खुम्चिँदै गएको हाम्रो सहर

- किशोर नेपाल

जेष्ठ १६, २०७६

२५  वर्षअघिको कान्तिपुर अहिलेको जस्तो सबै हिसाबले जटिल थिएन । कान्तिपुरका जनता चाहे किराँत कालमा होस्, चाहे लिच्छवि कालमा, मल्ल कालमा होस् वा राणा कालमा, प्रजातन्त्र कालमा होस् वा निरंकुश निर्दलीय कालमा, पुनर्स्थापित प्रजातन्त्र कालमा होस् वा अहिलेको संघीय गणतन्त्र कालमा, हरेक समय र कालमा खुसी नै थिए । खुसीको मदहोसीका समयमा ‘साप्ताहिक’ जन्मिएको थियो । यसको संस्थापनकालीन सम्पादकका रूपमा आफ्नो पनि केही योगदान भएकाले यो पच्चीसवर्षे लक्काजवान देखेर मन रमाउनु स्वभाविक हो । 

साप्ताहिक खुला सहरमा पत्रकारिताको खुला प्रयोग थियो । अहिले २५ वर्षपछि पनि त्यतिबेलाको यो प्रयोग सान्दर्भिक छ । साप्ताहिक देशमा प्रभावकारी हैसियतमा पुगेको सामाजिक सन्जालसँग जोडिएको छ । यसको आफ्नै प्रभाव बढ्दै गएको छ । साप्ताहिकले साना–ठूला सहरका समस्या उजागर गर्न सक्छ । त्यसैले यसको भूमिका सदाबहार छ । साप्ताहिकले मानिसको ध्यान चाँडो तान्छ । जस्तो, टुँडिखेलको खुलामञ्चमा ठेकेदारको अतिक्रमण भएका समयमा साप्ताहिकले जनमत बनाउन निकै काम गर्‍यो । साप्ताहिक मनोरन्जनको मात्र पत्रिका होइन । यो त सामाजिक समस्या औंल्याएर सरकारलाई सुधारका लागि प्रेरित गर्ने हतियार हो ।

कान्तिपुर सहरको इतिहास उज्ज्वल थियो । वर्तमान अलिकति खजमजिएजस्तो देखिए पनि सहर अँध्यारो नै भैसकेको छैन । हो, समय जटिल भएको छ । देशको राजनीति राष्ट्रिय एजेन्डाको शीर्षस्थानमा छ, तर यसले आमूल परिवर्तनका लागि, छिटो विकासका लागि, जनताको हितका लागि कुनै प्रभावकारी काम गर्न सकेको छैन । विकासका चर्का नाराहरू सुनिएका छन् । ती नारा न त आकर्षक छन्, न त गर्विला । पछिल्लो समयमा देशमा बनेको दुईतिहाइको सरकार त्यही नारा घोक्नमै रमाइरहेको छ । सरकार जुन दलले बनाएको छ त्यही दलको कब्जामा छ कान्तिपुर महानगरपालिका । कान्तिपुर सहर घुम्ने जो–सुकैको मनमा पनि सहरको विकास भएकोमा ईर्ष्या लुकेको छ । सहरको यो विकासमा स्थानीय सरकार वा महानगरपालिकाको त्यतिबढी योगदान छैन, जति स्थानीय जनता एवं उद्यमी–व्यापारी वर्गको छ । दरबारमार्गको डिभाइडरमा सौर्य बत्ती हालेर बजार झिलीमिली बनाउने काम दरबारमार्गका उद्यमी–व्यापारीले गरेका थिए । निजी क्षेत्रको प्रयासमा कान्तिपुरलाई सानातिना सजावटले सिंगार्ने काम भएको छ । केन्द्रीय होस् वा स्थानीय, सरकारले त के नै गरोस् र ? सडकमा रहेका ट्राफिक बत्तीको समेत व्यवस्थापन गर्न सकेको छैन । न्युयोर्क सहरको सडकका सपना देख्ने कान्तिपुरका जनताको सडकमा ट्राफिक प्रहरीको हातले ट्राफिक नियन्त्रण गर्ने ऐतिहासिक चलन जारी छ ।

बरु, सरकार चालकको सुरक्षाका बारेमा सचेत छ । हालै सरकारले गर्न लागेको एउटा निर्णय गर्दागर्दै रोकिएको आभास पाइएको छ । त्यो निर्णय भएको भए मोटरसाइकिलको पछाडि बसेर कान्तिपुर सहरको यात्रा गर्नेले पनि हेलमेट लगाउनुपर्ने थियो । कसो–कसो त्यो निर्णय गर्न सरकार हच्किएको छ । सरकारले मोटरसाइकिलको पछाडि बस्ने यात्रुले पनि अनिवार्य हेलमेट लगाउनुपर्ने निर्णय गर्न लागेको हल्ला सहरमा पिटिएपछि कान्तिपुरका सामान्य जनताले निष्कर्ष निकाले ः कुनचाहिं व्यापारीको गोदाममा थन्किएका हेल्मेट बिकाएर मोटो रकम कमिसन खान सरकारले यो निर्णय लिन लागेको हो । लोकतन्त्रले जनतामा एउटा समझ पक्कै दिएको छ– सरकारले गर्ने यस्ता निर्णयमा सरकार चलाउने राजनीतिक एवं गैरराजनीतिक अधिकारीले खाने कमिसनको रकम जोडिएकै हुन्छ । यो समयमा सरकार अलिकति तर्सिएको हुनुपर्छ । सहरमा थोरै सडक छन् । ती सडकमा धेरै सवारी दुईपाङग्रे नै चल्छन् । ती दुईपाङ्ग्रेका चालक रिसाए भने दुइतिहाइको सरकार हल्लिन बेर लाग्दैन ।

