दरबार हत्याकाण्ड छानबिन गर्ने  कानुनी अधिकार थिएन

- राजाराम पौडेल

जेष्ठ १९, २०७६

छानबिन होइन त्यो, घटना स्थलको प्रकृति विवरण हो, कस्तो कोठा थियो, त्यहाँ को–को उपस्थित थिए, मर्डर भैसकेपछि कोठाको अवस्था कस्तो थियो, कहाँ चुरोटका ठुटा थिए, कहाँनेर एस्ट्रे थियो, कहाँनेर रगतका टाटा थिए, गिदी कहाँ थियो, मासुका टुक्राहरू कता थिए, छोराको लास कहाँ थियो, आमाको लास कहाँ थियो, बन्दुक कहाँ थिए आदि–इत्यादि, यो प्रकृति विवरण तयार गर्ने काम थियो हाम्रो, हामीले खोजबिन सुरु गर्दा नै, धेरै दिन बितिसकेको थियो । 

एक समयका नेपाली कांग्रेसका प्रभावशाली नेता हुन्– पूर्व सभामुख तारानाथ रानाभाट । कास्की क्षेत्र नम्बर १ बाट २०४८ र २०५६ सालमा प्रतिनिधिसभामा निर्वाचित भएका रानाभाट सभामुख र मन्त्रीसमेत भैसकेका नेता हुन् । नेपाली कांग्रेसको महामन्त्री, प्रवक्ताजस्ता उच्च तहका जिम्मेवारीसमेत निर्वाह गरिसकेका रानाभाट अहिले राजनीतिमा उति सक्रिय देखिदैंनन् । ७३ वर्षीय रानाभाट रहस्यमय मानिने नारायणहिटी दरबार हत्याकाण्ड छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिका सदस्य समेत हुन् । उक्त घटनाका सम्बन्धमा छानबिन गर्न तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा गठित उच्चस्तरीय छानबिन समितिको सदस्य हुँदा उनी सभामुखको भूमिकामा पनि थिए । रानाभाटसँग दरबार हत्याकाण्डको छानबिन प्रक्रिया, दरबार हत्याकाण्डपछि घटनास्थलको अवस्था, घटना रहस्यमय बन्नुको कारण तथा उनको राजनैतिक यात्रासँग केन्द्रित रहेर साप्ताहिककर्मी राजाराम पौडेलले उनको निवास पोखरा महानगरपालिका वडा नम्बर–२६, कन्ननीडाँडामा पुगेर गरेको कुराकानी :

लामो समयदेखि राजनैतिक मञ्चमा देखिनुहुन्न, के गर्दै हुनुहुन्छ ?

म त राजनैतिक परिवारको मान्छे, राजनीति नै गरेर आएको मान्छे, अन्यत्र त ध्यान पनि जाँदैन, यही राजनीति र समाजसेवा नै हो । दुःखको कुरा के छ भने चौथो अंगको आँखा जो पावरमा छ जो पदमा छ त्यसमाथि मात्र पर्छ । सर्वसाधारण जनताका बीचमा रहेर मुलुकको ज्वलन्त समस्यालाई उजागर गर्दै ती समस्या समाधानको उपाय खोज्दै मेरो दिन बित्छ । विभिन्न पार्टीहरूसँग, विभिन्न नेताहरूसँग, आफ्नै पार्टीका नेता तथा साथीभाइहरूसँग त दैनिक भेटघाट, छलफल हुन्छ । कहिलेकाहीं अन्तर्राष्ट्रिय क्षेत्रका आफूले चिनेका साथी काठमाडौं आउँदा उनीहरूसँग पनि विचार आदान प्रदान हुन्छ । नेपालको परराष्ट्र नीतिका सम्बन्धमा, चीन र भारतको दुईपक्षीय सम्बन्धका बारेमा, बढ्दै गएको अप्ठ्यारो, सानातिना कुराबाट पनि मुलुकले बेहोर्नुपर्ने ठूलो समस्या आदिमा पनि हामी छलफल गर्छौं, हाम्रा केही मञ्च पनि छन् । बेला–बेलामा बैठकसमेत हुन्छ । 

तपाईंले त राजनीतिबाट विश्राम लिनुभएको भनिन्छ त ?

