काठमाडौं जिन्दगी

- अधिकारी रवीन्द्र

जेष्ठ ३०, २०७६

 

भनिन्छ, काठमाडौं सपना र रहरको सहर हो, तर होइन रहेछ । यो बाध्यता र विवशताको सहर हो । सायद यहाँबाट धेरै मानिस उम्कन चाहन्छन् तर सक्दैनन् । धेरैजसोले यसलाई स्थायी थलो मानेका हुँदैनन् ।

कोही यहाँ दाम कमाउन छिरेका छन्, कोही नाम कमाउन । कोही डिग्री बढाउन, कोही डिभी भराउन । कोही घडेरी बेचाउन, कोही दुःख बेसाउन । काठमाडौं ट्रान्जिट प्वाइन्ट हो । घर नहुने मध्यमवर्गीय व्यक्तिले काठमाडौंमै दीर्घ रूपले बस्छु भनेर अड्डी कसेको हुँदैन । दुई–चारवटा घर काठमाडौंमा भएकाहरूपनि एउटा घर अरू कुनै ठाउँमा किन्न लागिपरेका हुन्छन्, बुढेसकालमा आफू बस्न । पैसा हुनेहरू काठमाडौं खाल्डोमा भएका दूतावासहरूमा भिसा लगाउन धाइरहेका हुन्छन् । उनीहरूको रोजाइ युरोप, अमेरिका वा अस्ट्रेलिया हुन्छ । पैसा नहुनेहरू पनि म्यानपावरको लाइनमा पंक्तिबद्ध छन् ।

विदेश जाँदै नजाने मजस्ता अक्कडेहरूले एउटा खुट्टा उचालेरै काठमाडौंलाई झेलेका छन्, जसलाई भित्रैदेखि काठमाडौं बस्न मन छैन र यो ठाउँ छोड्न हरसम्भव प्रयास गर्दा पनि केही उपाय नलागेकाहरूको पनि एउटा खुट्टा उचालिएकै छन् । यहाँ घर बनाएर जहान–परिवार पाल्न सक्ने दूरदूरसम्म सम्भावना छैन, अनि दुर्दशापूर्ण कोठे जिन्दगी जीवनपर्यन्त भोग्न सकिँदैन भन्ने भय पनि छ । तसर्थ आफ्नो काम पूरा हुनासाथ वा कुनै उद्देश्य पूर्ति हुनासाथ कुलेलाम ठोक्न एउटा खुट्टा उचालेर तम्तयार भएर बसेका मजस्ता मानवप्राणी धेरै छन् काठमाडौंमा ।

खुट्टा उचाल्नैपर्ने कारण अनगिन्ती छन् । काठमाडौंमा शान्ति छैन, पानी छैन, स्वच्छता छैन । नभएका चिजहरूको सूची तयार गर्ने जाँगर पनि छैन । किनभने लिस्ट त्यति लामो छ । भागदौड, तँछाडमछाड, कोलाहल र धूवाँछारोको कुइरीमण्डलमा मानिसको झुन्ड यसरी पिल्सिएको छ कि कसैलाई रोक्किएर पछाडि हेर्ने फुर्सद छैन । कसैलाई अफिस भ्याउने चटारो, कसैलाई पसल खोल्ने भ्याँउतो । कोही दुई मिनेटअघि जान पाए १ प्लेट भए पनि बढी मम बेच्थें भन्ठान्दै हुर्रिन्छन् । कोही अलि छिटो हाँक्न पाए दुई जना भए पनि बढी पेसेन्जर हाल्न पाइन्थ्यो भनेर हुत्तिन्छन् । यो अस्तव्यस्तताबीच एउटा स्वस्थ मानिसलाई चाहिने कुनै पनि चिज छैन यहाँ । यहाँ केवल भौतिकता र कृत्रिमताका सुविधा र सहुलियतहरू छन् । मानिसले नै पैदा गरेका आवश्यकता पूरा गर्न काठमाडौं धाउनुपर्छ मानिसहरूले । 

