नेपाल स्काउटको  रोभर मुट

- राजाराम पौडेल

जेष्ठ २६, २०७६

स्काउट युवाहरूको संगठन हो । स्काउटिङ भनेको शैक्षिक उद्देश्य सहितको युवा अभियान हो । यहाँ सिक्न र सिकाउन पाइन्छ, जसले बालबालिका तथा युवाहरूलाई खेलको मज्जा पनि दिन्छ । योग्य, अनुशासित एवं चरित्रवान बन्न ऊर्जा थप्छ । स्काउट तालिमले आत्मरक्षाको उपाय पनि सिकाइरहेको हुन्छ । स्काउट तालिम लिएका विद्यार्थीहरू जीवनमा सधैंँ सफल हुन्छन् भन्ने मान्यता पनि छ । स्काउटमा उमेर समूहअनुसार तह निर्धारण गरिएको हुन्छ जस अनुसार ६ देखि १० वर्षसम्म कप र ब्राउनी, ११ देखि १६ वर्षसम्म स्काउट ब्वाइज र स्काउट गर्ल तथा १६ देखि २५ वर्षसम्म रोभर र रेञ्जर हुन्छन् । उमेर समूहअनुसार यिनिहरूको सिद्धान्त फरक–फरक हुन्छ । 

कप र ब्राउनीलाई प्रारम्भिक चरणका रूपमा सिकाइन्छ । अन्य तहमा नेतृत्व, व्यक्तित्व, क्षमता, उद्यमशीलता, नेतृत्व विकास तथा निर्णय क्षमताका बारेमा निखार प्रदान गरिन्छ । यसका लागि छुट्टाछुट्टै पाठ्यक्रम छ । स्काउटमा ११ देखि १६ वर्षसम्मको उमेरसमूहको चाप बढी छ । २५ वर्षपछि नेतृत्वमा आउँछन् । १८ वर्षमा कम्तिमा एसईई पास गरेको छ भने नेतृत्वमा आउने तालिम लिन पाइन्छ र उसले चाह्यो भने २५ वर्ष सम्म रोभर, रेन्जरमा बस्न सक्छ । अहिले नेपालमा स्काउटहरूको संख्या ६० हजारभन्दा बढी छ । विश्वभर ४ करोडभन्दा बढी युवा–युवती स्काउटमा आबद्ध छन् । 

नेपालमा स्काउट 

विश्वमा स्काउटको सुरुवात इङ्ल्यान्डका फौजी कमाण्डर बेडेन पावेलले सन् १९०७ मा गरेका हुन् । पावेलले युवाहरूलाई स्काउटमा संलग्न गरेपछि त्यसको आकर्षण बढ्न थालेको हो । स्काउट बेलायतबाट सर्वप्रथम दक्षिण अमेरिकाको चिली पुग्यो । त्यसपछि स्काउट राम्रो संस्था हो भनेर अन्य देशहरूले भित्र्याउन थाले । भारतमा ब्रिटिस उपनिवेश कालमै स्काउटिङ भित्रिएको थियो । भारतमा स्काउट भित्रिएपछि लगत्तै नेपालमा पनि वि.सं. २००९ सालमा स्काउटिङ प्रारम्भ भएको हो । नेपालमा प्रजातन्त्रको स्थापना भैसकेपछि तत्कालीन राजा त्रिभुवनले नेपालमा पनि स्काउटिङ भित्र्याउनु पर्छ भन्ने अवधारणा सार्वजनिक गरेपछि भारतबाट प्रशिक्षक श्रीराम बाजपेयीलाई नेपाल ल्याइएको थियो । 

वि.सं. २००९ सालमा बाजपेयीकै नेतृत्वमा ललितपुरको गोदावरीमा पहिलोपटक २० दिन लामो स्काउट तालिम प्रदान गरिएको थियो । उक्त तालिममा ३० जना युवा सहभागी थिए । तिनै ३० जनाबाट नेपालमा स्काउटिङ प्रारम्भ भयो । वि.सं. २००९ साल असार ५ गते नारायणहिटी राजदरबारमा तत्कालिन राजा त्रिभुवनले झन्डोत्तोलन गरेर नेपाल स्काउटको स्थापना गरे । वि.सं. २०२६ मा नेपालले विश्व स्काउटको पूर्ण सदस्यता पाएको थियो । 

त्यसपछि नेपालमा स्काउटका दुई–तीन एकाइ सुरु भए र बिस्तारै यसको झांगिने क्रम बढ्यो । राजतन्त्र हुँदासम्म नेपाल स्काउट राजदरबारबाट संरक्षित थियो । गणतन्त्र आएपश्चात् कार्यपालिकाका प्रमुखलाई संरक्षक बनाइएको छ । स्काउट शुद्ध शैक्षिक अभियान हो । यो युवाहरूको सामाजिक, बौद्धिक, शारीरिक, मानसिक, संवेगात्मक, आध्यात्मिक क्षेत्रमा विकास गर्न चलाइने अनौपचारिक शैक्षिक अभियान हो । 

