गुमनाम छ  अन्नपूर्ण प्रथम

- आश गुरुङ, विना थापा

जेष्ठ ३१, २०७६

लमजुङ हिमालदेखि निलगिरीसम्म अन्नपूर्ण हिमश्रृंखलाको भाग हो । हिमाल पारी र हिमाल वारीका ५ जिल्ला, साविक ५७ गाविसलाई समेटेर अन्नपूर्ण हिमालकै नामबाट अन्नपूर्ण संरक्षण क्षेत्र गठन गरिएको हो । संघीय संरचनाअन्तर्गत अहिले गण्डकी प्रदेशको ५ जिल्ला, १५ गाउँपालिकाका तथा ८७ वडामा अन्नपूर्ण संरक्षण क्षेत्र फैलिएको छ । 

चक्रीय अन्नपूर्ण पदमार्गको म्याग्दीमा पर्ने म्रिस्ती खोलाको सिरानमा एउटा ठूलो हिमताल छ । हिमतालमा छायाँ पर्ने गरी पश्चिमपूर्वी भेगमा अग्लो हिमाल छ । मनसुनको समय, चुचुरोमा कहिलेकाहीं हिउँ परिरहेको छ । बिहानीको पहिलो किरण पर्दा हाँसेको देखिने उक्त हिमाल सेताम्यप्रायः छ । नजिकै साना तथा ठूला अन्य हिमाल पनि छन् । हेर्दा सो क्षेत्रकै अग्लो देखिने उक्त हिमाल अन्नपूर्ण प्रथम (८०९१ मिटर उचाइ) का नामले चिनिन्छ । सन् १९५० जुन ३ (वि.सं. २००७ जेठ १९ गते) फ्रान्सेली नागरिक ३१ वर्षीय मोरिस हर्जोगले उक्त हिमालको सफल आरोहण गरे । संसारका ८ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये सबैभन्दा पहिले मानव पाइला परेको हिमाल नै अन्नपूर्ण प्रथम हो । 

उक्त अग्लो हिमाल आरोहण सफल भएको ६९ वर्ष पूरा हुँदैछ । अन्नपूर्ण प्रथम आरोहणको ३ वर्षपछि सगरमाथाको सफल आरोहण भएको थियो । जसरी सगरमाथा क्षेत्रको विकास र समृद्धिमा सरकारी सहयोग एवं लगानी छ । त्यसको तुलनामा पहिलो इतिहास कायम गरेको अन्नपूर्ण प्रथम क्षेत्रको विकास एवं समृद्धिका लागि भने सरकारीे सहयोग न्युन छ । अन्नपूर्ण प्रथम आरोहण गर्ने पहिलो व्यक्ति मोरिसले बाँचुन्जेल ‘अन्नपूर्ण प्रथम क्षेत्रको विकास भएन’ भनी गुनासो गरिरहेका थिए । 

तत्कालीन महाराजा (श्री ३) मोहन शमशेर (जबरा) को अनुमतिमा हिमाल चढ्न आएका मोरिस सगरमाथा (माउन्ट एभरेस्ट) चढ्न चाहन्थे । उनलाई बेलायती जर्ज हन्ट तथा सर एडमन्ट हिलारीले ‘हामी चढ्दैछौं, तपाइँ अर्को हिमाल रोज्नु होस्’ भनेपछि उनी अन्नपूर्ण क्षेत्रमा आए । १२ औं प्रयास गरिरहेका बेलायतीहरूले सगरमाथा चढ्न सकेनन् । बेलायती नागरिक सर जर्ज एभरेस्टले सगरमाथाको उचाइ मापन गरेर संसारकै सबैभन्दा अग्लो हिमाल पत्ता लगाएपछि बेलायतीहरूले अरूलाई सगरमाथा चढ्न दिएनन् । उनीहरू आफैं इतिहास रच्न खोज्दै थिए । बेलायतीहरूलाई नेपाल प्रवेश अनुमति नभएको समय उनीहरूले भारतबाटै नेपालका हिमालको नापजाँच गरेका थिए । 

