आईपीएल पैसाको तमासा

- साप्ताहिक संवाददाता

जेष्ठ ५, २०७६

हिजोजस्तै लाग्छ, इन्डियन प्रिमियर लिग (आईपीएल) सुरु भएको । समय कति चाँडै बित्छ भने यसपटक अर्थात् २०१९ को आईपीएल यसको १२ औं संस्करण हो । सुरुमै भनिएको थियो, यसले विश्व क्रिकेटलाई परिवर्तन गर्नेछ र त्यस्तै भएको छ । यो प्रतियोगितासँग यति धेरै धन जोडिएको छ कि कसैले पनि यसको विरोधमा आवाज उठाउन सक्ने हैसियत राख्दैनन् । भारतको यो घरेलु ट्वान्टी–२० क्रिकेटका अगाडि सबै नतमस्तक छन् । 

यसपटकको प्रतियोगिता अगाडि पनि यसको सफल आयोजनालाई लिएर धेरै प्रश्न उठे । भारतमा अहिले आमचुनाव चलिरहेको छ । त्यसैले यो चुनावको बीचमा प्रतियोगिता चलाउनु सुरक्षा र आर्थिक दुवै दृष्टिकोणले राम्रो नहुने अनुमान गरिएको थियो, तर त्यस्तो केही पनि भएन । केही दिनमै वान डे विश्वकप सुरु हुनेछ । त्यसले पनि यसपटकको प्रतियोगितामा नकारात्मक प्रभाव पार्ला भन्ने डर थियो । त्यो पनि आशंकामै सीमित भयो । 

बरु भैदियो के भन्दा यसपटकको प्रतियोगिता यसअघिका संस्करण भन्दा बढी सफल रह्यो । यसको एउटा मापदण्ड त यसको आम्दानी हुने नै भयो, दोस्रो खेलहरू असाध्यै रोमाञ्चक सावित भए । लगभग सात साता लामो प्रतियोगिता विजयीको निर्णय अन्तिम बलमा पुगेर मात्र टुंगिएको थियो । यसले पनि देखाउँछ प्रतियोगिता कति धेरै सनसनीपूर्ण रह्यो ? अर्थकै कुरा गर्दा श्रीलंकाली बलर लसिथ मलिंगाले गरेको अन्तिम बलको सरसर्ति हिसाब गर्दा पनि त्यसको मूल्य १३ करोड जति देखिन्छ । 

किन भन्दा त त्यही बलमा मलिंगाले शार्दूल ठाकुरको विकेट लिएपछि मुम्बई इन्डियन्सले फाइनलमा चेन्नाइ सुपर किंग्सलाई एक रनले हराएको थियो । उक्त बलमा ठाकुरले एक रन लिएको भए खेल टाइ हुन्थ्यो र सुपर ओभरमा जान्थ्यो अथवा दुई रन लिएको भए, चेन्नाइको भागमा उपाधि हुन्थ्यो, तर त्यो दिन खेलको पटकथा अर्कै लेखिएको थियो । यसपटकको उपाधि जितेर मुम्बईले ३२ करोड प्राप्त गर्‍यो, चेन्नाइले उपविजेताका रूपमा करिब २० करोड रुपैयाँमा चित्त बुझायो । 

यति ठूलो विजयी रकम के गरिन्छ त ? मुम्बईले जितेको ३२ करोडमध्ये आधा रकम टिम मालिकको हुनेछ । बाँकी १६ करोड खेलाडीमा बराबर विभाजन गरिनेछ । यस अर्थमा विजेता भएर मुम्बईका खेलाडीले एक्लाएक्लैले ५० औं लाख जिते भने त्यत्तिकै रकम चेन्नाइका खेलाडीले गुमाए । तेस्रो हुने दिल्ली क्यापिटल्सको भागमा करिब १७ करोड पर्‍यो भने चौथो स्थानमा रहने सनराइज हैदरावादले करिब १३ करोड प्राप्त गर्‍यो । 

