संगीतप्रति इमान्दार मान्छे हुँ जस्तो लाग्दैन 

- राजाराम पौडेल

असार २, २०७६

गलबन्दी गीतबाट गत साता सबैभन्दा बढी चर्चा पाउने कलाकार हुन्– प्रकाश सपूत । त्यसो त उनका दोहोरी ब्याटल, बोलमाया तथा दोहोरी ब्याटल टुबाट चर्चामा आएका गायक हुन्– प्रकाश सपूत । उनले डेढ दर्जनभन्दा बढी गीतमा आवाज भरिसकेका छन् । गीत लेखन तथा म्युजिक भिडियोमा उनको संलग्नता अझ बढी छ । बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर–३ मा बुबा बलबहादुर बिक तथा आमा मीनाकुमारी विकको पहिलो सन्तानका रूपमा जन्मिएका प्रकाश राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति काठमाडौंका सचिवसमेत हुन् । गायक सपूतसँग साप्ताहिककर्मी राजाराम पौडेलको कुराकानी :

गलबन्दीले ट्रेन्डिङमै करोड भ्युज पायो कस्तो अनुभव भैरहेको छ ? 

एकदमै रमाईलो अनुभव भैरहेको छ । आफ्नो टिमले गरेको मेहनत सफल हुँदा कसलाई पो खुसी नलाग्ला र ? अर्को कुरा, नेपाली मौलिक गीतले छोटो अवधिमै यति ठूलो सफलता पाउनु भनेको चानचुने कुरा होइन । त्यसैले पनि निकै खुसी छु । 

कहिल्यै लोकगीत नसुन्ने युवा पुस्तामाझ पनि यसको लोकप्रियता देखिनुको कारण ? 

मुख्य कुरा त सबैलाई यसको जीवन्त प्रस्तुतिले छोएको छ । नियमित आउने गीतहरूको तुलनामा यसमा अलि फरक अभ्यास गरिएको छ । त्यसैले पनि यो गीत युवापुस्तामाझ लोकप्रिय भएको हुनसक्छ । यो गीतका कतिपय ठाउँमा विभिन्न डायलग हालिएको छ, साथै यो गीतले गाउँको चिनारी पनि दिएको छ । हामी जति नै आधुनिक भए पनि अन्ततः हाम्रो मन भित्र नेपालीपन छ । त्यही नेपालीपन गलबन्दीमा झल्किएको हुनाले यसले लोकप्रियता पाएको हो । 

कसरी सिर्जना गर्नुभयो ? 

अरू गीत जसरी बन्छन्, त्यसरी नै यो गीत बनेको हो । यसलाई मैले सुरुमा प्रत्यक्ष दोहोरीको रूप दिने सोंच बनाएको थिएँ । पछि प्रत्यक्ष दोहोरीलाई रोधी घरमा राखें । रोधी घरमा जे–जस्ता गतिविधि हुन्छन् त्यसलाई पनि थपें । त्यसपछि यसमा समावेश गरिएका डायलग र पात्र छनौट गरें । भिडियो छायांकनमा मौलिकता देखाउन गाउँघर नै रोजें र यसका अधिकांश पात्र पनि गाउँलेहरूलाई नै राखें । यसरी नै यो गीतको निर्माण भएको थियो । 

गलबन्दीमाथि चोरीको आरोप समेत लागेको छ नि ? 

