भण्डारखालको नियति

- किशोर नेपाल

जेष्ठ ३२, २०७६

कान्तिपुर शहर मानिस नै मानिसको समूहले लवालव भरिएको छ । मानिसलाई एकातिर समृद्ध संस्कृतिले मन्त्रमुग्ध तुल्याइरहेको छ भने अर्कातिर श्वास–प्रश्वासमा भएको निरन्तर गडबडीले विक्षिप्तजस्तै बनाएको छ । देशका सबै प्रदेशका मानिस नेपाली शासकीय शक्तिको केन्द्र कान्तिपुरमै रमाउन चाहन्छ । कान्तिपुर उपत्यका नछिरेसम्म उन्नतिको सम्भावना सार्‍है कम छ । प्रदेशहरू गठन भए पनि अहिलेसम्म शक्तिको विस्तार भएको छैन । एक प्रकारको दुर्दशामा बाँचेका छन् जनता । देशमा दलाली प्रथा मजबुत र जनप्रिय हुँदैछ । दलाली प्रथाको संस्थागत विकासमा राज्यले विशेष ध्यान दिएको बल्ल मालुम हुन थालेको छ सर्वसाधारणजनतालाई । पशुपतिनाथदेखि आदिनाथसम्म– परम शक्तिशाली ईश्वरहरूको स्वामित्वमा रहेका उपत्यकाका बहुमूल्य जग्गाहरू निजी स्वामित्वमा दर्ता हुन थालेका छन् । 

एकातिर ईश्वरको स्वामित्वमा रहेका जग्गा निजी स्वामित्वमा दर्ता हुने अभियान चलिरहेको छ भने अर्कातिर सरकारकै स्वामित्वमा रहेको जग्गामा सरकारको हकदावी नलाग्ने वातावरण बन्दै गएको छ । डेढ दशकअघि हत्या गरिएका राजा वीरेन्द्रको सम्पत्तिको जगेर्ना गर्न नेपाल सरकारले स्थापना गरेको थियो– नेपाल ट्रस्ट । उक्त ट्रस्टले राजदरबारको दक्षिणी मूल ढोका अगाडि (पहिले जाँचबुझ केन्द्र रहेको जग्गा) पर्यटन क्षेत्रका एक जना सर्वाधिक सफल व्यवसायीको जिम्मा लगायो । (ती व्यवसायी पाथीभरा हेली दुर्घटनामा मारिए ।) अहिले त्यो जग्गामा विशाल भवन ठडिँदैछ । यसमा दलालहरूले लामै हात बजाएको चर्चा दरबारमार्गको बजारमा चलेको छ । एक जमाना यस्तो पनि थियो दरबारमार्गमा अग्ला भवन बनाउन प्रतिबन्ध थियो । अहिले त्यो प्रतिबन्ध छैन । बरु, दरबारको जग्गा कतै बिचौलियाले अरुकै नाउँमा दर्ता गराई त सकेनन् ? भन्ने आशंका बढ्न थालेको छ ।

दुई तिहाइभन्दा चर्को बहुमतको वर्तमान सरकार ‘जनताको बहुदलीय जनवाद’ मा विश्वास गर्छ । त्यसैले प्रधानमन्त्रीको सरकारी निवास वरपरको सयौं रोपनी जग्गा दलालको कब्जामा गैसकेको जानकारी हुँदाहुँदै पनि चुप छ । पहिलो त जनताको बहुदलीय जनबादबाट प्रेरित सरकारले कब्जा गर्ने जनताको हकलाई चुनौती दिनै मिलेन । दोस्रो, बालुवाटार जमिनको कब्जामा जबज पार्टीका सुकुमवासी महासचिवको सीधा संलग्नता देखिएपछि त्यसमा कारबाही गर्न अप्ठेरो भयो । यस विषयमा बढी चर्चा नचलोस् भन्नका खातिर सरकारले आफ्ना प्रवक्तालाई सत्य–तथ्य कुरा पर्दा बाहिर ल्याउने आदेश दियो । सरकारी आदेशको पालना गर्दै प्रवक्ताले महासचिवलाई बालुवाटार जग्गा खरिद गरेबापत क्षतिपूर्ति दिनुपर्ने तर्क अघि सारे । राजनीतिक वातावरणमा खैलाबैला भयो । जनताले शुभमंगल कुरा सुन्ने अवसर पाए । 

