कर्णालीको व्यथा बेचेर जीविका चलाउनेहरू

- विज्ञान राज

जेष्ठ ४, २०७६

प्रिय लेखक,

नमस्कार ! म तपाईंकी प्रिय पाठक (प्रिय नहुन पनि सक्छु) धन्सरा माझी । भुल्नु भयो ? म त्यही माझीकी श्रीमती, जसले तपाईंलाई कर्णाली तारेकी थिएँ । त्यही झुपडीकी छोरी, जसले तपाईंलाई ओत दिएकी थिएँ । त्यही कर्णालीको किनार, जसले तपाईंलाई डुब्नबाट बचाएकी थिएँ । सम्झिनुभयो कि भुलिसक्नुभयो ? होस्, धेरै जोड नदिनुहोस् बिचरो दिमागलाई । म त्यस्तो खास पात्र त होइन सम्झिनलाई वा सम्झिनै पर्ने वा यादमा रहिरहनुपर्ने । 

 यतिबेला तपाईं केही काम गरिरहनुभएको छ भने गरिसिध्याउनुहोस् । लेख्न बस्नुभएको हो ? त्यसो भए लेखेर सिध्याउनुहोस् अनि मज्जाले गफ गरौंला । 

‘सकियो !’ हुर्रे... कुरा सुरु गर्नुभन्दा पहिले के टक्य्राऊँ बियर कि रक्सी ? धत्तेरी म पनि के भएकी ? तपाईंजस्तो लेखकलाई चिया कि कफी भन्ने ठाउँमा म के सोधिरहेकी छु ? हेर्नु न, तपाईंको किताब पढेको दिनदेखि यता यस्तै फतफताइरहन्छु । के–के मनगढन्ते सोचेर टोलाइरहन्छु । 

अँ, मैले तपार्इंको किताब पढे । साह्रै राम्रो लाग्यो । सुरुमा पत्याउन सकिँन— तपाईंले नै लेख्नुभएको हो ? शरीर हेर्दा त लाग्दैनथ्यो । हुन त शरीरले के नै प्रभाव पार्छ र सोचमा ? ‘अनि कसरी पार्‍यो प्रभाव कर्णालीवासीको शरीरले देश विकासमा ?’ यो प्रश्न लेख्न छुटाउनुभएको रहेछ । अँ साँच्ची किन छुटाउनुभएको हो ? प्रकाशकले काटेर फ्यालिदियो कि तपार्इंले ? साँच्ची भन्नु न । खुसुक्क भन्नु न । यहाँ अहिले म एक्लै छु । बूढासमेत छैनन । भनिदिए केही रात निन्द्रा पर्थ्यो कि मेरा आँखामा !

 किताबमा छुटेछन्— जैसे कामी, पानसरा बौजु, वसन्ती र आशुरामहरूका छाती चिरिएका घरहरू ! कर्म जलेका भाग्यहरू !

 मेला गएकी पल्ला गाउँकी झुमाको लास त्यति लामो र गहिरो कर्णालीमा कसरी पौडिन पुग्यो ? यसको उत्तर लेख्न किन बिर्सिनुभएको ?

खेत रोपी रेल चढेर गएको भागिराम धान झुलिसक्दा, काटिसक्दा, फेरि रोपिसक्दा पनि किन आएन ?

वर्ष–वर्षमा सरकार फेरिन्छन्, तर वर्ष–वर्षमा तुइन किन फेरिँदैनन् हाम्रो गाउँको ? अँ त्यो तुइनबाट खसेको एक टुक्रो देउडा गीत बग्दैबग्दै काठमाडौं आएको छ । कर्णाली भुलेर त्यो त्यहाँ ठमेल बजारका डान्सबारमा घन्किन्छ रे हो ?

भेट्टाउनुभयो कि— नागरिताको नाम ‘दुःखीबहादुर’लाई सच्याएर ‘सुखीबहादुर’ बनाउन आएका दुःखी बहादुरहरूलाई ?

 किन फर्कायो खाडी जाने विमानले— झोलामा हरियो कर्णाली बोकेर उडन तयार हर्क बहादुरहरूलाई ?

