मान्दैन जनताको मन !

- अविरल थापा

जेष्ठ २०, २०७६

विक्रम संव्त २०५८ साल जेठ १९ गते राति नेपालको नारायणहिटी राजदरबारमा वीभत्स हत्याकाण्ड भयो । कसैले कल्पनासम्म नगरेको उक्त घटनामा परी राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्रलगायत अन्य राजखलकले समेत ज्यान गुमाए । केही समयपछि यस विषयमा छानबिन गर्न सरकारले छानबिन आयोग गठन गर्‍यो र तत्कालीन युवराज दीपेन्द्रले नशा सेवन गरी राजारानीलगायतको हत्यागरी अन्त्यमा आफूले समेत आत्महत्या गरेको निचोड निकालियो, यद्यपि जनताको मनले सजिलै युवराज दीपेन्द्रले नै हत्या गरेको हो भनेर स्वीकार गरेनन् र अझै पनि यसमा देशी–विदेशी शक्तिहरूको हात रहेको र दीपेन्द्रलाई मोहरा बनाइएको वा उनको मुखुण्डो लगाएर उनको आवरणमा हत्याकाण्ड रचिएको र उनलाई दोष लगाएर घटना सामसुम पारिएको अड्कलबाजी थामिएको छैन । जनताले सजिलै उक्त घटनाका प्रत्यक्षदर्शीले भनेका कुरा नपत्याउनुमा केही कारण छन् जसले सदैव यो घटनालाई रहस्यमय बनाइ रहनेछ र शंकाको नजरले इतिहासले समेत औंला ठड्याइरहनेछ । केही शंका गर्नुपर्ने कारण वा आधार यी हुन सक्छन् :

१. ज्ञानेन्द्र शाहको खलक जोगिनु 

हत्याकाण्ड हुँदा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाह पोखरामा थिए । उनकी पत्नी कोमल शाह, शाहज्यादा पारस शाह तथा छोरीहरू हत्याकाण्ड भएको भोजमा सरिक थिए तर घटनामा कोमल शाह घाइते मात्र भइन् भने पारस शाहलाई केही पनि भएन । त्यसमाथि पारस शाह युवराज दीपेन्द्रलाई लागूपदार्थ सेवन गराउन पनि सरिक रहेको पाइयो, त्यसैले धेरैले यो सवै ज्ञानेन्द्र शाह र उनको परिवारले शासन सत्ता हत्याउन रचेको चाल हो भनेर उनीमाथि शंका गरे । यदि ज्ञानेन्द्र शाहका परिवारका कोही एकको मात्र मृत्यु हुन्थ्यो भने उनी र उनको परिवारमाथि आरोप लाग्ने थिएन । बेहोस र मदहोस भनिएका तत्कालीन युवराज दीपेन्द्रले छानीछानी आफ्ना परिवारका सदस्यहरूमाथि मात्र गोली चलाए, अरुलाई छाडिदिए भन्नु आफैंमा रहस्यात्मक मानियो । राजा वीरेन्द्रले जनता र पार्टीहरूको दबाबमा उद्दण्ड स्वभावका पारस शाहको शाहज्यादा पदवी खोस्न पहल गर्नुले कतै बदलाको भावना जागेको त थिएन भन्ने शंका गर्नुपर्ने आधार पनि जीवितै थियो । त्यही दिन ज्ञानेन्द्र एक्लै चाहिँ किन काठमाडौंमा भएनन् भन्ने कुराले पनि शंकामा थप मलजल गर्‍यो । पछि ज्ञानेन्द्र शाह राजा नै भए तर कतिपयले उनलाई दाइ मारेर राजाभएको भनेर चियागफमा कुरा गरिरहे र अझै पनि उक्त कुराले पूरा सफाइ पाएको छैन । 

