एसएलसीमा फेल भएपछि ...

  • खुसीनै जीवनको असली स्वाद हो

- रामजी ज्ञवाली

असार ११, २०७६

बिहान ११ बज्यो । पुतलीसडक स्थित एक क्याफेमा टुप्लुक्क उपस्थित भए उनी । रातो सोफामा थ्याच्च बसे । सायद, थाकेका थिए कि ! एक गिलास पानी अर्डर गरे, वेटरसँग । गिलासको पानी एकैपटकमा रित्याइदिए । कहिलेकाँही रित्तो हुँदा पनि खुसी लाग्छ । दयाहाङ राई भन्छन्, ‘यो गिलास अहिले रित्तो भयो । खुसी भएको होला ।’ दयाहाङलाई पनि धेरै पटक त्यो गिलास जस्तै रित्तो र शुन्य महशुस भएको छ । ‘मानिसले कहिलेकाँही रित्तिएका बेला धेरै कुरा सिक्न पाउँछ । त्यो हरेक मानिसका लागि खुसीको कुरा हो,’ – उनले भने ।

०००

हामी ऐश–आराम खोज्छौं । धनदौलत जोड्छौं । मिठो–मसिनो खान्छौं । घरको चित्त नबुझेर फाइभ स्टार होटलमा हजारौं खर्चिन्छौं । फेरी–फेरी महंगा पहिरन लगाउँछौं । महंगा गाडी चढ्छौं । यी सबैबाट हामी ‘खुसी’ खोजिरहेका हुन्छौं । । दयाहाङलाई थाहा छ, खुसी भन्ने कुरा एउटा कुराको प्राप्तिबाट मात्रै हुँदैन । खुसी बन्न आइडिया चाहिन्छ । फाइभ स्टारमा पनि पाउने उही खुसी हो, सामान्य झुपडीवाला क्याफेमा पनि पाउने उही खुसी हो, भलै परिकार र स्वादमा फरकपन पाउँछौं ।

‘जीवनमा धेरै पटक ठक्कर पाएको छु । धेरै पटक धेरैको बचन पाएको छु, धेरै भन्दा धेरै दुःखी भएको छु,’ उनले थपे, ‘यी सबै कुराले मलाई संघर्ष गर्न सिकायो । चोटहरु समयको रफ्तारसँगै पाइने कुरा हुन् भन्ने कुरा जतिबेला उनले बुझे, अनि चनाको भरमा दिन कटाउन पनि उनलाई कुनै गाह्रो भएन । दयाहाङलाई लाग्छ, जस्तोसुकै समस्या र सफलतामा पनि खुसी रहन सिक्यौं भने उत्तिनै हाम्रो जीवन सहज हुन्छ । पिडा, तनाव, रिस, आवेग, डर, भय, दुःख कस्लाई पर्दैन ? उनले थपे, ‘यो हरेकको जीवनमा आइपर्ने स्टेप हुन्, तर उमंगित र उत्साहित हुन छोड्नु हुन्न । वास्तवमा खुसीनै जीवनको असली स्वाद हो ।’

सामान्य परिवारको एउटा छोरा दयाहाङले नेपाली चलचित्र क्षेत्र हाँक्न सक्ने कहिल्यै कल्पना गरेका थिए ? थिएनन् । नेपाली चलचित्रमा चलेका हिरोहरुलाई नै कामबिहिन गराएर आफु व्यस्त हुने सपना बुनेका थिए ? थिएनन् । दयाहाङ भन्छन्, ‘खुसी खोज्दै जाँदा हरेक मानिस एउटा स्थानमा पुग्छ । म पनि खुसी खोज्दै हिड्दा यो स्थानसम्म आइपुगेको हुँ ।’ यो क्रममा जे–जे भए, जे–जति गरियो सबै खुसीकै लागि गरिएका थिए । यात्रा अझैं अघि बढिरहेको छ, थाकेका छैनन् दयाहाङ ।