लोक लय उस्तै–उस्तै सुनिनु स्वभाविक हो । यद्यपि म कसैले भनेको कुराको खण्डन गरेर उहाँहरूको आत्मसम्मानमा ठेस पुर्‍याउन चाहन्नँ । प्रस्तुतिका हिसाबले, गायकीका हिसाबले र लयमा पनि धेरै फरक छ । जब गीतले उत्कृष्ट भ्युज पाउन थाल्यो र सर्वत्र चर्चा हुन थालेपछि यस्ता कुरा आउनुचाहिँ विभिन्न नियतसँग जोडिएको पाइन्छ । हरेक सर्जकले हरेक सिर्जनामाथि जवाफ दिन भ्याउँदैन र त्यो दिनैपर्छ भन्ने पनि छैन । यो दर्शकहरूले आफ्नो ढंगले प्रयोग गर्ने कुरा हो । त्यसैले मैले यो विषयलाई दर्शक श्रोताहरूमाझ स्वतन्त्र छाडिदिएको छु । 

तपाईंलाई ब्याटल गीतले चिनायो, यसरी ह्वात्तै उचाइमा पुर्‍याउने टर्निङ प्वाइन्ट कसरी आयो नि ?

मैले आफ्नो पहिलो ब्याटल आउँदाको वर्ष संगीतका लागि यो मेरो अन्तिम वर्ष हो भनेर घोषणा गरेको थिएँ, फेसबुकमा लेखेर । मैले अब म गीत–संगीतको काम गर्दिनँ, पेसा नै बदल्छु पनि भनेको थिएँ । म त्यतिबेला चरम निराशाबाट गुज्रिरहेको थिएँ । त्यहींबीच ब्याटल गरेको थिए । 

कसरी सिर्जना भएको थियो पहिलो ब्याटल ? 

नर्मल, दोहोरी जसरी लेखिन्थ्यो त्यसरी नै लेखेको हो, सवाल–जवाफ केटाले भन्नेले केटीले भन्ने नै थियो । त्यसको कन्सेप्ट, शब्द, मेलोडी सबै मेरो आफ्नै थियो । त्यसको प्रस्तुति मात्र मोर्डनाइज्ड थियो । उक्त प्रस्तुति र्‍याप ब्याटलबाट प्रभावित थियो । मेलोडी मेकिङ लोकदोहोरीबाट प्रभावित थियो, त्यो हिसाबले दोहोरी मनपराउनेलाई पनि आफ्नो जस्तो लाग्ने, ब्याटल मन पराउनेहरूले पनि वाह हाम्रो स्टाइलजस्तो भन्ने भएकाले ओभरअलमा सबैलाई मन परेको हो जस्तो लाग्छ ।

ब्याटलको चर्को आलोचना पनि भयो नि ?

यो ब्याटल मेरो करियरका लागि ट्रायल थियो, नेपाली संगीतका लागि पनि ट्रायल थियो, अलिकति भएन कि भन्ने खालको फिडब्याक केहीले दिएका थिए । मैले त्योभन्दा अघि नै धेरै मौलिक गीत तयार पारिसकेको थिएँ, अघिल्लो पुस्ताले आफ्ना पुराना गीतमार्फत आफ्नो परिचय बनायो भने त्यही शैलीमा आफ्नो संगीतलाई अपडेट गरिरहेको थियो । हाम्रो नयाँ पुस्ताले जति नै राम्रा गीत–संगीत दिए पनि त्यो मानिसहरूसम्म पुगिरहेको छैन भन्ने अनुभूति मलाई भैरहेको थियो । अनुसन्धानका क्रममा म अहिलेको पुस्ताको कलाकार हुँ भने मेरो अडियन्स त अहिलेकै पुस्ता हुनुपर्छ भन्ने हिसाबले मैले उनीहरूको रुचि के हो त ? जान्ने प्रयास गरें । मैले सिम्पल, रेगुलर दोहोरी गरिरहेको थिएँ, तर म आफू सन्तुष्ट थिइनँ । ब्याटलको प्रयोग भिन्न तरिकाले भएकाले रेगुलर दोहोरी सुनिरहने अडियन्सलाई यो ठ्याक्कै मोर्डन भनेर र्‍यापलाई पनि नछोएको, दोहोरीलाई पनि नछोडेको लोकदोहोरीकै एउटा ‘फ्लेवर’ का रूपमा यो अगाडि आयो ।

यो प्रयोगको परिणाम कस्तो रह्यो ?

