नेपाली संगीतमा मौलिकताको अभाव भएकै हो त ?

- कृष्ण भट्टराई

असार ८, २०७६

               

नेपाली सांगीतिक क्षेत्रमा नियमितजसो गीत सार्वजनिक भैरहेका हुन्छन् । युट्युबमार्फत लोकप्रियताको मापन हुन थालेपछि ट्रेन्डिङमा पर्न सफल गीतलाई नै लोकप्रिय मान्न पनि थालिएको छ । तीमध्ये कतिपय गीत वास्तवमै राम्रा हुन्छन् भने कतिपय गीतमाथि चोरी अथवा नक्कलको बात लाग्ने गरेको छ । 

अहिलेको सर्वाधिक लोकप्रिय गीत ‘गलबन्दी’ ले समेत नक्कलको आरोप सहनुपर्‍यो । यद्यपि, गायक सपूतले उक्त आरोप खण्डन गरे । केही वर्षअघि चलचित्र छक्कापञ्जा–२ को नाइलनको सारी..गीत कुमार बस्नेतको पुरानो गीतसँग मिलेको आरोप लाग्यो । त्यसबाहेक अन्य थुप्रै गीतले नक्कल गरिएको अथवा धुन चोरी गरिएको आरोप खेपिरहेकै छन् । आखिर यस्तो किन भैरहेको छ ? 

गीतकार बाबुराम दाहालका अनुसार चोरी, नक्कल र पाइरेसी नेपाली संगीतको पहिलेदेखिकै समस्या हो । दाहाल भन्छन्– ‘मानिसहरू भौतिक सम्पत्तिकै सुरक्षामा अलमलिरहेका बेला नैतिक अधिकार, पाइरेसी, बौद्धिक सम्पत्ति आदिका बारेमा कसले ध्यान दिने ?’ गीतकार दाहालले एउटा सुझाव समेत दिएका छन् । दाहाल भन्छन्, ‘पाठ्यक्रममै राखेर बौद्धिक सम्पत्ति, कपि राइट आदिका बारेमा पढाउनुपर्ने आवश्यकता छ ।’ 

गायक तथा संगीतकार अभिनाश घिसिङको तर्क बेग्लै छ । घिसिङ भन्छन्– ‘पक्कै पनि नेपाली संगीतमा मौलिकताको अभाव त छँदैछ, अझ त्यसमाथि अहिले चोरी, नक्कल र पाइरेसीको बिरामीले नेपाली संगीतको स्तर निकै घट्दो अवस्थामा छ । यसका लागि पहिलो कुरा कुनै पनि स्रष्टाले अल्छी गर्नु भएन मौलिक संगीत सिर्जना गर्न ।’ संगीतकर्मी घिसिङले सांगीतिक क्षेत्रको भलाइका लागि स्थापना भएका संघ–संस्थाहरू संगीतको संरक्षण गर्नुभन्दा आफ्नै दुनो सोझ्याउन अग्रसर भएको देखेका छन् । ‘सक्कली स्रष्टाहरू नेपथ्यमा छन् भने भौतिक लोभ–लालचले गर्दा नक्कली स्रष्टाहरूको बिगबिगी छ, घिसिङ भन्छन्— ‘यसका लागि संगीतसँग सम्बन्धित संघ–संस्था तथा स्रष्टाहरूको उपस्थिति सशक्त तवरले अघि बढाउनुपर्ने देखिन्छ । त्यसबाहेक सरकारले पनि नेपाली गीत संगीत, कला–संस्कृति, सम्पदा अनि साहित्यको जगेर्ना गर्ने खालका योजनाहरू कार्यान्वयनमा ल्याउनुपर्छ ।’ 

गायक, गीतकार तथा संगीतकार राजनराज शिवाकोटीका अनुसार संगीतमा मौलिकता र सरलताको अभाव जहिले पनि रहन्छ । शिवाकोटी भन्छन्– ‘यो निरन्तर खोजी हुँदै पूर्ति हुँदै जाने प्रक्रिया हो । समयले आवश्यकता महसुस गरेपछि मानिसहरूलाई खटाउँदै जान्छ र पूर्ति पनि हुँदै जान्छ ।’ शिवाकोटीका अनुसार लोकशैलीका गीतमा प्रभाव त हुन्छ नै तर चोरी, पाइरेसी, नक्कल आदिलाई रोक्ने कुरामा अचेल दर्शक–श्रोता नै चनाखो बन्न थाल्नु भएको छ । त्यसैले बिस्तारै सबै कुरा ठीक गर्दै लान्छ ।

सांसद तथा गायिका कोमल वलीलाई समेत तुलनात्मक रूपमा अहिले नेपाली गीत–संगीतको मौलिकतामा कमी आएको महसुस भएको छ । ‘यो हामी सबैले अनुभव गरिरहेको कुरा हो, वलीका अनुसार स्रष्टाहरूले मौलिकतामा जोड दिन थाले मात्र यसको समाधान निस्कन्छ । 

