नाइँ मलाई थाहा छैनदेखि कर्के नजरसम्म

- कृष्ण भट्टराई

जेष्ठ २२, २०७६

२२ वर्षदेखि सांगीतिक क्षेक्रमा सत्रिय गायक हुन्— सञ्जीव पराजुली । २०५४ सालमै संगीतको औपचारिक शिक्षा लिन विराटनगरको स्वर संगम संगीतालयमा भर्ना भएका गायक पराजुलीले यो क्षेत्रमा  दुई दशकभन्दा लामो समय खर्चिसकेका छन् । यो अवधिमा गायक पराजुलीले दर्जनौं गीत गाइसकेका छन् । यद्यपि, गायिका टीका प्रसाईंसँगको भेटपछि र उनीसँग गाएका युगल गीतहरू युट्युबको ट्रेन्डिङमा पर्न थालेपछि भने यी गायक चर्चामा आए ।

लामो समयदेखि अस्ट्रेलियामा बसोबास गरिरहेका यी गायकले आफ्ना पछिल्ला गीत लोकप्रिय हुन थालेपछि अचेल काठमाडौं–अस्ट्रेलिया आउने–जाने क्रम बढाएका छन् । उनको तीन साताअघि सार्वजनिक गीत ‘सोचमा...’ ले छोटो अवधिमै यूट्युबमा १७ लाखभन्दा भ्युज पाइसकेको छ । 

सांगीतिक क्षेत्रमा प्रवेश गर्दाको प्रारम्भिक क्षण सम्झँदै गायक पराजुली भन्छन्— ‘म सानो छँदादेखि नै गीत गाउँथें । घर तथा मामाघरमा गीत सुन्नुहुन्थ्यो । मलाई गीत–संगीत खुबै राम्रो लाग्थ्यो र आफू पनि गाउँथें । आफन्त, छिमेकी तथा साथीहरूको प्रशंसाले हौसला दिन्थ्यो ।

म चार कक्षामा पढ्दा साथीहरूले स्कुलको आँगनमा गीत गाउन लगाएको सम्झना छ । गुरु तथा साथीहरूले बनाएको घेरामा मैले उभिएर गीत गाएको थिएँ । लजालु स्वभावको भएका कारण त्यतिबेला मलाई निकै लाज र डर लागेको थियो ।’

गायक पराजुलीले रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरेर गीत रेकर्ड गराएको नै डेढ दशकभन्दा बढी भैसकेको छ । उनले पहिलो पटक अर्का गायक नितिनचन्द्र गजुरेलसँग ‘देश हाम्रो कति राम्रो’ राष्ट्रिय गीत रेकर्ड गराएका थिए । यो अवधिमा उनले करिव पाँच दर्जन गीत रेकर्ड गराइसकेका छन् । तीमध्ये अधिकांश एकल गीत छन् भने कतिपय गीत युगल छन् । 

 पहिलो हिट गीत 

गायक पराजुलीले विभिन्न विधा र मुडका गीत गाएका छन् । उनले सफलताको पहिलो स्वाद भने ‘नाइँ मलाई थाहा छैन...’ गीतबाट पाएका हुन् । उक्त गीतमा उनलाई गायिका टिका प्रसाईंले साथ दिएकी थिइन् । उक्त गीतको क्लब मिक्स भर्सन युट्युबमा सार्वजनिक भएको केही दिनमै भाइरल भयो । आशिष अविरलको संगीत तथा एक नारायण भण्डारीको शब्दको उक्त गीतको भिडियोले हालसम्म ३ करोड ७६ लाखभन्दा बढी भ्युज पाइसकेको छ । रोजगारीका क्रममा अस्ट्रेलियामा बसोबास गर्ने भएकाले गायक पराजुलीले आफ्नै गीतको सफलतालाई स्वदेशका संगीत पारखीमाझ बसेर सेलिब्रेट गर्न पाएनन् । अस्ट्रेलियामै आयोजना हुने सांगीतिक कार्यक्रमहरूमा भने उनले यही गीत गाएर नेपाली दर्शक तथा श्रोताहरूलाई मनोरञ्जन प्रदान गर्छन् । 

टीकासँगको सहकार्य 

गायक पराजुली र गायिका टीका प्रसाईंबीच गायनमा सहकार्य भएको धेरै भएको छैन । युगल गीतको गीति एल्बम तयार पार्ने क्रममा उनीहरूले २०७२ सालदेखि सांगीतिक सहकार्य थालेका हुन् । यो अवधिमा उनीहरूले ‘नाइँ मलाई थाहा छैन’ पछि ‘कर्के नजर’ शीर्षकको अर्को लोकप्रिय गीत पनि श्रोताहरूलाई दिइसकेका छन् । यो गीतको भिडियोले पनि करिव डेढ करोड भ्युज पाइसकेको छ । तीन वर्षअघि नै उनीहरूले गाएको ‘तिमी मलाई मन पर्छ...’ युगल गीत पनि उत्तिकै लोकप्रिय छ । गायिका टीका प्रसाईंको शब्द तथा संगीतको उक्त गीतले ३२ लाखभन्दा बढी भ्युज पाएको छ । दुई वर्षअघि उनीहरूले गाएको डान्सिङ नम्बर ‘पहिलो भेटैमा...’ ले भने ४ लाखभन्दा बढी भ्युज पाएको छ । 

आगामी योजना 

गायक पराजुली आफ्ना हरेक गीतले एकपछि अर्को गर्दै सफलता पाइरहेकोमा खुसी माक्र छैनन्, सांगीतिक क्षेत्रमा सत्रिय हुन थप हौसला मिलेको अनुभव गरिरहेका छन् । अस्ट्रेलियाका अधिकांश सांगीतिक कार्यक्रममा सहभागिता जनाइरहेका गायक पराजुलीले आगामी दिनमा केही लभ सङ गाउने योजना बनाएका छन् । त्यसका लागि उनले दिनेश अधिकारीको शब्द तथा रञ्जित गजमेरको संगीतमा गायिका टीका प्रसाईंसंगै ‘जानी जानी...’ शीर्षकको गीत रेकर्ड गराइसकेका छन्, जुन केही समयपछि बजारमा आउनेछ । यसका साथै उनी गायिका प्रसाईंसंगको संयुक्त एल्बम ‘सँग सँगै...’ को तयारीमा समेत जुटेका छन् । 

अन्त्यमा, 

‘संगीतलाई भूगोलले छेक्दैन, सिर्जना जहाँ बसेर पनि गर्न सकिन्छ,’ साप्ताहिकको एउटा जिज्ञासामा गायक पराजुली भन्दै थिए— ‘सिर्जनामा इमान्दारिता र लगनशीलता हुनुपर्छ । काम चिनिनु ठूलो कुरा हो । जब कुनै गीतले लोकप्रियता पाउँछ, त्यसपछि उक्त गीतका सर्जकहरूको खोजि आफैं हुन थाल्छ । आफूले गरेको कामको चर्चा र पाएको लोकप्रियतामा असाध्यै खुशी र हर्षित छु ।’ गायक दीपक खरेलको गायकीबाट प्रभावित गायक पराजुलीलाई दर्शक तथा श्रोताले निकट भविष्यमै चलचित्रको पार्श्व गायनमा समेत सुन्न सक्ने छन् । सेमी क्लासिकल, आधुनिक, पप, लोकपप तथा लोकगीत गरी संगीतका प्रायः सबै विधाका गीत गाइरहेका गायक पराजुली आफूलाई भर्सटायल तथा कुशल गायकका रूपमा परिचित गराउन चाहन्छन् । 

प्रकाशित :जेष्ठ २२, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्