डिजाइनर बेबी

- अधिकारी रवीन्द्र

जेष्ठ ९, २०७६

कसैलार्ई सुन्दै अचम्म लाग्न सक्छ के हो यो डिजाइनर बेबी ? डिजाइनर सुट वा डिजाइनर गाउन भनेजस्तै डिजाइनर बेबी भविष्यको त्यस्तो शिशु हो जसलार्ई तपाईंले आफ्नै इच्छाअनुसार डिजाइन गरेर जन्माउन सक्नुहुन्छ । 

एसियन राष्ट्रहरूमा बच्चा जन्माउँदा सकेसम्म छोरा नै जन्माउन चाहने कुरा नौलो होइन । सामान्यतः पुरुषप्रधान देशहरूमा छोराको चाहना बढी हुनाले गर्भमा छोरी भएको किटान भैसकेपछि गर्भपतन गरिने उदाहरण प्रशस्तै छन् । चीनमा सन् १९७९ देखि जनसंख्या नियन्त्रणार्थ एक सन्तानको नीति लागू भएपछि प्रायः दम्पतीले एउटै सन्तानका रूपमा छोरानै जन्माइरहे । यसले गर्दा अहिले केटाहरूको संख्या यति धेरै भयो कि उनीहरूका लागि विवाहयोग्य केटी पाउनै हम्मेहम्मे पर्न थाल्यो । विवाहका लागि देशभित्र केटी नपुगेर फिलिपिन्स तथा भियतनामबाट सम्म ल्याउनुपर्‍यो । सरकारले जनसंख्या नियन्त्रण गर्न भनेर ल्याएको नीतिले महिलाहरूको संख्या विकराल रूपमा घटाइदियो, फलस्वरुप सन् २०१५ मा उक्त नीति नै खारेज गरियो । सन्तानका रूपमा के जन्माउने भन्ने निर्णय आमाबाबुले गर्दै आएका त छन् तर अब यस्तो प्रविधि आउने वालामा छ जसले सन्तानका रूपमा को मात्र नभै कस्तो जन्माउने निर्णय पनि आमाबाबुले लिन सक्नेछन् ।

पश्चिमा राष्ट्रहरूमा डिजाइनर बेबीको विकासशील रूप यस्तो छ : शिक्षित, योग्य र शारीरिक तवरले तन्दुरुस्त केटाको शुक्राणु र अग्ली, तेज र रूपवतीको डिम्बलार्ई कृत्रिम गर्भाधान गराएर भ्रुणलार्ई आफ्नो कोखमा प्रतिस्थापन गरी सन्तान जन्माउने । यसो गर्दा शिशुको प्राकृतिक आमा दुई जना हुन्छन् भने प्राकृतिक बाबु एक जना, अर्थात् धनको शक्ति यहाँसम्म पुगिसकेको छ कि धनाढ्यहरूले आफ्ना बालबच्चा सबल र सुगठित व्यक्तिहरूबाट छानेर ल्याइएको बिजबाट उत्पादन गर्न सक्छन् । फलस्वरूप उनीहरूका सन्तान बायोलोजिकल्ली अरूभन्दा उत्कृष्ट हुने अनुमान गरिएको छ । 

यति मात्र होइन, अब जिएम बेबी उत्पादन हुन सक्ने सम्भाव्यता बढ्दो छ । जिएम बेबी अर्थात् जेनेटिकल्ली मोडिफाइड बेबी । नेपालजस्ता मुलुकका लागि यो धेरै टाढाको विषय मान्न सकिन्छ, तर यो पूरै संसार एउटा ग्लोबल भिलेज र प्रविधि भनेको आगोको फिलिगोंजस्तो भएकाले नवीनतम प्रविधिले नेपालीहरूलार्ई पनि ढिलो–छिटो प्रभाव पार्ने नै छ ।

वैज्ञानिकहरूका अनुसार करिब १० हजारभन्दा बढी मानव रोग विशुद्ध जेनेटिक (जिनको दोषले हुने) छन् र यस्ता रोगबाट लाखौं मानिस ग्रसित छन् जसको पुनर्स्थापनाबाहेक अन्य उपचार छैन । भर्खरै प्रयोगमा आएको जिन एडिटिङको प्रविधिले भ्रुण अवस्थामै जिनको दोष पहिचान गरेर त्यसलार्ई काँट्छाँट गरिन्छ । परिणाम अपाङ्ग वा सुस्त मनस्थितिका रूपमा जन्मन सक्ने शिशु जन्मनुअगावै उसको दोषी जिन सम्पादन गरिने भएकाले उसले सबल रूपमा यो धरतीमा अवतरण गर्छ ।

