मलाई नम्बर वान एडिटर बनाउने श्रेय दर्शकहरुलाई जान्छ

- साप्ताहिक संवाददाता

जेष्ठ २४, २०७६

शाहिल खानलाई पहिलो पटक भेट्दा जो–कोहिलाई के लाग्न सक्छ भने, उनी चलचित्रका अभिनेता हुन् । आकर्षक व्यक्तित्वका कारण पनि उनलाई धेरैले अभिनेता नै मान्छन् । तर, उनि अभिनेता भने होइनन् । चलचित्रकै एउटा विधाका महत्वपुर्ण व्यक्ती भने हुन् । शाहिललाई नेपाली चलचित्रका अनुभवी भिजुअल एडिटरको रुपमा लिइन्छ । यद्यपी साहिल उत्कृष्ट ट्रेलर निर्माण गर्ने एडियटरको रुपमा सुपरिचित छन्, नेपाली चलचित्र उद्योगमा । उनले अहिलेसम्म दुई सय भन्दा धेरै ट्रेलर निर्माण गरिसकेका छन् । हालै, कान्तिपुरका रामजी ज्ञवालीले पर्दापछाडिका हिरो शाहिलसँग छोटो संवाद गरेका छन् ।

पछिल्लो केहि बर्षयता प्रदर्शन भएका अधिकांस चलचित्रका ट्रेलर बनाउने जिम्मा तपाईँको हातमा आउने गरेको छ, अहिलेसम्म कति एवार्ड हात पार्नुभयो ?

एलजी फिल्म्स एवार्ड, दुईपटक बक्स अफिस फिल्म फेयर एवार्ड हात परेको छ । तर एवार्डले मात्रै कोहि कसैको कामको मुल्यांकन हुन्छ भन्ने हुँदैन । कामको मुल्यांकन हुने मध्ये एवार्ड पनि एउटा पक्कै हो । म यो क्षेत्रमा काम गर्न लागेको धेरै भएको छैन, तर जति काम हातमा परिरहेको छ र धेरैले निकै मन पराउनुभएको छ । खुसी लागिरहेको छ ।

पहिलो पटक चलचित्र एडिट गर्नुभयो कि ट्रेलरनै बनाउनुभयो ?

ट्रेलर त धेरैपछि काट्न थालेको हुँ । सुरुमा म चलचित्र सम्पादनको काम गरेको हुँ । मैले पहिलो पटक निर्माण गरेको ट्रेलर फेसबुक हो, पहिलो पटक ‘बाटो मुनीको फुल’ बाट सहायक सम्पादनको काम सुरु गरेको हुँ ।

ज्यान हेर्दा हिरोको जस्तै लाग्छ, भिडियो एडिटरको रुपमा कसरी आउनुभयो ?

सानैदेखि चलचित्र क्षेत्रमा रुची थियो । हलमा प्रदर्शन हुने अधिकांश चलचित्र हेर्ने चलन थियो । सायद १४ बर्षअघिको कुरा होला, ताल म्युजिकका प्रमुख अश्लम खानले मेरो बुबालाई भनेर काठमाण्डौंमा मल्टिमिडिया पढाउन बोलाउनुभयो । त्यसपछि मैले एरिना मल्टिमिडियामा २ बर्ष भिएफएक्स, एडिटिङ सिक्न थालें । पढिरहेका बेला मैले त्यहाँ काम पनि गर्न थालें । अध्ययन पुरा भैसकेपछि ताल म्युजिक छोडेर एक बर्ष स्ट्रगल सुरु गरें । त्यसपछि जागिरका लागी इमेज, कान्तिपुर टिभी लगायत धेरै ठाउँमा काम गर्ने भन्दै प्रस्ताव लगेपनि काम पाइएन । अन्तत, बिजीबी इन्टरटेनमेन्टमा विपीन मल्लको अण्डरमा ४ बर्ष जति जागिर खाएँ । त्यसपछि आफ्नै तरिकाले काम गर्न थालें । अहिले म आफ्नै कम्पनी मुभी फ्याक्ट्रि संचालन गरिरहेको छु, यहि कम्पनीबाट चलचित्रको काम गरिरहेको छु ।

ट्रेलर बनाउन मात्रै धेरै आउँछ भन्ने सुनिन्छ, चलचित्र सम्पादनको काम नआएको किन ?

चलचित्र सम्पादनको काम नआएको हैन, कुरा अर्कै हो । पहिला खासै ट्रेलर निर्माण गर्ने चलन थिएन । सायद म यो क्षेत्रमा आएपछिनै होला, अलिकति फरक किसिमको स्टोरी समाबेश गरेर ट्रेलर काट्ने चलनको सुरु गरेको । त्यसअघि सामान्य फाइट, गीत र एक दुई वटा संवाद राखेर ट्रेलर बनाउने चलन थियो । खासमा चलचित्र सम्पादन भन्दा ट्रेलर एडिट गर्नु चुनौतीको काम हो जस्तो लाग्छ । सोहि कारण म यहि काममा लागेको हुँ । २ घण्टाको ट्रेलरलाई २ मिनेटको ट्रेलर बनाएर दर्शकलाई हलसम्म तान्न सक्ने क्षमता राख्नुपर्छ ट्रेलरले । यदि ट्रेलर झुर भयो भने चलचित्र फ्लप हुन्छ । मैले ट्रेलर निर्माणमा नयाँ पन दिन थालेपछि धेरै निर्माता तथा निर्देशकले चलचित्र भन्दा पनि ट्रेलरकै काम धेरै दिनुभएको हो । दर्शकले मैले बनाएका टे«लरलाई मन पराएका कारण धेरै काम पाएको हुँ । मलाई नम्बर वान एडिटर बनाउने श्रेय दर्शकहरुलाईनै जान्छ । उहाँहरुले मन नपराएको खण्डमा सायद यो यात्रानै परिवर्तन हुन सक्थ्यो नि ।

अबको योजना के के छन् ?

धेरै योजना र सपना छैनन् । अहिले गरिरहेका कामहरुलाई सकेसम्म राम्रो गराउने सोच छ । अहिले जुन मेरो कम्पनी छ, त्यसलाई नेपालकै नम्वर वान पोस्टप्रोडक्सन स्टुडियो बनाउने सपना छ ।

प्रकाशित :जेष्ठ २४, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्