आफ्नै माटो साक्षी राखेर 

- प्रकाश बराल

जेष्ठ २७, २०७६

४ करोड २० लाख पटक युट्युब च्यानलमा हेरिएको नेपाली गीत सायदै होला, तर ‘सालको पात टपरी हुने, नहुने सल्लैको’ लोकगीतले त्यो सिमालाई ‘ब्रेक’ गरेको छ । आलोचकहरूले यसलाई राष्ट्रिय लोकगीतसम्म भन्न थालिसकेका छन् । गीतमा जुन शब्द र संगीत छ त्यसले आमनेपालीलाई लोभ्याएको पक्कै हो । यति धेरै मन पराइएको गीत कसले लेखेको होला, कसले संगीत भरेको होला भन्ने चासो हुनु पनि स्वभाविक हो ।

गायक कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वरका सम्बन्धमा धेरैजसो जानकार नै छन् । यद्यपि यो गीतका पर्दा पछाडिको हिरोको खोजी थोरै मात्र भएको छ । नवराज पन्तले शब्द लेखेपछि वसन्त थापाले यसमा संगीत भरेका हुन् । नवराज पन्त र वसन्त थापा दुवै बागलुङे हुन् । उनीहरूका हरेक गीत–संगीतमा आफ्नो माटोलाई साक्षी राख्ने बानी परिसकेको छ । 

थापाले त आफ्नै घर भएको गलकोट नगरलाई धेरै गीतमा दोहोर्‍याएका छन् । घुम्टे, दरमखोला, गलकोट र तारखोला जोडिएका वसन्तका धेरै गीत चर्चित समेत भएको विश्लेषक राम थापा अविरल बताउँछन् । सालको पातको संगीत भर्ने बेलासम्म आफू यति छिट्टै यो उचाइमा पुग्ने कल्पनासम्म नगरेको थापा बताउँछन् । वसन्त भन्छन्, ‘यति चर्चित हुन्छ भन्ने लागेको भए अझै मेहनत गर्थें ।’ थोरै मेहनतअनुसार चर्चामा आएकोमा उनी खुसी छन् । थापा भन्छन्, ‘आफ्नै माटो साक्षी राखेर रचना गरेको गीत–संगीतबाट सफलता हात लागेको छ ।’ थापाले जन्मगाउँ, गलकोट र बागलुङलाई साक्षी राखेर रचेका अन्य गीत एकदेखि डेढ करोड पटक हेरेको रेकर्ड छ । ‘बागलुङ बजारमा बाघको सालिक’ तथा ‘वारि घुम्टे पारी गाजा’ गीत झन्डै डेढ करोड पटक हेरेका छन् ।

आफ्नै धर्तीको आर्शीवादले संगीतको सफलतामा पुर्‍याएको थापाको दाबी छ । ‘मैले माटोलाई माया गर्न पाउनुपर्छ, त्यसैले गलकोट र बागलुङलाई साक्षी राखेर संगीत रचना गरेको छु’ थापा भन्छन्, ‘हाम्रो प्रकृति लाखौं लोकगीत रचना हुने खालको छ ।’ ‘माछा मीठो दरम खोलाको’, ‘वारि घुम्टे, पारी गाजा’, ‘बागलुङ बजारमा बाघको सालिक’, ‘फुल्यो बामरी’, ‘आलु मीठो ताराखोलाको’ जस्ता दर्जनौं गीत उनले आफ्नै माटो साक्षी राखेर रचना गरेका ह्न् ु। अहिले छोरालाई डाक्टर बनाउनुपर्छ भन्ने बाबु दलबहादुर पनि उनको परिचयमा रमाउन थालेका छन् । गीत–संगीतमा रुचि भएकाले वसन्तले प्राविधिक बिषय पढ्न चाहेनन् । 

उनका दाइ र दिदी जापानमा छन् । उनलाई विदेश जान उत्तिकै दबाब छ । वसन्त भने विदेश गएका सँग भन्दा गाउँकै अगुवाहरूको प्रेरणामा रमेका छन् । गायकहरूको संगतले आफू संगीतकार भएको उनी बताउँछन् । विदेश जाने मोह नभएकाले संगीतमै अब्बल सावित हुन संघर्ष गरिरहेका छन् थापा । ‘समस्या नभएको क्षेत्र त कतै छैन, तर गीत–संगीत मेरो जन्मदेखिको रुचि हो, त्यसमै रमाउँदै सफलता चुम्ने चाहना छ,’ थापा भन्छन्, ‘उत्कृष्ठ १० मा पर्न सकियो भने नेपालका हरेक पेसा र व्यवसायबाट मज्जाले जीवन चल्छ ।’ जापान वा अस्ट्रेलिया जानैपर्ने पारिवारिक दबाबलाई उनले संगीतबाटै छल्न सकेको बताए । थापाले अहिलेसम्म १ सयवटा गीत गाइसकेका छन् भने ५ सय गीतमा संगीत भरिसकेका छन् । जहाँ बस्यो त्यही भूगोललाई न्याय दिंदै गीत–संगीत रचना गर्नुपर्ने उनको सुझाव छ । 

कतिपय गीत बजारमा आएको दुई वर्षपछि मात्र चर्चामा आएको उनले बताए । लामो समय रुमल्लिएर श्रोताको कानमा पुग्ने गीतको भीडमा सालको पातले बजारमा आउनासाथ उचाइ चुमेको हो । ‘लामै समय लगाएर मैले यसको संगीत सिर्जना गरेको हुँ,’ थापा भन्छन्, ‘यस्तै मेहनत गरेर सयौं लोकगीत बनाउने मन छ ।’ लोकगीतका लागि हाम्रा गाउँघर महासागर नै हुन् भन्छन् थापा । ‘महासागरमा प्रवेश गर्नेले लोटा थापेर बस्ने कि गाग्री बोक्ने आफैं निर्धारण गर्नुपर्छ ।’ एक–दुईवटा गीत गाएर कुर्नेलाई भने विकल्प खोज्न उनले सुझाव दिए । लोकगीतमा पश्चिमा संस्कृति भित्रिएकोमा थापा चिन्तित छन् । ‘कला–संस्कृति संरक्षणमा राज्य नै लाग्नुपर्छ’ उनले भने, ‘कुनै दिन लोकगीत पनि थियो भन्ने होला भन्ने डर सरकारमा पनि हुनुपर्छ ।’ गीत–संगीतको छाडा संस्कार रोक्न नसके त्यसैले लोकभाकालाई समेत खाने उनको आशंका छ । 

प्रकाशित :जेष्ठ २७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्