०००

अभिनयले सबैको मन जिते दयाहाङले । अहिलेसम्म दर्जनौं हिट चलचित्रमा काम गरेका दयाहाङले धेरै फ्यान कमाए । पैसा कमाए । लोभलाग्दो क्रेज बनाए । कथा अनुसारका पात्रमा आफूलाई ढाल्न माहिर उनले जस्तोसुकै पात्रको भुमिका निभाउन सक्ने सामथ्र्य राख्छन् । आफुले पाएका पात्रलाई जीवन्त बनाउनु कलाकारको धर्म हो, उनी भन्छन्, ‘कलाकारिता गरेरै जीवन निर्वाह गर्ने सोच भए यो–त्यो भुमिका भनेर हुन्न ।’

दयाहाङ सफल अभिनेता हुन् । १० बर्षको संघर्षपछि सुपरहिट कलाकारको सुचीमा प्रवेश गरे । तर, त्यस्तो लाग्दैन उनलाई । सार्वजनिक गाडी, ट्याक्सीमै हिड्न रुचाउँछन् । सामान्य क्याफेमा पनि पस्छन् । अनावश्यक स्टारडम झल्काउन मन पराउँदैनन् । दम्भ छैन, फिटिक्कै । सामान्य पहिरनमै हिड्न रुचाउँछन् ।

अहिले चलचित्र ‘आप्पा’ को प्रमोशनका लागी समय छुट्टाएका छन् । ‘कबड्डी कबड्डी कबड्डी’ को छायाँकनमा व्यस्त उनले यो चलचत्रिपछि ‘लप्पन छप्पन २’ का लागि समय दिनुपर्नेछ । दुई वर्षअघि दयाहाङका चलचित्र धेरै, राम्रा कम भन्ने चौतर्फी आलोचनापछि एकाएक विश्राम लिए । त्यसबेला ११ महिना कुनै पनि प्रोजेक्टमा काम गरेनन् । लामो समयदेखि थियटर, नजिकका साथिभाइहरु, परिवार तथा आफ्ना आफन्तलाई समय दिन नपाएका उनले यो समय त्यता खर्चिए ।

मेन्टल्ली र फिजिकल्ली रेष्ट पनि चाहिएको थियो । सोहि कारण धेरै प्रोजेक्ट पाखा सारेर फुर्सदमा बसेको थिएँ, उनले थपे, ‘अब केहि वर्षपछि फेरी रेष्ट गर्नेछु ।’ दयाहाङलाई आजभोलि के लागेको छ भने, प्रोफेशनल लाइफसँगै व्यक्तीगत जीवन पनि हुन्छ, त्यसका लागि पनि समय दिनुपर्छ ।

उनले विगतमा एउटा चलचित्रको प्रमोशनका बेला मिडियामा अन्य चलचित्रका बारेमा समेत बोल्नु परेको बताए । ‘त्यसबेला कुन चलचित्रको बारेमा गफ गरिरहेको छु भन्ने समेत झुक्किने बेला थियो,’ उनले भने, ‘अब यस्तो किसिमले काम गर्दिनँ ।’ दयाहाङलाई राम्रा र कम चलचित्रमा मात्रै काम गर्ने सोच जागेको छ, आजभोलि ।

०००

मानिसका सबै सपना पुरा हुँदैनन् । कतिपय सपना बिचमै भत्किन्छन् । दयाहाङको सपना के थियो होला ? ‘केहि थिएन,’ एक बाक्यमा उनको जवाफ । समयको रफ्तारसँगै कलाकार भएँ, तर सफल कलाकार भएँ जस्तो लाग्दैन, उनले थपे, ‘धेरैमाझ चिनिएको महशुस गरेको छु ।’

चलचित्र खेल्न पाएपछि समाजका धेरै व्यक्ती तथा पात्र र सोसाइटीका विभिन्न चरित्रसँग नजिक हुन पाए दयाहाङले । उनले भने, ‘सायद खुसी यो पनि हो । चलचित्रमा काम गरिसकेपछि धेरै प्रकारका जीवन बाँच्न र बुझ्न पाएँ ।’

०००

दयाहाङलाई आजभोलि एउटा कुराले पिरोल्छ । ‘कलाकार बढि पपुलर भएपछि एकलकाटे हुँदा रहेछन् । एउटा कोठा भित्र अथवा नजिकका साथिभाइहरुसँग बसेर मात्रै सोसाईटी हेर्ने बानी हुँदोरहेछ,’ उनले थपे, ‘मेरो त सोसाईटी र नेपालको राजनितीसँग डिभोर्सनै भयो की जस्तो लाग्छ । छुटेर म कहाँ पुगे जस्तो लाग्छ ।’ यस्ता कुराले अर्धज्ञानहरु पाएपनि त्यसले पुर्ण नबनाउने उनको तर्क छ । अलिकति पपुलर भएपछि कला क्षेत्र बाहेक धेरै कुरादेखि पछि परेको महशुस हुँदोरहेछ ।’

