जेठ १९ पछि...

- अधिकारी रवीन्द्र

जेष्ठ २०, २०७६

२०५८ साल जेठ २० गते । एसएलसी दिएका हामी बच्चाहरू खाटलाई बोर्ड बनाएर टेबल टेनिस खेल्दै थियौँ । घरमा बुवाले रातो एमेर्जेन्सी लाइट किनेर ल्याउनुभएको थियो । त्यसमा रेडियो, एफएम, क्यासेट सबै सुन्न मिल्थ्यो । चुम्बकलाई माथिपट्टि पल्टाएर माटोको घैँटोमा घोप्ट्याएपछि होम–मेड स्पिकर गज्जबले बज्थ्यो । त्यस दिन अचम्मै भएको थियो । बिहानदेखि नै सबै एफएम र रेडियोमा शोकधुन मात्र बजिरहेका थिए । गाउँघरमा सबै अचम्मित थिए । कसैलाई केही थाहा थिएन । घरको टीभीमा एनटिभी मात्र आउँथ्यो । त्यसमा पनि शोक धुन । 

काठमाडौंमा राति नै हङ्गामा भैसकेको रहेछ । त्यस्तैमा संचार माध्यमहरूले विशेष सूचना बनाएर दरबार हत्याकाण्डको खुलासा गरे र पुनः शोक धुन निरन्तर बजाउन थाले । हामी सबै स्तब्ध भएका थियौँ । गफगाफ गर्न मानिसहरू हूल–हूल बनाएर झुत्तिन थाले । हामी १०–१२ जना आँगनको डिलमा बसी पालीमा राखिएको घैँटोले बनेको स्पिकर एक टकसँग हेर्दै थियौँ– यो भाँडोले कहिले नयाँ विवरण फुक्छ भनेर । गाउँका एक जना हजुरबा ‘सबका सब सिद्धिएछन्’ भनेर पुर्पुरोमा हात राखेर थुचुक्कै बसेर क्वाँक्वाँ आवाज आउने गरी रोए । हामी किशोरहरूलाई नरमाइलोचाहिँ लाग्यो तर त्यस्तो साह्रो चिन्ता गर्ने मान्छे पनि हुँदा रहेछन् भनेर अचम्म लाग्यो । यो प्रायः सबै ठाउँतिर भयो । राजालाई साक्षात् विष्णु भगवान्को अवतार मानेर पूजा गर्ने बूढाबूढीहरूको मनमा साँच्चै नै गहिरो चोट पुग्यो । 

शोकले खाना खानै मन लगेन, कसैलाई पनि । जब टिभीमा केश मुण्डन गरेर सडकमा उत्रिएका मानिसहरूको हुल देखाउन थाल्यो, तब गाउँगाउँमा पनि कपाल खौरिने लहर चल्यो । व्रतबन्धपछिको दोस्रो केश मुन्डन थियो त्यो मेरो । प्रायः केटाहरूले फेसनकै रुपमा शिर मुडुलो बनाए ।

देश नै शोकमा डुब्नेगरि त्यत्रो घटना घट्यो । बिदेशी संचार जगतमा पनि यो समाचारले राम्रै स्थान पायो । केही हप्तामा हत्याकाण्डको प्रतिवेदन आयो तर पनि जनतालाई त्यसले आश्वस्त तुल्याउन सकेन । अझै पनि त्यो रात घटेको घटनाका धेरै पक्षहरू एउटा रहस्यको घुम्टोभित्र लुकेझैँ लाग्छ । तत्कालिन नेकपा माओवादीका नेता पुष्पकमल दाहाल प्रचण्डले भारतीय रअको संलग्नता रहेको भनेर भाषण समेत् गरे । राजगद्दी हत्याउन वीरेन्द्रको उत्तराधिकारी पूर्णतया नष्ट गर्ने षड्यन्त्र रचेर ज्ञानेन्द्र शाह आफूचाहिँ पोखरा गएको भन्ने विश्लेषकहरू पनि भेटिए । ठोस प्रमाणबिना यस्ता तर्कहरूलाई आधार मान्न मिल्दैन । जे जस्तो भए पनि आधिकारिक दस्तावेज, अन्य प्रत्यक्षदर्शीको बयान र धीरेन्द्रका ज्वाइँ डा. राजीब शाहीको विवरणगत पत्रकार सम्मेलनका अनुसार मान्नै पर्ने हुन्छ कि यो घटनाका ट्रिगर युवराज दीपेन्द्र नै थिए । 

