संगीत दिवसमा स्वदेश र विदेशको शास्त्रीय संगीत उत्सव

- साप्ताहिक संवाददाता

असार ६, २०७६

अन्तराष्ट्रिय संगीत दिवसको अवसर पारेर नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले दुई दिने शास्त्रीय सङ्गीत उत्सव– २०७६ आयोजना गरेको छ । 

प्रतिष्ठानले रूसी सांस्कृतिक केन्द्रमा स्वदेश तथा विदेशमा चर्चित रहेका सङ्गीतज्ञहरूद्वारा शास्त्रीय गायन, वाद्यवादन तथा नृत्यको प्रस्तुति आयोजना गर्यो ।  

परम्परागत तथा शास्त्रीय संगीत विभागका प्रमुख प्राज्ञ धीरेन्द्र प्रेमर्षिको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’ले डमरू बजाएर शास्त्रीय संगीत उत्सवको उद्घाटन गर्नुभएको थियो। प्राज्ञ धीरेन्द्र प्रेमर्षिले शास्त्रीय संगीत समग्र संगीतको आधार तथा सिर्जनशीलताको संस्कार भएको उल्लेख गर्दै यसको विकासले नै संगीत जगतको सम्मान र उत्थान हुने बताउनुभयो। प्राज्ञ प्रेमर्षिले कला - संगीतले मनहरूलाई जोड्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै बेग्लाबेग्लै सक्रिय रहेका संगीतज्ञहरूले आपसमा युगल तथा समूह प्रस्तुति दिएबाट मिलेर काम गर्ने संस्कृतिको विकासमा टेवा पुग्ने र यसबाट नेपालमा संगीतको अवस्था दिनानुदिन सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो।

स्त्रोत्र गायक पं. विपिन मिश्रले शङ्ख, डमरू र पखाबज वादनका साथ स्त्रोत्र गायन प्रस्तुत गरेर कार्यक्रममा शास्त्रीय संगीतको पहिलो प्रस्तुती दिए । उनलाई तबलामा सिद्धि शङ्करले साथ दिएका थिए । 

कार्यक्रममा गुरुदेव कामतले राग दरबारी प्रस्तुत गरेका थिए भने डा. ध्रुवेशचन्द्र रेग्मी र सुकर्म समूहका सदस्यले राग भीममा वाद्यवादन गरे । यस्तै अतुल स्मृती गुरुकुलका सदस्यहरु परशुराम पौडेल, अनन्त प्रजापति, मधुसूदन गैरापिप्ली, रामकुमार अर्याल र डा. निरञ्जन भण्डारीले तबला तरङ्गको प्रस्तुती दिएका थिए । 

यस्तैगरी धनबहादुर गोपाली र सङ्गीता प्रधानले राग रागेश्वरी, ज्ञानुराधा गोर्खाली, विकासनाथ योगीले राग कलावती, सन्तोषभक्त श्रेष्ठ–इसराज, सुरेशराज बज्राचार्य–सरोद, मिलन तण्डुकार–जलतरङ्ग, मिलेश तण्डुकार–तबलाको समूहले राग चन्द्रकौंस प्रस्तुत गरेका थिए ।  

जीवन आले, विजय दर्लामी र सरोज अधिकारीले जगन्नाथ धौबडाको तबलाको तालमा राग झिंझोटी प्रस्तुत गरे । नवराज सापकोटा र धनराज तामाङले राग भीमपलासी प्रस्तुत गर्दा श्री केसीले हारमोनियम, मिलेश तण्डुकारले तबला, सन्तोषभक्त श्रेष्ठले इसराजमा साथ दिएका थिए । 

शास्त्रीय गायिका सुजाता वर्मा र जेनिशा पौडेलले राग विहाग प्रस्तुत गर्दा कुन्दन पाठकले हारमोनियम, जगन्नाथ धौबडाले तबला र नीता थापाले तानपूरामा साथ दिएका थिए । 

तबलावादनको क्षेत्रमा अलग्गै पहिचान बनाएकी सरिता मिश्रले पद्यहीरा स्थापितको सितारवादन र संगीता पुडासैनीको तानपूरामा राग भैरवी प्रस्तुत गरेकी थिईन् । सितारवादिका ज्ञानुराधा गोर्खालीले बेला वादक विकासनाथ योगी र मनोज गौतमको तवलाको साथमा राग कलावती प्रस्तुत गरेकी थिईन् । 

कार्यक्रमको अन्तमा सुजाता बरालले कत्थक नृत्य प्रस्तुत गरेर कार्यक्रमको समापन गरेकी थिईन् ।

संगीत उत्सवमा सहभागी कलाकारहरूलाई कुलपति रायनका साथै जनगायक रामेशले प्रमाणपत्र तथा स्नेहोपहार प्रदान गर्नुभएको थियो।

संगीत दिवसमा आयोजित कार्यक्रमको एउटा भिडियो अंश

प्रकाशित :असार ६, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्