फास्टफुड चलचित्रले बिगारे बजार 

- साप्ताहिक संवाददाता

जेष्ठ १६, २०७६

 आरबिके शरद खत्री, निर्देशक 

म चलचित्र निर्देशकका रूपमा सक्रिय भएको करिब एक दशकभन्दा बढी भयो । मैले निर्देशन गरेको पहिलो चलचित्र नैना रेशम प्रदर्शन भएकै आठ वर्ष हुन लाग्यो । त्यसपछि मैले कृष्णा, नबोले नि हाँसी राखन, शिशा जस्ता चलचित्र निर्देशन गरें । झण्डै चार वर्षको अन्तरालमा मैले नयाँ चलचित्र पसिना निर्देशन गर्ने मौका पाएँ । करिब एक दशक लामो निर्देशनको यात्रामा मैले नेपाली चलचित्रमा भित्रिएका नयाँ–नयाँ प्रविधिलाई नजिकबाट बुझ्ने मौका पाएको छु । 

एक दशक अघिसम्म अधिकांश नेपाली चलचित्र एनालग प्रविधिमा छायांकन गरिन्थ्यो । क्यामेरामा दृश्य कैद गरिए पनि अडियो (साउन्ड) लाई नागरामा रेकर्ड गर्नुपर्ने बाध्यता थियो । डबिङका क्रममा त्यसलाई ठ्याक्कै म्याच गर्नुपर्ने आफ्नै बाध्यता थियो । हुन त आज डिजिटल क्यामेरा (फोरके, रेडसम्मका) मा दृश्य र अडियो कैद गरे पनि डबिङ गर्नुपर्ने बाध्यता छँदैछ । यद्यपि, विगतमा क्यामेरा र नागरा दुई भिन्न प्रविधिमा दृश्य र संवाद रेकर्ड गर्नुपर्ने बाध्यता थियो । छायांकन गरिएका दृश्य क्यानमा सुरक्षित गर्नुपर्ने अर्को बाध्यता पनि थियो । 

विश्वव्यापी रूपमा भित्रिएको डिजिटल प्रविधिले नेपाली चलचित्रलाई पनि समृद्ध बनाएको छ । उच्च प्रविधियुक्त क्यामेराले निर्देशकले चाहेको जस्तो दृश्य कैद गर्न सम्भव भएको छ । आजको मितिमा एउटा क्यामेरा ठड्याएपछि सबै कुरा त्यसैबाट कैद गर्न सकिने अवस्था छ । भीएफएक्स लगायतका पछिल्ला प्रविधिले निर्देशकको दिमागमा सिर्जना भएका हरेक कुरालाई सहजै पर्दामा उतार्न सकिने भएको छ । विगतमा यी सबै कुरा गर्न प्रविधिले नै बाधा पुर्‍याउँथ्यो । मैले आफ्नो पछिल्लो चलचित्रमा अत्याधुनिक प्रविधिको भरपूर उपयोग गरेको छु । यद्यपि, उक्त चलचित्र यथार्थतासँग नजिक भएकाले मैले भीएफएक्समार्फत गरिने काल्पनिक दृश्यहरू समावेश गरेको छैन । 

आज हामी प्रविधिका कारण जति नै धनी भए पनि पछिल्लो समय निर्माण भैरहेका चलचित्रमा कन्टेन्टको अभाव देखिरहेको छु । कन्टेन्ट खासगरी स्क्रिप्टमा मेहनत नगरिँदा निर्माणमा सहजता भए पनि चलचित्रले सफलता पाइरहेका छैनन् । विगतमा नेपाली चलचित्रले ५१ दिन, १ सय दिन सहजै पूरा गर्थे । त्यति बेला एनालगबाट निर्माण गरिए पनि चलचित्रका निर्देशकदेखि लेखकसम्मले भरपूर मेहनत गर्थे । आजको चलचित्र निर्माण फास्टफुड जस्तो भएको छ । टु मिनेट नुडल शैलीमा चलचित्र निर्माण भएकै कारण धेरैभन्दा धेरै चलचित्र असफल भैरहेको मेरो अनुभव छ । 

चलचित्रलाई स्तरीय, आकर्षक तथा भव्य बनाउन स्क्रिप्टमै ध्यान दिनु आवश्यक छ । यदि हामीले कन्टेन्टमा धेरैभन्दा धेरै मेहनत गर्न सक्यौं भने पछिल्लो प्रविधिको उपयोग गर्दै कम साधन र स्रोतमै बलिउड–हलिउडसँग प्रतिस्पर्धा गर्न सक्ने चलचित्र निर्माण गर्न सक्षम हुनेछौं ।

 

प्रकाशित :जेष्ठ १६, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्