संगीतकार वसन्त सापकोटाको तर्क अलि बेग्लै छ । सापकोटा भन्छन्– ‘अहिलेको नेपाली संगीतमा मेहनत र अध्ययन–अनुसन्धान गरेर अघि बढ्नुपर्छ भन्ने भन्दा पनि ‘तात्तै खाऊँ जल्दै मरौं’ भन्नेहरू जमात बढिरहेको छ । कोठामा बसेर विभिन्न पुराना गीत सुनेर तिनै गीतलाई अलि–अलि बंग्याउने प्रवृत्ति बढ्दै जानु नै आजको प्रमुख समस्या हो ।’ सापकोटाका अनुसार अहिलेको अर्को ठूलो समस्या भनेको मौलिक सिर्जना गर्ने गीतकार, संगीतकारहरूलाई मिडियाले पनि त्यति महत्व नदिनु र कसको अन्तर्वार्ता लिँदा बढीभन्दा बढी मानिसले हेर्छन् (जोसुकै होस्, राम्रो काम गरेर होस् कि नराम्रो काम गरेर होस्, समाजमा भाइरल भएको मान्छे हुनुपर्‍यो), पैसा कमाउन पाइन्छ भन्नेहरू बढ्दै जानु अनि गायक–गायिकालाई मात्र महत्व दिने प्रवृत्तिका कारण असल सर्जकहरू पलायन हुँदै गएका हुन् । 

गायिका इतु जोजिजूका अनुसार अहिले नेपाली संगीतमा मौलिकताको कमी छ । पोखरा बसेर संगीतकर्ममा रमाइरहेकी गायिका जोजिजू भन्छिन्– ‘अहिले राम्रोसँग संगीत सिक्ने र रियाज गर्ने चलन नै घटिसकेको छ । संगीत बुझ्ने सर्जकको पनि कमी हुन थालेको छ । सबैले तत्काल लोकप्रियता चाहन्छन् । एउटा गीत लोकप्रिय भएको छ भने अर्को पनि त्यसकै नक्कल गरेर लोकप्रिय हुन खोज्छ । त्यसबाहेक विगतको तुलनामा अहिले बजार पनि परिवर्तन भएको छ । जसरी अहिले घरमा मसला पिँधेर मेहनत गरेर पकाउनु भन्दा फास्टफुड खाने चलन छ, संगीतमा पनि ठीक यही कुरा लागू हुन्छ । छिटो अनि छरितो । भ्युज किन्ने नक्कली पपुलारिटीले गर्दा राम्रा कलाकार तथा संगीत नै पछाडि परेका छन् । त्यसैले मलाई के लाग्छ भने नेपालमा पाइरेसी, चोरी, नक्कल जस्ता समस्या समाधान हुन अलि गार्‍है छ । सरकार र सम्बन्धित निकायले नीति–नियम बनाएर मात्र भएन, त्यसको कडा कार्यान्वयन पनि जरुरी छ ।’ 

गायक प्रह्लाद तिमिल्सिनालाई पनि मौलिक नेपाली गीतको सिर्जनामा कमी आउन थालेजस्तो लागेको छ । ‘छोटो समयमा लोकप्रियता हासिल गर्न कालजयी गीतभन्दा पनि जनजिब्रोमा झुन्डिने शैलीका गीतको चलन बढेको छ, गायक तिमिल्सिना भन्छन्– ‘राता–रात लोकप्रिय हुने भूत सवार भएका कारण पनि सांगीतिक क्षेत्रले मौलिक गीत पाउन छाडेको हो ।’ 

गायक आनन्द कार्कीका अनुसार नेपाली कला–संगीतमा मौलिकताको अभाव न त हिजोको दिनमा थियो, न आज छ, न त भोलि नै रहन्छ । ‘सिंगो विश्वले कला–संस्कृतिमा अग्रज मानेको हाम्रो देशको सांगीतिक मौलिकता विश्वमै पृथक् छ, गायक कार्की भन्छन्— ‘अनेक भाषा र संस्कृति बोकेको यो देशमा सबैको पहिचानका आ–आफ्नै मौलिक कला–संगीत छन् ।’ गायक कार्कीका अनुसार पाइरेसी हुनु भनेको हजारौं कला र संस्कृतिमाथि अध्ययन–अनुसन्धान नगरी अरूको बौद्धिक सम्पत्ति चोरी गरी तोडमोड गर्दै बिगारेर आफू उत्कृष्ट हुन्छु कि भनेर गरिने निच काम हो, जसलाई नेपाली संगीतप्रेमीले कहिल्यै स्वीकार गर्ने छैनन् । ‘जति चोरी गरे पनि मौलिकता सदैव कालजयी रहनेछ, गायक कार्कीको भनाइ छ– ‘प्रेम, मिलन, बिछोड, लाहुरे, खेत–खरिया, भौगोलिकता, जातीय विविधता, धर्म संस्कृति यी सबै हाम्रा मौलिकता हुन् । यिनमा आफ्नो सिर्जना खोजौं, अरूले श्रृंगारेको कला नचोरौं ।’ 