यो प्रयोगमा म सफल भएँ, मैले काम त पाइरहेकै थिएँ, एउटा कलाकारलाई लाइफमा ‘सेलीब्रेटी’ हुन मन लाग्छ, हामीकहाँ धेरै कलाकार सफर गरिरहनु भएको छ । दोहोरी साँझमा काम गर्नेहरू, स्टुडियोमा काम गर्नेहरू त्यसरी सफर गरिरहनु भएको छ । कतिपय यस्ता गायिका हुनुहुन्छ जो स्टुडियोमा रेगुलर गाउनुहुन्छ तर उहाँहरूको नाम बाहिर सुनिँदैन, कतिपय प्रोगाममा रेगुलर हिँड्नुहुन्छ उहाँहरूको नाम बाहिर सुनिँदैन, मचाहिँ त्यो सतहबाट अलिकति माथि उठेर चिनिन चाहन्थें । मैले काम त पाइरहेको थिएँ, म गीत गाएरै बाँचिरहेकी थिएँ, तर त्यो लेभलमा पुगिरहेको थिइनँ, जुन ठाउँमा म पुग्न चाहन्थे, त्यो चाहिँ ब्याटलले मलाई दियो ।

पहिलो ब्याटलपछि बोलमाया गीत आयो अहिले फेरि ब्याटल टु, अब ब्याटल र बोलमाया मन पराउनेलाई कसरी सँगै अगाडि लानुहुन्छ ?

ब्याटल टु आएपछि मैले के महसुस गरें भने सिर्जनामा चलचित्रकर्मीहरू जति स्वतन्त्र हुन्छन्, जति लेखकहरू स्वतन्त्र हुन्छन्, त्यतिको स्वतन्त्र गायक–गायिकाहरू नहुने रहेछन्, उनीहरूलाई एउटा ट्याग भिराइने रहेछ । मैले आफूलाई लेखकको लेभलमा, एउटा चलचित्रकर्मीकै लेभलमा स्वतन्त्र महसुस गरें । मैले जुनुसुकै विषयमा पनि आफूलाई प्रस्तुत गर्न पाउँछु, गीतहरू सिर्जना गर्न पाउँछु भन्ने मनोदशा म मा थियो तर दर्शकको बुझाइ के हुँदो रहेछ भने गायकको क्याटागोरी हुँदो रहेछ, म लोक गायक हो भने लोकगीत नै गाउनुपर्ने, पप गायक हो भने पप, आधुनिक गायक हो भने आधुनिक, र्‍याप गायक हो भने र्‍याप गीत नै गाउनुपर्ने, यस्तै क्याटागोरीका कारण मलाई अप्ठ्यारो भयो । मैले आफू यो खालको गायक हो भन्ने कुरालाई कहिल्यै प्रमाणित गरिनँ । एउटा सर्जकका हिसाबले यो कुरा दिन सक्छु है भनेर काम गरेँ ।

यी तीनवटा गीत कस्ता थिए ?

ब्याटल वान प्रयोग थियो, बोल मायामा मैले एउटा स्टोरीमा काम गरेको थिएँ, ब्याटल टु पनि अर्को एउटा प्रयोग थियो, म लोकदोहोरी कलाकार हुँ र मैले जसरी चलिरहेको छ त्यसरी नै चल्नुपर्छ भन्दा पनि म्युजिकसँग सम्बन्धित रहेर के–के गर्न सकिन्छ भनेर काम गरिरहेको छु । 

ब्याटल वान र ब्याटल टुमध्ये तपाईंलाई कुनबाट बढी सन्तुष्टि मिल्यो भने आलोचना कुनमा बढी आयो ?