आजको यो स्तम्भ ‘देवस्व’ र ‘राजस्व’ अधीनस्थ जग्गा दलालीमा लगाएर अर्बौं हसुर्ने बिचौलियाका सम्भावित सिकारका बारेमा छ । कान्तिपुर उपत्यकाभित्र बिचौलियाले हसुर्न सक्ने महत्वपूर्ण जग्गा देखिएको छ भण्डारखाल । श्री पशुपतिनाथमा प्रतिदिन चढाइने फूल फुलाउने बगैंचाका रूपमा प्रसिद्धि कमाएको भण्डारखाल पशुपति क्षेत्र र त्यसवरपरका बस्तीको अपूर्व शोभा हो । यतिबेला भण्डारखालको संरक्षण गर्नुपर्ने अवस्था उत्पन्न भएको छ । यसलाई घेर्ने पर्खाल जीर्ण अवस्थामा छन् । पश्चिमतिरको पर्खालको ठूलै भाग भत्किएको छ । उक्त पर्खाल यसरी भत्किँदै जाने हो भने भण्डारखालमाथि बिचौलियाहरूको अतिक्रमणको सम्भावना द्रुततर गतिमा बढ्नेछ । यो तथ्यमाथि सम्बन्धित सबैको ध्यान जानु आवश्यक छ । यसमा स्थानीय सरकारले आफ्नो स्रोतको परिचालन गर्न सक्ने अवस्था विद्यमान छ । काठमाडौं महानगरपालिका देशका अन्य पालिकाहरूको तुलनामा स्रोत सम्पन्न छ । उसले चाह्यो भने एउटा होइन वडैपिच्छे एक–एकवटा भण्डारखाल बनाउन सक्छ ।

पशुपतिक्षेत्र एक विकास कोषअन्तर्गत चलेको छ, तर विकास कोषका निर्णय दूरदर्शी छैनन् । भण्डारखाल विकास कोष अन्तर्गत पर्छ कि पर्दैन ? यो त थाहा भएन । कोषले भण्डारखालजस्ता प्राकृतिक सम्पदाको उपेक्षा गर्न मिल्दैन । भण्डारखालको पूरै वातावरणमा अहिले फोहोर फैलिएको छ । जंगलको रेखदेख र संरक्षण भएको देखिँदैन । फूलको बगैंचा पनि पहिलेको जस्तो झकिझकाउ छैन । खोइ कुन्नि किन हो, भण्डारखालको खण्डीकरण गरिएको छ अहिले । त्यस्तो खण्डीकरण हेर्दा मानिसको मनमा झसक पस्छ, कतै भण्डारखाल पनि बिचौलियाहरूको हातमा परिसकेको त होइन ? त्यसो त पक्कै नहोला, तर जति लामो समय यसलाई यथास्थितिमा राखिन्छ त्यति नै यसमाथि अतिक्रमणको तलबार झुण्डी रहिरहन्छ । सम्भव छ भने गौशालादेखि मित्रपार्कसम्म बाइपास बनाएर भण्डारखाललाई एकमुस्ट वनकाली र मृगस्थलीसम्म जोड्न सकिन्छ । त्यसका लागि मजबुत कलेजो भएको प्रशासक चाहिन्छ । बिचौलियाले सम्पूर्ण शासन–प्रशासनलाई खेलाउने परिस्थिति रहेसम्म यस्ता ठोस निर्णय हुन गाह्रो छ ।

सबैभन्दा ठूलो कुरा भण्डारखाललाई सुन्दर फूलहरूको बगैंचा र पार्कका रुपमा विकसित र व्यवस्थित गर्न सकिन्छ । भण्डारखाललाई पार्कका रुपमा विकास गरेर स्थानीय मानिसहरूलाई यसको सदस्य बनाउन सकिन्छ । मानिसहरू बिहान–बेलुका यहाँ आएर खुला आकाशमा सास फेर्न र आराम गर्न सकून्, तर जनताको बहुदलीय जनवादको सफल कार्यान्वयनका लागि धनवाद प्रोत्साहित भैरहेको समयमा यस्ता साना तर महत्वपूर्ण योजनामा कसैले चासो देलान् र ?

प्रकाशित :जेष्ठ ३२, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्