पैसा धेरै कुरा हो,  सबै कुरा होइन

- जनक तिमिल्सिना, भिषा काफ्ले

जेष्ठ ४, २०७६

मोरङ जिल्लाको विराटनगरमा सामान्य परिवारमा जन्मिएका राजीव जैन अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्विज शो को बन्छ करोडपतिको पहिलो सिजनमा १ करोड जितेपछि चर्चामा छन् । नेपालमा उनले बौद्धिक जाँचमा आफूलार्ई प्रमाणित गरी १ करोड जित्ने इतिहास रचे । विराटनगरस्थित अरनिको माविबाट २०४९ मा एसएलसी जिल्ला टप गरी महेन्द्र मोरङ कलेजबाट बीबीएस गरेका जैनले छात्रवृत्तिमा दिल्ली युनिभर्सिटीबाट एमबीए पूरा गरेका छन् । एमबीए सकेर बुबाको कागजसम्बन्धी व्यवसाय सम्हालिरहेका जैन सामान्य ज्ञानका भण्डार नै हुन् । राजीवसँग सम्झना गर्न सक्ने तीक्ष्ण खुबी, करोडपतिसम्मको यात्रा र विजेतापछिको अनुभवमा आधारित रहेर भिषा काफ्ले र जनक तिमिल्सिनाले गरेको कुराकानी :

को बन्छ करोडपतिको पहिलो विजेता भएपछि सबैभन्दा पहिले के सम्झनुभयो ?

जितपछि मलार्ई त्यसको रियलाइज हुन नै केही समय लाग्यो । हो–होइन भन्ने यकिन गर्न नै गाह्रो भयो । म आउट अफ द वर्ल्ड नै भएजस्तो लाग्यो । जब म सामान्य अवस्थामा आएँ अनि बिस्तारै–बिस्तारै आमा, बुबा, काका, श्रीमती, छोराछोरी सबै परिवेश सम्झँदै गएँ । 

अहिले कस्तो अनुभव भैरहेको छ ?

मेरो १८ वर्षदेखिको सपना पूरा भएको छ । करोडपतिको हटसिटमा बस्ने लक्ष्य थियो त्यो पनि पूरा भयो अनि करोड जितेर इतिहास बनाउने चुनौती थियो त्यो पनि पूरा भयो । आफ्नो क्षमतामा म आफैंमा भएको डाउट क्लियर भएको छ । अहिले मलार्ई जस्तो रमाइलो अनुभव भैरहेको छ तेन्जिङ शेर्पालार्ई पहिलो पटक सगरमाथाको चुचुरोमा पाइला राख्दा पनि त्यस्तै भएको थियो होला । 

त्यसो भए तपाईंको १८ वर्षको मेहनत सफल भयो ?

प्रक्रियाका हिसाबले जोड्ने हो भने यस्ता क्विजप्रति मेरो सोख विद्यालय तहदेखि कै हो । क्विज कन्टेस्ट चलाउने, आफैं भाग लिने मेरो बानी थियो । त्यो बानी धेरै पछि अर्थात कलेजको अध्ययनसम्म निरन्तर चलिरह्यो तर पढ्ने बानी पहिलेदेखि अहिलेसम्म निरन्तर कायम छ ।

तपाईंमा भएको सम्झना राख्ने जुन क्षमता छ, त्यो कसरी सम्भव भयो ? 

यो सबै अभ्यासको परिणाम हो । सानैदेखि पढ्ने बानी बस्यो । याद गर्ने बानी पर्‍यो । निश्चित चिजहरूसँग कोरिलेट गरेर सम्झने बानी भयो । यसले सम्झना गर्न सजिलो बनाउँदो रहेछ । एउटा चिजसँग अर्को चिज जोड्दा दुवै कुरा सम्झनामा रहने भयो, जस्तो छोटो समयमा लामो क्यानभास बनाउने प्रश्न थियो त्यसमा मैले नेपालमा भूकम्प जाँदाको दिनलाई सम्झिएको थिएँ । सम्झन सहज होस् भनेर २५ अप्रिल २००८ मा किरण मानन्धरले त्यो क्यानभास बनाएर रेकर्ड राख्नुभएको विषयलार्ई २५ अप्रिल २०१५ कै दिन भूकम्प गएर धरहरा ढलेको दिनलार्ई कोरिलेट गरेर सम्झिएको थिएँ । यसरी जोडेर सम्झना गर्न मलाई सहज लाग्छ । नम्बरहरूसँग जोडेर याद गर्न र रिकल गर्न सहज हुन्छ ।

याद र रिकल गर्ने कुनै सूत्र हुन्छ ?

