सगरमाथाको साख घट्दैछ

- हरिहरसिंह राठौर

जेष्ठ २७, २०७६

 

सन् १८४९ मा ब्रिटिस सर्बे अफ इन्डियाले सर्वेक्षण गरी विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा भएको निष्कर्ष निकालेको थियो । नेपालको सोलुखुम्बु जिल्लामा पर्ने अग्लो शिखर भनी चिनिएको भए पनि त्यहाँका मानिसलाई त्यसको कुनै जानकारी थिएन । त्यसैले १ सय ४ वर्षपछि बल्ल शिखरमा मानिसको पाइला पुग्यो ।

सोलुखुम्बुको थामेमा जन्मिएका तेञ्जिङ नोर्गे शेर्पाले दार्जीलिङ पुगेर ट्रेकिङ कम्पनी खोलेपछि सोही माध्यमबाट एडमन्ड हिलारीसँग भेट भएको बताइन्छ । एडमन्ड हिलारीले सगरमाथा चढ्ने प्रक्रिया अघि बढाएपछि तेञ्जिङलाई समेत जन्मभूमि फर्कने अवसर मिलेको उनीहरूलाई बाटो देखाउने कान्छा शेर्पा बताए ।

नेपाल सरकारबाट आरोहण अनुमति पाएपछि सन् १९५३ को मे २९ का दिन थामेका तेञ्जिङनोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले सगरमाथाको शिखरमा पहिलो पटक पाइला टेकेका थिए । उनीहरूको पाइला शिखरमा पुगेसँगै सगरमाथाको चर्चा विश्वभरि फैलियो । सगरमाथा आरोहण यात्रा सुरू भएको ६६ वसन्त पूरा भैसकेको छ । अहिलेसम्म ८ हजारभन्दा बढी स्वदेशी तथा विदेशीले सगरमाथा आरोहण गरिसकेका छन् भने त्यसमा विभिन्न कीर्तिमानसमेत कायम भएका छन् ।

हिलारी र तेञ्जिङसँग पहिलोपटक शिखरमा जाने समूहमध्येको खुम्बुपासाङल्हामु –३ नाम्चेका कान्छा शेर्पा पनि एक हुन् । त्यतिबेला ‘हाई अल्टिच्युड शेर्पा’ का रूपमा आरोहणमा संलग्न ८७ वर्षीय शेर्पा २० वर्षको उमेरमा तेञ्जिङ र हिलारीका लागि बाटो बनाउँदै शिखर नजिक ७ हजार ८ सय मिटरसम्म पुगेका थिए । उनीहरू दुई जना मात्र हाई अल्टिच्युड शेर्पा थिए भने अन्य लो अल्टिच्युट शेर्पा थिए ।

कान्छा शेर्पाका अनुसार भक्तपुरबाट चार सय भरियासहित आरोहण दलका ३५ सदस्य नाम्चेतर्फ लागेका थिए । चार सयमध्ये एकसय जनाको टोली एक दिनको फरकमा हिँडेको थियो । शेर्पाले भने ‘काठमाडौंमा गाडी थिएनन्, भक्तपुरमा गाईवस्तु चर्थे, अहिले भक्तपुरमा त १० हजार घर होला है,’ बाटोमा कुनै होटल, पसल आदि थिएनन् । उनले भने, ‘मकैको छ्याङ अनि सातु खाँदै हिँड्नुपर्थ्यो, अहिले त जताततै होटल, पसल आदिको राम्रो सुविधा छ, त्यतिबेला केही थिएनन्, निकै गाह्रो थियो ।’

भक्तपुरबाट हिँडेको टोली १६ दिनमा नाम्चे पुगेको थियो । सगरमाथा प्रवेशद्वार नाम्चे पुगेपछि चार सय भरियालाई दैनिक पाँच रुपैयाँका दरले ज्याला दिएर फर्काएपछि आधार शिविरतर्फ प्रस्थान गरेको टोली ६ दिनमा आधार शिविर पुगेको शेर्पाले बताए । उनले भने, ‘चार सय भरियाले बोकेको भारीमध्ये २५ भारी त पैसा मात्र थियो ।’