यो घटना नेपालको इतिहासमा एउटा महत्वपूर्ण बिन्दुका रूपमा रहेको छ । राजा वीरेन्द्र तुलनात्मक रूपमा लोकप्रिय थिए । जब कम रुचाइएका ज्ञानेन्द्र महाराजधिराजका रूपमा सत्तासिन भए तब जनताको अरुचि र माओवादीलगायतका राजनीतिक पार्टिहरूको राजतन्त्र अन्त्यको आन्दोलनले मिलन बिन्दु पायो । क्रमशः त्यसले चर्को रुप धारण गर्दै गयो र अन्ततः गणतन्त्र स्थापना भयो । भन्नाले नेपालले विझिन्न राजनीतिक घटनाक्रम तय गर्ने त्रममा एक न एक दिन गणतन्त्र त आएरै छोड्थ्यो तर यो हत्याकाण्डले त्यो यात्रालाइ छोटो बनाउन प्रमुख भूमिका खेल्यो । 

त्यसपछिको मुद्दा अझ महत्वपूर्ण छ । शताब्दियौँ लामो जहाँनियाँ शासनसत्ता उखलेर हामी जनताद्वारा सञ्चालन हुने राज्य बनाउन चाहन्थ्यौँ । लोकतन्त्र वा गणतन्त्र नाम जे–जे दिए पनि त्यो पूरा भयो । जनताकै प्रतिनिधिहरूबाट संबिधान पनि तयार भयो । यो शासन प्रणाली परिवर्तन गर्न धेरैले शाहदत् प्राप्त गरेका छन् । अब के अहिले आएर हामीले सोचेको जस्तो भयो ? हामीले जे भन्ठाँनेका थियौँ अथवा हामीलाई जे–जे भनिएको थियो तत् तत् बमोजिमको परिवर्तन हामीले महसुस गरिरहेका छौँ त ? छैनौँ । व्यक्ति वा प्रणाली फेरिए पनि प्रविृत्ति उही नै रह्यो ।

पहिले–पहिल अस्थिर सरकार भनेर दोष दियौँ । अहिले अब अर्कै केहीलाई दोष दिन्छौँ । राजा भन्ने नाम हटाइयो, राज दरबार हटाइयो । नाम फेरेर अर्को अनुहार ल्याइयो, अर्को संस्था र आवास बनाइयो । एउटा राजा थिए, अब कैंयन् रजौटाहरू आए । जनतामा अधिकार निहित छ भनेर सबैले भाषण छाँटेकै हुन्छन् । सुख–सुबिधा, शक्ति र पदको फाइदा ती रजौटाहरूले भरपुर लिएका छन् । देशले नयाँ र लामो नाम पायो तर जनताले त्यो परिवर्तनको अभास गर्न सकेनन् । पहिले राजपरिवारको निगाहमा चल्ने कुरा अहिले यी नेताहरूको पेवा भएको छ ।

हुनत कतिपयले भन्छन् कि अहिलेको भन्दा राजाकै पालामा ठीक । कमसेकम राजालाई देशको बढी नै माया हुन्थ्यो– सन्तान दरसन्तानसम्म आफ्नो विरासतको हस्तान्तरण हुँदै जान्छ भनेर । अहिले सत्तासीन हुन एउटा समूह आउँछ, केही समयपछि जान्छ । छोटो समयका लागि आउने यस्ता व्यक्ति पदमा भएका बेला अकुत पैसा कमाउन र पावर प्रयोग गर्न चाहन्छन् । यद्यपि यसो भन्दैमा गैसकेको राजतन्त्र ब्युँताउने भनेर केही समुह र दलले भनेको कुरा मुनाशिव छैन । समय अघि बढिसकेको छ, अब अहिले प्राप्त व्यवस्थालाई नै सुदृढ र विकसित बनाउँदै लानुपर्छ । 

प्रकाशित :जेष्ठ २०, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्