होइन, उहाँहरूले किन भन्नुहुन्छ, या त अध्ययनको कमी हो, या त अरूको ईर्ष्या गर्ने कुराले हो, जुन राजनीतिमा बढी छ, यो दुखद कुरा हो । विपक्षी पार्टीका साथीहरूले त्यस्तो कुरा गर्दैनन्, विशेष गरेर आफ्नै पार्टीभिक्र यस्तो कुरा हुन्छ, तर मैले विश्राम लिएको छैन, त्रियाशील नै छु । 

पार्टीको महामन्त्री, मन्त्री तथा पूर्व सभामुखसमेत रहिसकेको मान्छे कत्ति चासो राख्नुहुन्छ राजनीतिमा ? 

हामीहरू पदीय जिम्मेवारीमा रहेका साथीहरूको तुलनामा कम सक्रिय छैनौं, म मात्र होइन, मजस्ता नेपाली कांग्रेसका धेरै साथीहरू, चाहे त्यो चिन्ताग्रस्त स्थितिले हामी अभिव्यक्ति दिन्छौं, चाहे संगठन सुधारका निम्ति वा साथीहरूका बिचमा रहेका आपसी मनमुटाव, द्वैष, ईर्ष्या, अविश्वासको बारेमा । जुन संकट छ, पार्टीभित्र गुट, उपगुट, समूहका जुन नराम्रा खेलहरू छन्, तीनका विषयमा चिन्ता व्यक्त गर्ने साथीहरूलाई एकत्रित गरेर जनताको बीचमा रहनुपर्ने स्थितिको निर्माणका निम्ति हाम्रो प्रयत्न जारी छ । 

अहिलेको राजनैतिक अवस्था कस्तो छ ? 

यदि कम्युनिस्ट पार्टी सचेत भयो भने ऊसँग अहिले संसद्मा दुइतिहाइ बहुमत छ, यो मुलुक हाँक्नका निम्ति, विकासका निम्ति, शान्ति–सुरक्षाको प्रबन्धका निम्ति असाध्यै अनुकूल वातावरण छ, देशमा अझै पनि अशान्ति, हत्या–हिंसा आदि छ, जातजातिबीचका झगडा छन्, धर्मका द्वन्द्वहरू छन्, अहिलेको परिस्थितिमा राष्ट्रिय एकता भंग भएको छ । जातजातिको झगडा, धर्म संस्कृतिको झगडा, भूगोल र भेगको झगडा, प्रान्त–प्रान्तको झगडा, सबैतिर झगडा भैरहेको छ, यसले भोलि उग्र रूप लिन्छ, निश्चित छ त्यसलाई सम्हाल्न सकिँदैन, यसबाट पृथक्तावादी आन्दोलन जन्मन सक्छ भन्ने मेरो अनुमान छ । यस्तो स्थितिलाई बढावा नदिई राष्ट्रिय एकता प्रवर्द्धन गर्ने, सामाजिक सद्भाव, धार्मिक सहिष्णुताका निम्ति जोड दिने, आर्थिक उन्नतिका निम्ति जनताले विश्वास गर्ने खालका कार्यक्रम लिएर आउने हो भने नेकपालाई अहिले ठूलो मौका छ । सरकारले विभिन्न ढंगले काम गर्न सक्नुपर्छ । शक्ति प्रयोग पनि गर्नुपर्छ, मेलमिलापका निम्ति वार्ताको ढोका पनि खुल्ला राख्नुपर्छ । अपोजिसनलाई हेपेर हुँदैन । बुद्धिजीवी, नागरिक समाज तथा मुलकको परिस्थिति बुझेका जुनसुकै पार्टीका नेताहरूसँग बसेर छलफल गर्ने, नीति–निर्माण गर्ने, कल्चर विकास गर्ने तागत नेकपासँग भयो भने विकास गर्नलाई अझै ऊसँग ४ वर्ष बाँकी छ । बीजारोपण त गर्न सकिन्छ, विजारोपण भैसकेको कुरालाई अघि बढाउन सहज हुन्छ । 

प्रसंग बदलौं, नेपाली इतिहासकै सबैभन्दा ठूलो दरबार हत्याकाण्डलाई अहिले पनि रहस्यकै रूपमा हेरिन्छ किन होला ? 

