बुद्धम् शरणम् गच्छामी 

- अविरल थापा

जेष्ठ १३, २०७६

भारतले बुद्धको कृत्रिम जन्मस्थल बनाउन लाग्यो, भारतमा जन्मिएको भनेर पाठ्यपुस्तकमा राख्यो भनेर हामी विरोधमा उत्रियौं । अर्काले भन्यो भन्दैमा विरोध मात्र गरिरहने कि आफूसँग भएको सम्पदाको संरक्षण र प्रवर्द्धनमा पनि ध्यान दिने ? खैर मोदीले भनेजस्तै बुद्धत्व प्राप्त गर्ने बेलामा सिद्धार्थ गौतम गयामा थिए जो अहिले भारतमा पर्छ तर जहाँ उनको जन्म भएको लुम्बिनी अहिले नेपालमा पर्छ भनेर विश्वलाई थाहा छ र संसारभरका बौद्ध अनुयायीहरू त्यहाँ पुग्न लालायित हुन्छन् तर के सरकारले हामीले त्यो ठाउँ जस्तो स्तरमा संरक्षण गरिनुपर्थ्यो गरेका छौं ?

ग.

त वर्ष भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल झ्रमण गर्दा काठमाडौंको एक कार्यक्रममा बुद्धका सम्बन्धमा मन्तव्य व्यत्त गरे । उनका अनुसार सिद्धार्थ गौतमको जन्म नेपालमा भएको हो भने गौतम बुद्धको जन्मचाहिँ भारतमा भयो । उनले यति चातुर्यपूर्वक शब्दको चयन गरेका थिए कि आलोचना गर्ने ठाउँनै थिएन । नेपालीहरू बुद्ध नेपालमा जन्मिएका हुन् भन्दा ठूलो गौरवको अनुभूति गर्छन् । बुद्ध नेपालमा जन्मिएका थिए भनेर नारा लगाउन र त्यसलाई राष्ट्रियतासँग जोड्नमै दंग छन् कतिपय नेपालीहरू । 

नेपाली समाजमा बढदै गएको हत्या, हिंसा, बलात्कार आदि देख्दा लाग्छ बुद्ध यहाँ जन्मिएकै थिएनन् । यस्तो लाग्छ बुद्धलाई यहाँ कसैले चिन्दैनन् र बुद्धले के भनेका थिए कसैलाई हेक्कासम्म छैन । बुद्धले भनेका पञ्चशीलमा प्राणी हिंसा नगर्नु, झूटो नबोल्नु, चोरी नगर्नु, व्यभिचार नगर्नु तथा  मद्यपान नगर्नु भन्ने कुरा उल्लेख छ । हामी सबैले यी पाँच कुरामध्ये कतिवटाचाहिँ अवलम्बन गर्छौं त ? बुद्धले भनेको हामीले कत्तिको मानेका छौं ? उनले भनेको चाहिँ दुईवटा कुरा पनि मान्न नसक्ने तर मुखले चाहिँ बुद्ध हामीकहाँ जन्मिएका हुन् भनेर रट लगाइरहनुको के तुक छ र ? बुद्धको चित्र अंकित टिसर्ट लगाएर हिंड्दैमा, माला जप्दैमा वा गेरुवस्त्र लगाउँदैमा बुद्धको अनुयायी भईन्छ र ? हाम्रो मुखमा एकाथरी छ आचरण अर्को थरी छ । 

भारतले बुद्धको कृत्रिम जन्मस्थल बनाउन लाग्यो, भारतमा जन्मिएको भनेर पाठ्यपुस्तकमा राख्यो भनेर हामी विरोधमा उत्रियौं । अर्काले भन्यो भन्दैमा विरोध मात्र गरिरहने कि आफूसँग भएको सम्पदाको संरक्षण र प्रवर्द्धनमा पनि ध्यान दिने ? खैर मोदीले भनेजस्तै बुद्धत्व प्राप्त गर्ने बेलामा सिद्धार्थ गौतम गयामा थिए जो अहिले भारतमा पर्छ तर जहाँ उनको जन्म भएको लुम्बिनी अहिले नेपालमा पर्छ भनेर विश्वलाई थाहा छ र संसारभरका बौद्ध अनुयायीहरू त्यहाँ पुग्न लालायित हुन्छन् तर के सरकारले हामीले त्यो ठाउँ जस्तो स्तरमा संरक्षण गरिनुपर्थ्यो गरेका छौं ? भैरहवाबाट सडकमार्ग भएर लुम्बिनी पुग्ने मार्ग फराकिलो, सुलभ र सफा हुनुपर्थ्यो त्यो अझै हुन सकेको छैन । अझै कति कुरा उचित तवरले उत्खनन् हुन सकेका छैनन् । 

