण गरिदिन्छ । 

विपत्ति बाजा बजाएर आउँदैन । कसैको पनि जिन्दगी सरल रेखामा माक्र हिंड्दैन । जिन्दगीको रेखा कतिखेर बत्र भैसकेको हुन्छ पत्तो हुँदैन । कसको मति कतिखेर बिग्रन्छ भन्न सकिन्न । शास्त्र भन्छ, श्रीमतीको परीक्षण दुःखको बेला हुन्छ भने श्रीमान्को परीक्षण सुखमा हुन्छ । सुखमा बिग्रिएर हिंडेन भने श्रीमान् असल कहलिन्छ भने दुःखमा साथ छोडिनन् भने श्रीमती असल सावित हुन्छिन् भनिन्छ । त्यसैगरी बुढेसकालमा छोराछोरीको परीक्षण हुन्छ । वृद्धावस्थामा आमाबाबुलाई साथ दिने, हेरचाह–माया गर्ने छोराछोरी असल सन्तान सावित हुन्छन् । 

स्कुल–कलेजमा प्रश्नपत्र बनाउने, परीक्षा लिने अनि अंक दिने एउटा पद्धति हुन्छ । बढी मेहनत गर्नेले राम्रो अंक पाउँछ । कसैले चोरचार पारेर पनि राम्रो अंक ल्याउन सक्छ, तर त्यसरी पाएको अंक र खोक्रो प्रमाणपत्रले जिन्दगीमा राम्रोसँग खुट्टा टेक्न सहयोग गर्दैन । राम्रो ज्ञान आर्जन गरेकाहरूले त्यो ज्ञान अरूलाई पनि बाँड्न सक्छन्, तर ढाँटेर छलेर धेरै लामो यात्रा तय हुँदैन । प्रमाणपत्रमा राम्रो अंक ल्याउनेहरूले जिन्दगीको परीक्षामा पनि राम्रै अंक ल्याउँछन् नै पनि भन्न सकिन्न, तर उनीहरू भोकैचाहिँ मर्दैनन् । कहिलेकाहीं मौका परीक्षा दिएर उत्तीर्ण हुने अवसर पाइन्छ, त्यसैगरी मानिसलाई पनि जिन्दगीले सुध्रने, सच्चिने मौका दिन्छ । मौका पाउँदा पनि त्यसको सदुपयोग गर्न नसक्नेहरूसँग कालान्तरमा पछुतो मान्नुको विकल्प हुँदैन । 

त्यसैगरी नेताहरूको परीक्षण सत्तामा पुगेका बेला हुन्छ । चुनावका बेला अनेकखाले भाषण गरेर जनताको भोट माग्ने नेताहरू सत्तामा पुगेपछि कत्तिको जिम्मेवार हुन्छन् र आफूले गरेका वाचाहरू पूरा गर्छन्, त्यसले नेताको गुणस्तर नाप्छ । धोका दिने नेताहरूलाई अर्को चुनावमा हराएर जनताले सजाय दिन्छन् । विपक्षीले कमजोरी कुरेर बसेको हुन्छ र त्यसैको फाइदा उठाउँदै आफ्नो दुनो सोझ्याउँछन्, त्यसैले हरकोहीले एकफेर शक्तिमा पुगे भन्दैमा, एकफेर पद र सत्ता पाएँ भन्दैमा नानाभाँती गर्ने र अरूलाई ललकार्ने काम गर्नु हुँदैन । समय आउनासाथ फेरि परीक्षामा उत्रनुपर्छ र त्यतिबेला त्यसको मूल्य चुकाउनैपर्ने हुन्छ । एकफेर जितेर सधैंका लागि जितें भन्ने भ्रम पाल्नु मूर्खता मात्र हो । 

घर–परिवार र आफन्तमा पनि कहिले को सम्पन्न र कहिले को विपन्न हुन सक्छ । धनीको पछि धेरै जना लाग्छन् तर गरिब अनि कमजोरलाई सबैले हेप्छन् । आज सानो भएको मान्छे भोलि ठूलो हुन्छ, आजको निर्धन भोलि धनी हुनसक्छ । अहिले आफूसँग छ भन्दैमा अरूलाई खसाल्ने तल्लो स्तरको व्यवहार गर्नेले भोलि त्यही दिन आफ्नो पनि आउन सक्छ भन्ने हेक्का राख्नुपर्छ । आज सासू भएर बुहारीलाई हेप्नेले वा बुहारी भएर सासूलाई हेप्नेले भोलि सोही अवस्था आफ्नो पनि आउन सक्छ भन्ने कुरा बिर्सनु हुँदैन । परिवारको छाक टार्न र पढ्न पनि पाइन्छ भन्ने लोभमा कतिपय अरूको घरमा नोकरचाकर भएर बसेका हुन्छन् । कतिपय मालिकले राम्रो व्यवहार गरेको पाइन्छ भने कतिपयले नोकरचाकरलाई खान, लाउन दिने कुरादेखि सुत्ने ठाउँ सम्ममा ठूलो विभेद गरेका हुन्छन् । कोही आज गरिब छ र आफू धनी छु भन्दैमा हेप्नु हुँदैन । ऊ पनि भविष्यमा सफल र धनी हुनसक्छ । जिन्दगीमा सबैको दिन आउँछ र सबैको दिन जान्छ । असल मालिक हुन सक्नु पनि परीक्षा नै हो जो नोकरको हृदयमा जीवनभर बसिरहन सकोस् ऊ सफल हुँदा पनि आफूप्रति अनुगृहित होस् । असल सेवा गरेर चोरीचकारी नगरी सेवकले पनि आफनो इमान्दारीको परीक्षा दिन सक्नुपर्छ । 

आफूले पढाएका विद्यार्थी अनुत्तीर्ण भए भने त्यो शिक्षकको पनि असफलता हो । त्यो परीक्षा प्रणालीको पनि असफलता हुन सक्छ । एक–अर्कालाई दोष दिएर कसैले उन्मुक्ति पाउँदैनन् । कार्यालयमा सुरक्षाकर्मी, कार्यालय सेवकदेखि आफ्ना कर्मचारी सबैका प्रति समान भावमा व्यवहार गर्न सक्नु/नसक्नुमा असली हाकिमको परीक्षा हुन्छ । अरूलाई होचो–निचो देखाएर आफू कहिल्यै ठूलो भइँदैन । काम नचोर्नु/नछल्नुमा कर्मचारीको परीक्षा हुन्छ । 

यस्तो लाग्छ, यहाँ सबै परीक्षा दिन बसेका छन् । हामी सबै एक–अर्काको परीक्षा लिइरहेका छौं । जिन्दगीको परीक्षामा कसले कति नम्बर पायो र कुन श्रेणीमा उत्तीर्ण भयो, त्यो व्यक्तिपिच्छेको आत्ममूल्यांकन हुन सक्छ । कोही धेरै पाएर पनि दुःखी हुन्छन्, कोही थोरैमै खुसी भैदिन्छन् । जिन्दगी आफैंमा परीक्षा हो जसलाई भोग्दिनँ भने पनि भोग्नैपर्छ । कहिले लडिन्छ, कहिले चढिन्छ, कहिले खसिन्छ तर यात्रा जारी राख्नुपर्छ । जिन्दगीले जुनसुकै मोडमा कठालो समातेर परीक्षा लिन सक्छ, हरपल तम्तयार भएर बसौं, भागेर कहाँ नै पुगिन्छ र ?

 

प्रकाशित :असार १७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्