 यदि उकाली–ओरालि नबोकिदिएका भए खच्चरहरूले, नदि नतारिदिएका भए तुइन, डुङ्गा र झुलुङ्गे पुलले, पानी ल्याउन घण्टौं नहिडिदिएका भए भाँडाकुडाहरूले, मेलापात नगरिदिएका भए डोकाहरूले, नखनिदिएका भए खेत बाउसा अनि हलोहरूले र स्कुल गएर तातो पानी नतताईदिएको भए स्कुले हातहरूले अन्तिम सास फेरिरहेकी आमाले आफूभन्दा पर– भाँडा माझीरहेका आफ्ना श्रीमान्लाई सम्झन पाउने थिइनन् ! आफूभन्दा पर— छाउँघरमा छटपटाइरहेका छोरीहरू सम्झन पाउने थिइनन् र धेरै पर मरुभूमिको तातो बालुवामा भलभल उम्लिरहेका छोराहरू सम्झिन सक्ने थिइनन् । 

ती खच्चड, डोका, भाँडाकुडा, आँसी, हलो र बाउँसाहरूका त्याग र आहुती किन त्यति गहन रूपमा सम्बोधन नगर्नुभएको किताबमा ?

 एकछिन है । तिर्खा लाग्यो । कर्णाली जुठो बनाएर पानी पिउँछु । 

लेखकज्यू, तपाईंसँग के लुकाउनु ? यहाँ त आफ्नो देशको राष्ट्रिय गान, राष्ट्रिय फूल, राष्ट्रिय जनावर, राष्ट्रिय खेल, राष्ट्रिय रङ र राष्ट्रिय झन्डासमेत सम्झने फुर्सद छैन । 

 सुदुर गाउँबाट आएको सुत्केरी आमाको चीत्कार, भीरबाट खस्दाखेरिको पिडादायक सुस्केरा, तुइन चलाउँदाको कनाइ र भात बोकेर उडेको हवाईजहाज नआएपछिको बालकहरूको अनुहारलाई राष्ट्रिय गित मानेका छन कतिले । 

 भारी बोकेर उकाली–ओराली गर्नु, तुइन, डुङ्गा र झोलुङ्गे पुलबाट नदी तर्नु, बिरामि बोक्नु, भोकै बस्नु, मृत्युसँग मितेरी लगाउनु यहाँका लोकप्रिय खेल हुन् । 

 थाहा नै छ, तपाईंलाई पनि, दुःखको रूखमा प्रायः फुल्ने फूल भनेकै दुःखको हो । दुःख नै यहाँको राष्ट्रिय फुल हो । दुःखको रङ यदि भोकै सुतेको रातजस्तै हुन्छ भने रात हाम्रो राष्ट्रिय रङ हो । तपाईंको र हाम्रो राष्ट्रिय झन्डामा यति मात्र फरक छ— सिम्रिक रङ भएको ठाउँमा हामीले रात पोतेका छौ । चन्द्रमा र सूर्यलाई हँसाउनुभएको ठाउँमा हामीले रुवाएका छौं । 

 

तपाईंहरू उडेको सपना देख्नुहुन्छ । हामी त उड्दा–उड्दै पखेटाविहीन भएको सपना देख्छौ । अमेरिका, पैसा, सुख तथा प्रेमिकाहरू आउँछन् तपाइका सपनामा । हाम्रा त त्यही परको भीर, तलको तुइन, माथिको खेत, त्यही छेउको मेलो, भीर भएर जाने मिलको बाटो, परदेशी हुन गएका घरदेशीहरू आउने साँझ बस यिनैयिनै । सपनामा यी नआएका दिन, मरिएछ कि भनेर मध्यरातमा आफूलाई धेरै बेरसम्म छामछुम पारिरहन्छौ । 

