अविवाहित कुमारहरूको राशीफलमा सन्तानसुख र पुत्र प्राप्ति लेख्या हुन्छ

- संकलक : जीवन भट्टराई

असार ६, २०७६

खडानन्द र हरिबोल

हरिबोल ः ओए खडे, त्यो सुस्तरी सुस्तरी आउ है भेट्न देउरालीमा भन्दै गीत गाउने जीएफ थिइ नि तेरो, कता गइ आजकाल ?

खडानन्द ः कुरै नगर न त्यसको, त्यही गीत गाउँथी र म पनि सुस्तरी नै भेट्न गा’को, यति सुस्तरी गएछु कि, म पुग्दा त उसको बिहे भैवरी दुइटा बच्चासमेत भैसकेछन् ।

खडानन्द हरिबोलको घरमा पुगे ।

हरिबोल ः ल कस्तो ठिक्क टाइममा आइपुगिछस् यार, लु भन्, खिर खान्छस् कि हलुवा ?

खडानन्द ः हैन हौ हरि, तेरो घरमा एउटै मात्र कचौरा छ कि क्या हो ????

खडानन्द बाटोमा हिंड्दै थिए । एउटा अटोरिक्सा बाटो छेउमा रोकिएको थियो । ड्राइभरभित्र बस्या थियो ।

खडानन्द ः भाइ, बसस्ट्यान्ड जान्छौ ?

ड्राइभर ः (खुसी हुँदै) ः जान्छु हजुर ! 

खडानन्द ः त जाऊ न त, किन यहाँ घोत्लिएर बसिराख्या ?

खडानन्द र पत्नी किचेनमा

खडानन्द ः तैट, आज पनि फेरि भान्टा ? तिम्लाई थाहा छैन कि क्या हो ? धेरै भान्टा खायो भने अर्को जन्ममा मानिस गधा भएर जन्मिन्छ रे ?

पत्नी ः हो, यो कुरो त तिमीले पूर्वजन्ममा भान्टा खाएकै बेला सोच्नुपर्थ्यो नि त !

खडानन्द र पत्नी 

खडानन्द ः तिम्रो कालो, घना, बाक्लो र लामो, सलक्क परेको बादल जस्तो केशले पनि हङ्गामा मच्चायो प्रिय !

पत्नी ः वाउ, मेरो कपालको यस्तो तारिफ ?

खडानन्द ः हो त प्रिये, कहिले दालमा, कहिले भातमा, कहिले तरकारीमा, कहिले चियामा, अब त हुँदा–हुँदा पिउने पानीमा समेत पनि, हङ्गामा नै मच्चायो यार ......

लठेब्रो खडानन्दको बिहे गराइदिन उनका बाउसमेत केटीको घर गए । कुराकानी गर्दागर्दै लठेब्रो खडानन्दलाई पिसाबले चेपेर खपिनसक्नु भयो । शौचालय देखेनन्, केटीलाई छेउमा बोलाएर खडानन्दले कानमा खुसुक्क सोधे ः पिसाब फेर्ने ठाउँ देखाऊ न ......

केटी ः नाइँ के, पहिले तिमी देखाऊ अनि मात्र (केटी पनि लठ्यौरी नै परिछ ।) 

खडानन्द र जीएफ 

जीएफ ः केटाहरू कुनै पनि कुरामा गम्भीर हुँदैनन्, उनीहरू साह्रै कम सोच्छन् ।

खडानन्द ः कम सोच्छन् रे ? तिमी एकपल्ट मुस्कुराई हेर न, बिहेको सुटदेखि लिएर भबिष्यमा हुने बच्चाबच्चीको नामसमेत सोचिसक्या हुन्छु मैले ।

हरिबोल हरिद्वारतिर घुमेर एक महिनापछि आए । खडानन्दलाई भेटे, खडानन्द एकदमै दुखी र उदास देखिन्थे ।

हरिबोल ः के भो यार तँलाई ? धेरै दुब्लाइछस् पनि ।

खडानन्द (रुँला–रुँला जस्तो गर्दै) ः पत्नीले छोडेर गइ यार मलाई ।

हरिबोल ः तँ पनि सँगै जानुथ्यो नि त उतै ?

