झ्याल नभएको उपत्यका

- किशोर नेपाल

असार ४, २०७६

 

कान्तिपुरसँग प्यार–मोहब्बतको सम्बन्ध छ रन्जनको । उनी मधेश, जनकपुरको मैथिली ब्राह्मण परिवारमा जन्मिएका अनि त्यहीं हुर्किएका कलाकार । कान्तिपुर उनलाई रमाइलो लाग्छ । पढाइ सकेर उनी कान्तिपुर आए । यतै बस्नथाले । कान्तिपुर सबैलाई रमाइलो लाग्छ । रन्जनलाई भने पूरै उपत्यका शक्तिपीठ जस्तो लाग्छ । उनलाई कान्तिपुरका शक्तिपीठले निकै आकर्षित गरेका छन् । यो उपत्यकामा बाहिर चियाएर हेर्ने झ्याल छैन । झ्याल नभएको उपत्यका भए पनि, कान्तिपुरमा उभिएर बोलेको कुरा चारैतिर सहजै सुनिन्छ र फैलिन्छ । हावापानी राम्रो छ । राम्रो मात्र होइन बुलन्द नै छ । त्यसैले त रन्जन यो उपत्यकामा छन् । उनले पाटनका गल्लीहरू घुमेका छन् । कान्तिपुरका गल्लीहरूका सम्बन्धमा राम्रो जानकारी राख्छन् । यद्यपि सबै घुमेका छैनन् । रमाइलो कुरा, उनी तीन सहरमध्ये भादगाउँ गएका छैनन् । कस्तो छ त्यो सहर ? उनको कल्पनामा पनि भादगाउँको चित्र कतै कोरिएको छैन । कलाकारहरूको जीवन मनस्थितिका आधारमा चलेको जो हुन्छ ।

कान्तिपुर फूर्तिलो छ, जोशिलो छ । त्यसैले त रन्जन यहाँ आएका हुन् । यहाँ उनी पनि जमे र उनको सांगीतिक ब्याण्ड जिरो माइल पनि जम्यो । उनी स्वर श्रष्टा हुन् । अडियो तयार गर्छन् । विज्ञापन सामग्री तयार गर्छन् । जिंगलहरू तयार गर्छन् । कान्तिपुर टेलिभिजनको लोगो तथा समाचार संगीत उनैले तयार गरेका हुन् । वृत्तचित्र राम्रो बनाउँछन । संगीत उनको मुख्य पेसा–व्यवसाय हो । उनी डिस्को जकीं हुन् । राति अबेरसम्म कान्तिपुरका क्लबहरूमा बाजा बजाउनु र गाउनु उनको पेसाको एक हिस्सा हो । उनी आफैंले तयार गरेका गीत–संगीत बजाउन रुचाउँछन् । दर्शकको माग तथा संगीतको फ्यूजन हुन्छ उनको गीत–संगीतमा । रन्जन अहिले लोक संगीतको विकास एवं संरक्षणमा जुटेका छन् । 

उनको आफ्नो एल्बम तयार हुने क्रममा छ । त्यसमा उनले कसेरादेखिका लोकगीतहरूको संयोजन गरेका छन् । कान्तिपुर उनलाई राम्रो र रमाइलो लाग्छ । यहाँका मानिस जागरुक छन्, तै पनि बोल्दैनन् । विद्रोहको संस्कृति त छ तर मौन छ । यद्यपि, मानिसहरूको गुनासो छ, कान्तिपुर अब बस्नलायक सहर रहेन । रन्जन भन्छन्, यो अतिशयोक्ति हो । यहाँ मात्र होइन जहाँ कहीँ छ धूलो । कान्तिपुरमा मात्र धूलो छ भन्नु बिडम्बना नै हो । जे भए पनि सफाइको समस्या छ कान्तिपुरमा । सडकमा हिँड्दा केराको बोक्रामा चिप्लेर लडिएला कि भनेर होस पुर्‍याउनुपर्छ । कान्तिपुरको मौसम राम्रो छ । गर्मीमा मलुवा गर्मी जाडोमा मलुवा जाडो । यो सहरमा हिँड्दा आकाशतिर हेरेर हिँड्नुपर्छ । तब न रमाइलो हुन्छ ।

रन्जन र उनका सांगीतिक साथीहरू ‘निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाइयोस्’ भन्ने अभियानमा छन् । त्यहाँ विमानस्थल बनाउँदा जंगलको ठूलो भाग नासिने र जंगली जनावरहरूको बिचल्ली हुने तर्क छ यी कलाकारहरूको । यिनीहरूले एक–एकवटा जनावरलाई अडप्ट गरेका छन् । रन्जनले हात्ती अडप्ट गरेका छन् । रन्जनमा हात्ती प्रेम मात्र छैन । उनी तीव्र गतिमा नासिँदै गएको लोकलय र गीतको चिन्तामा पनि डुबेका छन् । अघिल्लो पुस्ताले धानेको लोक लय र गीत त्यो पुस्ताको अवशानपछि नरहने त पक्कै छ । बूढो मरे पनि उसको भाका सर्छ भन्ने भनाइ छ । त्यसैमा अन्तर्घात होला भन्ने डर बढेको छ ।

रन्जनले लामो दाह्री पालेका थिए । उनको दाह्री एक प्रकारको फेसन स्टेटमेन्ट थियो । पछि सडकमा हिँड्दा सबैले उनलाई नमस्कार गर्न थाले । मानिसले उनलाई यसरी बाबा बनाउनथाले पछि उनले आधा दाह्री काटे । दाह्री बढाउनु उनको उमेरको कुरा थिएन । त्यो त शोखको कुरा थियो ।

रन्जनले संगीत पढेका होइनन् । दिल्ली बस्दा उनको प्रेमपासमा बाँधिएकी उनकी पत्नी चन्द्रेशा पाण्डे शास्त्रीय संगीतमा पारंगत छिन् । उनीहरू एक्लाएक्लै र दुवै मिलेर संगीत सिर्जना गर्छन् । संगीतको कमाइमा सन्तुष्ट छन् उनीहरू । दिनहरू राम्रैसँग कट्दैछन् ।

प्रकाशित :असार ४, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्