लुम्बिनी विकास कोष गठन भएको छ तर लुम्बिनीको विकास भएको छैन । झाँडी भएको ठाउँमा सुन्दर पार्क बन्न सक्थ्यो होला अन्य विकसित देशमा जस्तै त्यहाँ आउने पर्यटकलाई गेटबाट प्रवेश गर्ने बित्तिकै अत्याधुनिक प्रविधि प्रयोग गरेर बुद्धका सम्बन्धमा थप जानकारी दिन सकिन्छ । त्यहाँ हल बनाएर हरेक दिन बुद्धसम्बन्धी डकुमेन्ट्री देखाउन सकिन्छ । कसरी बढीभन्दा बढी समय पर्यटकलाई बुद्धका सम्बन्धमा जानकारी गराउने र त्यो ठाउँमा समय बिताउन प्रेरित गर्ने भन्ने गृहकार्य हुन जरुरी छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय एयरपोर्टको निर्माण सकिएपछि थप पर्यटक आउने अपेक्षा राख्न सकिन्छ तर पर्यटकको सुविधा र त्यस क्षेत्रमा अन्य पूर्वाधार, सुविधासम्पन्न होटल एवं आसपासका अन्य पर्यटकीय क्षेत्रलाई पनि एकीकृत रूपमा विकास गर्न सके राज्यको आयआर्जनमा बुद्ध जन्मस्थलको ठूलै भूमिका हुनसक्छ । त्यस क्षेत्रको थप प्रचार–प्रसार गर्न सके संसारभरबाट लाखौं पर्यटक ओइरिने कुरामा कुनै शंका छैन तर डुङडुङ धुलो उड्ने बाटो र उराठलाग्दो जमिन मात्र हेर्न पर्यटकहरू दोहोर्‍याएर आउन भनेर कामना गरेर मात्र हुँदैन । ठूला–ठूला वातानुकूलित ध्यानकक्षको निर्माण जरुरी छ । 

बुद्धले सिकाएको कुरा चाहिँ हामी मान्दै नमान्ने, ठीक उल्टो गर्ने तर मुखले बुद्धम् शरणम् गच्छामी अलाप्नुको अर्थ हुँदैन । बुद्धले संसारमा दुःख छ भने दुःख निवारणको उपाय पनि छ भने तरिका पनि सिकाए तर हामीलाई त्यो कुरा सिक्न झन्झट लाग्यो, व्यवहारमा उतार्न कठिन भयो । उनले जे–जे नगर भनेका छन् हामीलाई त्यही–त्यही गर्न मन लाग्छ । किन यस्तो भएको होला ? समस्या बुद्धमा हो कि हामीमा ? बुद्धले सिकाएको कुराको मिति सक्कियो कि हाम्रो मति सक्कियो ? बुद्ध नेपालमा जन्मिएका थिए भनेर तिन भित्ता उफ्रिएर के हुन्छ ? 

न उनले भनेको मान्न सक्ने न आफूले प्रचार–प्रसार गरेर बुद्धको व्यापार नै गर्न सक्ने अनि अर्काले गर्‍यो, हेप्यो भनेर पाखुरा सुर्केर मात्र के हुन्छ ? भारतका प्रधानमन्त्री मोदीले बुद्धभूमि नेपाल भनेर संसद्मा भनिदिँदा बल्ल ढुक्क भइयो भने जसरी नेपालका सांसद–मन्त्रीहरूले तरर ताली पिट्नुपर्ने अवस्था कसरी आयो ? अर्काले आएर तँ बसेको घर तेरै हो, जग्गा पनि तेरै हो भन्नुपर्ने अवस्था आयो । विकासको गुरुयोजना बनाउनेहरूले कागजका पाना भरे, तलब खाए तर योजना कार्यान्वयन कछुवाको गतिमा हुनुमा दोषी को छ ? जनताको दबाब त्यतातिर भएको भए अनि विकास चाँडो भएको भए संसारले थाहा पाउँथ्यो र पटक–पटक बुद्ध नेपालमा जन्मिएका थिए भनेर कराइरहनै पर्दैनथ्यो । अचेल त साक्षात बुद्धनै आएर मैले भनेको मान् भने पनि उल्टै बुद्धले नै कुटाई खान बेर छैन । बुद्धको मार्गमा हिंडन पनि सिक्ने र सिकाउने कि बुद्धलाई बेच्ने मात्र त्यो हाम्रो विवेकमा भर पर्नेछ ।  

भवतु सव्व मंगलम् । 

acebook.com/abeeralthapa

Twitter@abeeralthapa

 

प्रकाशित :जेष्ठ १३, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्