मिस नेपालको आलोचना, विरोध, धर्नाजस्ता गतिविधि किन हुन छाड्यो ? 

- साप्ताहिक संवाददाता

जेष्ठ ६, २०७६

केही वर्षअघि कम्युनिस्ट पार्टी निकट महिला संगठन, साहित्यकार तथा केही समाचोलक मिस नेपालजस्तो सौन्दर्य प्रतियोगिताको चर्को विरोध गर्थे । गत वर्षको मिस नेपालमा कम्युनिस्ट दम्पतीकी छोरी श्रृखंला खतिवडाले उपाधि हात पारेपछि यो विषयलाई लिएर सामाजिक सञ्जालमा ठूलै बहस चलेको थियो । ती बहसमा विरोधीहरूले सौन्दर्य प्रतियोगिता कुनै नराम्रो काम नभएको र यो समयको माग भएको स्वीकार गरेका थिए । यसलाई कतिपयले सामाजिक रूपान्तरणका रूपमा समेत लिएका छन् भने केही कम्युनिस्ट महिला नेतृले पुँजीवाद हाबी भएको र व्यापार तथा आम्दानीको स्रोत बनाइएकाले यसलाई नेपालको सन्दर्भमा स्वीकार गर्न नसकिने बताएका थिए । यद्यपि अहिले मिस नेपालको सन्दर्भमा विगतको जस्तो आलोचना, विरोध, धर्नाजस्ता गतिविधिहरू हुन छाडेका छन् । के मिस नेपालप्रति कम्युनिस्ट निकट महिला संगठन, केही साहित्यकार तथा समालोचकहरूको धारणामा परिवर्तन आएको हो ? कि विरोध गर्ने मुद्दा सकिएको हो ? 

 खगेन्द्र संग्रौला, लेखक 

मिस नेपाल चर्चा गर्न लायक विषय नै होइन । यो थोत्रो अनि पत्रु विषय हो । यो मिस नेपाल भनेको व्यापारीहरूले आफ्नो सामान बेच्ने विज्ञापनको धन्दा हो भन्ने दुनियाँलाई थाहा भैसकेको छ । त्यसैले यो छलफल गरिरहनुपर्ने विषय होइन । मिस नेपाल भनेको व्यापारीहरूको खाने धन्दा हो भन्ने थाहा भएपछि यसको आलोचना अनि विरोध गरिरहनु परेन । पहिलो यो मिस नेपाललाई ग्ल्यामरका रुपमा अगाडि सारियो । यसले महिलाको सशक्तीकरण गर्छ भन्ने जस्ता विभिन्न विषय ल्याएर एउटा रहस्यजस्तो बनाइएको थियो । त्यही कारणले यसको चर्चा भएको थियो, तर उक्त रहस्य तोडिएपछि यसको कुनै अर्थ रहेन । त्यसैले म मिस नेपालका विषयमा खासै टिप्पणी गर्न चाहन्नँ । 

पम्फा भुषाल, नेतृ, नेपाल कम्युनिस्ट पार्टी 

मिस नेपाल आफैंमा राम्रो कुरा होइन । निश्चित उमेर र शारीरिक बनावटका आधारमा मिस नेपाल छनौट गरिन्छ । त्यो पनि २० जना महिलाबाट एक जनालाई मिस नेपाल छानिनु भनेको आमनेपाली महिलाप्रतिको अपमान हो । महिलाको सुन्दरता भनेको उसको शारीरिक बनावट मात्र होइन । उसमा अन्तरनिहित क्षमता अनि बौद्धिक क्षमता उसको सुन्दरताको अर्को रूप हो । त्यसैले यो मिस नेपालको सोच नै महिलालाई वस्तुका रूपमा लिनु हो । यहाँ महिलाको अन्तरनिहित क्षमतालाई नबुझेर एउटी महिलाको कपाल हेरेर स्याम्पो, अनुहार हेरेर क्रिम, नङ हेरेर नेल पोलिस जस्ता वस्तुको विज्ञापन गर्ने माध्यम बनाइएको छ । यो पटक्कै ठीक कुरा होइन । त्यसैले म यसको पक्षमा छैन । हुन त आजभोलि बन्द कोठाभित्र राखेर बौद्धिकताको कुरा गरिन्छ, यसमा केही बौद्धिक महिलाले पनि भाग लिन्छन्, तर यो राम्रो होइन । हिजोका दिनमा हामीले यसको खुलेर विरोध गरेका थियौं । अहिले मिस नेपालले सबै क्षेत्रलाई समेटेको छ । अहिले एउटा जाति विशेष, स्कुल, कलेज, सहर, क्षेत्र हुँदै विश्वविद्यालयसम्म सौन्दर्य प्रतियोगिताको लहर चलेको छ । यसको म व्यक्तिगत रूपमा समर्थन गर्न सक्दिनँ र एक्सटर्नल रूपमा विरोध गर्न मलाई फुर्सद छैन । यद्यपि हामीले यसलाई स्वीकार गरेको भने होइन । म त सधैं यसको विपक्षमा छु । जे–जस्तो भए पनि महिलालाई वस्तुका रूपमा प्रयोग गर्नु पुँजीवादी सोच हो । त्यसैले म यसलाई समर्थन गर्न सक्दिनँ । 