यसबाट डाउन सिन्ड्रोमजस्ता क्रोमोजोमको गडबडीले उत्पन्न हुने शारीरिक–मानसिक अवस्था वा इन्सुलिन उत्पादनमै समस्या भएर हुने मधुमेहजस्ता बंशाणुगत रोगहरू सच्याउन सकिन्छ अर्थात् जन्मजात हुन सक्ने धेरै रोगको समाधान जन्मनुअघि नै भैसक्नेछ । यस्ता रोगले जीवनभरि नै सताउने हुनाले यसले पार्ने सामाजिक–आर्थिक दुष्प्रभाव अवर्णनीय नै छ । यी रोगको निवारणसँगै स्वास्थ्यक्षेत्रमा मानव सभ्यताले नवीन खुट्किलो पार गर्नेछ । 

अझ डिजाइनर बेबीको पूर्ण अवधारणा भनेको त विद्यमान गुणहरूलार्ई सुधारेर थप उत्कृष्ट बनाउने हो । यसको चुनौती भनेको कुन गुण कुन जिनले बोकेको छ पत्ता लगाउन गाह्रो हुनु हो । धेरै अवस्थामा एउटै गुण पनि असंख्य जिन मिलेर संयुक्त रूपमा बोकिरहेका हुन्छन् । त्यसैले कतिपयले यो धेरै जटिल कुरा हो भनेका छन्, तैपनि असम्भव भने छैन । प्रविधिको निरन्तर सुधारसँगै ती कुरा पनि सहज हुँदै जानेछन् भन्ने आशा गर्न सकिन्छ । 

विडम्बना भ्रूण अवस्थामै गरिने यो उपचार ज्यादै महँगो भएकाले यो धनाढ्य वर्गको पहुँचमा मात्र हुनेछ । फलस्वरूप धनीका सन्तान सधैं सबल, अब्बल र राम्रा जन्मिने भए तर विपन्न वर्गका सन्तान जन्मिदै शारिरिक वा मानसिक रूपले असक्षम हुन सक्ने भए । निश्चय नै यदि सुनियोजित स्वास्थ्य बिमा तथा सरकारी तहबाट उपचार छुटको व्यबस्था नहुने हो भने जिन एडिटिङले धनी र गरिबबीचको खाडललार्ई अझ गहिर्‍याउँदै लानेछ, किनभने जिनको खराबीले असक्त मानिसहरूको आश्रित समूह सधैं गरीब वर्गमा हुन्छ । उता एडिटिङपश्चात् डिएनएमै सामाजिक असमानता बोकेर जन्मिएका धनी बालकहरू भविष्यमा आयआर्जनका काम गरी अझ धनी बन्न सक्छन् ।

यही सामाजिक चुनौतीलार्ई मध्यनजर गर्दै अमेरिकालगायतका कतिपय समृद्ध मुलुकमा केही दशकअघिदेखि नै यस्ता डिजाइनर बेबी जन्माउन प्रतिबन्ध लगाइसकिएको छ । हुनत टेलरमा गएर कपडा, रंग र स्टाइल छानी–छानी लुगा सिलाएजस्तो मानिसका बच्चा पनि उपभोग्य सामानजस्ता हुनु हुँदैन, उनीहरूलार्ई पनि काँटछाँट गरी आफूले चाहे जस्तो बनाउन नसकियोस्, तथापि प्रविधिलार्ई स्वास्थ्य र जीवनसँग जोड्न खोजिएको यो ऐतिहासिक प्रयास निःसन्देह सराहनीय छ, धेरै वर्ष, पैसा र दिमाग खर्च गरेर पत्ता लगाइएको यो प्रविधिमा पूर्ण प्रतिबन्ध लगाउने भन्दा पनि सबै वर्गका लागि यो उपचारको पहुँच पुर्‍याउने नीति तथा उपायतर्फ ध्यान केन्द्रित गर्न सके मानव जगत्कै जीवन गुणस्तरमा उल्लेख्य सुधार आउन सक्छ । 

 

प्रकाशित :जेष्ठ ९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्