राइड टु रानीमहल

- स्वस्तिक श्रेष्ठ

जेष्ठ ३२, २०७६

 

रुपन्देहीका साइक्लिस्टहरूले पर्यटन प्रवर्द्धनको उद्देश्यका साथ राईड टु रानीमहल सम्पन्न गरेका छन् । साइकल सिटी बुटवल र रुपन्देही जिल्ला साईकल संघको आयोजनामा उक्त अभियान सञ्चालन गरिएको हो । बुद्धजन्मस्थल लुम्बिनी घुम्न आउने पर्यटकलाई साइकिलिङ गराउँदै ऐतिहासिक रानीमहलसम्म पुर्‍याउन सक्ने सम्भावनाको खोजीका साथ यो अभियान सञ्चालन गरिएको रुपन्देही साइकिलिङ संघका अध्यक्ष पुकार थापाले बताए । बुटवलबाट रानीमहल करिब ५४ किलोमिटरको दूरीमा छ ।

कालीगण्डकीको किनारमा अवस्थित १ सय वर्षभन्दा पुरानो रानीमहलको थप प्रचार–प्रसारमा अभियानबाट सहयोग मिलेको थापाको दाबी छ । पाल्पा गौंडामा तैनाथ पश्चिम क्षेत्रका कमान्डर इनचिफका अख्तियारी पाएका खड्कशमशेरले आफ्नो कान्छी रानी तेज कुमारीको स्मृतिमा उक्त ऐतिहासिक दरबार निर्माण गराएका थिए । रानीको मृत्युपश्चात खड्कशमशेरले ब्रिटिसहरूका साथै भारतबाट इन्जिनियरहरू झिकाई वि.सं.१९५० मा पश्चिमी कलाकौशलको बेजोड नमुना खडा गरेका थिए ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण, सुनसान तथा मनमोहक स्थानमा आफ्नै गतिमा बग्ने कालीगण्डकी तथा बराङ्दी खोलाको संगमस्थलमा दुई दिनको साइकिलिङको प्याकेज बनाउन सके धेरै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने सम्भावना छ । प्रवासबाट बतासेसम्म हाई अपहिल छ । बतासेबाट भने ६ किलोमिटर कालोपत्रे र ७ किलोमिटर ग्राभेल बाटोको साइकिलिङ निकै रोमाञ्चक सावित हुने थापा बताउँछन् । 

साइकल सिटी बुटवलका अध्यक्ष धीरेन तुलाधारले साहसिक खेलको विकास एवं प्रवर्द्धन गर्ने लक्ष्यसहित जिल्लामा वर्षझरि नै कार्यक्रम गरिँदै आएको बताए । कार्यत्रममा धरान, पोखरा, काठमाडौं, कपिलवस्तु तथा दाङका ५० जना साइक्लिस्ट सहभागी भए । सबै राइडर शुक्रबार रानीमहलमा क्याम्पफायर गरी शनिबार बुटवल फर्किएका थिए ।

प्रकाशित :जेष्ठ ३२, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्