अन्नपूर्ण क्षेत्रनजिकै धौलागिरी आएका मोरिसले कालीगण्डकीको तिरैतिर मुस्ताङको टुकुचे क्षेत्रबाट निलगिरी हिमाललाई पछाडि राखी हाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४, नारच्याङको लेक भुस्केट हुँदै आधार शिविर भएर अन्नपूर्ण प्रथम चढे । ८ हजार ९१ मिटरको उक्त शिखरमा फ्रान्सेली झन्डा फहराउँदै विश्व कीर्तिमान राखे । विश्वको इतिहासमा ८ हजार मिटरभन्दा अल्लो हिमाल आरोहण गर्ने पहिलो व्यक्ति मोरिस हर्जोग नै भए । ‘हामी सगरमाथा चढ्न गएको भए उनीहरूलाई धोका दिए जस्तो हुन्थ्यो’ ‘अन्नपूर्णमा पहिलो पाइला’ पुस्तकमा मोरिसको कथन छ ।

‘बेलायतीहरू सगरमाथा उक्लन बाह्रौं प्रयास गर्दै थिए । उनीहरू सगरमाथा चढ्न तालिम समेत लिइरहेका थिए । बेलायती जर्ज हन्ट तथा एडमण्ड हिलारी मेरा साथी नै थिए’ पुस्तकमा मोरिसको भनाइ छ, ‘तिब्बती मोहडाबाट पनि पटक–पटक कोसिस गर्‍यौं, अहिलेसम्म सकेनौं । अब एक पटक हाम्रा लागि छाडिदिनोस् भन्ने आग्रहपछि यो पटक तपाइँहरूलाई मौका भयो, तपाइँहरूले नसके अर्को पटक हामी चढ्छौं भन्दै हामी अन्नपूर्ण आरोहणतर्फ लाग्यौं ।’

फ्रान्सबाट दिल्लीसम्म हवाई यात्रा गरेका मोरिसको टोलीले भारतबाट नेपाल सीमासम्म मोटर बाटोमार्फत यात्रा तय गरेको थियो । उनीहरू लुम्बिनी हुँदै बाग्लुङ भएर धौलागिरी क्षेत्र हिँडेरै पुगेका थिए । मोरिसको टोलीमा २ सय ५० जना भरिया थिए । उनी सगरमाथा चढ्न नपाएपछि ८ हजार १ सय ६७ मिटर अग्लो धौलागिरी हिमाल चढ्न आएका थिए । ‘अहिले धौलागिरि चढ्नु उपयुक्त छैन’ भन्ने स्थानीय बासिन्दाको सुझाव पछि उनी पूर्वतर्फको अन्नपूर्ण प्रथम हिमाल आरोहणमा केन्द्रित भए । मनसुन सुरु हुनै लाग्दा र हिमपहिरो खस्ने समयमा समेत मोरिसले अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्न सफल भएको जानकारी नेपाल भ्रमणमा आएका बेला नारच्याङवासीलाई दिएका थिए । 

उनले अन्नपूर्ण हिमाल आरोहण गरेको खबर विश्वभर फैलियो । ‘हामीले अन्नपूर्ण हिमाल आरोहण गरेपछि, फ्रान्सेलीहरू ८ हजार मिटरभन्दा अग्लो हिमालमा गए, हिमालमा फ्रान्सेली झन्डा फहराए, ती त्यत्रा हिमाल कसरी चढे, उनीहरू को हुन् ? भनेर संसारभरी हल्लीखल्ली मच्चियो । नेपालका अग्ला हिमाल पनि चढ्न सकिने रहेछ भनेर संसारभरिका मानिसको आँखा खुल्यो’ उनको पुस्तकमा उल्लेख छ । ८ हजार भन्दा बढी उचाइका हिमाल पहिलोपटक आरोहण भएपछि विश्वको ध्यान नेपालतर्फ केन्द्रीत भएको थियो । अन्नपूर्ण पहिलो आरोहण गरेर पहिलो आरोहीको विश्व कीर्तिमान बनेको खुसियालीमा त्यतिबेला फ्रान्समा तीन दिन राष्ट्रिय उत्सव मनाइएको थियो ।

