अमेरिका पलायन हुने निर्णय गलत थियो : सरोज खनाल

- साप्ताहिक संवाददाता

जेष्ठ २०, २०७६

सरोज खनाल, नेपालका चर्चित अभिनेता हुन् । लामो समय नेपाल छोडेपनि फर्किएपछि उनलाई नेपाली दर्शकले सहजै स्विकार गरे । हाल धमाधम चलचित्रमा काम गरिरहेका खनालसँग भएको जम्का भेट :

दर्शकले माया गरिरहने कलाकारको रुपमा तपाईको नाम पनि अगाडि आउँछ, कस्तो लाग्छ ?

तपाईले भनेजस्तै, नेपालका केहि थोरै भाग्यमानी कलाकारको रुपमा म पनि हो जस्तो लागिरहेको छ । १७ बर्षको समय धेरै ठुलो समय हो, यो बिचमा धेरै ठुला हस्तिहरुलाई बिर्सने सम्भावना पनि हुन्छ । यद्यपी, लामो समय चलचित्र क्षेत्रबाट टाढा रहेपनि मलाई पछि चलचित्रमा ब्याक हुँदा समेत माया गर्ने मान्छे उत्तिकै भेटें । निकै खुसीको कुरा हो ।

अमेरिकाबाट नेपाल फर्किएपछि अमेरिका बसाईलाई कालो समय अथवा गलत निर्णयको रुपमा लिएँ भन्नुभयो, किन ?

दर्शकको माया पाउँदा, सबै कुरा पुगिरहेपनि म उता बसे । त्यता एउटा कार्यक्रमका लागि गएका बेला दिमाग परिवर्तन भयो । नेपालमा कामको कमि थिएन, तर मैले भनेजस्तो थिएन । त्यसले पनि मनमा नराम्रो महसुस भैरहेको थियो । त्यसले पनि म उता बसें जस्तो लाग्छ । तर, म उता बस्नु मेरो दोष हो । मेरो आफ्नो कारण मात्रै होइन, मेरो श्रीमती र छोराछोरीको समय पनि बर्बाद गरें जस्तो लाग्यो । उनिहरुको सल्लाह समेत नलिएर उता बस्ने निर्णय गरेको थिएँ ।

अहिले चलचित्रमा मज्जाले काम गरिरहनुभएको छ, भनेजस्तै भैरहेको छ त ?

मज्जाले बाँचिरहेको छु । मैले बाल्यकालमा मात्रै होइन आईएस्सी पढ्दा सम्म कलाकार हुन्छु भनेको थिएनँ । र, म यहाँसम्म पुग्छु भन्ने सोचेको पनि थिएनँ । यद्यपी म कलाकार भएपछि धेरैले मन पराउनुभयो, खुसीको कुरा हो । मैले ५२ वटा चलचित्रमा काम गरें, एक हिसाबले जति चलचित्रमा काम गरें म खुसी नै छु ।

चलचित्र क्षेत्रमा जम्नुभएको छ, तपाईं एक्टिङमा कसरी तानिनुभयो ?

त्यो पनि लगभग एक्सिडेन्टनै हो । एउटा औषधि पसलमा म्यानेजरको रुपमा काम गर्थे । त्यतिबेला खेम शर्मासँग भेट भयो । उहाँ पनि मेरो कम्पनीमा काम गर्न आउनुभयो । उहाँको नाटक हेरिरहन्थे । ठट्टै ठट्टामा मलाई पनि अभिनय गर्न मन लाग्छ भनेको थिएँ, उहाँसँग । उहाँले बद्रि अधिकारीलाई भेटाउँछु भन्नुभयो । सात दिनसम्म खेमजीसँग भेट्न गएँ, तर त्यतिका दिनसम्म भेट भएन । त्यसपछि भने वागवजारमा भेट भयो । त्यतिकै बेला वद्रि दाईले साढे २ घण्टाको समयको नाटकमा २ मिनेटको रोल दिनुभयो । तर, संवाद थिएन । केहि समयपछि सोहि नाटकमा मुख्य कलाकारको रुपमा काम गर्ने अवसर पाएँ । यदि म डाक्टर भएको खण्डमा डाक्टर मात्रै हुन्थे । तर कलाकार हुन पाएको खण्डमा संसारको हरेक जिवन बाँच्ने मौका पाउँथे । बच्चैदेखि स्वभाव त्यस्तै थियो, एउटा मान्छेले करोडौं मानिसको जिवन बाँच्न पाउनु ठुलो कुरा हो । सोहि कारण पनि म कलाकारितामा लागेको हुँ ।

कुनै पनि कलाकारलाई महान कलाकार के कुराले बनाउँछ ?

उसले गर्ने चरित्रले । कुनैपनि कलाकार जन्मिनेवित्तिकै महान भएर आउने हैन । उसले गर्ने कामले महान बन्नेहो । दर्शकलाई के कुरामा फिल गराउन सक्नुपर्छ भने, यसले एक्टिङ हैन मेरो जिवन बोलिरहेको छ भन्ने गराउन सकियो भने त्यो कलाकार महान कलाकार हुन सक्छ ।

अहिले जे गरिरहनुभएको छ त्यो बाहेक ईण्डस्ट्रिजप्रति तपाईंको दायित्व ?

दायित्व वढिरहेको छ जस्तो लागिरहेको छ । हामीले चलचित्रमा काम पाउँदासम्म गर्ने त्यसपछि घर बस्ने त हैन नि । त्यसैले मैले एक्टिङ सिकाउने क्लास सुरु गरेको हुँ । त्यसवाहेक चलचित्र क्षेत्रमा निरन्तर काम गर्नका लागि हामिले पनि भुवन केसी दाइले जस्तै चलचित्र निर्माण गर्न थाल्नुपर्छ, सक्नुपर्छ ।

अन्तरवार्ताको क्रममा तपाईलाई मन नपर्ने कुरा ?

एउटा कुरामा के हो भने नेपालमा अन्तरवार्ताका लागि बोलाइन्छ, तर अन्तरवार्ता दिने भन्दा लिने धेरै बोल्छन् र हामि बोल्न पाईदैनँ । तर, अहिले धेरै कुरा बोल्न पाइयो । निकै खुसी लाग्यो ।

 

प्रकाशित :जेष्ठ २०, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्