 ब्याटल वानबाट मैले व्यक्तिगत आलोचना खेपेको थिएँ । ‘कन्टेनवाइज’ ब्याटल टुले बढी आलोचना खेप्यो । अडियन्सले टाइटल स्वीकार गर्नुभयो, भित्रको गुदीचाहिँ पहिलेकै अलि बढी रुचाइएको हो कि पहिलेको अलि सरल थियो, ब्याटल टु केही बढी ‘कम्लिकेटेड’ भयो कि, मलाई बढी उक्साहट भयो कि भन्ने लाग्छ ।

दोहोरी ब्याटल भने पनि ब्याटल टु हेर्दा त र्‍याप ब्याटलजस्तै देखिन्छ नि ?

ब्रान्डका लागि म त्यसको शीर्षक दोहोरी ब्याटल टु राख्न बाध्य भएँ, बिजनेस ‘प्वाइन्टअफ भ्यू’बाट, त्यो व्यवसायिक रणनीति थियो । होइन भने हामीले बीचमा त्यसलाई ब्याटल मात्र राखिदिने कि, किनभने ब्याटल टु त्यति धेरै मेलोडियस पनि छैन, हामीले बुझेको लोकदोहोरीबाट प्रभावित पनि छैन, ब्याटल मात्र राखेको भए अझ बेटर हुन्थ्यो भन्ने ‘रियलाइज’ चाहिँ हुन्छ । यहाँ एउटा स्वार्थचाहिँ त्यो एउटा व्यवसायिक ब्रान्डलाई निरन्तरता दिन, अघिल्लो ब्रान्डलाई क्याचअप गर्न अख्तियार गरिएको रणनीति थियो । यसबाट मेरो यो स्वार्थ पनि पूरा भयो ।

स्वार्थ कसरी पूरा भयो त ?

त्यसलाई युट्युबमा एक दिनमै ११ लाखले हेरे र २४ घण्टाभित्र टेन्डिङ वानमा आएको नेपाली युट्युबको कन्टेन्टमा यो नै पहिलो लोकदोहोरी हो । केही चलचित्रका गीत आएका थिए, त्यसलाई पनि उछिनेर यो गीत एक दिनमै त्यति धेरै पटक हेरिएको थियो ।

अब के–के स्वार्थ पूरा गर्न बाँकी छ नि ?

होइन, अब मलाई त्यति धेरै स्वार्थी बन्नु छैन, अबचाहिँ जस्तो पहिलोमा मेरो करियरलाई ‘स्टाबिलिस्ट’ गर्नुपर्ने थियो, दोस्रोमा अलिकति व्यवसायिक रूपमा त्यो ब्रान्डलाई त्यो लेभलमा पुर्‍याउनुपर्ने थियो । अब मलाई लाग्छ, मैले थोरै संयमित भएर काम गर्नुपर्छ । मैले ब्याटल टु आइसकेपछि के रियलाइज गरें भने कि त विधा चेन्ज गर्नुपर्‍यो, मतलब ममा यदि धेरै कन्टेनमा काम गर्ने भूत छ भने विषयवस्तु थुपार्ने रहर छ भने कि मैले चलचित्र बनाउनु पर्‍यो, कि किताब लेख्नुपर्‍यो, जहाँ म अलि बढी स्वतन्त्र हुन्छु, तर संगीतमै काम गर्ने हो भने संगीतको अनुशासन तथा संगीतको क्याटागोरीलाई मैले बुझ्नुपर्ने रहेछ नेपालको हकमा भन्ने लागेको छ । अलिकति टाइम लाग्छ भन्ने रियलाइज भएको छ, तर मचाहिँ अब विषयवस्तुमै काम गर्छु । यदि मैले ब्याटल गरें भने दोहोरी ब्याटल नाम नराख्ने, त्यसलाई ब्याटलकै रूप दिने, दोहोरी ब्याटल गरे भने दोहोरीबाट अलि बढी प्रभावित हुने गरी गर्ने भन्ने सोच बनाएको छु । 

तपाईंका दुवै ब्याटलमा गायिकाका रूपमा प्रीति आलेलाई लिनुपर्ने कारण ?

