अरूबाट प्रभावित भइएला भन्ने डर लाग्छ

- जनक तिमिल्सिना, महेश तिमल्सिना

जेष्ठ १, २०७६

पशुपतिप्रसादमा भष्मे डनको भूमिकापछि विपिन कार्कीको नेपाली चलचित्रमा बेग्लै ब्रान्ड बन्यो । रंगमञ्च हुँदै चलचित्रमा आएका मोरङका ३६ वर्षीय विपिन त्यसपछि सबैतिर खोजिने अभिनेता मात्र भएनन्, उनी महँगा अभिनेतामा समेत दरिए । एकपछि अर्को राम्रा र ठूला बजेटका चलचित्रमा अभिनय गरिरहेका विपिन अहिले चलचित्र जात्रैजात्राको प्रमोसनमा ब्यस्त छन् । जेठ ३ गते प्रदर्शनमा आउने उक्त चलचित्रमा पनि उनी मुख्य भूमिकामा देखिनेछन् । छोटो समयमै १३ वटा चलचित्रमा अभिनय गरिसकेका विपिनसँग उनको चलचित्र यात्रा, अभिनय रुचि, पृष्ठभूमि आदि विषयमा केन्द्रित रहेर साप्ताहिकका लागि जनक तिमिल्सिना र महेश तिमल्सिनाले गरेको कुराकानी :

नेपाली चलचित्रमा तपार्इंको माग उच्च छ, के आधारमा चलचित्र छनौट गर्नुहुन्छ ?

चलचित्र छनौटका लागि मेरो एउटै आधार छ । त्यो हो चलचित्रको कथा । म चलचित्रको कथा गहिरोसँग अध्ययन गर्छु, कथा मन पर्‍यो अर्थात् मलाई आफू त्यो पात्रमा डुबेर अभिनय गर्न सक्छु भन्ने लाग्यो भने मात्र म कामका लागि तयार हुन्छु । त्यसबाहेक म निर्देशक र अन्य कलाकार केही पनि हेर्दिनँ ।

 

सफल चलचित्रका लागि निर्देशक तथा अन्य कलाकारहरूको पनि भूमिका हुन्छ नि होइन ?

हुन्छ, तर मैले चाहिँ पहिलो पटक हेर्ने भनेको स्क्रिप्ट नै हो, अरू भनेका पछिका कुरा हुन् । निर्देशक तथा कलाकार राम्रो भएको एउटा टिम छ, तर चलचित्रको कथा राम्रो छैन भने मैले त्यो टिमसँग काम गरेको कुनै अर्थ हुँदैन । चलचित्र सफल हुन कथा नै राम्रो हुनुपर्छ । कुनै एउटा राम्रो निर्देशकले मलाई चलचित्रमा काम गराउँछु भन्नुभयो भने म हतारमा निर्णय गर्दिनँ । पहिले स्क्रिप्ट पढ्छु त्यो स्क्रिप्टको पात्रमा आफूलाई भेटें र यो कथामा राम्रो अभिनय गर्न सक्छु भन्ने आफूलाई नै विश्वास दिलाउन सकें भने मात्र अभिनयका लागि तयार हुन्छु । मेरा लागि निर्देशक, कलाकार र टिम भनेका कथा पछिका कुरा हुन् ।

महँगो पारिश्रमिक लिने अभिनेतामा पर्नुहुन्छ, नेपाली कलाकारका लागि चलचित्रको बजार राम्रो बन्दै गएको हो ? 

मार्केट राम्रो भएको हो कि होइन भन्ने कुरामा म आफैं दोधारमा छु । किनभने यहाँ अरू कलाकारले लिएजति पारिश्रमिक मैले नलिएको हुनसक्छ अथवा मैले पाएको पारिश्रमिक अरू कसैले लिन नसकेको अवस्था पनि होला । कसले कस्तो काम गरेको छ भनेर छुट्ट्याइदिने भनेको दर्शकले नै हो । त्यसैले केही कलाकारका लागि मार्केट राम्रो बन्दै गएको होला, तर सबैका लागि होइनजस्तो लाग्छ । किनभने यहाँ जो अगाडि आउँछ, जसले राम्रो काम गर्छ अनि जसलाई दर्शकले रुचाइदिनुहुन्छ । उहाँहरू नै अगाडि आउनुभएको छ र आउनु पनि पर्छ ।

कलाकारको बजार भाउ के ले निर्धारण गर्छ ? 

