दरबार रहस्यले घेरिएको थियो

- साप्ताहिक संवाददाता

जेष्ठ १९, २०७६

 किशोर श्रेष्ठ, पत्रकार

दरबारका गतिविधिहरू पहिल्यैदेखि बाहिर आउँदैनथे, एकदमै छोपिएको हुन्थ्यो । दरबार हत्याकाण्डपछि भने दरबारका सम्बन्धमा एकै पटक धेरै तथ्य बाहिर आए । लुकाएर राखिएका कुरा एकैचोटी विस्फोट भएर बाहिर आएजस्तो भयो । त्यसैले पनि समाजले दरबारभित्रका धेरै कुरा तत्कालै पत्याएनन् । हिन्दु मनोविज्ञानमा हुर्किएको नेपाली समाजले यो घटनामा युवराज दीपेन्द्रको संग्लनता पत्याउन सकेन । आफ्नै छोराले बाउआमा मार्न सक्छ र ? भन्ने मनोविज्ञानले गर्दा पनि यस्तो भएको हो । यसले गर्दा पनि घटना थप शंकास्पद भयो । 

बाहिर आएका तथ्यले पनि यो घटनालाई थप रहस्यमय बनाए । किनभने घटनामा एउटा परिवार पूरै बच्यो भने अर्को परिवारका सबै सखाप भए । राजा ज्ञानेन्द्रको सत्तामा अस्वाभाविक उदय भयो । त्यतिबेला मारिएको परिवारका सबै एडिसी निकालिए । जस्तै निराजनका एडिसी मधुकर कार्की जो घटनाका बेला उपस्थित थिए उनी निकालिए । दीपेन्द्रको एडिसीलाई पनि निकाल्ने काम भयो । वीरेन्द्रका एडिसी पनि निस्किए ।

हत्याकाण्ड अघिका घटनाहरू केलाउने हो भने अधिराजकुमार निराजनलाई रानी ऐश्वर्यले बेला बखत दीपेन्द्रको ठाउँमा राखेर हेर्न खोजेको देखिन्छ । रानी ऐश्वर्यले दीपेन्द्रले आफूले भनेकैसँग विवाह गरेन भने नीराजनलाई युवराज बनाउने विचार गरेकी थिइन् । आमाको यस्तो विचारले दीपेन्द्र उनीसँग चिढिएका थिए । दरबारभित्र हुर्किएको अविश्वास पनि यो घटनाको एउटा कारण थियो । 

घटनालगत्तै तत्कालीन सभामुख तारानाथ रानाभाटले अध्ययन प्रतिवेदन सार्वजनिक गर्दा निकै भद्दा शैली अपनाए । त्यो सार्‍है अपत्यारिलो रूपमा आयो । उनको प्रस्तुतिले पनि घटनालाई थप रहस्यमय बनाउन मद्दत गर्‍यो । प्रतिवेदनको प्रस्तुति नै चित्तबुझ्दो भएन । नाटकीय रूपमा प्रतिवेदन प्रस्तुत गरियो । आफैं प्रत्यक्षदर्शी जस्तो भएर सभामुखले भटट्ट गोली चलेको बताए । त्यसले पनि मानिसहरूलाई घटना रहस्यमय छ भन्ने पारिदियो । 

सरकारले तयार पारेको प्रतिवेदन पनि अन्यौलग्रस्त परिस्थितिमा आएको थियो । हत्याकाण्डलगत्तै यस्तो बातावरण निर्माण भएको थियो कि कोही पनि दोषको भारी बोक्न चाहँदैनथे । जस्तो कि दासढुंगा हत्याकाण्डका सम्बन्धमा पनि तीन वटा छानबिन आयोग बने तर रहस्य बाहिरिएन । त्यस्तै भयो दरबार हत्याकाण्ड पनि । 

एमालेका नेता माधव नेपाललाई पनि उक्त छानबिन कमिटीमा राखिएको थियो । तर पछि उनले समितिमा बस्न मानेनन् । यो तथ्यले घटनालाई थप रहस्यमय बनाउन मद्दत गर्‍यो । राजपरिवारको शरीर पोस्टमार्टम गर्नु हुँदैन भनेर रातारात कफर््यु लगाएर लास जलाउने काम भयो । किन त्यसो गरियो भनेर पनि चिरफार गर्नुपर्ने हुन्छ । 

नेपालको इतिहासमा कोतपर्वको घटनापछि दरबार हत्याकाण्डलाई रहस्यमय घटना मानिन्छ । युवराज दीपेन्द्रको दुई/तीन जना युवतीसँग समानान्तर प्रेम सम्बन्ध चलेको देखिन्छ । उक्त प्रेमका कारण दरबारभिक्र शत्ति संघर्ष चलेको थियो । १४ पेग ब्ल्याक लेबल खाँदा पनि सजिलै पचाउने र नलाग्ने युवराज दीपेन्द्रले घटनाको दिन दुई पेग रक्सी खाएको र लागेको भन्ने कुरा जानकारहरूलाई पत्याउन गाह्रो भयो । 