त्यो सरकारको कमजोरीले, त्यत्रो ठुलो हत्याकाण्ड भयो, कस्तो स्थितिको, सर्वोच्च निकाय हो नि त्यतिबेलाको, सुरक्षाको प्रबन्धमा कमि थिएन, त्यतिबेला सुरक्षाको तीनघेराभित्र रहने भन्थे, त्यसबाहेक सैनिकका टुकडीहरू त्यही भित्र थिए, विशेष प्रहरी त्यही भित्र थियो, तर त्यो कसरी भयो, न सरकारले गहिरो अनुसन्धान गर्‍यो, फौजदारी केसका निम्ति भएको कानुन त्यतिबेला पनि त थियो, त्यो किन आकर्षित भएन ? प्रधानमन्त्री थिए, राजदरबारसम्बन्धी मन्त्री थिए, गृहमन्त्री थिए, सुरक्षा निकाय सबै विद्यमान थिए, सरकारले उक्त विषयमा गम्भीर चासो लिइदिएको भए र सरकारी निकायलाई जस्तो गाउँघरमा मर्डर केस हुन्छ नि तुरुन्तै पुलिसले टेकअप गर्छ, त्यो, खोइ त्यहाँ गर्‍यो ? राजदरबारसम्बन्धी मन्त्रीलाई के लाग्यो, गृहमन्त्रीलाई के लाग्यो कि सरकारले त्यो कुराको खोजी नै गरेन, अनि पुलिसले सर्जमिन गराउने मुचुल्का गराउने शंकामा वा प्रमाणका आधारमा दोषी देखिएकाहरूलाई कानुनअनुसार मुद्दा दायर गर्ने, दोषी ठहरे दण्डसजाय गर्ने काम सरकारले गर्‍यो ? कतिखेर गर्‍यो ? सरकारले के गर्‍यो भने घटनास्थलको प्रकृति विवरण बुझ्न, हेर्न र घटना स्थलमा उपस्थित रहेका बचेका मानिसहरूले के देखे, त्यो सत्य–तथ्य बुझ्न भनेर आयोग बनायो, त्यसको सदस्य म पनि थिए, प्रधानन्यायाधीशको अध्यक्षतामा, अर्का सदस्य माधव नेपाल पनि थिए, आफूले दस बिन्ती गरेर राजासित पनि, प्रधानमन्त्रीसँग पनि, म त जसरी पनि रहनुपर्छ हजुर भन्नुभयो, त्यहाँ सुन्ने १५–२० जना छौं हामी, सुरक्षा निकायका मानिस, प्रधानन्यायाधीशदेखि लिएर, राजा हुने मान्छे सबै छन्, डाक्टरहरू छन्, उहाँले निउरा गर्दा, पछि फेरी काम गर्ने बेला म त बस्दिनँ भनेर भनिदिनुभयो, किन ? माधव नेपालले कसको इसारामा वा कसको आदेशमा पछि बस्दिन भने त्यो रहस्य पनि छ, अझै पनि समय गुज्रिएको छैन, त्यस विषयमा सरकारले चाहने हो भने अहिले पनि सारा कुरा खोतल्न सक्छ, हेर्न सक्छ, अनुसन्धान गर्न सक्छ, अन्वेषण गर्न सक्छ, विश्लेषण गर्न सक्छ, केही रेकर्ड अस्पतालमा होलान्, हामीले सोधपुछ गरेका हेरेका तस्बिरसहित देखेकाहरूको बयान हामीले रेकर्ड गरिदिएका छौ, त्यसले आधार नपुगे अरु अनुसन्धान गर्न सकिन्छ, सरकारले गरोस्, त्यतिबेलाको सरकारले किन गरेन भनेर अहिलेको सरकारले खोज्न सक्छ । 

तपाईं सदस्य रहेको दरबार हत्याकाण्ड उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन कसरी तयार पारिएको थियो ? 

