अन्धविश्वासको पराकाष्ठा

  • नाबालकको घाटी रेटी रगत चढाए देउता खुसी हुने भ्रम

- जनकराज सापकोटा

असार ५, २०७६

 

निर्दोष अढाई वर्षीय बालकको घाँटीमा धारिलो हतियारले रेट्ने कुरा त कल्पना गर्दा पनि आङ सिरिङ्ग हुन्छ, तर यस्तै कल्पनाबाहिरकै कुरा भयो, २३ वैशाखमा जनकपुरमा । दुई छोरा र एक छोरीका बाबु शत्रुघ्न महतो त्यो दिन घरमा एक्लै थिए । तन्त्रमन्त्रजस्ता कुरामा रुचि राख्ने उनी पछिल्लो केही समययता धनुषाको मिथिला–८, कुसुमविछौना घर भएका र नाताले भिनाजु पर्ने ५२ वर्षीय जंगवीर महतोको संगतमा थिए । टुनामुना र झारफुकका लागि चर्चित जंगवीर अनेकन तन्त्र–मन्त्र फलाक्थे । तिनै जंगवीरको लहलहैमा लागेर शत्रुघ्नले बालक हत्याको घटना गराएको प्रहरी अनुसन्धानले देखाएको छ । 

बालककी आमा घाँस काटन गएका बेला शत्रुघ्न उनका घर पुगे । छिमेकी भएकाले पनि शत्रुघ्नले बालक आर्यनलाई नजिकबाट चिनेका थिए । बालकले पनि उनलाई बाबा भन्थे । बालकको घरमा पनि कोही नभएको र आफ्नो घरमा पनि कोही नभएको । मौका छोपीरहेका शत्रुघ्नलाई त्यो उपयुक्त समय लाग्यो । साँझ ढल्की नसक्दै उनले आर्यनलाई काखमा च्यापेर आफ्नो घर ल्याइसकेका थिए । चिनेजानकाले ती बालक पनि उनीसँग खेल्दै रमाए । शत्रुघ्नले भैंसी दुहे र भोकाएका आर्यनलाई पिलाए । 

त्यतिबेलासम्म आर्यन हराएको खबर गाउँमा फैलिसकेको थियो । आर्यनकी आमा यता–उता भौंतारिन थालिसकेकी थिइन् । बालकको खोजी भएको थाहा पाएपछि शत्रुघ्नले बालकलाई काखीमा च्यापी घर बाहिरका झाडीमा लुके । झन्डै डेढ घण्टा त्यहाँ बसेर रात छिप्पिएपछि उनी कोठामा फर्किए । त्यतिबेला आर्यन निदाइसकेका थिए । 

प्रहरीका अनुसार राति झन्डै दुई बजेतिर शत्रुघ्न उठे । पुजा सामग्री ठिक्क पारे । प्रहरीका अनुसार जसमा अक्षता, फुल र धारिलो हतियार थियो । दुवै हातले आर्यनलाई उठाए । पूजा गर्ने ठाउँमा ल्याए । मन्त्रोच्चारण गर्दै निदाइरहेको आर्यनको घाँटीमा हतियार चलाए । पूजास्थल रगतले भरियो । उनले शवलाई तौलियामा बेरे र घरपछाडिको झाडीमा लुकाए । 

घटनाको २५ दिनपछि मात्र प्रहरीले घटनामा संग्लन शत्रुघ्नलाई पक्राउ गर्‍यो । जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालका अनुसार दैवी शक्ति आर्जन गर्ने अन्धविश्वासमा परेर शत्रुघ्नले ती बालक हत्या गरेका थिए । प्रहरी बयानमा शत्रुघ्नले चमेनीमाईलाई खुसी तुल्याउन बालकको रगत चढाएको कुरा बताएका छन् । प्रहरीले उनीमाथि कर्तव्य ज्यान र शरीर बन्धक तथा अपहरणसम्बन्धी दुईवटा मुद्दा चलाएको छ । 

प्रहरी स्रोतका अनुसार बालक हत्यामा शत्रुघ्नलाई उकास्ने काम भने उनकै भिनाजु जंगवीरले गरेको प्रहरीको अनुमान छ । शत्रुघ्नको बयानका आधारमा प्रहरीले जंगवीरलाई पनि पक्राउ गर्न खोजेको थियो, तर घटना लगत्तैदेखि उनी फरार छन् । 

शत्रुघ्नका एक छोरा वैदेशिक रोजगारीमा थिए । विवाह भएकी छोरी बिरामी भएपछि उनकी श्रीमती र अर्को छोरा उनको उपचार गराउन काठमाडौं गएका थिए । आफ्नै खेतीबारीको उब्जनीले खान पुग्ने परिवारका शत्रुघ्न पछिल्ला महिनाहरूमा तन्त्र–मन्त्रको अन्धविश्वासी संसारमा एकोहोरिएका थिए । उनी छर–छिमेकका बालबालिका बिरामी हुँदा फुकफाक गर्न पुग्थे । प्रहरीका अनुसार उनको हिंस्रक विगत पनि देखिँदैन, तर तन्त्रमन्त्रजस्तो अन्धविश्वासको पछि लाग्दा उनी बालकको हत्यामा अग्रसर भए । एसपी खनालका अनुसार प्रहरी बयानमा शत्रुघ्नले आफुले अन्धविश्वासमा परेर बालकको हत्या गरेको स्वीकार गरिसकेका छन् । खनालले घटनामा सघाउने अरूको पनि खोजी भैरहेको बताए । 

