रिफेसनमा सेन्टिमेन्ट हुन्छ

- साप्ताहिक संवाददाता

जेष्ठ २५, २०७६

रेनु श्रेष्ठ, डिजाइनर

पुराना लुगाहरू फ्याल्न वा अरूलाई दिन मन लाग्दैनथ्यो । त्यति बेला उनी ती पहिरन आफूसँग भएका पुतलीलाई लगाइदिन्थिन् । अहिले पनि उनी कक्षा ९ देखिका पहिरनलाई रिफ्रेस गरी लगाइरहेकी छिन् । उनले यसरी पुराना कपडालाई रियुज गर्नुका पछाडि पैसा खर्च गर्ने कन्जुस्याइँभन्दा पनि फास्ट फेसनले वातावरण बिगार्छ भन्ने सोचले काम गरेको छ । उनलाई लाग्छ, यी पुराना पहिरन कहाँ गएर डम्प हुन्छन् ? रेनुले पहिले कुनै पनि पहिरनको रियुज कामकै रूपमा स्थापित हुन्छ भन्ने कल्पनासम्म गरेकी थिइनन् । किनभने हामीले प्रयोग गर्ने सबै कपडा अर्गानिक हुँदैन । विदेशमा ठूला ब्रान्डेड कम्पनीहरूमा रिफ्रेस टर्न डिजाइनर धेरै छन् तर नेपालमा छैनन् । त्यही भएर उनी पाँच वर्षदेखि संलग्न छिन् । त्यति माक्र होइन, हरेक व्यत्तिलाई स्टाइलिङको जानकारी चाहिन्छ भन्ने सोचले उनी आफ्नो युट्युब च्यानलमार्फत स्टाइलिस्टको भूमिकासमेत निर्वाह गरिरहेकी छिन् । विदेशमा रिफेसनको ट्रेन्ड मजबुत छ भने नेपालजस्तो देशमा यसको आवश्यकता अझ बढी छ भन्ने उनको तर्क छ । 

बुटिक खोलेर बस्ने इच्छा किन भएन ?

नेपालमा थुप्रै बुटिक तथा डिजाइनरहरू छन् । म पहिलेदेखि मास प्रोडक्सनमा जान चाहन्थें । फास्ट फेसनले वातावरणलाई प्रदूषित गरिरहेको वा बिगारिरहेको छ भन्ने अनुभव हुन्थ्यो । अलि फरक तरिकाले डिजाइनिङमा काम गरौं भनेर यसमा हात हालेकी हुँ ।

यही करियर हुन सक्छ भन्ने सोच कसरी आयो ?

यसमा स्थापित हुन सकिएला र ? भन्ने सोच पक्कै थियो । २०११ मा फेसन डिजाइनिङमा ग्राजुएसन सकेर मैले केही समय यसमै रिसर्च गरें । २०१४ मा पुराना कपडा रियुज गरी डिजाइनर वेयरहरू बनाएर पहिले र अहिलेका तस्बिर युट्युबमा राख्न थालें । धेरैले यसमा चासो दिन थाले । त्यसपछि अबचाहिं केही होला भनेर यसमै लागें ।

रिफेसनको सुरुवातका क्षण सम्झनुपर्दा ?

मैले चिनेकाहरूलाई तपाईंहरूसंग पुराना सारी छन् भने म लेहेंगा, गाउन आदि बनाइदिन्छु भनेर माग्दै बनाइदिन थालें । उनीहरूले सोचेकै थिएनन, आफ्ना आमाहरूका पुराना सारीबाट पनि यति राम्रा डिजाइनर वेयर बन्न सक्छ भन्ने कुरा । रिफेसनमा मुख्यतः सेन्टीमेन्ट पनि लुकेको अनुभव गरें मैले । आफ्ना बज्यै, आमाहरूको पहिरन नयाँ डिजाइनमा लगाउँदा जो–कसैमा बेग्लै खुसी देख्न पाइन्छ, जसलाई शब्दमा बयान गर्न सकिँदैन ।

यो काम कति सहज छ ?

सजिलो ? यो काम त निकै च्यालेन्जिङ छ । नयाँ कपडाको पहिरन बनाउँदा जति सहज हुन्छ, पुरानो कपडावाट अर्कै डिजाइन निकाल्नु धेरै गुणा गार्‍हो छ । कपडाको क्वालिटी तथा सीमित कपडाको दायरामा बसेर त्यसलाई नयाँ रुप दिनु चानचुने कुरा होइन । 

रियुजका माध्यमबाट के–के बनाइ सक्नुभयो ?

सारीबाट लेहेंगा, कुर्ता, गाउन, वानपिस आदि बनाएकी छु । त्यसका अतिरिक्त पाइन्टवाट ड्रेस, स्कर्ट तथा जिन्सहरू मिक्स गरी रक्की पाइन्ट, हाफ पाइन्ट, लंग स्कर्टवाट टिसर्ट, स्कर्ट आदि । 

फेसन उद्योगमा जम्न सकिन्छ जस्तो लाग्छ ?

सकिन्छ । कच्चा पदार्थको कमी भए पनि कच्चा पदार्थलाई व्यवस्थित मात्र गर्न सक्ने हो भने फेसन उद्योगमा जम्न गार्‍हो छैन । पढेर, अध्ययन गरेर यो क्षेत्रमा आएकीले नजम्ने त कुरै भएन ।

तपाईं त युट्युबमा पनि उक्तिकै सत्रिय देखिनुहुन्छ ?

मेरो आफ्नै युट्युब च्यानल छ, जसमा म स्टाइलिङ र रिफेसनसम्बन्धी जानकारीहरू दिन्छु । यो नेपाली भाषामा छ । त्यसमा मैले बडी सेपदेखि कस्तो फिगरले के–के र कसरी लगाउने ? पुराना पहिरनलाई न्यू डिजाइनमा कसरी बनाउने आदि टिप्स दिन्छु । यस्ता भिडियो म हरेक शनिबार अपलोड गर्छु ।

युट्युबमा कस्ता फ्यान फलोअर्स छन् ?

धेरै जसो २५ देखि ३० वर्षसम्मका छन् ।

स्टाइलिङतिर चाहिं कसरी आकर्षित हुनुभयो ?

नेपालमा स्टाइलिस्टहरूको पनि कमी छ । विदेशतिर हरेक सेलिब्रेटीका आ–आफ्नै स्टाइलिस्ट हुन्छन् तर नेपालमा कसै–कसैले मात्र स्टालिस्ट राख्छन् । रिफेसनमा काम गर्नु नै स्टाइलिस्ट हुन के–के गर्नुपर्छ भन्ने थिमसंग काम गर्नु हो । मैले कान्तिपुर टेलिभिजनमा स्टाइलिस्टका रूपमा काम गर्ने मौका पाएँ । अहिले म कुनै सेलिब्रेटीका लागि भन्दा पनि व्यवसायिक विज्ञापन एवं कार्यक्रमहरूको स्टाइलिङमा ब्यस्त छु । 

सिर्जना दुवाल श्रेष्ठ

प्रकाशित :जेष्ठ २५, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्