मैले ठ्याक्कै कुनै साइन्टिफिक प्रयोग गरेको होइन । टेक्निक थुप्रै हुन सक्छन्, मैले नजानेको पनि हुनसक्छ । मैले सानैदेखि प्रयोग गरेको चाहिँ अध्ययन गर्दा सन्दर्भ जोड्ने अभ्यास हो । म कुनै पनि नयाँ कुरालार्ई पुरानो कुरा वा आफूलार्ई सहज लाग्ने कुराको सन्दर्भसँग जोडेर हेर्छु । बाल्यावस्थादेखि जुन बानी लाग्यो त्यो अहिलेसम्म निरन्तर छ । 

सामान्य ज्ञानमा पोख्त मानिसहरू प्रशासनिक क्षेत्रमा रुचि राख्छन्, तपाईं त व्यवसायिक क्षेत्रमा हुनुहुन्छ ? 

प्रशासनिक क्षेत्रमा काम गर्ने मेरो सानैदेखिको रुचि हो । मैले २/४ ठाउँमा त्यो अवसर पनि पाएको थिएँ । जस्तो मैले बीबीएस सकेपछि नेपाल बंगलादेश बैंकमा ‘जब’का लागि अवसर पाएको थिएँ । संयोगवश त्यही बेला एमबीए अध्ययनका लागि दिल्ली युनिभर्सिटीमा मेरो नाम निस्कियो । ती दुई अवसरमध्ये मैले अध्ययनलार्ई रोजें । एमबीए सकेपछि म नेपाल फर्किएँ अनि बोटलर्स नेपालमा जब एप्लाई गरे । मलाई ब्रान्ड अफिसरको जब अफर भएको थियो, तर परिवारसँग राय सल्लाह हुँदा दुई–तीन वर्ष के जागिर गर्ने, बरु आफ्नै व्यवसाय अघि बढाऊँ भन्ने कुरा आयो । त्यसपछि मैले व्यवसाय नै सुरु गरें, तर जब नगरेकोमा मलाई पछुतो छैन । किनभने जागिर खाएको भए पनि म त्यसमा लामो समय टिक्न सक्ने थिइनँ । व्यापारिक पृष्ठभूमि भएका कारण अन्ततः यही मिसिन आइपुग्नैपर्थ्यो । यदि गरेको भए त्यो अनुभव बटुल्न र ठूलो अर्गनाइजेसनको सीप सिक्ने मौका हुन्थ्यो होला । अहिले हामी काका–भतिजाको टिमले जुन स्पिरिटमा व्यापारलार्ई लिएर गएका छौं, पछि पनि यसैलाई निरन्तरता दिने सोच भएको हुँदा बिलकुल पछुतो छैन । 

नेपाल सरकारको जागिर गर्ने सोच जागेको थियो कि थिएन ?

त्यता जाने सोचचाहिँ आएन । त्यसको कारण म व्यापारिक पृष्ठभूमिबाट आउनु पनि हो । हाम्रो पारिवारिक संस्कृति नै व्यापारिक भयो । हाम्रो घर–परिवारका कुनै पनि सदस्य प्रशासनिक क्षेत्रमा हुनुहुन्नथ्यो । मलाई त्यता जान मोटिभेट गर्ने रोलमोडल नभएकाले पनि त्यस्तो भएको हुनसक्छ । मेरो रोलमोडल आफ्नै बुबा–काका भएपछि उहाँहरूकै पदचापमा अघि बढियो । 

१५ वटा प्रश्नमध्ये तपाईंलार्ई सबैभन्दा उच्च जोखिम लागेको प्रश्न कुन थियो ?