अन्नपूर्ण प्रथम हिमाल आरोहणबाट दुवै गोडा र दुवै हात गुमाएका हर्जोगलाई सहयोगीहरूले बोकेर हिमालबाट झारेका थिए । उनीसंगै लुइस लचेनल पनि थिए । फर्कने बेला मोहन शमशेरले भेट्न पत्र पठाएको जानकारी आएपछि सँगै आएका डाक्टर हुदो मार्सेलसहित उनी काठमाडौंतर्फ लागे । दरबारमा एउटा ठूलो समारोह गरेर तत्कालीन सरकारले उनलाई गोर्खा क्रस (ला ख्वा द ला गेर) पदक प्रदान गरेको थियो । आफू उक्त पदक पाउने एकमात्र विदेशी भएको मोरिसले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । उनले लेखेको पुस्तक सन् २००० अघिसम्म १ करोड १० लाख बढी विक्री भएको मानिन्छ । फ्रान्सेली भाषा ‘लान्नापूर्ना फर्मिय उइ मिल’ शीर्षकको उक्त पुस्तक कुनै समय अमेरिकी बजारमा क्रिश्चियन धर्मग्रन्थ बाइबल भन्दा बढी बिक्री भएको बताइन्छ । यो पुस्तक सम्भवतः विश्वमा सबैभन्दा बढी बिक्री भएको नेपालसम्बन्धी पुस्तक पनि हो । मोरिसले सन् १९५१ मा पेरिसको अस्पतालमा उपचारत रहँदा यो पुस्तक लेखेका थिए ।

हिमाल चढ्दा के होला, के नहोला भनी अविवाहित बसेका मोरिस गहिरो चोटमा परेपछि दिल्लीमा उपचार गराउन थाले । नेपाल र भारतमा राम्रो उपचार नपाएपछि उनले केही समय फ्रान्स र लामो समय अमेरिकामा उपचार गरे । कृत्रिम हातखुट्टा प्रयोग गर्दै आएका मोरिसको ९३ वर्षको उमेरमा २०६९ मंसिर २९ गते निधन भयो । अन्नपूर्ण चढ्नुअघि उनले युरोप र दक्षिण अमेरिका क्षेत्रका ४ हजार ८ सय मिटर उचाईका हिमालहरू चढेका थिए । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) केन्द्रीय कार्यालय संरक्षण अधिकृत ऋषि बरालका अनुसार अन्नपूर्ण हिमालको सफल आरोहणसँगै नेपाल पर्वतीय पर्यटनको आकर्षणको केन्द्र बन्दै गएको छ । ‘अन्नपूर्ण हिमाल सगरमाथाको तुलनामा आरोहणका दृष्टिले ज्यादै कठिन छ । जेठो हिमालको उपाधि पाएपनि अझै पनि धेरै पर्यटक अन्नपूर्ण प्रथम हिमालमा जान सकिरहेको छैनन्’ उनले भने, ‘पदयात्रामार्गको विस्तार भैरहेको छ । हिमालसम्मै पदयात्रामार्ग निर्माण भएको छ । अब सहज हुने अपेक्षा छ ।’ हिमाल आरोहण गर्ने सबैले सर्वोच्च शिखर सगरमाथा रोज्ने भएकाले अन्नपूर्ण प्रथमको आरोहण कम प्राथामिकतामा परेको उनको बुझाइ छ । ‘अन्नपूर्ण प्रथमको आफ्नै महत्व छ । यसको प्रचारप्रसार अझै हुन् सकेको छैन । पदयात्रामार्गको व्यवस्थापन सबैभन्दा ठूलो चुनौतीको विषय छ’ बरालले भने । 

एक्याप आयोजना प्रमुख राजकुमार गुरुङका अनुसार अन्नपूर्ण हिमाल नेपालकै पहिलो र ठूलो संरक्षण क्षेत्रभित्र पर्छ । ‘पहिले त्यति चासोको विषय थिएन । सन् १९५० मा मौरिसले अन्नपूर्ण प्रथम चढेपछि यस क्षेत्रमा पर्यटकले चासो दिन थालेका हुन्’ उनले भने । गुरुङका अनुसार अन्नपूर्ण हिमाल र आसपासका ७ हजार ६ सय २९ वर्ग किलोमिटर क्षेत्रलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामार्फत संरक्षण गरेर राखिएको छ । 

लमजुङ हिमालदेखि निलगिरीसम्म अन्नपूर्ण हिमश्रृंखलाको भाग हो । हिमाल पारी र हिमाल वारीका ५ जिल्ला, साविक ५७ गाविसलाई समेटेर अन्नपूर्ण हिमालकै नामबाट अन्नपूर्ण संरक्षण क्षेत्र गठन गरिएको हो । संघीय संरचनाअन्तर्गत अहिले गण्डकी प्रदेशको ५ जिल्ला, १५ गाउँपालिकाका तथा ८७ वडामा अन्नपूर्ण संरक्षण क्षेत्र फैलिएको छ । २०४३ मा कास्कीको घान्द्रुकबाट अन्नपूर्ण संरक्षण क्षेत्र परीक्षणको रुपमा सुरु भएको थियो । अन्नपूर्ण क्षेत्रमा बर्सेनि करिब २ लाख पर्यटक पुग्छन् । तीमध्ये फ्रान्सका पर्यटकको संख्या टप ५ भित्र रहेको एक्यापले जनाएको छ ।