जुन बेला दयाहाङ लोकप्रिय थिएनन्, खुलेर जहाँ पनि पुग्न सक्थे । थियटरमा काम गर्थे, कुनै अहमता थिएन । आम मानिस जस्तै सार्वजनिक गाडीमा सहजै हिड्न पाउँथे । क्याफेहरुमा मान्छेले के कुरा गरिरहेका छन् ? सुन्न पाउँथे । उनलाई अझैपनि त्यस्तै किसिमले हिड्न र खुल्न मन छ तर मिल्दैन । उनी भन्छन्, ‘मैले त सहजै सक्छु, समाजले अर्कै नजरले हेर्न थाल्छ, नसकिने रहेछ ।’

०००

अति व्यस्त छ दयाहाङको जीवन । चलचित्र क्षेत्रमा लागेपछि आफ्ना–आफन्तका लागि समय दिन सकेनन् । आफ्नै श्रीमती, छोराछोरी, आमासँग बसेर कुराकानी गर्न समेत सहज छैन । आफ्नै लागि समय छैन । तर, कलाकारिता उनले रोजेको काम हो । महत्वकांक्षा छैन, लोभ धेरै छ । लोभ ? हाँस्दै भने, ‘मलाई कामको भोक र कामको लोभ धेरै छ ।’ अति व्यस्तताका कारण लामो समयदेखि सँगै बसेर मःम खाएका, रक्सी खाएका साथिभाईहरुसँग नभेटेका उनले उनीहरुलाई चाँडै भेट्नेवाला छन् । ‘धरै सम्बन्ध पातलिए । यो पनि एक भोगाई हो, कुनै दिन पुरानै अवस्थामा फर्किनेछु,’ अनुहारमा चमकता ल्याउँदै उनले भने, ‘परिस्थिती फरक होला । मनहरु केही परिवर्तन भएको होला । तर, साथिभाईहरुले बुझ्नेछन्, म त्यो समयको पर्खाइमा छु, जतिबेला उनीहरुका भोगाई र मेरा भोगाई शेयर हुनेछन् ।’ उनलाई लाग्छ, भोगाई मानिसको सबैभन्दा ठुलो सम्पत्ति हो ।

०००

दयाहाङ राईसँग कलाकारिता क्षेत्रमा उभिनका लागि सामान्य धरातल पनि थिएन । त्यतिबेला यो ठाउँमा टेक्न मात्रै पाए हुन्थ्यो भन्ने लाग्यो । नामको अघि–पछि अभिनेता जोडिए हुन्थ्यो भन्ने लाग्यो । सोहि कारण काठमाण्डौंका धेरै गल्ली भौतारिए । चलचित्र निर्देशक–निर्माताको ढोका ढकढकाए ।

एउटा प्रशंग ।

हरीहर शर्मा राष्ट्रिय नाचघरका जिएम थिए । त्यतिबेला नेपालभरका रंगकर्मीलाई वर्कशप दिने तयारी गरिएको थियो । उक्त कुरा सुनेपछि दयाहाङ हरीहरलाई भेट्न पुगे । सामान्य शैलीमा प्रस्तुत भए ।

दयाहाङ : नमस्ते सर, म भोजपुरदेखि आएको हुँ, मलाई यो वर्कसपमा राख्नुपरो ।’

हरीहर :  तिम्ले अभिनय सिकेका छौ ?

दयाहाङ :  छैन र त सिक्ने हो ।

हरीहर : यो अनुभवीहरुका लागि मात्रै हो ।

दयाहाङ :  मौका नपाई अनुभव कहाँ पाउनु ?