एउटा त्यो ब्रान्डलाई निरन्तरता दिने प्रयास । दोस्रो प्रीति र प्रकाशको ब्याटल भन्ने एउटा ब्रान्ड स्थापित भैसकेपछि सहकार्य गर्ने हिसाबले । ब्याटल वान आएदेखि ब्याटल टुमा पनि सँगै गर्ने भन्ने वचनबद्धता पनि भएको थियो । त्यसैले पनि हामीले सँगै काम गरेका हौं ।

संगीतमा कत्तिको इमान्दार मानिस हो ?

म संगीतप्रति इमान्दार मानिस हुँ जस्तो लाग्दैन, मैले जर्बजस्ती संगीत गरिरहेजस्तो लाग्छ, मेरो दिमागमा केही कुरा छन् जुन मैले भन्नुपर्ने छ, देखाउनु छ त्यसका लागि म संगीतलाई प्रयोग गरिरहेको छु । 

बाल्यावस्थादेखि नै गीत–संगीतमा रुचि थियो ? 

मलाई ठ्याक्कै याद चाहि छैन, ६–७ कक्षा भन्दा अघिको त्यति सम्झना छैन, हुन त म एकदमै सानो हुँदा मामाघर बुटबलमा बसे, २–३ कक्षा पढ्न बल्ल आफ्नो गाउँ गए । त्यति बेला सबैले मलाई ‘बटौली’ भनेर बोलाउनुहुन्थ्यो, बुटबलमा बसेको हुनाले । स्कुलमा सरहरूले पनि ओइ ‘बटौली’ यता आइज भन्नुहुन्थ्यो । पछि प्राविबाट माविमा भर्ना भएपछि स्कुल पनि परिवर्तन भयो, नयाँ सर्कल, नयाँ साथी भएकाले रमाइलै भयो ।

गायन यात्राको सुरुवात कहिले भयो त ? 

कक्षा ९–१० पढ्दा साहित्य क्षेत्रप्रति झुकाब बढ्यो, त्यतिबेला गाउँमा साहित्यिक प्रशिक्षण हुन्थे, त्यही समयमा म अलिकति सिर्जनशील बन्न थाले, मैले कविता, मुक्तक आदि लेखेर साहित्यिक यात्रा प्रारम्भ गरें ।

अनि गीततिर नि ?

त्यही ताका ‘लेट्स ट्राइ’ भनेर आफैं गीत बनाएर, भाका अरूको भए पनि शब्द आफ्नो हालेर गाउँथें । लोकगीत प्रतियोगितामा भाग लिन तथा मेलामा गीत गाउन पनि थालें । मेरो गायनको सुरुवात प्रतियोगिताबाटै भएको हो । 

त्यसपछिको यात्रा ?

२०६४ मा एसएलसी उत्तीर्ण भएपछि बाग्लुङमा पढ्दै काम गर्न थालें । मैले अमृत आदर्शबाट प्लस टु गरें । २०६६ मा धौलागिरी एफएममा केही समय काम गरें । त्यतिबेला पोखरा, बाग्लुङ, पर्वततिर राष्ट्रिय स्तरका प्रतियोगितामा भाग लिन्थें । आज पनि मसँग ५० भन्दा बढी प्रतियोगिताका प्रमाणपत्र सुरक्षित छन्, कुनैमा सहभागिताको, कुनैमा जितको । 

रेडियोमा के काम गर्नुहुन्थ्यो ?

धौलागिरी एफएममा रहँदा सबै खालका कार्यक्रम चलाऊँथें, विशेष गरी लोकगीतको कार्यक्रम, साहित्यिक कार्यत्रम । म नाटक पनि बनाउँथें, रेडियो नाटकहरू बनाएर प्रस्तुत गर्थें ।

काठमाडौंतिरको यात्रा कसरी मोडियो ? 

