प्रितम र आयुषले रचे इतिहास

- कृष्ण भट्टराई, अनिल श्रेष्ठ

असार १, २०७६

 

जी टिभीबाट प्रसारित गायनमा आधारित रियालिटी शो ‘सारेगमप लिटिल चाम्स–ध२०१९’ मा नेपालका दुई बालप्रतिभा प्रितम आचार्य तथा आयुष केसीले तेस्रो तथा चौथो स्थान हासिल गर्न सफल भए । गत आइतबार सम्पन्न प्रतियोगिताको ग्रान्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीसहित प्रितम र आयुषले उत्कृष्ट प्रस्तुति दिँदै सेकेन्ड तथा थर्ड रनर्सअपको उपाधि जितेका हुन् । 

सारेगमपमा सुगन्धा दाँते विजयी भइन् । प्रतियोगिताको टप सिक्समा आयुष, प्रितम सुगन्धासहित आस्था दास, अनुष्का पात्रा तथा मोहम्मद फैज पुग्न सफल भएका थिए । करिब ६ महिनाअघि प्रारम्भ भएको प्रतियोगितामा सँगीतकार अमाल मलिक, गायक शान तथा गायिका ऋचा शर्मा निर्णायक थिए । 

यसबीच, प्रतियोगितामा उत्कृष्टता हासिल गर्दै प्रितम र आयुष गत सोमबार स्वदेश फर्किएका छन् । ईटहरीका प्रितम पश्चिम बंगालको बागडोगरा विमानस्थलमा ओर्लिएर पूर्वी नाका काँकडभिट्टा हुँदै इटहरी आएका छन् भने आयुष विमानमार्फत काठमाडौं अवतरण गरेका हुन् ।

नेपाल प्रवेश गरेका दुवै बालप्रतिभाको भव्य स्वागत गरिएको छ । प्रितमलाई उनी अध्ययनरत विद्यालयले काँकडभिट्टामै  स्वागत गरेको थियो भने आयुषलाई त्रिभुवन विमानस्थलमा बाजा बजाएर स्वागत गरिएको थियो । प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गरेर स्वदेश फर्किएका प्रितम र आयुषले साप्ताहिकमार्फत आफ्नो धारणा यसरी सार्वजनिक गरेका छन् ।

खुसीको आँसु झर्‍यो

राधिका आचार्य, आमा

चार महिनासम्म छोरासँग भेट नहुँदा कस्तो लाग्यो ?

आफूसँगै सुत्ने छोरा आफूसँग नहुँदा धेरै न्यास्रो लागेको थियो । के खायो होला ? के गर्दै होला ? यस्तै–यस्तै कुरा मनमा आउँथ्यो ।

छोरा सारेगमप लिटिल चाम्सको सेकेन्ड रनर्सअप हुँदा कस्तो अनुभूति भयो ?

ग्रान्ड फिनालेमा छोराको प्रस्तुति हेर्न म मुम्बई पुगेकी थिएँ । म पुगेपछि एकदैम खुसी भयो । म त छोराले गीत गाउन थालेदेखि नै रुन थालेकी थिएँ । रिजल्ट घोषणा हुनेबितिकै बावु पनि रुन थाल्यो । मेरा पनि खुसीका आँसु झरे । सानो उमेरमै छोराले यस्तो प्रगति गरेको देख्दा एउटी आमाका लागि त्योभन्दा खुसी अरू के नै हुन सक्छ र ? 

प्रितमको सबैभन्दा बढी मन परेको पर्फमेन्स कुन हो ?

सन्देशे आते है... गाउँदा मलाई छोराको धेरै याद पनि आयो र उक्त पर्फमेन्स पनि राम्रो लाग्यो । उसले गाएको त्यो गीत मैले घरमै टिभीमा हेरेको थिएँ । बावुलाई नभेटेको पनि ३/४ महिना भएको थियो । टिभीमा उसले यस्तो सम्झ्ना योग्य र भावुक गीत गाउँदा म छोरालाई सम्झिँदै रोएकी थिएँ । उसको त्यो गीत मैले पूरा हेर्नै सकिनँ । 

प्रितम कति वर्षको उमेरदेखि संगीतमा लागेका थिए ?

प्रितमलाई सानै उमेरदेखि संगीतमा लगाव थियो । सानो छँदा टिभी वा मोवाइलमा गीत बजाएपछि मात्र रुन छोड्थ्यो । जस्तोसुकै मीठो खानेकुरा दियो भने पनि रुन छोडदैनथ्यो, तर गीत बजाए तत्काल रुन छोड्थ्यो । म भजन गाउँथें । ऊ पनि स्कुलमा भजन गाउँथ्यो । सरहरूले पनि यो मान्छेमा प्रतिभा छ, संगीत सिकाउनुपर्छ भन्ने सल्लाह दिनुभयो । प्रितम पाँच वर्षको उमेरदेखि नै संगीतमा लागेको हो । संगीतको प्रशिक्षण लिएपछि उसले ‘सुरशाला आइड’ मा पनि भाग लियो । काठमाडौंमा भएको सुरशाला आइडलमा ऊ फस्ट रनर्सअप भएको थियो । 

प्रितमको अबको यात्रा कसरी अघि बढ्छ ?