अहिले स्काउटलाई नेपालका हरेक विद्यालयमा पुर्‍याउन अभियान नै सञ्चालन गरिएको नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका सदस्य विजेन्द्र ध्वजु बताउँछन् । विगत २५ वर्षदेखि स्काउटिङमा लागेका ध्वजुले सरकारले सामुदायिक विद्यालयमा स्काउटलाई अनिवार्य गराउन काम गरिरहेको बताउँदै भने– ‘घोषणा हुने क्रममा छ, सम्पूर्ण विद्यालयमा स्काउटिङ चल्ने अवस्था छ ।’ 

नेपाल स्काउटको रोभर मुट 

नेपाल स्काउटको आयोजनामा युवाहरूका लागि पोखराको फेवाताल किनारा कोमागाने पार्कमा जेठ १७ गतेदेखि २१ गतेसम्म पहिलो पटक ऐतिहासिक रोभर मुट कार्यक्रम सम्पन्न भएको छ । पाँच दिने उक्त सम्मेलन (रोभर मुट) युवा स्काउटहरूमा केन्द्रित थियो । स्काउटमा १६ वर्ष देखि २५ वर्षसम्मका युवालाई रोभर भनिन्छ भने युवतीलाई रेञ्जर भनिन्छ । कोमागाने पार्कमै टेण्ट र त्रिपालको भरमा नेपाल सहित ९ भन्दा बढी देशका १६ देखि २५ बर्षसम्म उमेर समूहका युवाहरूले ५ दिन विताएका थिए । युवा–युवतीहरूको शारीरिक, बौद्धिक, सामाजिक एवम् संवेगात्मक पक्षहरूको विकास गराई उनीहरूमा रहेको क्षमता प्रस्फुटन गराएर चरित्रवान नागरिक बनाई समाज विकासको अभियानमा सरिक गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको इभेन्ट संयोजक राधाकृष्ण धितालले बताए ।

 

रोभर मुटमा साहसिक क्रियाकलापअन्तर्गत रोप क्लाइम्बिङ, नेट क्रलिङ, व्यालेन्सिङ बडी, रोप क्रसिङ, बेम्बो वाक, आर्चरी, वाटर साइक्लिङ, अमेगा जम्प, टाइगर जम्प, स्विङ बोर्ड, बोटिङ, साइक्लिङ आदि गतिविधि सम्पन्न गरिए । बौद्धिक क्रियाकलापअन्तर्गत युथ फोरम, प्यानल डिस्कसन, करिअर काउन्सिलिङ, डिजिटल इन्गेजमेन्ट, स्काउटिङ ओरियन्टेसन आदि कार्यक्रम सञ्चालन गरियो । उक्त अवसरमा सांस्कृतिक, सेलिब्रटी शो तथा सांगीतिक कन्सर्टसमेत प्रस्तुत गरिएको थियो । 

‘रोवर मुट भनेको रोभर र रेञ्जरको मिश्रण हो । स्काउटमा रोभर, रेञ्जर भनेर क्याम्पस तहका युवायुवतीलाई भनिन्छ,’ नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले बताए । ‘यस्ता कार्यक्रम प्रत्येक चार–चार वर्षमा हुनुपर्छ । अहिलेसम्म अनियमित रहेको यो कार्यक्रमलाई अब नियमित गर्नुपर्छ, नगरी सुखै छैन’ संयोजक झण्डारीले बताए । विकृति–विसंगतिविरुद्ध लड्ने जनशक्ति निर्माणमा यस्ता खालका कार्यत्रम आवश्यक भएको भण्डारीले बताए । 

हरेक प्रदेशमा एक लाख स्काउट 

नेपालमा स्काउटमा आउनेहरूको चाप बढ्न थालेको नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारी बताउँछन् । ‘फ्लो सुरु भएको छ, भर्खर प्रदेश नम्बर १ का १ सय ३७ स्थानीय तहबाट प्रतिनिधि बोलाएर तालिम सम्पन्न गरियो, ६ रात ७ दिनको तालिमपश्चात् ५ सय ३४ जना लिडर जन्मिए । ती लिडरले प्रत्येक स्थानिय तहमा स्काउट गठन गर्छन् । प्रत्येक स्कुलमा अनिवार्य स्काउट सञ्चालन गर्छन् । त्यसलाई फलो गर्दै हामी अन्य प्रदेशमा पनि जान्छौं । हाम्रो लक्ष्य प्रत्येक प्रदेशमा १ लाख पुर्‍याउने हो ।

प्रकाशित :जेष्ठ २६, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्