खडानन्द ः के भन्छ यार, बूढी त मरी–मरी, म पनि यही उमेरमा मरे ती छोराछोरीको बिजोग हुँदैन ...????

खडानन्द र हरिबोल 

खडानन्द (रुँदै) ः मलाई मेरी पत्नीले छोडेर गै यार !

हरिबोल ः राम्रोसँग ख्याल राखिनस होला अनि ।

खडानन्द (हरिबोलको गालामा बजाउँदै) ः साले गधा, आफ्नै साख्य बहिनीजस्तो गरेर राख्या थिएँ उसलाई ।

खडानन्दको घर सहरको एकछेउमा थियो । एकपटक सर्ट सर्किटका कारण एउटा पाँचतल्ले होटलमा आगलागी भयो, धेरै मानिस होटलको आँगनमा जम्मा भए, त्यहाँ खडानन्द पनि थिए । उद्धारका क्रेन ल्याइयो ।

खडानन्द ः लु, जति मानिसहरू भेट्छौ, तल झारदेओ, म सुरक्षितसाथ पक्रेर भुइँमा राख्छु ।

(पहिले एउटा मानिसलाई झारे, त्यसपछि एउटी युवती, अनि एउटा अधबैंसे मानिस, त्यसपछि एउटा सत्र–अठार वर्षको केटा, सबैलाई च्यापच्याप पक्रिदै भुइँमा राखे, अन्तिममा एउटा निग्रो (हब्सी) लाई माथिबाट झारे, त्यसलाई खडानन्दले पक्रेनन्, त्यो भ्यात्त भुइँमा झर्‍यो, त्यसपछि खडानन्द (चिच्याउँदै) ः अरे गधा हो, जो पहिल्यै, माथि नै डढिसक्या छ, त्यस्तो ठुटोलाई किन उद्धार गरेर झार्नुपर्‍यो...

अविवाहित खडानन्द र हरिबोलको गफ

खडानन्द ः यी पत्रिकावालाहरूलाई पनि घोर पाप लाग्छ यार, नर्कमै जाकिन्छन् यार यिनीहरू ।

हरिबोल ः हो नि यार, हामीजस्ता अविवाहित कुमारहरूको राशीफलमा सन्तानसुख र पुत्र प्राप्ति अनि श्रीमतीबाट अगाध माया भनेर लेख्छन् यार !

खडानन्द र पत्नी 

पत्नी ः यदि म थिइनँ भने तिम्रो हालत के हुन्थ्यो ? यसो सोच त खडु ।

खडानन्द ः राम्रै हुन्थ्यो नि, साँझ–बिहान बेलनाको झटारो त खान पर्दैनथ्यो ।

खडानन्द एउटी राम्री युवतीको छेउमा गए प्रेम प्रस्ताव राख्न । छेउमा पुगेपछि के बोलूँ–बोलूँ भयो ।

खडानन्द (बिस्तारै) ः कति जना छन् तिम्रा दाजुभाइ ?

युवती ः तिमीसमेत मिलाएर चार जना ।

खडानन्दलाई प्रहरीले गिरफ्तार गरेर लाँदै थिए । बाटोमा हरिबोलले भेटे ।

हरिबोल ः के गरेछ यो खडानन्दले ?

खडानन्द ः अरे यार हरि, सम्झा न यी पुलिस भाइलाई, सरकार रूख रोप्नु भन्छ, गाँजाको दुई–चार बोट लगाएको थिएँ, अरे गाँजाको रूख पनि त रूखै हो नि यार !

खडानन्द र हरिबोल

खडानन्द ः एउटा कुरा सम्झँदाचाहिँ साह्रै दुःख लाग्छ यार मलाई ।

हरिबोल ः के कुरा ?

खडानन्द ः जब मलाई बोलाउँदा दिदीले ‘कुकुर’, आमाले ‘कामचोर’ बुबाले ‘गधा’ र हजुरबाले ‘मर्‍या स्याल’ नै भन्नु थ्यो भने मेरो नाम किन ‘खडानन्द’ राखिदिएका होलान् ...????

 

प्रकाशित :असार ६, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्