कथित धर्म र दैवी शक्ति आर्जनका नाममा बालकको बलि दिने यो घटना पहिलो भने होइन । ९ साउन २०७२ मा नवलपरासीको कुडियामा पनि यस्तै घटना घटेको थियो । तत्कालीन कुडिया गाविस–४, मर्चहवाका कोदाइ चमारले केही गाउँलेको सहयोगमा १० वर्षीय सोनु भनिने जीवन कोहारको घाँटी रेटेर हत्या गरेका थिए । अनौठो त के छ भने जनकपुरको घटनामा भन्दा फरक उक्त बलि प्रकरणमा कोदाईले हत्या भएका बालककै परिवारका सदस्यलाई हातमा लिएका थिए । कोदाईले भाइ सूर्यभान, झाँक्री गुरु भनिने गंगा चमार तथा ज्वाइँ रुदलको सहयोगमा बालक सोनुको हत्या गरेका थिए । 

घटनालगत्तै पक्राउ परेका कोदाईले आफ्ना १८ वर्षीय छोरालाई सर्पले टोक्दा उपचारपछि पनि निको नभएको र त्यही बेला देउता चढेर आफूलाई मानिसको मासु खान मन लागेको बताएपछि आफूले बालकको बलि दिएको बताएका थिए । कोदाईले मानिसको मासु चढाउन नसके देउताले आफ्नै मासु खाने डर भएपछि पूजा गरेर बालकको हत्या गरेको जानकारी दिएका थिए । 

यी दुवै घटनामा केही समानता देखिन्छ । जस्तो कि दुवै घटनामा बालकको मध्यरातमा हत्या गरिएको छ । दुवै घटनामा हत्या अघि देउताको पूजा गरिएको छ अनि दुवै घटनामा स–साना बालक प्रयोग भएका छन् । प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआईजी विश्वराज पोखरेल अन्धविश्वासले जकडिएको समाजमा दैवी शक्तिको भ्रम नचिरेसम्म यस्ता घटना भैरहने बताउँछन् । 

२०७३ भदौको अन्तिम साता पनि नरबलिको असफल प्रयासको एउटा घटना काठमाडौंबाटै सार्वजनिक भएको थियो । भारतीय तान्त्रिक कानु पहरीले स्वयम्भूको सानो भर्‍याङस्थित एक घरमा धादिङकी एक १६ वर्षे किशोरीको बलि दिने प्रयास गरेको घटना प्रकाशमा आएको थियो । १८ दिनसम्म बन्धकजस्तै बनाएर पूजा–पाठ भैरहेका बेला किशोरी भागेपछि मात्र प्रहरीले घटनाका सम्बन्धमा जानकारी पाएको थियो । उक्त षड्यन्त्र थाहा पाएपछि केन्द्रीय अनुसन्धान ब्युरोको जघन्य अपराध हेर्ने पिलर नम्बर १ ले घटनाको अनुसन्धान अघि बढाएको थियो । त्यतिबेला पिलरका डिएसपी रुगम कुँवरको टोलीले पूजा भएको भनिएको घरमा छापा मारेको थियो, जहाँबाट मानव खप्पर, हाडखोर तथा कालीको मूर्ति बरामद गरिएको थियो । 

उक्त घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय तथा धादिङका तत्कालीन डिएसपी सविन प्रधान पनि संलग्न थिए । स्वयम्भूमा व्यापार गरी बस्ने ओमकार साहले २०७० चैतमा मानव खप्पर किनेर ल्याएको र त्यही राखेर तन्त्र साधना गरेको प्रहरीले बताएको थियो । आफूलाई बलि दिइने कुरा थाहा पाएपछि धादिङ घर भएकी ती किशोरी त्यहाँबाट भागेर गाउँ पुगेकी थिइन् । गाउँ पुगेपछि पनि तान्त्रिक तथा उनका सहयोगीले निरन्तर धम्की दिएपछि ती किशोरीले जिल्ला प्रहरी कार्यालय, धादिङमा उजुरी गरेकी थिइन् । हाल भक्तपुरका एसपी प्रधानले त्यतिबेलाका नरबलिको उक्त प्रसंग सुनाउँदै उजुरी लिएर पीडित आएपछि आफू चकित भएको बताए । उनले भने, ‘यस्तो पनि हुन्छ र ? भन्नेजस्तो केस थियो, तर पछि अनुसन्धान गर्दै जाँदा सबै कुरा पुष्टि भयो ।’