 हेर्नु न अस्ति मेरो बूढाले माछा नै नल्याई घर फर्किए । त्यस रात हामी भोकै सुत्यौं । जालबाट फुत्केर आएको माछो ‘कालोकालो सेतोसेतो’ छ । कतै प्रधानमन्त्रीको डिनरमा त छैन ? हेर्नुहोस् त एकफेर ? छ भने सुटुक्कै बाग्मतीबाट पठाइदिनुहोला है । हामी कर्णालीको माझमा डुङ्गामाथि टोलाएर माछा आउने बाटो हेरी बसेका छौं ? डुबेर कुन बेला हामी किनारमा तारिन्छौं, थाहा छैन । 

यदि प्रधानमन्त्रीले माछा फर्काउन आनाकानी गर्नुभयो, खान सुरु गरिहाल्नुभयो भने, भनिदिनू— कर्णाली प्रदेशमा कर्णाली नदी अनशन बसेको छ । यसलाई पनि हेलिकप्टरमा हालेर अनसन तोडाउने त होला नि है ?

 पहिले–अहिले चुनाव जितेपछि नेताहरूले गाँउ भुल्थे ? खुब गाली गर्थ्यौं । नेताबाहेक अरु सबै गतिला हुन कि भन्ने लाग्थ्यो ? तर हामी भ्रममा रहेछौं । अरु पनि नेता जस्तै फटाहा, जाली र स्वर्थी रहेछन् । 

 जस्तै तपाईं, हो तपाईं । तपाईं हाम्रो गाँउमा आउनुभयो । दुःख निहाल्नुभयो । अभाव भोग्नुभयो । पीडाहरू बोकेर फर्किनुभयो काठमाडौं । केही दिन गुप्तबास बसेर किताब लेख्नुभयो । छपाउनुभयो । भब्य होटलमा भव्य विमोचन गराउनुभयो र कुर्न थाल्नु भयो रोयल्टी । ग्रहण गर्न थाल्नुभयो रोयल्टी । रोयल्टी जसबाट तपाईको जिविका चल्छ हो त्यो रोयल्टी किताब बेचेर होइन कर्णाली बेचेर आएको हो । भ्रममा नबस्नुहोला लेखकज्यू । कर्णालीका चरम दुःख, गरिबी तथा विकटता बिकेका हुन् । नकि ती तपाईंका बोक्रा शब्दहरू ? फुस्रा गफहरू ?

 नरिसाउनुहोला, मेरो प्रिय लेखक तर हबिगत यहि हो कि तपाईंले पनि बेच्नुभयो कर्णालीलाई । थपिनुभयो कर्णाली बेचेर इमान, चर्चा र जीविका चलाउने लेखकहरूको अनुसूचीमा । मदेखि खुब रिस उठेको होला है तपाईंलाई । जाँड खाएर लेखेकी हो कि ? सोच्नुभएको होला । हो जरुर पिएकी छु आँसु ! खाएकी छु चोट मुछेर पीडा ! हल्काफुल्का आँसु लागेको होला । थोरैथोरै पीडा लागेको होला । त्यसैले पो लेखिए होलान खाली आँसु र पीडा मात्र । यसमा मेरो के दोष ?

 बिन्ती ! यो पत्र नच्यातनु होला । च्याते च्यातिनेछ तपाईंकै हातबाट कर्णालीको कर्म । जो म हेर्न चाहन्न— आफ्नो भाग्य आफ्नै प्रिय लेखकबाट च्यातिएको ।

बरु सक्नुहुन्छ भने फेबिकल किनेर यो पत्र सिंहदरबारका चारै गेटमा टाँसिदिनुहोला र पठाईदिनुहोला फेबिकल हामीलाई पनि । फेबिकल किन्ने पैसा कर्णाली बेचेर आएको रोयल्टीबाट घटाउनुहोला । कतै त्यो फेबिकलले ( चिरिएको हाम्रो भाग्य टालिन्थ्यो कि ? भत्किएको झोलुङ्गे फुल टालिन्थ्यो कि ? फुटेका डाँडा जोडिन्थेँ कि ? सियो पनि पठाइदिनु होला है, घरका छाती सिउन सकिन्थेँ कि ? कर्णाली नदी हाम्रो आँसुबाट बगिरहेको छ, आँखा सिउन सकिएको भए ?

 तपाईंकी पाठक

 धन्सरा माझी

प्रकाशित :जेष्ठ ४, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्