आन्तरिक पर्यटन प्रवर्द्धन गर्न जलयात्रा 

- विष्णु तारुके

असार २, २०७६

धादिङको आदमघाटमा जम्मा भएका सैयौं युवा–युवती त्रिशूलीमा तैरन आफूलाई कस्दै थिए । हातमा प्याडल, ज्यानमा लाइफ ज्याकेट, टोपीसहित सबै साहसिक जलयात्रा गर्न तम्सदै थिए । बर्खा सुरु नहुँदै बढेको त्रिशूलीको बहावमा तैरने आँट आफैंमा साहसिक हुन्छ । त्रिशूलीको छेउमै उभिएकी सम्झना बुढाथाकीले पहिलोपल्ट जलयात्रा गर्न पुगेको र सुरुमा डर अनि मज्जा लागेको बताइन् । ठूलो छालमा डर लागे पनि साहसिकता प्रदर्शन गरियो उनले भनिन् । 

नेपाल एसोसियसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) ले हरेक वर्षझैं यो वर्ष पनि ३१ औं वार्षिक जलयात्रा उत्सव     मनाएको छ । नाराले त्रिशूली तथा भोटेकोसीमा गरेर २ हजार ५ सय जनालाई एकै दिन जलयात्रामा सहभागी गराएको नाराका महासचिव शिव अधिकारी बताउँछन् । प्रायः विदेशीले मात्र गर्ने जलयात्रामा अहिले नेपालीहरूकै बाहुल्यता देखिन्छ । 

राजधानीको मैतीदेवीमा बस्छिन्— तृष्णा घिमिरे । उमेरले २० वर्ष पार नगर्दै साहसिक जलयात्रा गर्न मन लागेर साथीहरूसँग प्याकेजमा त्रिशूलीको जलयात्रा गर्न पुगेकी थिइन् उनी । सुरुमा डर लागे पनि पछि डर हराउँदै गयो घिमिरेले भनिन् । उनकै जस्तो अनुभूति छ रस्मिता पण्डितको पनि । त्रिशूलीको छालमा रमाउनुको मज्जै बेग्लै रहेछ । पानीमा पौडीको आनन्द लिइरहेकी पण्डितले बढ्दो वातावरण प्रदूषणले नदी दुर्गन्धीत हुँदै गएकोमा चिन्ता लागेको बताइन् । 

नेपालका धेरै नदीनालामा जलयात्राको प्रचुर सम्भावना भए पनि नदीमा बढ्दो दुर्गन्ध तथा जथाभावी खुलेका क्रसर एवं जलविद्युत् उद्योगका कारण विस्तारै यो पेसामा लाग्नेहरू नै धाराशाही हुन थालेका छन । यो पेसाबाट व्यावसायीहरू पलाइन हुने क्रम बढ्दो छ । पर्यटन बोर्डले पनि जलयात्रा व्यावसायीलाई तालिमका साथै प्रचार–प्रसारमा सहयोग पुर्‍याउन नसकेको र्‍याफ्टिङ गाइड तथा नाराका उपाध्यक्ष कमल ठकुरी बताउँछन् । 

त्रिशूली किनारमा रिसोर्ट सञ्चालन गर्दै आएका रामहरि सिलवाल पनि नदी फोहोर हुँदै गएकोमा चिन्तित छन । स्वच्छ नदीमा रमाउने पर्यटकहरू फोहोर बढ्दै गएपछि नदीको किनारमै पुग्न नचाहने प्रवृत्ति बढ्दो भएको सिलवालले बताए । 

प्रकाशित :असार २, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्