नेपालको सबैभन्दा उचाइमा भएको मानव बस्तीसम्बन्धी प्रश्न सबैभन्दा जोखिमपूर्ण थियो । मैले त्यसमा दुईवटा लाइफलाइन प्रयोग गरें । मेरो सोच हुम्ला थियो । दिमागमा अग्ला हिमाली बस्ती हुम्ला मै छन् भन्ने थियो । फिप्टी–फिप्टी गर्दा हुम्ला नै हटेपछि म अझ बढी कन्फ्युज भएँ । म स्योर थिइनँ । अरू प्रश्नमा म धेरै कन्फिडेन्ट थिए तर यसमा दुविधा थियो । लक्कीले मात्र मैले त्यो प्रश्नको सही उत्तर दिएँ । त्यतिबेला मलाई लाग्यो, मेहनतका साथ भाग्य पनि हुनुपर्ने रहेछ । 

तपाईं चाल्स ब्याबेजको दिमागसम्बन्धी प्रश्नमा पनि कन्फ्युज हुनुहुन्थ्यो नि ?

म कन्फ्युज भएको होइन । मैले चाल्स ब्याबेजको केस स्टडी गरेको थिएँ । उनको दिमाग दुईवटा म्युजियममा आधा–आधा गरेर राखिएको छ भन्नेमा म प्रस्ट थिएँ । एउटा हन्टेरियन म्युजियम (लन्डन स्कुल अफ सर्जरी) र अर्को लन्डन स्कुल अफ साइन्स जसलार्ई आदि भाग राख्न दिइएको थियो त्यसलार्ई ब्रिटिस म्युजियममा लन्डन साइन्स म्युजियम भनिन्छ कि भन्ने दुविधा थियो, तर हन्टेरियम म्युजियम एउटा उत्तर हो भन्नेमा कति पनि कन्फ्युज थिएन । 

सानोभन्दा सानो कुरादेखि लिएर हन्टेरियम म्युजियमसम्बन्धी सामान्य ज्ञान सम्झिरहन कसरी सम्भव छ ? 

जब हामीले अध्ययन गर्दै जाँदा स्कुल लेभलका जनरल नलेज गेन गर्छौं त्यसपछिको फर्दर स्टडिजमा पनि त्यो कहीँ–कतै प्रयोग हुन्छ । म कमर्स पढेको विद्यार्थी आइकम सकेपछि मैले बीबीएस गरें । बीबीएसका लागि विराटनगरमा हामी पहिलो ब्याच थियौं । त्यहाँसम्म एकाउन्टेन्सी र म्यानेजमेन्ट 

पढ्थ्यौं, एमबीएमा भने डाइभर्सिटी भएर अध्ययन गर्‍यौं । त्यहाँ इन्जिनियर, सिए, डाक्टर सबै आउँछन् र इकोनमिक्स तथा कमर्सका पनि आउँछन् । दिल्ली युनिभर्सिटीको कोर्स यति रिच छ कि त्यहाँ सबै क्षेत्रका विषय समेटिएका छन् । ती सबै पढ्नुपर्‍यो । मैले त्यहीं कम्प्युटरसम्बन्धी अध्ययन गर्दा चाल्स व्यावेजका बारेमा पढेको थिएँ । को इन्सिडेनस यहाँ आएर त्यही प्रश्नको सामना गर्नुपर्‍यो । त्यहाँ पढ्दा हाम्रा प्रोफेसरहरूले के सिकाउनुहुन्थ्यो भने इन्टरभ्यू फेस गर्नु पहिले जहिले पनि सम्बन्धित कम्पनीको हिस्ट्री, प्रोडक्टको नलेज तथा आविष्कारका विषय राम्रोसँग अध्ययन गरेर जानुपर्छ । जुन कुराले गर्दा कम्पनीले आफूलाई काम गर्न इच्छा भएको क्यानिडेटका रूपमा लिन्छ । इन्टरभ्यूमा सामेल हुनेले पनि कन्फिडेन्ट बटुल्न सक्छ भनेर सिकाउनुहुन्थ्यो । एमबीए अध्ययन गर्न जानुअघिको जिम्याटले पनि मलाई सहयोग गर्‍यो । जिम्याटमा पनि मल्टिपल प्रश्न हुन्छन् । गुरुहरूले पढाउँदा पहिले सरोकार नभएका उत्तरलार्ई हटाउँदै जाने र उत्तरको दायरा छोट्याउने भनेर सिकाउनुहुन्थ्यो । 

घरमा बसेर टिभीमा कार्यक्रम हेर्नु र हटसिटमा बस्नुबीच के फरक हुँदो रहेछ ?