संगीतकार विकास चौधरीको विचारमा संगीतकर्मीले संगीतलाई एकदमै सामान्य मान्नु हुँदैन । सबै संगीतकर्मीले आफ्नो मौलिकतालाई ध्यान दिएर गीत–संगीत बनाउनुपर्ने कुरामा संगीतकार चौधरीको जोड छ । गीतकार राजेन्द्र थापाका अनुसार पुर्खाबाट हस्तान्तरित लोक–संगीत र आजको स्रष्टाले सिर्जना गर्ने आधुनिक संगीत समानान्तर रूपले चल्छ । यो लोक भएकाले मौलिक नै हुन्छ । लोक–संगीत कसैले पनि उही नै पटक–पटक प्रयोग गर्न सक्छ, त्यसलाई नक्कल अथवा चोरेको भन्न पाइँदैन । 

रेडियो नेपालको नियममा लोक–संगीतमा गीतकार र संगीतकार लेख्न नपाइने भए पनि आजकाल लेख्न थालेपछि यो मेरो पहिले निस्केको सिर्जना अर्थात आधुनिक गीत हो भन्दै चोरीको आरोप लगाइए पनि सार्वजनिक सम्पत्तिमा मेरो भन्ने नै हुँदैन । आधुनिक संगीत निजी सिर्जना भएकाले राग अथवा लोक अथवा विदेशी अथवा अन्य परम्परागत लय र शब्दका साथ कुनै पनि बाजाको उपयोग गरिने हुँदा आधुनिक संगीतमा मौलिक भन्ने विशेषण हुँदैन । हुन त संगीत वा कुनै पनि विषयमा तात्कालिक समाजको मनोदशा र मानसिकताको झलक आउने भएकाले यो नेपाली आधुनिक, त्यो मुम्बई फिल्मी आदि भनेर मौलिक परिचय त बन्ने नै भयो । नेपालमै पार्श्व संगीत तथा सिङ्गल ट्र्याक भनेर अलग मौलिकताको पहिचान हुँदै आएको छ । वास्तवमा आधुनिक संगीत मौलिक भनेर किटान गरेर आत्मरति लिने चलन छ नेपालमा । रेडियो नेपालको स्थापनादेखि हालसम्मको साढे सात दशकमा आधुनिक गीतले कैयौं रुप बदलेको छ । १५–२० वर्षसम्म कयौं दशक उही रुप हुन्थे, तर हाल आधुनिक कम्प्युटराज्ड उपकरण, युट्युब, मोबाइल आदिका कारण वर्ष दिनभन्दा कमै समयमा आधुनिक गीतले रूप बदल्न थालेको छ । आधुनिक संगीतमा समेत लोक मिसिएर सरोबरी हुन थालेपछि नेपाली मौलिक रूप देखियो कि आधुनिक अर्थात् सुगमको ?

गायिका रेखा शाहका अनुसार मौलिकता हाम्रो सभ्यताको जरो हो । नेपाली संगीतमा मौलिकताको अभावभन्दा बढी व्यवसायिकताको प्रभाव छ । ‘बार नोटमा संयोगले एक–दुईवटा नोट मिल्नु सामान्य मानिन्छ, रेखा भन्छिन्— ‘सबै संगीत तीनै नोट बारभित्र पर्छन्, कसैले अर्काको गीत–संगीत पुरै नक्कल गरेको खण्डमा त्यसलाई चोरी भनिन्छ । यदी चोरी गर्नु अपराध हो भने अपराधीलाई कडा सजायको व्यवस्था हुनुपर्छ, तत्पश्चात् अपराध आफैं कम हुन्छ ।’ 

गीतकार किरण केसी क्रोधी भने छोटो समयमा चर्चामा आउन अर्काको सिर्जना नक्कल गर्ने प्रचलन बढेको धारणा व्यक्त गर्छन् । ‘तुरुन्त चर्चामा आउन अर्काले दुःख गरेर सिर्जना गरेको कुरा नक्कल गर्नु अहिले सामान्यझैं भएको छ, गीतकार केसी भन्छन्— ‘त्यसरी नक्कल गर्नेहरूलाई एक न एक दिन चोरी पक्रिन्छ भन्ने पनि थाहा हुन्छ, तर त्यसले उनीहरूलाई खासै फरक पारेको पाइँदैन ।’ 

गायिका सहिमा श्रेष्ठ भने मौलिकताका लागि संगीतकारहरू सजग हुनुपर्ने धारणा व्यक्त गर्छिन् । ‘कुनै पनि गीत आफैंमा मौलिक हुन असाध्यै गाह्रो छ, कहीं न कहींबाट प्रभावित भएकै हुन्छ, गायिका श्रेष्ठको भनाइ छ— ‘सामान्य प्रभावित हुनुसम्म त ठीकै होला तर हुबहु नक्कल गरिनुचाहिं चोरी नै हो ।’ यसका लागि संगीतकारले धुन बनाउने बेलामै प्रशस्त अनुसन्धान तथा मेहनत गर्नुपर्ने गायिका श्रेष्ठको सुझाव छ ।

 

प्रकाशित :असार ८, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्