मलाई अब बाग्लुङ छोड्नुपर्छ भन्ने लागिरहेको थियो । गायन करियरको अप्सन पनि थियो । किनभने मैले थुप्रै कलाकारलाई रेडियोमार्फत चिनेको थिएँ । म काठमाडौं गएर कलाकारितालाई पनि अघि बढाउन सक्छु भन्ने आत्मविश्वास थियो । म अहिले पनि भन्छु— म त्यतिबेला बाग्लुङबाट भागेको थिए । चरम आर्थिक संकट तथा पारिवारिक जिम्मेवारीले गर्दा मलाई बाग्लुङ साघुँरो लाग्न थालेको थियो, यहाँ धेरै अप्सन छैन भन्ने लागेको थियो । अब रेडियोको कमाइ त्यस्तै पढाइ पनि प्लस टु सकिएपछि क्याम्पस भर्ना हुन नसकेको अवस्था तथा पारिवारिक जिम्मेवारी बढ्दै गएको अवस्थाले बाग्लुङ भन्दा ठूलो ठाउँमा जाने निधो गरें । 

कहिले आउनुभएको थियो काठमाडौं ?

२०६९ मा काठमाडौं आए । त्यतिबेला म रेडियोको करियरलाई नै अघि बढाउँछु भनेर काठमाडौं आएको थिएँ । एकदम ढिलो काठमाडौंमा आएको अनुभूति भएको थियो त्यति बेला, तर मैले कलाकारै बन्छु भनेर सोचेको थिइनँ । काम गर्ने क्रममा रोजगारीका लागि दोहोरी साँझमा गएपछि ‘टोटल्ली’ मेरो अबको करियर गायन नै हो भनेर अघि बढें । त्यसअघि बाग्लुङबाटै विदेशका लागि प्रयास गरेको थिए, कतार जाने प्रयासमा म असफल भएँ । त्यतिबेला कतारका लागि अन्तर्वार्ता दिन काठमाडौं पुग्दा अब बाग्लुङ छोडेर काठमाडौंमै बस्नुपर्छ भन्ने कुरा मनमा आएको थियो । 

काठमाडौंको स्ट्रगल कस्तो रह्यो ?

५–६ महिनासम्म चरम संघर्ष गरें, म मानसिक रूपमा अलि विचलित पनि थिए, पारिवारिक जिम्मेवारी थियो, घरको जेठो छोरा भएकाले जति गरिरहेको थिएँ त्यो भन्दा बढी गर्नु थियो । काठमाडौंमा टिक्न त म रेगुलर दोहोरी साँझमा काम गर्ने र गीत ननिकाल्दै कार्यक्रम पाउने भएकाले भाडा नै तिर्न नसक्ने अवस्था, भात नै खान नपाउने अवस्था भने थिएन ।

रेडियोमा प्रयास गर्नुभएन ?

मैले केही रेडियोमा प्रयास गरें, किनभने बाग्लुङबाटै त्यो खालको लिंकअप भएको थियो । अग्रज सञ्चारकर्मीहरूको सपोर्ट थियो । यद्यपि मलाई एकदम गाह्रो लाग्यो काठमाडौंमा बसेर पत्रकारिता गर्न । फेरि मसँग पत्रकारिताको बेस पनि थिएन, किनभने मैले मनोरञ्जक कार्यक्रम मात्र सञ्चालन गरेको थिएँ । केही रेडियोमा प्राटिक्स पनि गरे, अनुभव पुगेन, त्यसैले निरन्तरता दिन सकिन । दोहोरीमा काम गर्न थालेपछि बाँच्न केही सहज भयो । आजको आजै पैसा पाइने, त्यसमाथि टिप्ससमेत पाइने भएकाले बाँच्नका लागि पनि दोहोरीमै फोकस गरें । 

एल्बमचाहिँ कहिले निकाल्नुभयो नि ?