गएको साता लोकप्रिय व्यक्तित्व डा. देवेन्द्रराज पाण्डेको ट्विटमा टुँडिखेलको महाविनाशको संकेत गर्दै कान्तिपुर सहरमा पार्कको अभाव औंल्याइएको थियो । हुन पनि सानो गौचरदेखि रानीपोखरीसम्मको विस्तारमा टुँडिखेल हराउनै थालेको आभास पाइन्छ । सहिद गेटपारिको टुँडिखेलमा नेपाली सेनाले आफ्नो अजंगको सचिवालय बनाएको छ । सहिद गेटवारिको टुँडिखेलमा सैनिक मञ्च छ । सैनिक मञ्चपछाडि विदेशी ठेकेदारको क्याम्प छ । सँगै छ बस स्ट्यान्ड । पुरानो बसपार्कमा अग्लो अग्लो अग्लो भ्यू टावर बन्ने भएपछि त्यहाँको बसपार्क खुलमन्चमा सारियो । अहिले न भ्यू टावर छ, न बसपार्क । देश यसरी नै चलेको छ बेवारिस । 

कान्तिपुरसहर उहिलेदेखि नै बेवारिसे पारामा चलिरहेको छ । यसलाई सुव्यवस्थित बनाउने कामको सुरुवात टुँडिखेलबाटै गर्न सकिन्छ । हाललाई सहिदगेटबाट उत्तर रानीपोखरीसम्मको विस्तारमा बगैंचाभन्दा पनि उपवनको निर्माण गर्न सकियो भने कान्तिपुर त भन्नाको सहर भइहाल्नेछ । यसमा अनेक खतराहरू छन् । ती खतरासँग सामना गर्न नसक्ने राजनीतिक नेतृत्वबाट यस्तो काम हुन सक्दैन । सहर बनाऔंभ न्ने उद्देश्य भएका मानिसहरू जबसम्म सहरको सत्तामा आसीन हुँदैनन् तबसम्म कान्तिपुरको उद्धार हुँदैन । अहिले सहर चलाउनेहरूको नियत ठीक देखिँदैन । २०७२ को भुइँचालोले क्षतिग्रस्त रानीपोखरीको बिजोग देखेर सच्चा कान्तिपुरवासीको चित्त दुखेको छ । चिनियाँ निर्माण कम्पनीले छेउको दरबार हाईस्कुलको निर्माण गरिसक्दा पनि रानीपोखरी अलपत्र छ । कसको कुरुप स्वार्थमा रानीपोखरीको पुनःप्रतिस्थापन ढिलो भैरहेको छ ? प्रश्नको जवाफ कोसँग खोज्ने ? को हो यसको जिम्मेवार ? जता हेर्‍यो त्यतै अलपत्र । 

माल पाएर चाल नपाएकाहरूको सहर भएको छ कान्तिपुर । संसारकै महत्वपूर्ण पर्यटन गन्तव्यका रूपमा चिनिएको यो सहरको बिजोग कति छ कति ? भनेर तथा गनेर सम्भव छैन । अर्को महिनादेखि वर्षात सुरु हुने सम्भावना छ । त्यसपछि देखिनेछ कान्तिपुरको रूप । साउनमा गरेको कालोपत्रे भदौमा उप्किने घटना हाम्रो सहरमा मात्र हुन्छ सर्वाधिक । सहरमा कामले आउने–जाने र बिनाकामले पनि आउने–जाने मानिसका लागि शौचालयको व्यवस्था छैन । यो कुराको ज्ञान कान्तिपुर सहरका शक्तिशाली मेयरलाई छ कि छैन ? सहरमा अव्यवस्थित हिसाबले चल्ने सवारी नियन्त्रित र व्यवस्थित गर्ने काम ट्राफिक पुलिसको हो । तर, ट्राफिक पुलिसका आफ्नै सीमा छन । कमान्डरको आदेश नपाएसम्म हलचलै गर्न नसक्ने सेवामा रहेका पुलिसले गरून् के ? अहिले कान्तिपुर सहरको सर्वाधिक बिजोग समस्या भएको छ ट्याक्सी । सरकारले ट्याक्सीको भाडा बढाएको छैन । ट्याक्सीले सवारीको भाडा बढाएको बढायै छ । जनतालाई सुख दिने भाषण गरेर नथाक्ने सरकार जनताको कुरा सुन्दैन । उसका लागि ट्याक्सीवाला त जनता पनि होइनन् ।

कान्तिपुरको समस्या अपनत्वको अभाव पनि हो । बितेका केही वर्षयता सहरका ठूला–बडा, धनी–मानी र जान्ने–सुन्नेहरू सहरको परिधिबाहिर बसाइँ सर्न थालेका छन् । परिवार संख्या बढ्दै जाने, सहरचाहिं नतन्किने हुनाले सहरियाहरू सहरबाहिर बसाइँ सर्नु असामान्य होइन । मानिस बसाइँ सरे पनि संस्कृति र परम्पराप्रतिको मोह घट्नु नपर्ने हो । अहिले त्यही घटेको छ कान्तिपुरमा । हिजोका आवासीय घरहरू आजका व्यवसायिक ठेगाना बन्न थालेका छन । सहर जब मानिसहरूबाट एक्लिन थाल्छ त्यसको हैसियत घट्छ । त्यो सहर नभएर बजार हुन्छ । कान्तिपुर सहर प्राचीन सभ्यता हो । यो बजारका रुपमा मात्र खुम्चिएर अस्तित्वशील रहन सक्दैन ।

प्रकाशित :जेष्ठ १६, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्