डेरा जिन्दगी

- अधिकारी रवीन्द्र

जेष्ठ २, २०७६

सम्पूर्ण जिन्दगीहरू ब्रह्माण्डको कुनै कुनामा अवस्थित डेरामा घनघोर मोहजालको गुँड बनाएर यो तेरो र यो मेरो भन्ने भ्रममै जिउँछन्, जुन कुरा ऊ जन्मिनुअघिदेखि नै यो धर्तीमा छ भने त्यो कसरी उसको हुन सक्छ ? उसको आफ्नो भनेका ती कुरा मात्र हुन जुन ‘कथित मेरो भनिने’ चिज/वस्तुलाई उपयोग गरी उसले आफ्नै बनिबुताले सिर्जना गरेको होस् । त्यो भनेको कुनै आविष्कार हुन सक्छ, कुनै दर्शन हुन सक्छ वा कुनै काव्य, कृति, संरचना हुन सक्छ, जुन यो दुनियाँका लागि नयाँ हुनुपर्छ । त्यो कुरा इज्जत वा ब्रान्ड पनि हुन सक्छ जुन विशुद्ध उसको नाममा आओस् ।

विशाल भूमण्डलमा नश्वर जिन्दगी असंख्य डेराहरू सरिरहने अस्थायी डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्छ कि यो जगत् नै उसको शरीरका लागि एउटा अघोषित डेरा थियो अथवा यो पृथ्वी सकल प्राणीहरूको अनन्त कालसम्मको अस्थायी थलो हो । बिस्तारै क्षण, दिन, सप्ताह, महिना र वर्षहरू बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमन्ड जुबिली हुत्तिएर मृत्यु आफूलाई स्पर्श गर्न आइपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागे पनि डायमन्ड जुबिलीमा पदार्पण गर्दा आफूले भोगेका र देख्दै आएका परिवर्तनहरू हेर्ने हो भने आफू बेग्लै ग्रहमा उभिएजस्तो महसुस हुन सक्छ । १० वर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकपटक दर्शन गर्ने हो भने बिल्कुलै नौलो भैसकेको छ । अब यही डेरा आगामी ८० वर्षमा कस्तो होला ? थप ८० वर्षमा कसको होला? 

सम्पूर्ण जिन्दगीहरू ब्रह्माण्डको कुनै कुनामा अवस्थित डेरामा घनघोर मोहजालको गुँड बनाएर यो तेरो र यो मेरो भन्ने भ्रममै जिउँछन्, जुन कुरा ऊ जन्मिनुअघिदेखि नै यो धर्तीमा छ भने त्यो कसरी उसको हुन सक्छ ? उसको आफ्नो भनेका ती कुरा मात्र हुन जुन ‘कथित मेरो भनिने’ चिज/वस्तुलाई उपयोग गरी उसले आफ्नै बनिबुताले सिर्जना गरेको होस् । त्यो भनेको कुनै आविष्कार हुन सक्छ, कुनै दर्शन हुन सक्छ वा कुनै काव्य, कृति, संरचना हुन सक्छ, जुन यो दुनियाँका लागि नयाँ हुनुपर्छ । त्यो कुरा इज्जत वा ब्रान्ड पनि हुन सक्छ जुन विशुद्ध उसको नाममा आओस् ।

उदाहरणका लागि केही कसैबाट खरिद गर्दैमा त्यो चिज कहिल्यै आफ्नो हुँदैन । त्यो चिजले स्वामित्वको डेरा सारेको मात्र हो । किनभने प्रथमतः किन्नका लागि प्रयोग भएको पैसा नै मिथ्या हो । जब पैसा नै कहिल्यै आफ्नो हुँदैन भने त्यसबाट खरिद गरिने चिज कसरी आफ्नो हुन सक्छ ? एकछिनका लागि तपाईं गोजीमा १० हजार लिएर हिंड्नुहोस्, केही दिन वा क्षणमै वस्तु वा सेवाको सटहीमा त्यो पैसा बाँड्दै हिंड्नुपर्छ । जस्तै त्यसको केही हिस्सा खलासीले बुझ्छ, केही तिरोतारो गर्दा सकिन्छ । यो सत्य एउटाका लागि मात्र होइन, सबैमा लागू हुन्छ । खलासीले पनि हामीबाट लिएको पैसा अन्ततः अरूलाई बुझाउँदै हिंड्नुपर्छ ।

यसरी गोजीमा राम्रोसँग जम्न नपाउँदै अरूलाई दिनुपर्ने पैसालाई कसरी आफ्नो भन्नु ? 

किनबेच भनेको पदार्थहरूको सटही मात्र हो र जीवनरूपी अस्तित्वले प्राणहीन पदार्थउपर स्वामित्व ग्रहण गरेँ भन्ठान्नुँ बालुवाको घरमा विराजमान हुनुजस्तै हो । हुरी आएपछि बालुवाको घर केही बाँकी रहँदैन । यहाँ हूरीलाई मृत्सुँग तुलतना गर्नुहोस्, जसको आगमनसँगै कसैको केहीको स्वामित्व बाँकी रहँदैन । वस्तु, चिज, पदार्थ वा जमिनलाई क्षणिक रूपमा चल्ती गर्न पाउँदैमा त्यसको स्थायी अधिकार उसमा आएको हुँदैन । 

एवं रीतले डेरा स्थायी हो भने डेरावाल स्वभावैले अस्थायी हुन् अनि जिन्दगीहरू यहाँ एउटा डेरालाई आफ्नै सम्झेर त्यसैलाई केन्द्रबिन्दु बनाई घुमिरहन्छन् । उसलाई त्यो डेरामा अड्याउन सहयात्री डेरावालहरूले अनेकन् अदृश्य डोरीले बाँधेका हुन्छन् । जसरी बाँधेको घोडा जति उफ्रिए पनि जति दौडिए पनि तबेलाको वरिपरि नै हुन्छ, ठीक त्यसैगरी हरेक जिन्दगी डेराको वरिपरि घुम्दै एउटा जिन्दगी पूरा गर्छन् । यो भोगाइमा अरू सहयात्री डेरावालहरूले उसलाई तरह–तरहले साथ दिएका हुन्छन् ।

जबकि खाएको खानासमेत वास्तवमा आफूले आफैंभित्र समाविष्ट गर्न सकिँदैन भने अरू चीजको के कुरा ? किनभने विचार गर्नुहोस्, हामीले खाएका चिज हामीभित्र दब्दैनन्, केवल ती पदार्थको स्थानान्तरण र रूपान्तरण हुने हो । धन छउन्जेल मेरो भनेर चढ्ने गाडी भोलि निर्धन भएपछि अर्कैको भैदिन्छ । यौवन छउन्जेल मेरी भनिएको सुन्दरी पनि भोलि उमेर घर्किएपछि अर्काको हुन सक्छिन् । बल छउन्जेल मेरो भनेको जागिर भोलि अर्कैको भैदिन्छ । यसरी प्रत्येक जिन्दगीले शाश्वत चिज वा सत्यमाथि क्षणिक सम्बन्ध स्थापित गर्दै डेरावालको भूमिका निर्वाह गरिरहेका हुन्छन् र यी डेरावाल भाडाका रूपमा सिङ्गो जिन्दगी नै सिध्याएर कहिल्यै नफर्कने गरी यो संसारबाट बिदा हुन्छन् ।

 

प्रकाशित :जेष्ठ २, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्