उक्त हत्याकाण्डपछि नेपाली सेनाभित्र पनि उथुलपुथल आएको थियो । तत्कालीन प्रधानसेनापति घटनामा सेनाको कुनै भूमिका नहुने भन्दै उम्किए । सेनाको तीनवटा बटालियन हुन्छ दरबारभित्र । आर्मीको मेजर जनरल, सैनिक सचिवालय बस्ने ठाउँमा त्यति ठूलो घटना कसरी भयो । त्यसो त नेपालको आन्तरिक राजनीतिमा छिमेकी देशको हस्तक्षेप छ भन्ने धेरैको बुझाइ छ । कतिपयले यो घटनामा छिमेकीले कसैलाई प्रयोग गर्‍यो कि भनेर पनि शंका गरे । 

दीपेन्द्रको स्वभाव अपराधिक शैलीको थियो । २०५४ सालदेखि दरबारको रिपोर्टिङ गरेको मेरो अनुभवले भन्छ, रणबहादुर शाह र सुरेन्द्र शाह जस्तै पारस र दीपेन्द्र पनि हार्न नजान्ने र अरूलाई पीडा दिएर सन्तुष्ट हुने स्वभावका थिए । दरबारभीत्र बाँसको झ्याङ थियो । त्यहाँ सयौं काग साँझतिर बास बस्न आउँथे । काग कराए भनेर दीपेन्द्र साँझतिर फायरिङ गर्थे, आठ/दस काग मार्थे अनि सुत्न जान्थे । यो स्वभावबाट बुझिन्छ उनी कति सनकी थिए भन्ने कुरा ।

त्यतिबेला दीपेन्द्रभन्दा उग्र पारसको स्वभाव थियो, तर पारस उक्त घटनामा बाँच्न सफल भए । घटनाको अध्ययन गर्दा दीपेन्द्रले राजा वीरेन्द्रलाई मारेर अन्तिममा रानीलाई मारेको देखिन्छ । यसका आधारमा उनले आमालाई तडपाउदै मार्न खोजेको देखिन्छ । 

गतिलो अनुसन्धान गर्न सकेको भए यो घटना यति रहस्यमय हुँदैनथ्यो । सरकारले गतिलो अनुसन्धान गर्न सकेन जसले घटना रहस्यमयको गर्तभित्र बस्यो । 

(प्रेस काउन्सिल कार्यवाहक अध्यक्ष श्रेष्ठ जनआस्था साप्ताहिकका सम्पादक हुन् ।)

हत्याकाण्ड षड्यन्त्र हो

 विवेक शाह, तत्कालिन शाही पार्श्ववती

दरबार नरसंहारका सम्बन्धमा मैले आफ्नो किताबमा पनि लेखेको छु । मैले जस्तै धेरैले मान्छन्, यो घटनामा कुनै खालको षड्यन्त्र छ । मदन भण्डारीको हत्या घटनामा पनि त्यस्तै भएजस्तो देखिन्छ । लगत्तै दरबार हत्याकाण्ड भयो । यति वीभत्स घटना किन भयो भन्ने विषयमा गम्भीर अनुसन्धान हुनुपर्थ्यो । विभिन्न आयोग बनाएर अनुसन्धान त गरियो तर ती आयोगका प्रतिवेदनबाट मानिसहरू सन्तुष्ट हुन सकेनन् । 

उच्चस्तरीय आयोगले घटनाका सम्बन्धमा अनुसन्धान गर्ने भने पनि त्यसले घटना प्रतिवेदन मात्र सार्वजनिक गर्‍यो । यो घटना किन भयो, यसको पर्दा पछाडि को–को थिए भनेर खोज्नुपर्थ्यो ।

घटनाको अनुसन्धान गर्न हामीसँग प्राविधिक जनशक्ति नहोला तर हामीले अन्तर्राष्ट्रिय विज्ञ ल्याएर घटनाका सम्बन्धमा अनुसन्धान गर्न सक्थ्यौं । त्यसो गर्न सकेको भए सबैको जिज्ञासा शान्त हुने थियो । मैले यस विषयमा राजा ज्ञानेन्द्रमा पनि जाहेर गरेको थिए, तर भनेजस्तो हुन सकेन । हत्या काण्ड भएको त्रिभुवन सदनलाई संग्रहालयका रूपमा विकास गर्नुपर्नेमा त्यो भवन नै भत्काइयो । यसले पनि मानिसहरूमा शंका गर्ने ठाउँ दियो । 

कुनै पनि घटनाका सम्बन्धमा तत्काल अनुसन्धान गर्दा धेरै तथ्य फेला पार्न सकिन्छ । समयमै गम्भीर अनुसन्धान हुन नसक्दा घटना झन्–झन् रहस्यमय बन्दै जान्छ । यो घटनाका सम्बन्धमा अझै पनि अनुसन्धान गर्न नसकिने होइन । प्रत्यक्षदर्शीहरूबाटै अनुसन्धान सुरु गर्ने हो भने यो घटनाका सम्बन्धमा केही नयाँ तथ्य बाहिर आउन सक्छ । 

शाही पार्श्ववती शाह मैले देखेको दरबार पुस्तकका लेखक हुन् । 

प्रकाशित :जेष्ठ १९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्