सम्झिँदैनन् मोरिसलाई

नेपाल र अन्नपूर्णलाई विश्वभर चिनाएका मोरिस हर्जोगलाई सरकारी तथा नीजि क्षेत्रबाट खासै सम्झिएको पाइँदैन । कहिलेकाहीं अन्नपूर्ण क्षेत्रमा औपचारिक कार्यक्रम हुँदै आएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) द्धारा गठित संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङ (अन्नपूर्ण गाउँपालिका ४, म्याग्दी) का अध्यक्ष तेजबहादुर गुरुङका अनुसार हिमाल आरोहणपछि मोरिस ३० पटक नेपाल आए । पछिल्लो समय सन् २००५ मा नारच्याङ आएका मोरिसले सरकारलाई जति भनेपनि अन्नपूर्ण प्रथमको विकासमा चासो नदिएको गुनासो गरेका थिए । ‘मलाई सम्झनु पर्दैन । मैले चढेको हिमाल र यस क्षेत्रको विकास गरे पुग्छ भन्नुभएको थियो’ मोरिसले गरेको गुनासो सुनाउँदै गुरुङले भने, ‘राज्य र सरकारकै तर्फबाट उहाँलाई सम्झिएको छैन । हामीले मात्र के गर्न सक्छौं र ?’

कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने अन्नपूर्ण बेसक्याम्पमा मोरिसको स्मृतिमा शालिक निर्माण गरिएको छ । मोरिस कास्कीबाटै चढेको प्रचारप्रसार हुँदा उनी हिँडेको बाटोको विकास नभएको म्याग्दीवासीको गुनासो छ । ‘अन्नपूर्ण हिमाल र अन्नपूर्ण बेसक्याम्प भनेपछि कास्कीतर्फमात्र सबैको ध्यान केन्द्रीत भयो । मोरिस हिँडेको बाटो र चढेको हिमालमा कसैको ध्यान गएन’ धौलागिरी पर्यटन परिषद् म्याग्दीका अध्यक्ष अमर बानियाँले भने । बानियाँका अनुसार अन्नपूर्ण प्रथमसम्मको पदमार्ग राम्रो, व्यवस्थित र सुरक्षित भए पर्यटकको आगमनमा वृद्धि हुनेछ ।

 

अन्नपूर्ण प्रथमसम्म पदमार्ग

अन्नपूर्ण प्रथम पुग्न बेसक्याम्पसम्म पदमार्ग निर्माण गरिएको पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष चन्द्रजित पहरे पुनले बताए । पुनका अनुसार गएको वर्षदेखि पदमार्ग खुलेको छ र पर्यटकहरू आउन थालेका छन् । नारच्याङका अगुवा सुवास विकका अनुसार बेनीदेखि नारच्याङसम्म २४ किलोमिटर सडक छ । नारच्याङबाट छोटेपासम्मको १६ किलोमिटरमा निलगिरी जलविद्युत आयोजनाले सडक निर्माण गरेको छ । छोटे पादेखि हुमखोलासम्मको करिब ९ किलोमिटर सडक उक्त आयोजनाले निर्माण गर्ने तयारी गरेको छ । हुमखोलाबाट करिब ६ घण्टामा भुस्केट र भुस्केटबाट करिब ५ घण्टामा ४ हजार १ सय देखि ४ हजार ४ सय मिटरसम्मको अन्नपूर्ण वेस क्याम्प पुग्न सकिन्छ ।

 

पदयात्रामार्गका लागि संघर्ष 

मुस्ताङको टुकुचे, ताक्लुङ हुँदै आउने पदमार्ग निकै डरलाग्दो छ । यो बाटो भएर आउँदा भीरबाट खसेर मृत्युसम्म हुने गरेको स्थानीय बासिन्दाहरू बताउँछन् । नारच्याङबाट आधार शिविर जाने बाटो पनि डरलाग्दो छ । यद्यपि जलविद्युत् आयोजनाले उक्त ठाउँ कट्ने गरी सडक निर्माण गर्दैछ । पदमार्ग निर्माण गर्दा आफूले ‘पागल’ को संज्ञा समेत पाएको अध्यक्ष गुरुङले बताए । उनका अनुसार नारच्याङबाट अन्नपूर्ण प्रथमको आधार शिविर जाने पदमार्ग थिएन । ‘मेरै नेतृत्वमा २०६७ मा अध्ययन अनुसन्धान गरिएको थियो । नचाहिने काम गरेको भन्दै मैले पागलको बिल्ला भोग्नुपर्‍यो,’ उनले भने, ‘मोरिस हर्जोग चढेको हिमाल पुग्ने छोटो बाटो खोज्यौं । हामी म्रिस्ती खोलाको तिरैतिर खोलाकै मुहानसम्म पदमार्गको ट्रयाक खोल्न सफल भयौं ।’ सुरुमा अनुसन्धान गर्दा म्रिस्ती खोलामा ४४ पटक फड्के (काठको भर्‍याङ) बनाएर वारपार गरी अध्ययन गरिएको उनले बताए । 