छानबिन होइन त्यो, घटना स्थलको प्रकृति विवरण हो, कस्तो कोठा थियो, त्यहाँ को–को उपस्थित थिए, मर्डर भैसकेपछि कोठाको अवस्था कस्तो थियो, कहाँ चुरोटका ठुटा थिए, कहाँनेर एस्ट्रे थियो, कहाँनेर रगतका टाटा थिए, गिदी कहाँ थियो, मासुका टुक्राहरू कता थिए, छोराको लास कहाँ थियो, आमाको लास कहाँ थियो, बन्दुक कहाँ थिए आदि–इत्यादि, यो प्रकृति विवरण तयार गर्ने काम थियो हाम्रो, हामीले खोजबिन सुरु गर्दा नै, धेरै दिन बितिसकेको थियो । यद्यपी, त्यहाँको प्रकृति विवरण हामीले जस्ताको तस्तै ल्यायौ, त्यो ठाउँ जहाँ पारिवारिक जमघट हुन्थ्यो त्यसको विवरण हामीले देख्दा जस्तो थियो त्यस्तै ल्यायौ, त्यहाँ बाहिरको मानिस जान पाउदैनथ्यो, त्यो विवरण हामीले जस्ताको त्यस्तै उतारेर दिएका थियौं, हामी प्रवेश गर्दा जे देखियो त्यही, त्यसभन्दा अगाडीको हामीलाई थाहा थिएन, घटना घटेको धेरै दिनपछि हामी त्यहाँ प्रवेश गरेका थियौँ । सरकारको सिफारिसमा राजाले बनाएको हो त्यो समिति, हामी त्यहाँ पुगेपछि घटनास्थलको प्रकृति विवरणजस्तो थियो त्यो हामीले उतार्‍यौं, फोटोग्राफ पनि छन्, अनि त्यहाँ उपस्थित भएका, बचेका, देखेका, त्यतिबेला मुमा बडामहारानी त्यहीं हुनुहुन्थ्यो, राजपरिवारका अन्य उमेर पुगेकादेखि बूढाबूढी थिए, तन्नेरी तथा केटाकेटीहरू थिए, नातेदारहरू पनि थिए, त्यहाँ भान्से थिए, भान्साको परिकार लाने–लैजानेहरू थिए, तिनीहरूलाई तिमीले के देख्यौ, घटना कसरी भएको हो भनेर सोध्यौ तिनीहरूले जे देखे, जे भने त्यो हामीले उतारेका हौँ ।

 

भित्री रूपमा विवरण संकलन गर्न पाउनु भएन ?

हामीलाई त्यो कानुनी अधिकार नै थिएन, को दोषी हो त्यसलाई पक्राउ गर्ने, बयान लिने, सर्जमिन गर्ने अधिकार हामीलाई थिएन । 

उक्त प्रतिवेदन तयार पार्दा नेपालमा राजाकै शासन थियो, कतिको सहज भयो ? 

एकदम सहज, सबैले खुलेर कुरा गरेका थिए, राजपरिवारका मानिसहरू बडो सम्मानपुर्वक कुरा गर्थे, पोलाइटली कुरा गर्थे, कुनै दम्भ थिएन, गम्भीर भएर कुरा गर्थें, आफ्नै आँखाले देखेको हुनाले संवेदनशील भएर कुरा गर्थे, ढाँटछल गर्नुपर्ने कुरा थिएन, हामीले क्रस पनि गरेका थियौं । त्यस्तो थियो स्थिति ।

तपाईंहरूले अनुसन्धानका क्रममा घटनास्थल कस्तो पाउनुभयो ? 

त्यो त सुनसान, मसान घाट जस्तो थियो नि, जब लास तथा घाइते लगेपछि राजदरवारले त्यो घटनास्थललाई सुरक्षित गर्न कसरी व्यवस्थित गर्‍यो, त्यो त हामी जान्दैनौं, त्योभन्दा पछाडि हामी जादा त रगतका टाटाहरू पनि सुकेका थिए, जहाँ भित्तामा, बाटोमा, भुइँमा पनि टाटा बसिसकेको थियो । भन्नैपर्दा धेरै बासी भैसकेको स्थिति थियो त्यहाँको । 

तत्कालीन प्रधानन्यायाधीशको नेतृत्वमा बनेको उच्चस्तरीय छानबिन समितिले प्रतिवेदन तयार पार्‍यो, तर त्यसमा धेरैले विश्वास गरेनन्, किन होला ?