२. सैनिकको भूमिका र पोस्टमार्टम नगरिनु

 राजदरवारभित्रै त्यत्रो घटना घट्नु र हजारौंको संख्यामा सैनिक रहेको राजदरवारभित्र पहिलो गोली चलिसकेपछि आफ्नो ज्यान नै बलिदान गरेर भए पनि राजाको रक्षा गर्नुपर्ने राजाका अंगरक्षक र सुरक्षाफौजको भूमिका शून्य रहयो । गोली चलिसकेपछि तत्काल घटनास्थललाई घेरा हाली गोली हान्ने जो कोही भए पनि र जस्तोसुकै कदम भए पनि चाल्नुपर्नेमा सेना किन मूकदर्शक भएर बस्यो भन्ने कुरा अर्को रहस्य हो । गोली खाएरै भए पनि बन्दुकधारी व्यक्तिसँग राजाका अंगरक्षक किन मुकाबिला गर्न गएनन् र त्यत्रा मानिस मरेको ठाउँमा राजा र उनको परिवारलाई जोगाउने क्रममा एक जना सैनिक जवान र अधिकृतसम्मले ज्यान नगुमाउनु, घाइतेसम्म नहुनुले कतै सेना पनि हत्यामा संग्लग्न त थिएन भन्ने शंका पनि जनताको मनमा कायमै छ । घटनापश्चात सबै घाइतेलाई नजिकैका अन्य अस्पताल नलगी सैनिक अस्पतालनै लगिनु, प्रधानमन्त्री र सरकारका मन्त्रीहरूलाई नै घटनास्थलमा जान र घाइतेलाई भेट्न सहज पहुँच नदिनु, मृतकको पोस्टमार्टम गर्नैपर्ने विश्वव्यापी मान्यता लत्याउँदै लासको दाहसंस्कार गरिनु आदि कारणले पनि कतै यो घटनाको गुरुयोजनाकै रुपमा त सम्पन्न गरिएको थिएन भन्ने प्रश्न उठ्ने गरेको छ । आफ्नो राजाको रक्षार्थ एउटा गोली पनि नखाएको र एउटा गोली पनि नचलाएकाले नेपाली जनताले पछिसम्म सेनाको भूमिका र बफादारितामा प्रश्न गरिरहनेछन् । 

३. घटनास्थल भत्काइनु

यदि पछि राजाभएका ज्ञानेन्द्र शाहलाई उक्त घटनामा आफूमाथि लागेको आरोप झूटो हो भनी प्रमाणित गर्नु थियो भने संयुक्त राष्ट्र संघ वा त्यस्तै निष्पक्ष अन्तर्राष्ट्रिय स्तरको जाँचबुझ टोली बनाएर छानबिन गराउन सक्थे तर उनले त्यसो गर्नुको साटो घटना भएका स्थल र भवनहरू भत्काएर नामेट पारिदिए र उपलब्ध हुन सक्ने प्रमाणहरू पनि सदाका लागि खत्तम बनाइदिए । त्यो स्थल इतिहासका लागि संग्राहलय हुन सक्थ्यो । जनता त्यो ठाउँ हेरेर विश्वस्त हुन चाहन्थे तर उनले कुनै मौका दिएनन् । त्यसैगरी हत्याकाण्डमा जीवित रहेकी धीरेन्द्र शाहकी श्रीमती प्रेक्षा शाहको पनि केही समयपछि हेलिकप्टर दुर्घटना परि रहस्यमय तरिकाले रारा तालमा निधन भयो । उनीबाट सत्य कुरा बाहिर आउने डरले दुर्घटनाको नाममा उनको पनि योजनाबद्ध तरिकाले हत्या गरिएको हो कि भनेर थप शंका–उपशंका गरियो । 