हरीहर :  एउटा स्थानमा ६ महिनाको कक्षा हुन्छ त्यहाँ आउनु ।

दयाहाङ : तर, मैले त्यतिबेलासम्म कुर्न सक्दिनँ होला । अहिले जति सक्छु लिन्छु, अनि बाँकी कक्षा पछि लिन्छु नि ।

हरीहर : तिम्ले भोजपुरमा पुगेर पछि नाट्य संस्था खोल्न सक्छौं ?

दयाहाङ : यहाँ राम्रोसँग सिक्न पाए भने किन नखोल्नु ?

हरीहर: ओके, अहिले तिमी जाउ म कन्ट्याक गर्छु ।

पहिलोपटक मिठो पारामा उनले ढाँटे । ग्रिन सिग्नल पाएपछि दयाहाङ फर्किए । दुईदिनपछि पहिलो वर्कसपमा सहभागी हुने अवसर पाए । मेरा लागि त्यो सबैभन्दा ठुलो सफलता थियो, उनले भने, ‘त्यसपछि धेरै नाटकहरु गर्न पाएँ, टेलिसिरियल गर्न पाएँ ।’ त्यसपछि मात्रै उनलाई अब नाटकले मात्रै पुग्दैन भन्ने लाग्न थालेको हो । ३ बर्ष नाटक घर र टेलिसिरियलमा व्यस्त भएका उनले त्यसपछि अनुप बरालको एक्टर स्टुडियोमा कक्षा लिए । यदि दयाहाङले सिपालु पारामा ढाँट्न नजानेको भए सायद यो स्थानसम्म आउन सहज थिएन । भन्छन्, ‘जीवनमा कहिलेकाहि ढाँट्न पनि जान्नुपर्दोरहेछ ।’

०००

दयाहाङ कलाकार कसरी बने ? धेरैलाई थाहा छैन । भोजपुरको खावामा हुर्किए । कक्षामा कहिल्यै प्रथम नभए पनि चार–पाँच नम्बरमा पर्थे । कहिल्यै फेल नभएका दयाहाङ १० कक्षामा फेल भए । केहि दिनपछि मार्कसिट हेरे, ‘विज्ञान’ लागेको रहेछ । उनी फेल हुँदा सबैभन्दा धेरै पिडामा प–र्यो, उनको परिवार ।  साइन्स पढाउने परिवारको सपना चकनाचुर भयो । एक वर्षपछि परिक्षा दिनुपर्ने, अब के गर्नु एक वर्ष ? त्यो समयमा उनले थुप्रै कुराहरु पढे । जिबन पढे । असफलता के रहेछ ? त्यो बुझे । ‘छोरा–छोरीको असफलताका कारण बुबा–आमाहरुलाई कति फरक पर्दोरहेछ भन्ने कुरा जान्न पाएँ, उनले भने, ‘फेल भएपछि संगत फेरिए । धेरैका माया फेरिए ।’ त्यो समय बुबा–आमालाई सहयोग गरे । हलो जोते । गाई भैँसीलाई घाँस काट्न गए । बाख्रा चराउन थाले ।

एकदमै सामान्य परिवारका ज्ञानी छोराका रुपमा चर्चित दयाहाङको जीवन फेल भएपछि अर्कै बाटोमा मोडियो । सायद पहिलोपटक सबैभन्दा धेरै तनाबमा गएको त्यतिबेला होला, उनले भने, ‘त्यो बेलामा किताब पढ्ने, रेडियो नेपाल सुन्ने गरेँ । साहित्यमा रुचि दिने गरेँ । पेन्टिङमा रुचि गयो । केही नपढेरै एक वर्षपछि परिक्षा दिएँ, ७१ अंक ल्याएँ ।

अब प्लस टु पढ्नुपर्छ । कहाँ जाने ? काठमाण्डौं आउन खासै पैसा छैन ।

भोजपुर कलेजमा आइए–बिए पढे । त्यो बेला आर्ट र साहित्यप्रतिको झुकाब देखाएर उनी काठमाण्डौं आए । उनी पहिलो पटकमै एसएलसी पास भएका थिए भने, विज्ञान पढ्नुपथ्र्यो । बाटो अर्कै हुन्थ्यो । फेल भएपश्चात् कला क्षेत्रमा रुचि गयो । दयाहाङ भन्छन्, ‘पास भएको भए म कलाकारिता क्षेत्रमा आउने थिइनँ ।’

 

प्रकाशित :असार ११, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्