हामीलाई ज्यादै जिम्मेवार माथिल्लो तहका कर्मचारीलाई लिएर सहयोग समिति बनाउन दिएको थियो सरकारले, रिपोर्टमै धेरैको नाम छ । धेरै माथिल्लो तहका जिम्मेवार, सर्वोच्च अदालतका, संसदका निष्पक्ष, इमान्दार तथा अनुभवी माथिल्लो तहका कर्मचारी तथा फोटोग्राफरहरूलाई समेत आधिकारिक रूपमा सहयोगी बनाएर हामीले त्यहाँको प्रकृति विवरण हेर्ने र त्यो घटना आँखाले देख्ने राजपरिवारका नातेदार तथा सदस्यहरूसँग हामीले बुझेको हो ।त्यसमा धेरैले विश्वास नगर्नु स्वभाविक हो, नियमपूर्वक त खोजेकै छैन नि, कानुनअनुसार त खोजेको छैन, कानुन प्रभावित पनि भएको छैन, त्यो त राजनैतिक समिति भयो, त्यहाँ हामीले जसले जे भन्यो त्यही लेख्यौं, समितिलाई दिएको कार्यादेशमा जे थियो त्यसको सिमा भित्र रहेर काम गर्दा हामीले चुक गरेका छैनौँ, भन्ने ठाउँ राखेका छैनौं । 

अहिले पनि दरबार हत्याकाण्डलाई रहस्य र षड्यन्त्रकै रूपमा लिइन्छ । कुन तत्वले काम गरेको हो यसमा ? 

स्वभाविक नै हो, कम्युनिस्ट पार्टीका नेताहरूको हत्या भयो त्यो पनि रहस्यकै गर्भमा छ, अस्ति मात्र एउटै घरका नौ जना सदस्यको हत्या भयो, त्यस्ता घटना त सयौँ भैसके नि, ती पनि रहस्यमय नै छन्, त्यसमाथि दरबारको यो घटना नहुने कुरै भएन, त्यसका निम्ति सरकारले चासो राखेर खोजिदियो भने यो म्याद जाने कुरा होइन, फौजदारी केस त्यसमा पनि हत्या सम्बन्धी केसको हदम्याद हुन्छ र ? जहिले सक्यो अध्ययन–अनुसन्धान गरेर कानुन बमोजिम निर्क्यौलमा पुग्न राज्य लाग्नुपर्छ नि ।  तत्व के थियो भन्ने कुरा त भगवान् जानून् । हामीलाई जे अधिकार दिइएको थियो, जुन सीमाभित्र रहेर काम गर्नु भन्ने कार्यादेश थियो । त्यही कार्यादेशभित्रको सीमामा रहेर हामीले इमान्दारिपूर्वक काम गरेको हो ।

तपाईंलाई राजदबार हत्याकाण्डको सत्यतथ्य बाहिर आएजस्तो लाग्छ ? 

सत्य–तथ्य के हो कानुन प्रयोग गर्न पाइयो भने पो निस्कन्छ, हामीलाई कानुन प्रयोग गर्ने अधिकार थिएन, सरकारले तत्कालिक राहत महसुस गर्न होला, संवैधानिक राजाले त सरकारले भने अनुसार काम गर्ने हो, अहिले पनि राष्ट्रपतिले सरकारले भने अनुसार काम गर्ने हो, सरकारले किन यो बनायो र राजाको पनि चित्त बुझाएर काम गर्नुपर्छ भन्नेमा पुगे, आफ्नै घरको समस्या थियो त्यो, त्यो त अधुरो थियो, हामीलाई दिइएको कार्यादेशमा कानुन प्रयोग गरेर छिनोफानो गर्ने अधिकार थिएन, फेरि त्यो पनि निर्णय हुनुपर्थ्यो, त्यो त छैन, त्यसैले हामीले कानुनको प्रयोग गर्नै पाएनौं, त्यतिबेलाको संवेदनशील स्थितिमा सरकारले पनि आफू फुत्कने, आफु कर्तव्यच्युत भएको हो भन्ने नपार्न मात्र समिति बनाएजस्तो लाग्छ मलाई त ।

कतिले दीपेन्द्र आफैं ढल्ने अवस्थामा कसरी त्यति धेरै जनाको ज्यान जाने गरी त्यो पनि एक होइन चारचार वटा बन्दुक चलाए होलान भन्छन्, छानबिनका क्रममा के पाइएको थियो ? 