मेरा लागि यो एउटा लाइफटाइम अनुभव भयो । टिभी अगाडि बसेर हेर्दा जुनसुकै प्रश्नको पनि जवाफ यो त सजिलो छ भनिन्छ । १२/१३ वटा प्रश्नसम्म त कुनै लाइफलाइन नै प्रयोग नगरी उत्तर दिन सकिन्छ भन्ने लाग्थ्यो, तर हटसिटको नाम त्यसै हटसिट राखिएको होइन रहेछ । क्रिकेट खेलमा मेरो सबैभन्दा प्रिय विधा हो । मैले खेलेको पनि हो । भन्नै पर्दा म क्रिकेटमै हुर्किएको मान्छे भन्दा पनि हुन्छ, तर क्रिकेटकै प्रश्नमा म केही अत्तालिएँ, दोमन भएँ । कारण त्यही हटसिट थियो । त्यहाँ बसेपछि यति धेरै प्रेसर हुँदो रहेछ, एस्पेक्टेसनहरू यति हुँदा रहेछन्, थाम्नै गाह्रो । साथीभाइ, घरपरिवार तथा चिनेजानेकाहरूको राम्रो गर्ने एस्पेक्टेसनले पार्ने प्रेसर त भैहाल्छ । त्यसका साथै महानायक राजेश हमालसँग सिधा अगाडि बसेर उत्तर दिनुपर्दा नर्भस हुनु स्वभाविक हो । यी सबै कुराले पेटमा पुतली डुल्दा रहेछन् । यो कुरा थाम्नै नसक्ने हुन्छ । त्यो त्यहाँ पुगेपछि मात्र थाहा हुन्छ । प्रेसर कुकरमा कसरी प्रेसर आउँछ भन्ने कुरा त्यही गएपछि थाहा पाइदो रहेछ । 

पहिले तपाईंलार्ई कति लेभलसम्म सहजै पुग्छु भन्ने लागेको थियो ?

नढाँटी भन्ने हो भने मलाई के लाग्थ्यो भने १० देखि ११ प्रश्नसम्म म कुनै पनि लाइफलाइन प्रयोग नगरी पुग्न सक्छु, तर हटसिटको कमाल मैले सामान्य प्रश्नमै लाइफलाइन गुमाइसकेको थिएँ । 

हिजोसम्म एउटा व्यापारी, आजदेखि त्यतिमा सीमित नभएर तपाईंले आफ्नो बौद्धिक क्षमता पनि प्रमाणित गर्नुभयो ? यसले केही फरक महसुस गर्नुहुन्छ ?

म एउटा साधारण परिवारबाट आएको मान्छे । मैले त्यसरी एनालाइसिस गरेको पनि छैन । म यो ठाउँसम्म आइपुग्नु नै ठूलो सौभाग्य हो । ममा आफूलार्ई प्रुफ गर्ने भित्री चाहना थियो, त्यो गरियो । व्यापार नै गरिएको छ र मेरो भविष्य पनि यही नै हो । मेरो करियरको डेभ्लपमेन्ट अन्त जान्छ भन्ने लाग्दैन । नयाँ अनुभव भयो त्यसको सुखद अनुभूति जीवनभर रहनेछ । 

१ करोडको प्रयोग केमा गर्नुहुन्छ ?

जसरी मेरा बुबा–आमाले शिक्षाका लागि कुनै कम्प्रोमाइज नगरी मलाई सहयोग गर्नुभयो, मैले मेरा सन्तानलार्ई पनि गर्नुपर्छ । त्यसपछि हाम्रो काका र भतिजाको टिमले व्यापारबाहेक समाजसेवा पनि गरिरहेको छ, त्यसमा पनि निश्चित रकम सहयोग गर्छु । आफ्ना व्यक्तिगत चाहनाहरू पनि छन् तिनीहरूमा पनि प्रयोग गरिन्छ ।

तपाईंले १० औं प्रश्नपछि धेरै कन्फिडेन्ट भएर ‘कि १ करोड लान्छु कि ३ लाख २० हजारमै चित्त बुझाउँछु, तर सम्झौता गर्दिनँ’ भन्नुभयो ? किन ? 