संगीत र पढाइ दुवैलाई अघि बढाउनेछ । 

देशको नाम राख्न सकेकोमा खुसी छु

प्रितम आचार्य

सारेगमप लिटिल चाम्स’मा भाग लिन कसरी भारत पुग्नुभयो ?

गुरु अमृत क्षेत्रीले सारेगमपको अडिसन खुलेको छ, तिमीहरूको गायन राम्रो भएकाले भाग लिनुपर्छ भन्नुभयो । लगत्तै हामी तयारीमा लाग्यौं । छनौट चरणका लागि हामीले गाएको गीतको एक–एक प्रति सिडी पठाएका थियौं । आयुष केसी र मसहित नेपालबाट १० जनाले उक्त प्रतियोगितामा भाग लियौं । अरू छनौट चरणबाट बाहिरिए पनि म र आयुष ग्रान्ड फिनालेसम्म पुग्न सफल भयौं ।

सारेगमप लिटिल चाम्समा तेस्रो भएपछि सबैभन्दा पहिले के सम्झनुभयो ?

मेरो नाम मन्चबाट घोषणा हुँदा खुसीको सीमा नै रहेन । खुसीले हर्षका आँखु झरे । मेरो कडा मेहनत अनि सबैले साथ, सहयोग र हौसला दिएका कारण यो सफलता मिलेको अभास भयो । 

अहिले कस्तो अनुभव भैरहेको छ ?

सबैले मप्रति माया एवं सहानुभूति देखाइरहनुभएको छ, धेरै खुसी लागिरहेको छ । मलाई काँकडभिट्टादेखि गृहनगर इटहरीसम्मै ठूलो स्वागत–सम्मान गरियो । सबै सामुदायले मप्रति देखाउनुभएको यो सद्भावबाट म निकै खुसी छु । यस्तो हौसलाले ममा थप अघि बढ्न ऊर्जा पैदा गरेको छ । मंगलबार मात्र मलाई इटहरी उपमहानगरपालिकाले ‘बालगायक सद्भाव दूत’ नियुक्त गरेको छ । आफूमा जिम्मेवारी बढेको महसुस भैरहेको छ । 

यो जितको श्रेय कसलाई दिनुहुन्छ ?

मेरो मेहनत र सबैको साथका कारण यो सफलता हात परेको हो । म र मेरो साथी आयुष केसीले नेपालको नाम राख्न सक्यौँ । आउँदा दिनमा पनि यसरी नै माया गरिदिनुहोला । मलाई यो ठाउँमा पुर्‍याउन मेरा संगीत गुरु राजु केसी, मेरा अभिभावक तथा मलाई संगीतमा अघि बढाउन सपोर्ट गर्नुहुने सबैलाई यो सफलताको श्रेय जान्छ । 

ग्रान्ड फिनालेमा आफ्नो प्रस्तुति दिनुअघि कस्तो महसुस भैरहेको थियो ?

ग्रान्ड फिनालेमा पुग्दा म खुसी पनि थिएँ र हल्का डरसमेत लागिरहेको थियो । खुसी यस मानेमा थिएँ कि ग्रान्ड फिनालेमा दमदार प्रस्तुति दिने मेरो लक्ष्य थियो । त्यो पूरा भयो । सारेगमपामा यो नै मेरो लास्ट प्रस्तुति हो भनेर मैले धेरै मेहनत गरेको थिएँ । त्यही अनुसार तयारीमा लागेँ । मैले सोचेअनुसारको पर्फमेन्स पनि देखाएँ । सबैले मेरो प्रस्तुति रुचाइदिनुभयो ।

सारेगमपमा सबैभन्दा बढी कुन गीत गाउनुभयो ?

थुप्रै गीत गाएँ, भारतमा रहँदा म जतिबेला पनि अभ्यास गरिरहेको हुन्थेँ । म धेरै मेहनत गर्ने भएकाले गीतहरू गुनगुनाइरहेको हुन्थें । सेमिफाइनलमा गायक के केको ‘तडप तडप के र फाइनलमा मोहम्मद रफीको ‘एन इवनिग इन पेरिस.. प्रस्तुत गरें, जुन गीतले मलाई तेस्रो स्थानमा पुर्‍यायो । 

अडिसनदेखि नै तपाईंको गीतले जजहरूलाई प्रभावित तुल्याइरहेको थियो । गीत गाउँदा यस्तो जादु कसरी चल्थ्यो ?

