भूपिनको नजरमा पाँच उत्कृष्ट गन्तव्य

- राधिका अधिकारी

असार ५, २०७६

पोखरा आफैंमा सुन्दरताको अर्को विम्ब हो । पोखरामा रमाउने कुरा थुप्रै छन् । पोखरामा हिमाल र तालको अनुपम सौन्दर्य अवलोकन गर्न सकिन्छ । प्रकृतिले सिंगारेको यति सुन्दर सहर संसारमा कमै होलान् । 

 

यो वर्ष कवि तथा निबन्धकार भूपिन खड्काको परिचय थपिएको छ । यसै वर्ष उनको ‘मैदारो’ शीर्षकको उपन्यास सार्वजनिक भएको छ । यो उपन्याससँगै उनी आख्यानकारका रूपमा पनि अगाडि आएका छन् । ‘हजार वर्षको निद्रा’, ‘सुप्लाको हवाईजहाज’ जस्ता उत्कृष्ट कृति प्रकाशन गरेका भूपिनले एउटा चित्रकारको कथालाई लिएर लेखेको आफ्नो उपन्यासमा सामाजिक यथार्थ र कल्पनाको सम्मिश्रण गरेका छन् । साहित्यकार भूपिन आफ्नै लेखन जीवनका दौरान नेपालका विभिन्न स्थानमा पुगेका छन् । नेपालका अधिकांश स्थान पुगिसकेका भूपिनले घुमाइका हिसाबमा आफूलाई उत्कृष्ट लागेका पाँच स्थानका बारेमा यसरी जानकारी दिएका छन् : 

पोखरा

पोखरा आफैंमा सुन्दरताको अर्को विम्ब हो । पोखरामा रमाउने कुरा थुप्रै छन् । पोखरामा हिमाल र तालको अनुपम सौन्दर्य अवलोकन गर्न सकिन्छ । प्रकृतिले सिंगारेको यति सुन्दर सहर संसारमा कमै होलान् । 

खप्तड

नेपालका पर्यटकीय स्थलमध्ये खप्तड पनि एक हो । खप्तड सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल मानिन्छ । खप्तड पुगेर हेर्नैपर्ने ठाउँ खप्तड बाबाको आश्रम हो । समुद्र सतहबाट ३ हजार ५ सय मिटर सम्म उचाइमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्ज भित्र ५ सय ६७ थरीका वनस्पति तथा नेपालमा पाइने ८ सय ५० किसिमका चराचुरुंगीमध्ये २ सय ६० भन्दा बढी चराचुरुंगी बसोबास गर्छन् । यहाँ विशाल पाटन तथा हिमाली दहहरूको समेत सौन्दर्यपान गर्न सकिन्छ ।

मुस्ताङ

मुस्ताङ गण्डकी प्रदेशको सबैभन्दा उत्तरमा पर्ने जिल्ला हो । यहाँका काली गण्डकी किनारका बस्तीले मनलाई आनन्दित तुल्याउँछन् । मुस्ताङको मन तान्ने अर्को विशेषता भनेको यहाँको फरक ल्याण्डस्केप हो । हरियाली नहुँदा पनि पृथ्वी कसरी अप्रतिम सुन्दर देखिन्छ भन्ने कुरा थाहा पाउन पनि एकपटक मुस्ताङ पुग्नैपर्ने हुन्छ । 

काठमाडौं 

काठमाडौं यसै पनि हरेक नेपालीको प्रमुख गन्तव्य हो । देशको राजधानी भएकाले पनि हरेक कामकाज मात्र होइन, घुम्नकै लागि पनि प्रायः नेपालीहरू काठमाडौं पुग्छन् । पछिल्लो समय काठमाडौंको वातावरण त्यति सहज छैन । यद्यपि काठमाडौंका मन्दिर, गुम्बाहरूको आनन्द लिन तथा तिनको आर्किटेक्टको उच्चता महसुस गर्न पनि काठमाडौं घुम्नु आवश्यक छ । 

चितवन

घुमघामका लागि चितवन पनि उत्तम स्थल हो । यहाँ सौराहा, मेघौलीजस्ता क्षेत्रमा प्रकृतिसँग एकाकार हुन पाइन्छ भने देवघाट, वाल्मीकि आश्रम, सीतामाई थानजस्ता तीर्थस्थल घुम्दा चित्त शुद्ध हुन्छ । त्यति मात्र होइन, उपरदाङ गढी, सोमेश्वर गढीजस्ता प्राचीन ऐतिहासिक क्षेत्र घुम्दा हाम्रा पिता पुर्खाहरूप्रति गौरवबोध हुन्छ । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिंगे गैंडा, हात्ती, पाटेबाघ एवं विभिन्न चराचुरुङ्गी हेर्न तथा जंगल सफारीको आनन्द लिन सकिन्छ । वाइल्ड लाइफ मन पराउनेहरूका लागि चितवन स्वर्ग नै हो ।

प्रकाशित :असार ५, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्