चलचित्र निर्माता कार्की प्रहरीको फन्दामा, रेखा थापा आक्रोशित

- साप्ताहिक संवाददाता

असार १०, २०७६

चलचित्र निर्माता तथा नेत्र विक्रम चन्द समूहका केन्द्रीय सदस्य नरबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखा र काठमाडौं प्रहरीको टोलीले सोमबार बालुवाटारबाट उनलाई पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख सहकुलबहादुर थापाले उनलाई सोमबार दिउँसो बालुवाटारबाट पक्राउ गरिएको पुष्टि गरे । रेखा थापाको चलचित्र मालिका निर्माण गरेका उनले अर्को चलचित्र निर्माणको तयारीमा थिए । अभिनेत्री रेखा थापाले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहमा आबद्धतालाई लिएर नेपाल प्रहरीले निर्माता कार्कीलाई पक्राउ गरेको बताइन् ।

महाशाखा प्रहरी स्रोत भन्छ, ‘उनी केही महिनाअघि प्रतिबिन्धत नेकपामा प्रवेश गरेका रहेछन्, अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।’ पछिल्लो समय कार्कीले सरकार र नेपाल प्रहरीलाई लक्षित गरेर सामाजिक सञ्जालमा आक्रोसपूर्ण अभिव्यक्ति दिने गरेका थिए । त्यस्तै एनसेल फिर्ता अभियान समेत चलाएका थिए ।

कार्कीमाथि कुन मुद्दा चलाउने भन्ने टुंगो भइसकेको प्रहरी स्रोतले बतायो ।

के भन्छिन् रेखा थापा ?

राज्य आतंकको वर्तमान रुप आफ्नै आँखाले देखियो आज ! सामाजिक अभियन्ता, अन्तराष्ट्रिय मोटिभेटर आदरणीय नरबहादुर कार्की सरलाई प्रहरीले एक अपराधीलाई जसरी पक्राउ गरेको छ । धकेलेर, भरखरै मारौंला जस्तो गरेर गणतान्त्रिक लोकतन्त्रात्मक प्रहरी प्रस्तुत भएको खुद आँखाले देख्न पाइयो । सामाजिक विषयका बारेमा छलफल गर्दै गर्दा उहाँलाई अपराधिलाई जसरी किन पक्राउ गरेको भनेर सोध्दा विप्लव समर्थक भएर रे । यो जस्तो नालायक र पाखण्ड जवाफ अरु के हुन सक्छ ? कुनै व्यक्ति, कुनै पार्टीको नेताको समर्थक हुन नपाइने यो कस्तो गणतन्त्र हो ?

प्रकाशित :असार १०, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्