राजेश दाइले मलाई बारम्बार क्विट गर्दा यति लान सक्नुहुन्छ भन्नुभयो । मेरो सोचाइ पैसा धेरै थोकचाहिँ हो तर सबै थोक होइन भन्ने हो । उहाँले त्यसो भनेपछि मेरो त्यो अभिव्यक्ति आएको हो । मैले के सोचें भने करोडपतिको पहिलो सिजनमा १ करोडको जवाफ दिइसकेपछि जितें भने इतिहास रच्छु र हारेर ३ लाख २० हजार लिएर गएँ भने पनि मानिसहरूले मलार्ई सम्झिरहनेछन् । सायद १३/१४/१५ औं प्रश्नको उत्तर नमिलेको भए मलाई ९८ प्रतिशतले मूर्ख भन्थे होलान् । आइसकेको पैसा पनि गुमायो भन्थे होलान् । जिते पनि त्यो नेग्लिजेवल हुँदो रहेछ । बीचमा छोड्ने र अघि बढ्ने कुरालार्ई मैले तराजुमा राखेर तौलँदा मैले अघि जाने कुरा नै भारी देखें र अघि बढें । मैले इतिहास बनाउने कुरा मात्र सोचें । सम्भवतः त्यसैले यो सम्भव भयो, त्यसैले आँट दियो । 

यसअघि भारत गएर पनि केबीसीमा भाग लिन खोज्नुभएको थियो नि होइन ? 

दिल्ली युनिभर्सिटीमा अध्ययन गर्दा सन् २००३ मा सिजन टुका लागि मैले प्रयास गरेको थिएँ र कल आएर प्रश्नहरू पनि सोधिएको थियो । उत्तर मिलेका पनि थिए । त्यसपछि लक्की ड्र हुँदा म टप टेनमा पुग्न सकिनँ । भाग्यले मातृभूमिमा आएर इतिहास रच्न जुराएको रहेछ, राम्रै भयो । यहाँ पनि सरल तरिकाले भाग लिएको होइन । मैले अगस्ट २०१८ देखि नै ट्राई गरेको हुँ । ३८ एपिसोडसम्म पनि फोन नआउँदा सिजन १ मा पालो नआउला भन्ने लागेको थियो, तर एक्कासि फोन आयो र सबै कुरा सम्भव भयो ।

त्यसबीच कतिवटा एसएमएस गर्नुभएको थियो ?

ठ्याक्कै सम्झनचाहिँ सक्दिनँ, तर धेरै गरें । फेसबुकमा पनि प्याटर्नअनुसार जवाफ दिन्थें । घर बसीबसी लखपती बनौंमा पनि धेरै उत्तर पठाएको थिएँ । भाग्यले टपटेनमै पुर्‍यायो । 

तपाईंको रोलमोडल को हो ?

काका (कृष्णमुरारी कोइराला) सँग बुबाको पुरानो सम्बन्ध हो । उहाँसँग जन्मदादेखिकै सम्बन्ध हो । उहाँ मेरो शुभचिन्तक मात्र होइन, रोलमोडल पनि हो ।

 

दिनमा कति पढ्नुहुन्छ ?

बिहान साढे ५ बजे उठेर ब्याडमिन्टन खेल्न जान्छु । त्यसपछि आएर डेढ घण्टा पत्रपत्रिकाहरू अध्ययन गर्छु । त्यसमा रोचक कुराहरूमा मेरो बढी चासो हुन्छ । त्यसबाहेक इमेल, इन्टरनेटमा पनि नयाँ–नयाँ कुरा हेरिरहन्छु । आइक्यूसम्बन्धी कुनै नयाँ पुस्तक देखे त्यो पनि अध्ययन गर्छु । युट्युबमा भएका आईक्यूहरू हेर्छु । 

साहित्यमा कति रुचि छ ?

ठीकै छ, प्रायः फिक्सन पढ्छु । 

तपाईंको व्यवसायबाहेकको रुचिको क्षेत्र कुन हो ?

खेलकुद मेरो रोजाइको क्षेत्र हो, सामान्य ज्ञान पनि मेरो रुचिमा छ ।

तपाईंको मागी विवाह कि प्रेम विवाह ?

मागी विवाह हो । 

श्रीमान्–श्रीमतीबीच रुचिका आधारमा समानता र असमानता के–के छन् ? 

समानताको विषय खानपान हो । असमान भनेको म खेलकुद मन पराउँछु, उनी चलचित्रमा रुचि राख्छिन् । 

 

प्रकाशित :जेष्ठ ४, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्