तीजका गीत रेकर्ड गराउँदैछु

- साप्ताहिक संवाददाता

जेष्ठ १, २०७६

 कला पंगेनी, गायिका

सांगीतिक व्यस्तता कस्तो छ ?

रेकर्डिङदेखि सांगीतिक कार्यक्रमहरूमा सहभागिता जनाउने क्रम जारी छ । अहिले चाहिँ तीजका गीत रेकर्ड गराइरहेकी छु ।

तीज लागिसक्यो र ?

तीज आउन केही महिना बाँकी भए पनि हामी संगीतकर्मीहरूलाई केही महिना पहिलेदेखि नै तीज लाग्छ ।

यसपटकको तीजमा कस्ता गीत ल्याउँदै हुनुहुन्छ ?

मैले हरेक वर्षका तीजमा एक–एकवटा गीत ल्याउँदै आएकी थिएँ । यसपटक दुर्गा पंगेनी तथा नरेन्द्र बस्नेतको शब्द तथा लय संकलनमा दुई भिन्न गीत रेकर्ड गराउँदैछु ।

तपाईंका चलेका तीज गीत कुन–कुन हुन् ?

मैले हालसम्म १४ वटा तीज विशेष गीत गाएकी छु । तीमध्ये गत वर्ष गायक बद्री पंगेनीसँगको चिटिक्कै मलाई सुहायो तथा परार सालको पार्टी घरैमा गीत श्रोताहरूले बढी मन पराउनु भएको थियो ।

तपाईंको राष्ट्रिय भाव बोकेको गीत त खुबै चल्यो होइन ?

पशुपति शर्मासँग गाएको जोगाउनु छ कालापानी..युट्युबमा १० लाखभन्दा धेरै पटक हेरिएको छ । त्यसबाट मैले चारवटा एवार्ड समेत जिते ।

लोकदोहोरीको क्रेज बढेको हो कि घटेको ?

विगतको तुलनामा त बढेकै भन्नु पर्छ । लोकदोहोरी गीतका आफ्नै श्रोता छन् । सांगीतिक कार्यक्रममा सहभागिता जनाउने क्रममा दर्शकहरूले दर्शाउनु भएको मायाबाटै लोकेदोहोरीको क्रेज मापन गर्न सकिन्छ ।

लोकदोहोरी स्रष्टाको आर्थिक पाटो पनि उकासिएको हो ?

आधा दशकयता चलेका लोकदोहोरी गायक–गायिकाले मनग्गे आम्दानी गरिरहेका छन् । अधिकांश गायक–गायिकाका आफ्नै युट्युब च्यानल छन्, त्यहाँबाट आम्दानी समेत भैरहेको छ । त्यसबाहेक देश–विदेशमा आयोजना हुने सांगीतिक कार्यक्रमले पनि हाम्रो जीवनस्तर उकासेको छ ।

अरू विधाका गीत नगाउने ?

लोकदोहारी गायिकाकै रूपमा स्थापित भएकाले अन्य विधाका गीत गाउन भ्याएकी छैन । नढाँटी भन्नु पर्दा मलाई आधुनिक शैलीका गीत गाउने रहर छ । चाँडै नै त्यो रहर पनि 

पूरा गर्दैछु ।

प्रकाशित :जेष्ठ १, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्