मैले धेरै नै कडा मेहनत गरेको थिएँ । म अझै अघि बढ्नु छ भन्ने विचार राखेर अगाडि बढ्थेँ । म दिनरात अभ्यासमै तल्लीन हुन्थेँ । कुन स्टाइलले गाउँदा निर्णायकलाई मन्त्रमुग्ध तुल्याउन सकिन्छ भन्ने सोचविचार गरेर लयबद्ध तरिकाले गाउथेँ । त्यही भएर पनि मेरो गाउने शैली निर्णायकहरूले मन पराउनुभएको होला । 

तपाईंको गीत गाउँदै नाच्ने शैली पनि निकै रोचक थियो । यस्तो शैली कसरी अपनाउनुभयो ?

गीत गाउनुभन्दा पहिले म उक्त गीतको भिडियो हेरेर अभ्यास गर्थें । कलाकारहरूले भिडियोमा कस्तो अभिनय गरेका छन्, म त्यो ध्यानपूर्वक हेर्थें । त्यसलाई मैले गम्भीर रूपमा हेरेर पटक–पटक अभ्यास गर्ने प्रयत्न गरेको छु । गीतको अभ्यास भएपछि त्यही भिडियोका आधारमा गीत गाउँदै नाच्छु । म स्टेज आफ्नो कब्जामा पार्ने प्रयत्न गर्दै सबैको ध्यान आफूमा केन्द्रित गर्न लागिपरेको हुन्छु । 

सारेगमपमा बिर्सन नसक्ने क्षण कुन थियो ? 

मैले गाउँदा दुई पटक ‘पफमेन्स अफ द विक’ पाए । उक्त एवार्ड पाउँदा म निकै खुसी थिएँ । त्यतिबेला मैले ‘पर्फमेन्स अफ द विक’ पाउँदा मेरा अन्य साथीहरू पनि खुसी थिएँ । त्यो क्षण अझै पनि मेरो मन–मस्तिष्कमा छ । त्यो क्षण म जहिले पनि मिस गर्छु । 

६ महिनापछि घर आउनुभएको छ, कस्तो लागिरहेको छ ? 

लामो समयपछि घर आउन पाउँदा निकै खुसी छु । लामो समयपछि एकै पटक ममीसँग ग्रान्ड फिनालेमा भेट भयो । त्यतिबेला पनि म निकै खुसी भएँ । भारतमा हुँदा घरका थुप्रै कुराको सम्झना आउँथ्यो ।

सबैभन्दा बढी के याद आयो ?

स्कुल पढ्ने साथीहरूदेखि यहाँको रमाइलो वातावरण अनि ममीको हातको मीठो खाना । ममीले पकाएर दिएको नेपाली परिकार मलाई धेरै मन पर्थ्यो । भारतमा त्यो पाइएन । त्यसमाथि मलाई गुन्द्रुकको हरेक परिकार मीठो लाग्छ । ममीले पकाएर दिने चिकेन तथा गुन्द्रुकको अचार धेरै मिस गर्थें । 

संगीतमा कसरी प्रवेश गर्नुभयो ?

संगीत मेरो सानैदेखिको रुचि हो । मलाई बाबाले भन्नुभएको— ‘म सानोमा रुँदा मलाई बाबा–ममीले धेरै वस्तु दिएर फकाउने प्रत्यन गर्नुहुन्थ्यो रे । तैपनि म रुन छोडदिनथें, तर मोबाइलमा गीत बजाइदिए म तत्काल रुन छोड्थें रे । 

अध्ययन पनि चलिरहेको छ । संगीत र अध्ययनलाई कसरी एकसाथ अघि बढाउनुहुन्छ ?

संगीतलाई म छोड्नै सक्दिनँ । संगीत मेरा लागि नशा हो । पढाइलाई निरन्तरता दिँदै समयको व्यवस्थापन गरेर संगीतलाई पनि अघि बढाउनेछु । 

फुर्सदको समय कसरी बिताउनुहुन्छ ?

नयाँ–नयाँ गीत सुन्छु, हेर्छु र सिक्छु । त्यसका साथै टिभी अनि मुभी पनि हेर्छु ।

 

कस्ता चलचित्र मन पर्छन् ?

नेपाली चलचित्र नै मन पर्छन् । त्यस्तै हिन्दी चलचित्र पनि मन पर्छन् । मलाइ कमेडी आदि सबै विधाका चलचित्र मन पर्छन् । 

अबको लक्ष्य के छ ?

आफ्नै एल्बम निकाल्ने । मेरो यो लक्ष्य चाँडै पूरा हुनेछ । त्यसपछि पनि सांगीतिक यात्रालाई नै अघि बढाउने हो । 

आफ्ना प्रशंसक–शुभचिन्तकहरूलाई केही भन्न चाहनुहुन्छ ?

सबैलाई धन्यवाद दिन चाहन्छु । यो स्थानसम्म ल्याइपुर्‍याउन तपाईंहरू सबैको ठूलो योगदान छ । सबैले मेरो गायन रुचाइदिनुभएको छ, माया गरिदिनुभएको छ । आगामी दिनमा यसरी नै सबैको सद्भाव, माया अनि हौसलाको अपेक्षा राखेको छु । 

प्रकाशित :असार १, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्