२०६८ मा पदमार्ग निर्माणका लागि प्रपोजल लेखेर पर्यटन मन्त्रालयमा दिएको र त्यसपछि ०७२ सम्म हरेक वर्ष १० लाखका दरले सहयोग पाएको उनले बताए । ०७३ र ०७४ मा १५/१५ हजार र ७५ मा २० लाख प्राप्त भएको थियो भने एक्यापले अघिल्लो वर्ष १५ लाख र अहिले १० लाख दिएको छ । गण्डकी प्रदेश सरकारले यस वर्ष १५ लाख स्वीकृत गरेको छ । वडाले ३ लाख सहयोग गरेको छ । ‘हामी पदमार्ग निर्माण गरिरहेका छौं । बास बस्ने ठाउँ बनाएका छौं । म्रिस्ती खोला–२ ठाउँमा झोलुंगे पूल निर्माण गरेका छौं, धेरै ठाउँमा काठे फड्के बनाएका छौं’ गुरुङले भने । 

गुरुङका अनुसार कास्कीबाट अन्नपूर्ण हिमालको काखमा जाने पदमार्ग र बेसक्याम्पले म्याग्दीको बेसक्याम्प छायाँमा परेको हो । कास्कीबाट बेसक्याम्पसम्म जान मिल्ने भए पनि हिमाल चढ्न मिल्दैन । हिमाल चढ्न म्याग्दीमा पर्ने अन्नपूर्ण प्रथम बेसक्याम्प नै आउनुपर्छ । कास्कीको बेसक्याम्पमा वर्षौंदेखि पर्यटक गए पनि म्याग्दीतर्फको अन्नपूर्ण बेसक्याम्पमा गत वर्षदेखि मात्र पर्यटक जान थालेको उनले बताए । गुरुङका अनुसार नारच्याङभन्दा माथि मानव बस्ती नहुँदा र वनजंगल मात्र भएकाले यो क्षेत्रको पूर्वाधार निर्माणमा ढिलाई भएको हो । यो क्षेत्रको पदयात्रामा उच्च हिमाली दृश्यावलोकन, हिमताल, विभिन्न वनस्पति तथा चराचुरुङ्गीहरू अवलोकन गर्न सकिन्छ ।

 

हेलिकप्टरकै भर

अन्नपूर्ण प्रथम पुग्ने पदमार्ग नहुँदा र भएको पदमार्ग पनि उच्च जोखिममा रहँदा हिमाल चढ्ने तथा घुम्ने पर्यटकहरू हेलिकप्टरमार्फत त्यहाँ पुग्ने गरेका छन् । गत अप्रिल २३ मा अन्नपूर्ण प्रथम आरोहण गरेका बेलायती सैनिक म्याग्दीका निर्मल पुर्जा बेसक्याम्पसम्म हेलिकप्टरमै गएका थिए । उनी उक्त क्षेत्रमा ८ हजार माथिको हिमाल चढ्ने पहिलो स्थानीय बासिन्दा हुन् । पुनलाई बेलायती सैनिकमा हिउँचितुवाको नामले चिनिन्छ । एक्याप पोखराका अनुसार अन्नपूर्ण प्रथम चढ्न वा घुम्न जानेहरूले हेलिकप्टर नै प्रयोग गर्ने गरेका छन् । यो वर्ष मात्र करिब २० पटकभन्दा बढी हेलिकप्टर अन्नपूर्ण बेसक्याम्प पुगेको छ । नेपाली विकिपिडियाका अनुसार सन् २०१२ सम्ममा अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्नेहरूको संख्या १ सय ९१ छ । 

(अन्नपूर्ण आधार शिविरबाट)

प्रकाशित :जेष्ठ ३१, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्