रामकुमारी झाँक्री, नेतृ, नेपाल कम्युनिस्ट पार्टी 

पुँजीवादमा कुनै पनि वस्तुको व्यापार प्रवर्द्धन गरेर धेरै नाफा आर्जन गर्न धेरै वस्तु बिक्री गर्नुपर्छ । धेरै वस्तु बिक्री गर्न आकर्षक विज्ञापन चाहिन्छ, जसका लागि समाजका सुन्दर नारीको शरीर प्रस्तुत गरियो भने आकर्षक विज्ञापन बन्छ । वस्तु बिक्री गर्ने माध्यमका रूपमा प्रस्तुत गर्न नारीको शरीर चाहियो । त्यही सिलसिलामा पश्चिमा देशहरूबाट सौन्दर्य प्रतियोगिताको श्रृंखला सुरु भएको हो ।  त्यतिबेला पनि दुईवटा बहस भएका थिए । एकाथरीले महिलाले एक्स्पोजर पाए, व्यक्तित्व विकास भयो, अवसर पाए भन्ने धारणा व्यक्त गरे भने अर्को धारका महिलाहरूले महिलालाई वस्तुकरण गराइयो, महिलालाई वस्तु बिक्री गर्ने माध्यम बनाइयो । महिलाहरू वस्तु होइनन्, मानिस हुन्, उनीहरूलाई वस्तुकरण गरिनु हुन्न भन्ने दुईवटा विचार सँगसगै आए । यस्तै विचार नेपाली समाजमा पनि सँगसँगै छन् । नेपालमा पनि एकथरीले सुन्दरी प्रतियोगिता एकदमै ठूलो अवसर हो यसले राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा एक्सपोजर दिन्छ, व्यक्तित्वको विकास हुन्छ भन्दै गए भने अर्कोथरीले यो कुनै वस्तु बिकाएर नाफा आर्जन गर्न सुन्दर महिलाहरूको शरीरलाई साधन बनाएर नाफा आर्जन गर्ने माध्यम बनाइएको हो । यसो गर्दा नाफा कमाउने साधनका रूपमा महिलाको शरीरलाई उदांगो बनाइएको छ भन्ने विचार छ ।  त्यसैले हामीले वस्तु र मानिसलाई कसरी हेर्छौ, नाफा के हो ? नाफा कसरी आर्जन हुन्छ ? भन्ने कुरालाई सैद्धान्तिक, राजनीतिक, दार्शनीक हिसाबले गरिने बहसहरू कमजोर भए । यसको बहस गर्ने महिला संगठनहरू आफैं पुँजीवादी कित्तामा रुपान्तरण भएका हुन् कि भन्ने भान पर्ने गरी विकसित भए । जसको परिणाम स्वरुप यसका आवाज धुमिल भए । हिजो प्रगतिशील विचार राख्ने महिलाहरू नै आज मिस नेपाललाई अवसरका रूपमा लिन्छन् । त्यसैले हाम्रो विचारधारामै खोट देखापर्‍यो । अझै पछिल्लो पुस्तामा त प्रगतिशील आन्दोलनमा लागेका भनिएका महिलाहरू नै सौन्दर्य प्रतियोगिताको जज बस्न थाले । नेपालको प्रगतिशील महिला आन्दोलन खासगरी मार्क्सवादी महिला आन्दोलन डिरेल भएको छ । त्यसैले यो आन्दोलन कमजोर भयो । आन्दोलन र अभियानको हिसाबले प्रगतिशील आन्दोलन भित्र यस्ता विषय बहसका रूपमा अगाडि आउनुपर्छ, तर आज हामीबीच यस्ता कुरामा छलफल हुँदैन । आज मिस नेपाल अवसर हो कि चुनौती, कसैले छुट्याउन सक्दैनन् । हिजो प्रगतिशील भनिने महिला संगठनहरू नै आज धराशायी भए, त्यसैले यो आन्दोलन पनि समाप्त भयो । 

माल्भिका सुब्बा, मिस नेपाल – २००२

मिस नेपालको विषयलाई लिएर सन् २००८ भन्दा अघि चर्को आलोचना, विरोध तथा धर्नाजस्ता गतिविधि हुन्थे । यद्यपि त्यसपछि भने मिस नेपालका बारेमा आलोचना हुन छाडेको छ । त्यसो हुनुमा त्यतिबेला विरोध गर्ने समूह सत्तामा पुग्यो, त्यसैले पनि यसको विरोध कम हुन थाल्यो । त्यसभन्दा पहिले उहाँहरू भूमिगत हुनुहुन्थ्यो जसले गर्दा मिस नेपालमा आउने युवतीहरू कमजोर हुन्छन्, मिस नेपाल भनेको भोग विलासको साधन मात्र हो भन्ने सोचेर यो विषयमा आवाज उठाउनुपर्छ भनेर उहाँहरूले विरोध गर्नुभएको हो । अहिले नेपाली समाज खुला भैसकेको छ । मिडियामा धेरै राम्रा महिला आइसकेका छन् । उमेरका हिसाबले पनि अहिले २१ वर्षभन्दा माथिका बहिनीहरू मिस नेपालमा छनौट हुन्छन्, जसले गर्दा उनीहरू परिपक्व हुन्छन् ।

पछिल्लो समय मिस नेपालले पनि प्रभावकारी काम गरेको छ जसले गर्दा ग्ल्यामर फिल्ड राम्रो हो भन्ने धारणा विकसित भएको छ । हिजो मिस नेपालको विरोध गर्ने कम्युनिस्ट नेताकी छोरी पनि आज मिस नेपाल भैसकेकी छिन् । अर्को कुरा मिस नेपालमा छनौट भएकाहरू पनि सामाजिक कार्य र बौद्धिक विचार राख्न सक्षम छन् भन्ने उहाँहरूले बुझ्नुभयो होला त्यसैले यसको आलोचना र विरोध हुन छाडेको होला जस्तो लाग्छ ।     

प्रकाशित :जेष्ठ ६, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्