जसले जे–जे भने हामीले त्यही लेख्यौ, हामीले त अरूले भनेका कुरा लेखेको हो, बन्दुक कहाँ थिए, कसरी राखिएको थियो, बन्दुक नेपालको ऐन कानुन बमोजिम राखिएको थियो कि थिएन, कानुन प्रयोग गर्ने अधिकार हामीलाई नभएको हुनाले यस्ता विषयमा केही सोध्ने कुरै भएन । सरकारले हामीलाई काम गर्न जुन ढंगले कार्यादेश दियो त्यसरी नै कानुन कार्यान्वयन गर्न पनि प्रहरीलाई तुरुन्त लगाइदिएको भए सिद्धिन्थ्यो, पुलिसलाई किन रोकेको, त्यत्रो दुर्घटना भयो, हत्याकाण्ड भयो त्यो काण्डमा राज्यको कानुन किन प्रभावित भएन ? सरकार किन अन्देखा भयो, तीन जनाको आयोग बनाएर घटना स्थलको प्रकृति विवरण र त्यहाँ देखि जान्नेहरूले के भन्छन् त्यो बुझ किन भनेको ? सँगसँगै कानुन प्रयोग गर्नु पर्थ्यो नि, सरकारले किन गरेन, अझै पनि सरकारले गरे हुन्छ । 

के तपाईंलाई दीपेन्द्रले हत्याकाण्ड मच्चाउनुको कारण उनको विवाह नै हो जस्तो लाग्छ ? 

खै त्यो त थाहा भएन, हामीले त ज–जसले जे–जे भने त्यही लेख्यौ, विवाह थियो कि थिएन, विवाहकी केटी बुझ्ने, ससुरा बुझ्ने अधिकार त थिएन नि हामीलाई । अनुमान गर्न, गफ गर्न मिल्दैन, हामीले त कार्यादेशको सीमाभित्र रहेर गरेको काम हो, त्यो हामीले परिपक्व ढंगले गरेका छौ, प्रतिवेदन बुझाउँदाखेरि हाम्रा अध्यक्ष प्रधानन्यायाधीशज्यूले महाराजधिराजका हातमा दिनु भयो, प्रतिवेदनलाई हामीले गाठो पारेर राजाको हातमा बुझायौ, राजाले उक्त पोकालाई हेर्दै नहेरी त्यो पोकाको आडैमा रहेका प्रधानमन्त्रीलाई सुम्पिए । प्रधानमन्त्रीलाई सुम्पिनु भनेको यसलाई आधार बनाएर कानुन प्रयोग गर भनेको हो राजाले, अनि किन भएन त त्यतिबेला यो काम ?

के दीपेन्द्र प्रतिवेदनमा भनिएजस्तै नशाबाज नै थिए ? 

भनेका छन्, हामीले त जे–जे भने त्यही लेखेका हौ, के खाएका थिए भनेर समेत क्रस गर्ने अधिकार थिएन, उदाहरणका लागि रक्सि खाएको थियो भनेर भने त्यही लेख्ने हो, कुन ब्रान्डको रक्सी खाएको थियो भनेर सोध्ने अधिकार हामीलाई थिएन, हामी क्रस गर्नै सक्दैनथ्यो, त्यहाँ भेटिएकाहरूले जे देखे त्यो कुरा रोएर भनेका छन्, मेरै अगाडि बन्दुक चल्यो भन्छन्, बन्दुक कसरी चल्यो उसैले जे–जे भन्छ टिप्यौ, हामीले मुलुकको विद्यमान कानुन प्रभावित हुने गरेर क्रस गरेका छैनौं । घटनास्थलको विवरणदेखि जान्नेहरूले कस्तो ढंगले देखे भन्ने सिमा भित्र रहेर बुझेको हो, कानुनबमोजिम होइन, सरकारले आफ्नो सजिलोका निम्ति समिति बनायो, राजा पनि त्यसमा मञ्जुर भए, तर त्यसका आधारमा सरकार अघि बढ्दै बढेन ।

 

अहिलेसम्म पनि शंका गर्ने नागरिकलाई त्यतिबेलाको उच्चस्तरीय छानबिन समितिको सदस्यको हैशियतले के भन्न चाहनुहुन्छ ? 