४. राजाले शासनसत्ता हत्याउनु

राजनीतिक पार्टीहरूको सत्तामा जाने र सरकार गिराउने खेलबाट जनता पनि आजित भैसकेका थिए भने अर्कातिर मुलुक माओवादी युद्धले आक्रान्त थियो । यही कुरालाई बहाना बनाएर वि. सं. २०६२ माघ १९ गते राजा ज्ञानेन्द्रले पार्टीहरूमाथि प्रतिबन्ध लगाउँदै सत्ताको बागडोर आफूले सम्हालेको घोषणा गरे । दलहरूसँग वाक्क भएका कसैले यो कदमको स्वागत गरे भने पार्टी र प्रेसले चर्को विरोध गरे । जनताको ठूलो तप्का पर्ख र हेरको अवश्थामा थियो तर ज्ञानेन्द्रको मन्त्रिपरिषद् अग्रगामीभन्दा पश्चगामी र काम विकासवादीभन्दा दमनकारी देखियो । उनी र उनको सरकारले जनताको मन जित्न सकेन र कतै राजाले दाजुको वंशविनाश गरेर निरकुंश शासन चलाउन खोजेका त होइनन् भनेर जनताको मनमा चिसो पस्यो । विस्तारै मुलुकमा राजाविरोधीमोर्चा बलियो हुँदै गयो जसमा विद्रोही शक्ति माओवादी र दलहरू पनि मिले । अन्ततः ०६२/६३ को जनआन्दोलनले ज्ञानेन्द्र शाहको सरकारलाई घुँडा टेकायो र दलहरूको सरकार पुनर्स्थापित भयो । 

५. स्वतः गणतन्त्र घोषणा गरिनु

अन्तरिम संविधान २०६३ को प्रावधानअनुसार भनेर दलहरूले वि.सं. २०६४ पुस १३ गते नेपाललाई गणतन्त्रमा जाने प्रस्ताव बहुमतले पारित गरे । पछि २०६५ जेठ १५ गते संसदले गणतन्त्रलाई अनुमोदननै गर्‍यो तर यति ठूलो निर्णयमा नेपाली जनतालाई प्रत्यक्ष सहभागी गराइएन । जनमत संग्रहमा गएर गणतन्त्र बनाउने कि राजतन्त्रलाई मानार्थ भए पनि राख्ने भनेर जनमत बटुल्ने काम भएन । कतै विदेशी शक्तिको इसारा र दबाबमा परेर उनीहरूको स्वार्थ सिद्ध गर्न दलहरूले हठात नेपाललाई गणतन्त्रात्मक मुलुक त बनाएनन् भनेर कतिपयले प्रश्न उठाए भने कतिपयले यो कुरासँग दरवार हत्याकाण्डको पनि सम्बन्ध हुन सक्ने अनुमान गरे । विदेशी शक्तिले कहिले तत्कालीन राजा त कहिले दलहरूलाई खेलाएर, लडाएर आफूअनुरूप प्रयोग गर्न योजनाबद्ध रूपमा राजदरबार हत्याकाण्ड हुँदै गणतन्त्र, धर्मनिरपेक्षता आदि लादेका हुन सक्छन् भन्ने कुराले जनताको मनमा पसेको चिसो अझै कायमै छ । ज्ञानेन्द्र स्वयंले पनि दलहरूसँग सम्झौता हुँदा राजतन्त्र फाल्ने कुरा भएको थिएन भनेर बारम्वार भन्नु, दलहरूले धोका दिए भन्नु र दलहरूको रवैया पनि जनतामा नगै निर्णयहरू गर्दै जानुले शंकामाथि शंका थपिँदै गयो । 

यसरी दरवार हत्याकाण्ड भएको दिनदेखि घट्दै गएका अनेक घटना–उपघटनाहरूले उक्त हत्याकाण्ड तत्कालीन युवराज दीपेन्द्रको क्षणिक सनक र एकल प्रयासमा मात्र भएको थियो भनेर पत्याउनुको साटो यसमा देशी–विदेशीशक्तिहरूको लामो समयदेखिको योजना थियो र समयअनुसार सबै जना प्रयोग भएको हुँदा सबैजना तैं चुप मै चुपको अवस्थामा रहेको अनुमान कतिपयको छ । कालान्तरमा कुनै दिन सत्यतथ्य आउला–नआउला, तर इतिहासले तत्कालिन सरकार राजनैतीक दलहरू राजा ज्ञानेन्द्र तथा सेनाको भूमिकामा औंला भने ठड्याइरहनेछ । 

 

प्रकाशित :जेष्ठ २०, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्