एक दिन युरोप लामो समय बसेर आएको साथीसँग काठमाडौंको सडकमा हिँड्दै थिएँ । एउटा स्कुटीको साइड ग्लासले उसलाई बेस्सरी हानेर अलप भयो । ऊ रन्किनसम्म रन्कियो र भन्यो– ‘काठमाडौँ मानिस बस्ने ठाउँ होइन । यो सहर, सहर नै होइन । यो खोर हो, झुपड्पट्टी हो । सहरमा त कम्तीमा सडकको छेउ पैदलयात्री हिंड्ने ठाउँ हुन्छ । सहरमा त कम्तीमा ५ मिनेट हिँडिसकेपछि गार्डेन वा पार्क हुनुपर्छ । यहाँ त भएका पार्क र हरियालीलाई सखाप पार्दै मानवीय संरचना खडा गरिन्छ । काठमाडौंलाई चिरेर बग्ने पवित्र नाम बोकेका नदीहरू मानव मलमूत्रका डुङ्डुङ गन्हाउने ढल बनेका छन् । हामी आफू बस्ने ठाउँलाई मरुभूम बनाउँदै छौ र भन्ठान्छौं विकासले गति लिँदैछ ।’

मानिस बस्ने सहर देखेर आएको हुनाले मेरो साथीले त्यतिसम्म भन्न सक्यो । नमरी स्वर्ग देखिँदैन भन्छन्, उसले देखेर त आएको होला नि भन्ठानेँ । हुनत बाध्यताको भड्खाँरोमा काठमाडौं जस्तो विशाल सहर मैले अरु देखेको पनि छैन ।

एउटा स्कुटरले छोएर जाँदा साथीको कन्सिरीको रौँ तात्यो तर त्यो हाम्रा लागि अति सामान्य कुरा हो । आखिर काठमाडौंमा बाँच्नु छ भने सहन सिक्नुपर्छ । माइक्रोमा पेल्लिन सक्नुपर्छ, गल्लीमा लुटिन सक्नुपर्छ । बिहान घरबाट हिंडेको मानिस बेलुका धुलोले चिन्दै नचिनिने गरी फर्कंदा पनि हामीलाई रिस उठ्दैन । मास्क लगाएर हिँड्दा पनि स–साना सन्तानलाई दम र खोकीले ग्रस्त बनाउँदा हामी रन्किँदैनौँ । साँझ–बिहान हिँड्दा हिँड्दै सडककै छेउछाउमा तार, ढल वा खानेपानीका लागि हप्तौँदेखि खनिएको ठूला खाडलमा परेर खुट्टा मर्किदा पनि हामी आफ्नै भाग्यलाई सराप्न लाचार छौँ । खुट्टा घिसारेरै भए पनि आफ्नो गन्तव्यमा पुगेर छोरा, श्रीमान् वा अविभावकको भूमिका निर्वाह गर्नु छ । आशातीत अनुहारमा एउटा चोखोपन, एक किलो चामल र एक पाउ आलुले खुसीयाली ल्याउनु छ अनि त्यही सन्तुष्टिले आफ्नो पनि भोक मेट्नु छ । 

काठमाडौंवासीहरूमा सहनशीलताको भकारी नै छ । सकभर अप्ठेराहरूलाई छलेर भाग्ने प्रयत्न गरिरहेका हुन्छौँ हामी, तर समस्याले पनि हामीलाई नै पिछा गरिरहेको छ ।

भाग्ने क्रममा कहिले हामी ठग व्यापारीको जालमा पर्छौं, कहिले ट्राफिकको जरिवानामा, कहिले दलालको पन्जामा त कहिले पाकेटमारको फन्दामा । आफू जोगिन पनि मुस्किल छ यहाँ, आफूले आर्जिएको जोगाउन पनि हम्मेहम्मे छ । महिनाको अन्तिम दिन घरबेटीको खोकी सुनेर तर्सिन्छौ हामी, अनि महिनाको अन्तिम हप्ता पैसा सापटी लिएको हितैषीसँग तर्किन्छौं । काठमाडौँको रहनसहनमा ढल्नै पर्‍यो ।

तसर्थ बाध्यता र विवशताको हुरीले जब–जब कसैलाई काठमाडौं खाल्डोमा हुत्याउँछ तब–तब जिन्दगीमा सम्झौताको चाङ लाग्छ अनि सहनशीलता उम्रिएर आउँछ ।    

 

प्रकाशित :जेष्ठ ३०, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्