यहाँ रमाइलो तथ्यांक के उल्लेख गर्न आवश्यक छ भने पहिलो संस्करणको आईपीएल जित्ने टिमले करिब ८ करोड हात पारेको थियो । उपविजेताको भागमा त ४ करोड मात्र थियो । यस्तोमा १२ वर्षको अन्तरमा पुरस्कार राशिमा नाटकीय वृद्धि भएको मान्न सकिन्छ । यसपटकको प्रतियोगितामा व्यक्तिगत पुरस्कार पाउने रकम पनि कम छैन । जस्तो उदयमान खेलाडीको एवार्ड जित्नले १६ लाख प्राप्त गरे । 

यस्तै सबैभन्दा बढी रन बनाउने, सर्वाधिक विकेट लिने र मोस्ट भ्यालुएबल प्लेयरले पनि १६/१६ लाख पाए । यो सूची अझ लामो छ । त्यसमाथि खेलाडी अक्सनमार्फत प्राप्त हुने रकमको हिसाब–किताब छुट्टै छ । यस्तोमा प्रश्न उठ्नु स्वभाविक हो, प्रतियोगितामा यति धेरै रकम कहाँबाट बर्सिन्छ ? आईपीएलको आम्दानीको सबैभन्दा ठूलो स्रोत त प्रायोजन नै हो । प्रतियोगिताको कुल आम्दानीको ६० प्रतिशत त्यसैबाट उठ्छ । विश्वास नहुन सक्छ, यसपटकको आईपीएलको मुख्य प्रायोजक चिनियाँ कम्पनी हो— भिभो । 

भिभोले ओप्पो र वन प्लस मोबाइल फोन उत्पादन तथा बिक्री गर्छ । सन् २०१६ र २०१७ का लागि उसले १ सय ६० करोड रुपैयाँको प्रायोजन गरेको थियो । यही कम्पनीले सन् २०२२ सम्मका लागि मुख्य प्रायोजकका रूपमा अनुबन्ध गरिसकेको छ । प्रतियोगिताको अर्को प्रमुख आयको स्रोत टेलिभिजनको प्रत्यक्ष प्रसारणबाट उठ्ने रकम हो । गत वर्ष मात्र सन् २०२३ सम्मका लागि स्टार स्पोर्ट्सले खेलको प्रत्यक्ष प्रशारणको अधिकार जितेको थियो । जसका लागि उसले करिब २५ हजार करोड तिर्नेछ । यस्तोमा प्रत्येक खेल बराबर ८० करोड रुपैयाँ हुन आउँछ र त्यसको आधा रकम फ्रेन्चाइज टिमले प्राप्त गर्नेछन् । स्टार स्पोर्टस पनि के कम छ र ? उसले यति धेरै रकम तिरेर पनि नाफाका लागि ३४ ठूला ब्रान्डसँग विज्ञापनको अनुबन्ध गरेको छ । आईपीएल देखाएर स्टार स्पोर्टस आफै पनि नाफामा जानेछ । यसपटक पनि खेल अवधिमा बज्ने विज्ञापनको प्रति १० सेकेन्डको १६ लाख तिर्नुपर्थ्यो । 

सहभागी प्रत्येक टिमका आफ्नै अलग–अलग प्रायोजक छन् । आईपीएलको अर्को प्रमुख आय दर्शकबाट उठने रकम हो । प्रत्येक खेलमा हामी पूरा रंगशाला लगभग भरिएको पाउँछौं, दर्शकबाट । दर्शकबाट उठ्ने रकमले मात्र पनि प्रतियोगिताको पूरा खर्चको १० प्रतिशत भाग कभर हुन्छ । क्रिकेटका लागि पागल हुने भारतमा आईपीएलको टिकट उत्तिकै महँगो भए पनि त्यो सहजै उपलब्ध हुँदैन । त्यसैले त फाइनलको पूरा टिकट अनलाइनमा बिक्री गर्दा टिकट सिद्धिन १० मिनेट पनि लागेको थिएन । 

प्रकाशित :जेष्ठ ५, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्