महफिलमा बुद्धिसागर

- राधिका अधिकारी

जेष्ठ १२, २०७६

 

खुल्ला आकाशमा जुन रोयो

फुटेको बाँसुरीमा धुन रोयो

बगेन यो भूमिमा एक थोपा पसिना

पराईको भूमिमा नेपाली खुन रोयो ।। 

यस्तै गजलसँगै गत साता आख्यानकार बुद्धिसागर राजधानीमा प्रस्तुत भए । आख्यानकारका रूपमा आफूलाई नेपाली साहित्यमा चिनाएका बुद्धिसागरले आफ्नो पहिलो प्रेम गजलसँग बसेको उल्लेख गरे । गजल लेखेर साहित्य लेखनको औपचारिक यात्रा प्रारम्भ गरेका बुद्धिसागरले लेखनसँग गाँसिएका आफ्ना कैयौं किस्सा सुनाए । उनका ती संस्मरण एवं गजलले हरेक दुई महिनामा राजधानीमा हुँदै आएको महफिलको नयाँ शृंखला विशेष बन्यो । 

बुद्धिसागर भन्छन्, ‘मेरो पहिलो प्रेम गजल हो । मैले जीवनमा पहिलो पटक लेखेको रचना गजल नै थियो । वि.सं ०५२/५३ सालताका मैले लेखेका गजलहरू रेडियोबाट प्रसारण हुन्थे । मैले लगभग ६/७ वर्ष रेडियोमा गजल पठाएँ । त्यतिबेला ११/१२ सयवटा गजल त प्रसारण भए होला ।’ उनले गजल लेखन र प्रसारणसँग गाँसिएका आफ्ना अनुभव सुनाए । त्यसपछि उनले ‘पानी पानी भयो अधर यो झरीमा’, ‘उही हो नि नीलो पानी धार बद्लिएछ’, ’रातसँग एउटा घाम हिँड्छ’ गरी तीनवटा गजल प्रस्तुत गरे ।

यसरी गजल प्रस्तुत गर्दा बीच–बीचमा बद्धिसागर गजल सम्बन्धि आफ्नो धारणा पनि व्यक्त गरिरहेका थिए । रेडियोबाट गजल प्रसारण हुने क्रममै उनलाई आफ्ना गजल छापिएर पढ्न रहर लागेको बताउँदै बुद्धिसागरले सम्झिए– ‘त्यसकै पछाडि लागेर म काठमाडौं आएँ जस्तो लाग्छ ।’ काठमाडौं आएपछि उनले सबैजसो मासिक पत्रिका किनेर ठेगाना हेरी आफ्ना गजल पठाएको तर आफूले पठाएको चिठी नै पत्रिकाको कार्यालयसम्म नपुगेको अनुभव सुनाए ।

उनले भने, ‘सबै पत्रिका किनेर लान्थेँ, ठेगाना हेरेर गजल पठाउँथेँ । पत्रिका आउने बित्तिकै किनिहाल्थेँ, आफ्ना गजल पाउँदिनथें अनि निराश हुन्थेँ । पछि थाहा भयो, मैले चिठी हाल्ने पत्र मञ्जूषाबाट धेरै समयदेखि हुलाकीले चिठी नै निकालेको रहेनछ ।’ उनले थपे, ‘त्यसपछि भने म राजधानीबाट निस्कने हरेक साप्ताहिकको कार्यालयमा अफिस बन्दको दिन गएर ढोकाबाट चिठी छाडेर निस्कन थाले । त्यसपछि भने मेरा गजल प्रकाशित हुन थाले ।’

हरेक पटक पुस्तक र स्रष्टाका कुरा समावेश गर्दै आएको कार्यक्रमको यो शृंखला अन्य शृंखलाको तुलनामा फरक रूपमा प्रस्तुत भयो । लेखकका रूपमा उभिएका बुद्धिसागरका पुस्तकमाथि पाठकहरूले आ–आफ्ना धारणा प्रस्तुत गरे । उनका ‘फिरफिरे’ र ‘कर्णाली ब्लुज’ माथि प्रशिक्षा पराजुली र अनुफा खनालले मन्तव्य व्यक्त गरेका थिए । कार्यत्रमको अन्तिममा बुद्धिले वि.सं २०५६ सालमा आयोजित राष्ट्रिय गजल महोत्सवमा प्रथम स्थान हासिल गर्न सफल आफ्नो गजल ‘खुल्ला आकाशमा जुन रोयो, फुटेको बाँसुरीमा धुन रोयो ...’ सुनाए । कार्यक्रमको दोस्रो चरणमा बुद्धिसागरका दुई गजल गायक मनोजराज शिवाकोटीले गाएर सुनाएका थिए । 

प्रकाशित :जेष्ठ १२, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्