‘नाम्चेबाट ३५ जना आधार शिविरतर्फ लाग्यौं, पाँच दिनमा त्यहाँ पुगेपछि बस्ने व्यवस्था मिलायौ,’ ६६ वर्षअघिको अनुभव सुनाउदै उनले थपे, ‘क्याम्प एकसम्म पुग्नै निकै कठिन भयो, बाटो खोज्दै जाँदा खुम्बु आइसफलमा ठूलो खर्पस भेटियो, हामीसँग भर्‍याङ थिएन, अनि नाम्चे फर्किएर १० वटा सल्लाको रुख काट्यौं, २० जनाले बोकेर उकालो लाग्यौं अनि काठको पुल बनाएर अगाडि जाने बाटो तयार गर्‍यौं ।’

त्यतिबेला सगरमाथा भन्ने चलन थिएन, स्थानीय भाषामा चोमोलोङमा भन्ने गरेको उनले बताए । क्याम्प २–३ हुँदै ४ सम्म बाटो बनाएपछि, तेञ्जिङ र हिलारी शिखरतर्फ गएका थिए । ‘मे २९ को दिन दिउँसो १ बजे आरोहण सफल भयो, तिमीहरू क्याम्प–२ मा बस्नु भने हामी सबै खुशी भयौ,’ शेर्पाले भने, ‘दुई घण्टामा क्याम्प–२ मा उनीहरू आए खुसीले अँगालो हाल्यौं अनि हामी सबै नाच्यौं ।’ काठमाडौँबाट हिँडेको ४५ दिनमा आरोहण सफल भएको थियो ।

सात पटक सगरमाथाको बाटो देखाउने काम गरेका कान्छा चुचुरोमा जान मन भए पनि अनुमति नभएका कारण नपुगेको बताउँछन् । तेञ्जिङ र हिलारीले आरोहण सकेपछि नाम्चे झरेको टोलीले कान्छा शेर्पालाई त्यही छाड्यो । पैसा लिएर केही दिनमा आउँछु भनेका हिलारी पुन नाम्चे आए । नाम्चे आएर कान्छालाई के कति दिए भन्ने थाहा छैन । उनको दैनिक ज्याला आठ रुपैया थियो, तर के कति पाइयो थाहा भएन । ६६ वर्षअघि सगरमाथामा हिउँ नै हिउँ थियो भने आधार शिविर घाँसे मैदान जस्तो थियो, तर अहिले त्यहाँ एउटै वनस्पति पाइँदैन । हिउँसमेत घटिसकेको छ ।

सगरमाथामा जो कोही चढ्छन्, त्यसरी चढ्दा सगरमाथाको साख घट्नेमा कान्छा शेर्पाको चिन्ता छ । सरकारले आरोहण रोक्नेभन्दा पनि सीमित मात्रामा अनुमति दिने व्यवस्था गर्दा यसको साख जोगिने उनको सुझाव छ । पैसाका लागि मात्र अनुमति दिनेभन्दा पनि साख जोगाउन ध्यान दिनुपर्ने कान्छाको भनाइ छ ।

 हिलारीका कारण खुम्बुको विकास भएको उनको तर्क छ । हिलारीले खुम्बु क्षेत्रको शिक्षा, स्वास्थ्य तथा विमानस्थल निर्माणको काम गरेका हुन् । लुक्ला, फाप्लु विमानस्थल निर्माण गरेका हिलारीले अस्पताल र क्याम्पससमेत स्थापना गरी सोलुखुम्बुको विकासमा सहयोग गरेका छन् । 

लुक्लासम्म आउन समस्या भएका कारण उनले सामान ढुवानी गर्न लुक्ला विमानस्थल निर्माण गरेका हुन् । त्यसैले लुक्ला विमानस्थलको नाम तेञ्जिङ हिलारी नामाकरण गरिएको हो । खुम्बु क्षेत्रमा आलु मात्र उत्पादन हुने हुँदा त्यति बेला जङ्गली कन्दमूल खाएर जीवन बिताउनु परेको कान्छा शेर्पाले बताए । अहिले उक्त क्षेत्रमा विकासले गति लिएको देख्दा अचम्म लाग्ने शेर्पा बताउँछन् ।

 

प्रकाशित :जेष्ठ २७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्