नरबलि सबैभन्दा ठुलो पापकर्म

वासुदेवकृष्ण शास्त्री, संस्कृतिविद्

हिन्दू धर्मशास्त्रमा नरबलिको कुनै विधान छैन । देउतालाई खुसी पार्न मानिस त्यसमा पनि बालबालिकाहरूलाई मारेर रगत चढाउने भन्ने कुरा त हुँदै नभएको कुरा हो । मानिसभिक्र काम, त्रोध, लोभ सबै निहित हुन्छ । बलि चढाउने भनेको मानिसभिक्र रहेको काम, त्रोध, लोभ, मोहलाई त्याग्ने भनेको हो । मानिस अर्थात् नरभित्र रहेको नकारात्मक भाव अर्थात अवगुणहरूको बलि चढाउने कुरा हाम्रो शास्त्रले गरेको छ । त्यसको अर्थ मानिसकै बलि चढाउने भन्ने हुँदै होइन, तर दिग्भ्रमति कतिपय मानिसले कुरा नबुझेर मानिसकै बलि चढाउन थाले । 

यो घनघोर अपराध र पाप हो । मानसिक रूपमा विकृतहरूले गर्ने काम हो यो नरबलि भनेको । तन्त्रहरूको ६४ साधनामध्ये अघोरतन्त्रमा शव साधनाको उल्लेख छ । त्यो भनेको मृत्यु भैसकेका मानिसको शवमाथि बसेर गरिने साधना हो । यो शास्त्रले पनि ज्यूँदो मानिसलाई मार्ने परिकल्पना गर्दैन । तन्त्रहरूमा यस्तो साधनाको कुरा भए पनि कलियुगमा यस्तो साधना पूरै निषेध छ । 

पिचास र राक्षसले मात्र मानिसको बलि खाने काम गर्छ, तर नरबलि भन्ने कुरा शास्क्रसम्मत हुँदै होइन । नरबलिको नाममा शत्ति आर्जन हुने कुरा हुँदै नभएको भ्रम हो । बालबालिकाहरूको घाँटी रेटेर देउतालाई रगत चढाउने भनेको घनघोर अपराध कर्म हो । यो धर्मको नाममा सबैभन्दा ठूलो पाखन्ड हो । यस्तो कर्म गर्नेहरूले न शक्ति आर्जन गर्छन्, न यसबाट देउता खुसी हुन्छन् । यो त सबैभन्दा ठूलो पाप बाहेक केही होइन । यस्तो काम पिचास कर्म हो । 

अघोर साधना गर्ने अघोरीहरूले शव जलाइसकेपछि मानिसको मासु खान्थे । यद्यफि यस्ता साधना ५ हजार वर्षयता निषेधित अवस्थामा छन् । देवता कल्याणकारी हुन्छन् । देवताले कहिल्यै मानिसको बलि खोज्दैनन् वा माग्दैनन् । व्यक्तिगत शत्ति आर्जन गर्ने भ्रममा नरबलि दिनु सबैभन्दा निकृष्ट अपराधकर्म मात्र हो ।

नरबलि : एक अन्धविश्वास

विश्वराज पोखरेल/ प्रवक्ता, नेपाल प्रहरी 

नरबलिको घटना किन दोहोरिरहन्छ ? 

नेपाली समाजमा परम्परागत धार्मिक अन्धविश्वासहरू छन् । धामी, झmाँक्री तथा दैवी शत्तिमा विश्वास गर्नेहरू पनि उत्तिकै छन् । यस्तो अन्धविश्वास बेला–बेला अपराधका रूपमा समेत प्रकट हुने गरेको छ । जनकपुरको घटना पनि त्यस्तै हो । हाम्रो समाजमा भूत बोलाउने, भूत नचाउने वा बोक्सी बकाउने जस्ता अन्धविश्वास व्याप्त छन् अनि यही अन्धविश्वासमा जकडिएकाहरूले शक्ति आर्जन गर्ने वा देउता खुसी पार्ने भ्रममा परेर अपराध गरेको पाइन्छ । 

बालबालिकाको हत्या गर्ने वीभत्स विचारले किन समाजमा ठाउँ पाइरहेको छ ? 

अशिक्षा नै यसको मुख्य कारण हो । बलि दिए शक्ति आउँछ भन्ने विश्वास नै अन्धविश्वासको उपज हो । आधुनिक समाजमा पनि यस्तो प्रथा भित्रभित्रै चलिरहेको छ । यस विषयमा राम्रोसँग बुझाउन नसक्दा र शिक्षाको कमीले गर्दा पनि यस्तो भैरहेको पाइन्छ । 

यस्ता घटनाको अनुसन्धानमा प्रहरीको सफलता कस्तो छ ? 

नरबलि वा अन्धविश्वासमा परेर हुने अपराधका घटनामा प्रहरीले छिटै अभियुक्तलाई पक्राउ गर्दै आएको छ । किनभने नरबलि दिनेहरू घटनापछि भाग्ने वा लुक्ने भन्दा पनि मैले शक्ति आर्जन गरे अब मलाई कसले के गर्न सक्छ र ? भन्ने खालको भ्रममा हुन्छन् अनि प्रहरीले सजिलै त्यस्ता अपराधीलाई पक्राउ गर्छ । 

प्रकाशित :असार ५, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्