विजय बराललाई ठाडो प्रश्न, मिडियासँग सधै किन भागेको ?

- रामजी ज्ञवाली

जेष्ठ २, २०७६

 

विजय बराल थिएटरमा जमेका कलाकार हुन् । डिग्री माइला, सिरूमा नानी, माइलो, बिल गेट्स, मितज्यु लगायत दर्जनौं नाटकमा काम गरिसकेका बराल पछिल्लो समय चलचित्रमा पनि जमेका छन् । उनले हुर्रे, पण्डित बाजेको लौरी, छड्के, साँगुरो, हाउ फन्नी, कर्कश, बधशाला, मौन, कबड्डी, कबड्डीमा देखिएका छन् । दयारानी, माछा माछा, कबड्डी कबड्डी कबड्डीमा प्रदर्शन हुन बाँकी नै छन् । पछिल्लो समय नेपाली चलचित्रमा व्यस्त हुँदै गएका बराललाई दर्शकहरूले कबड्डीको विके भनेर धेरै चिन्छन् । उनै कलाकार बरालसँग गरिएको  गफगाफको सम्पादित अंश :

सर, के छ खवर ?

खबर ठिकै छ । मेरो खबर राम्रो बनाउनका लागी बिहान देखि साँझसम्म खटेर लागिरहेको छु ।

खासै मिडियामा आउनुहुुन्न नि, तपाई भागेको कि मिडियाले नखोजेको ?

मिडियामा आउनका लागी मैले त्यस्तो विशेष के काम गरेको छु र ? तर, मिडियाले बोलाएको खण्डमा म भागेको छैन ।

नाटकमा जम्नुभएको मान्छे, पर्दामा हिरोइज्म देखाउन कतिको गाह्रो रहेछ ?

त्यस्तो हिरोइज्म देखाउने किसिमको काम गरेको छैन । तर, मुख्य भुमिकामा काम गर्न धेरै खट्नुपर्छ । दर्शकको मन जित्न खटेर मात्रै हुँदैन, नयाँ पन दिन सक्नुपर्छ । पर्दामा हेर्दा जस्तो सहज छैन अभिनय ।

लिड क्यारेक्टरमा कहिलेकाहि असन्तुष्ट नभएको लाग्छ ?

वास्तबमा लिड क्यारेक्टरका लागि अझै मैले धेरै मिहिनेत गर्नुपर्छ भन्ने महसुस भएको छ ।

अभिनयप्रति काठमाण्डौं झरेपछि रुची गएको हो या सानैदेखि थियो ?

सानैदेखि हो । कक्षा ८ मा पढ्दादेखि विभिन्न ब्यक्तीका क्यारिकेचर गर्न थालेँको हुँ । विभिन्न नेताको अभिनय गर्थेँ । बेला मौकामा क्यारिकेचर गरेर देखाउँथे, धेरैले मन पराउँथे । सबैले अभिनय गर्न सक्छस् भन्न थालेपछि हौसिएर काठमाण्डौं छिरिहालेँ । त्यसपछि अभिनय यात्रा प्रारम्भ भयो ।

चलचित्र र थिएटरमा तपाईंले के फरक देख्नुभएको छ ?

धेरै फरक छ । नाटकमा तुरुन्तै प्रतिक्रिया पाउन सकिन्छ । एक्टिङ गर्ने एउटै हो तर थिएटरमा लाउडनेस हुन्छ र चलचित्रमा सफ्ट हुन्छ । क्यामेरामा हामी ढाँट्न सक्दैनौं । भिजुअल नजिक भएकाले स–साना कुरामा ख्याल गर्नुपर्छ । चलचित्र टेक्निकल हो । सानो कुरामा पनि धेरै ख्याल गर्नुपर्छ । बिग्रियो भने बर्बाद हुन्छ । इमेज खत्तम हुन सुरु हुन्छ । तर मलाई दुबैतिर काम गर्न मज्जा लागिरहेको छ ।

तपाईं चलचित्र र नाटकलाई सँगसँगै लैजानुभएको छ, गाह्रो पर्दैन ?

समय ब्यवस्थापन गर्न सक्ने हो भने हरेक कुरा सम्भब हुने रहेछ ।

सुरुमा नाटक गर्नुभयो अथवा चलचित्र ?

सुरुमा म नाटक सुरु गरेँ । त्यतिबेला छड्के चलचित्र निर्माण हुँदैथियो । त्यतिबेला अडिसन खुलेको थाहा पाएँ, म गएँ । अडिसन दिएपछि मलाई उहाँहरुले लिनुभएको थियो ।

चलचित्र क्षेत्रमा आएर कहिलेकाहि गल्ती गरें जस्तो लागेको छ ?

त्यस्तो त लागेको छैन । तर, पछिल्लो समय धेरै चलचित्रकर्मीहरुले दर्शकलाई ढाँट्ने किसिमले चलचित्र निर्माण गरिररहेका कारण मलाई दुःख लागिरहेको छ । जसले पनि धेरै राम्रो चलचित्र बनाएका छौं भन्दै दर्शकसम्म पुग्नुभएको हुन्छ तर त्यस किसिमको चलचित्र हुन्न । सोहि कारण दर्शक भड्कीएका पनि छन् । तर, चलचित्र क्षेत्रको फ्युचर भने राम्रो देखेको छु ।

यो क्षेत्रमा आउँदा जसले पनि निकै मिहेनत गरें, दुःख गरें भन्छन् । तपाइको जिवनमा कत्तिको कठिन भयो ?

सबैका कथा र ब्यथा उस्तै–उस्तै हुन् । कतिले भन्छन्, कतिले भन्दैनन् । यो क्षेत्रमा आएर दर्शकसम्म जानका लागी सामान्य परिश्रमिले पुग्दैन ।

प्रेममा हुनुहुन्छ या हुनुहुन्न ?

अहिलेसम्म प्रेममा छैन ।

कस्तो खालको युवतीले ध्यान तान्छ ?

बोल्ड किसिमको युवतीले ध्यान तान्छ । पर्सनालिटी हेर्दा नै बोल्ड देखिने, बौद्धिक कुरा गर्ने किसिमको युवती भयो भने अरु के चाहियो ?

अहिलेसम्म प्रेम नहुनुको कारण ?

स्कुल, कलेज पढ्दा लाज लाग्ने । ब्याचलर पढ्दा पनि खासै युवतीहरुसँग नजिक हुन सकिएन । काठमाण्डौं आएर थिएटरमा भर्ना भएपछि बल्ल बोल्न थालेँको हुँ ।

केटी साथी हुनुपपर्छ भन्ने लाग्दैन ?

आजभोली लाग्न थालेको छ । सबै कुरा सेयर गर्न मिल्ने, दुःख सुख साट्न मिल्ने खालकी युवती भएको खण्डमा ठिकै हो ।

अन्त्यमा, जिवनमा त्यस्तो कुनै लक्ष्य छ राख्नुभएको छ ?

जिवनमा टार्गेट लिएर हिड्यो भने मानवता हराउँदै जान्छ । प्रेम र सद्भाव हुन्न । मानिस एक्लो हुन्छ । अरुलाई पनि खुसी बनाएर अगाडि बढ्न सकियो भने आफु पनि खुसी हुन सकिन्छ । वास्तबमा खुसी भन्दा धेरै ठुलो कुरा संसारमा केहि छैन । मलाई खुसीका साथ जिवन बाँच्न पाए हुन्छ जस्तो लाग्छ ।

 

प्रकाशित :जेष्ठ २, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्