अहिलेसम्म होइन, कति युगसम्म यो अवस्था रहन्छ, यदि नेपाल सरकारले कानुनबमोजिम यसको निर्क्यौल गर्न चाहेन भने, संसारमा यस्ता घटनाहरू जति वर्षसम्म जिउँदा छन्, नेपालको पनि जिउँदै रहन्छ । त्यसैले सरकारले काम गर्नु पर्‍यो । शंका निवारणका निमित्त थप खोजबिन गर्नुपर्‍यो, कानुन प्रयोग गर्नुपर्‍यो ।

यही समितिमा बसेका कारण तपाईंको राजनैतिक करियरमा असर परेको भनिन्छ नि ?

होला, हामीहरूलाई तल पार्न चाहनेहरूले त्यसलाई आधार बनाउन सक्छन्, त्यो कुनै नौलो कुरा होइन, तर हामी गलत थिएनौ, जे अधिकार थियो त्यही अनुसार काम गर्‍यौं ।

आगामी दिनमा कसरी अघि बढ्दै हुनुहुन्छ ?

देशको परिस्थिति सुधार गर्नका निम्ति, प्रजातन्त्रलाई दरो बनाउनका निम्ति नेपालको जुन भू–राजनैतिक स्थिति छ, त्यसको जुन रणनीतिक संवेदनशीलता छ त्यसलाई बचाएर मुलकको सार्वभौमिकतालाई, यसको प्रादेशिक अखण्डता, स्वतन्त्र अस्तित्वलाई बचाएर, देशमा प्रजातन्त्रिक व्यवस्थालाई सर्वद्धन गर्ने र जनताको जीवनस्तर उठाएर सम्पन्न मुलुकमा पुर्‍याउने नेपाली कांग्रेसको उद्देश्य हो, त्यसलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्ने काममा म प्रयत्नशील रहनेछु । 

अहिले पार्टीले दिएको भूमिकाप्रति सन्तुष्ट हुनुहुन्छ ?

हाम्रा साथीहरूसँग के नै भुमिका छ र, संसदमा हेर्नु भएको छैन ? भूमिका पाएका साथीहरूलाई त निर्देशित गर्न सकेको छैन, परिचालित गर्न सकेको छैन, प्रदेशहरूको अवस्था त्यस्तै छ, कुन साथी कहाँ छ, किन निष्किृय भएको हो, किन हामीले त्यसको सहयोग नलिने भनेर सोच्ने त हाम्रो पार्टीलाई फुर्सद नै छैन । 

तपाईं अब पार्टी अनि देशको नेतृत्वमा पुग्ने सम्भावना छ कि छैन ?

किन नहुने म त पुर्ण आशावादी छु, तर पद लिएर मात्र राष्ट्रिय जिम्मेवारी पूरा हुन्छ भन्ने छैन, पद नलिई पनि हामी त्यो राष्ट्रिय जिम्मेवारी फूरा गर्न क्रियाशील छौँ, त्रियाशील नै रहन्छौँ । राजनीतिमा अघि बढ्न सर्वसाधारण जनताको आशीर्वाद आवश्यक हुन्छ ।

 

मुलुकको विकासका लागि वर्तमान सरकार कसरी अघि बढ्नुपर्ला ?

हाम्रो राष्ट्रियता संवेदनशील परिस्थितिमा छ, विभिन्न विकृति विसंगतिले गर्दा, शक्तिकेन्द्रका खेलहरू पनि छन्, यसले गर्दा मुलुक कमजोर भन्दा कमजोर बन्दै गएको छ, त्यसैले पनि राष्ट्रिय एकताको प्रवर्द्धन गर्नुपर्छ, शान्ति र स्थायित्व दिन सरकार तयार रहनुपर्छ, राजनैतिक पार्टीका बीचमा विद्यमान अविश्वासको अन्त्य गर्दै मुलुकको प्रवर्द्धनका निम्ति, जनताको सेवाका निम्ति, निश्चित उद्देश्य प्राप्तिका निम्ति प्रतिबद्ध र इमान्दार रहेर होस्टेमा हैंसे गरेर मुलुकलाई जोगाउने काममा दत्त चित्त भै सबैलाई साथमा लिएर सरकार अगाडि बढ्नुपर्छ ।

प्रकाशित :जेष्ठ १९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्