दोहोरीमा काम गर्न थालेको केही समयमै दुबई जाने अवसर पाए, दोहोरी साँझमै काम गर्ने । दुबईमा एउटा दोहोरी खुलेको थियो । त्यसमा कलाकार छनौट गर्ने क्रममा म पनि छानिएँ र तीन महिनाका लागि जाने निर्णय गरें । त्यहाँबाट फर्किएपछि मात्र मैले एल्बम निकालें । एल्बम निकालेको २०६९ सालमै हो ।

कसरी सम्भव भयो एल्बम निकाल्न ?

मैले सुरुवातदेखि अहिलेसम्म जति पनि लगानी गरेको छु, त्यो संगीतबाटै कमाएको हो । चार जना साथी मिलेर निकालेका थियौं त्यो एल्बम । ‘मुसुमुसु नहास मायाले’ गीतमा संगीत दीपसागर थापाको शब्द काजिबाबु अर्यालको थियो भने स्वर दिपसागर, शान्त थापा, बेलिमाया गोर्खाली र मेरो थियो । यही पहिलो गीतको म्युजिक भिडयोमा म आफैंले अभिनय गरें, मोडल पार्वती राईसँग । सगुन श्रेष्ठले उक्त भिडियो निर्देशन गरेका थिए । पहिलो गीतबाटै मेरो मोडलिङ करियरसमेत सुरु भयो ।

ब्याटल आउनुभन्दा अघि के–कस्ता अवसर पाउनुभएको थियो ?

बीचमा लाइभ शोका लागि जापान जाने मौका पाएँ, लाइभ दोहोरी राम्रो गाउने र कार्यक्रम पनि चलाउने भएकाले कार्यक्रमबाट अफर आइरहेकै हुन्थ्यो अनि दोहोरीमा हुँदा पनि मेरो दोहोरीको प्रस्तुति हेरेर बोलाइन्थ्यो, धेरै ठाउँमा अरुको भाकामा लाइभ दोहोरी गाएर पनि सर्भाइभ भइयो । ब्याटल आउनुभन्दा अघि नै दोहोरी भएछ, यस्तै छ कहानी परदेशीको, चरर बरर धरर जस्ता गीतका कारण म दर्शक श्रोतामाझ ‘कोड’ भैसकेको थिए । अब म इन्डस्ट्रिजभित्र चाहिँ भिजिसकेको थिए, मेरा अघिल्ला गीतहरूका कारण पनि, ब्याटलभन्दा अगाडिको सिर्जनाका कारण पनि, ब्याटलपछि म अलिकति मिडियाकरण भए, बल्ल मिडियाहरूमा अपडेट भए, धेरै ठाउँमा ब्याटल वान मेरो ‘आइडेन्टी’ बन्यो ।

विवाह कहिले गर्नुभयो ?

विवाह २०७० मा भएको हो, मैले लभ अनि भागी विवाह गरें, काठमाडौं आएपछि नै हो ।

मासिक कमाइ कस्तो छ ?

त्योचाहिँ नखुलाऊँ होला, ५–६ महिना यताचाहिँ मैले राम्रो कमाएँ, मैले ७ वर्ष रेगुलर संगीतमा स्ट्रगल गरें, बितेका ६ वर्षको आम्दानी जोड्दा र पछिल्लो १ वर्षको आम्दानी हेर्दा पछिल्लो १ वर्षले जित्छ, त्यो हिसाबले मलाई आशावादी बनाएको छ, लामो समय टिक्ला–नटिक्ला, तर मलाई यो १ वर्षले निराशाबाट आशावादी भने पक्कै बनाएको छ ।

तपाईंको आफैंलाई लाग्ने नराम्रो बानी ?

एउटै कुरा मनमा खेलाइरहन्छु, एक्लै बस्न मन पराउँछु, मानिसहरूसँग त्यति घुलमिल हुन सक्दिनँ ।

 

प्रकाशित :असार २, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्