कलाकारको बजार भाउ निर्धारण गर्ने त्यस्तो कुनै मापदण्ड त छैन, तर धेरैजसो कलाकारको बजार भाउ उसले गरेको कामका आधारमा निर्धारण हुन्छ । यो मात्रै पूर्ण पनि होइन, उसको फ्यान फलोइङ, कलाकारलाई दर्शकले हेर्ने नजर, सेल्फ कन्फिडेन्सजस्ता कुराले नै उसको बजार भाउ निर्धारण हुन्छ । अझ कतिपय अवस्थामा कुनै कलाकारलाई निर्देशकले नै यति दिन्छु भन्न सक्ला । कुनै कलाकारले आफूले त्यति पारिश्रमिकको अपेक्षा गरेको हुँदैन, तर निर्माता–निर्देशकले तपाईंलाई यति छुट्ट्याइदिएका छौं भन्यो भने उसले त्यही प्रचार गर्न सक्छ । म इमान्दारीका साथ भन्छु एउटा कलाकारको बजारमा राखिएको सामानको जस्तो फिक्स प्राइस हुँदैन । कुनै पनि कलाकारले सम्बन्ध र समझदारीका आधारमा पनि काम गर्नुपर्ने हुनसक्छ । 

थिएटर हुँदै चलचित्रमा आएको कलाकारका रूपमा थिएटर र चलचित्रलाई कसरी वर्णन गर्नुहुन्छ ?

यी दुवै अभिनयका विधा हुन्, तर केही टेक्निकल कुरा फरक छन् । नाटक भनेको नाटक नै हो चलचित्र भनेको चलचित्र नै हो । यी दुई कहिल्यै एउटै हुन सक्दैनन् । किनभने यी दुई माध्यम नै छुट्टै हुन् । थिएटरमा कलाकारहरूले प्रत्यक्ष अभिनय गरेर दर्शकलाई आनन्द दिन्छन्, चलचित्रमा त्यस्तो हुँदैन । चलचित्र पहिले नै छायांकन गरिन्छ । नाटकको कथामा रहेर चलचित्र बनाउन सकिन्छ भने चलचित्रको कथामा पनि नाटक तयार पार्न सकिन्छ । मैले नाटकमा प्रत्यक्ष अभिनय गरिरहेका बेला आँखा झिम्क्याउनु गाह्रो कुरा हो, त्यो आँखा झिम्क्याएको दर्शकलाई देखाउनु पनि छ तर चलचित्रमा त्यसो गर्न गाह्रो हुँदैन, किनभने लेन्स परिवर्तन गरेर पनि देखाउन सकिन्छ । त्यसैले चलचित्र एउटा निर्देशकको हातमा हुन्छ भने थिएटरमा कलाकारको हात ठूलो हुन्छ । 

चलचित्र पशुपतिप्रसादमा भष्मे डनको भूमिकामा अभिनय गर्नुभयो, चलचित्र प्रसादमा बाबुरामको भूमिकामा देखिनुभयो ? तपाईंको करियरलाई युटर्न दिने भूमिकाचाहिँ कुन हो ?

मैले नाटकमा अभिनय गर्दा नै त्यहाँ थोरै दर्शक भए पनि सबैले मेरो कामको प्रशंसा गर्नुहुन्थ्यो । जसले गर्दा म एक दिन सफल अभिनेता बन्छु भन्ने त्यतिबेलै लागेको थियो । किनभने नाटकमा अभिनय गर्दा त्यो वाहवाही पाएँ भने चलचित्रमा काम गर्दा आफू सन्तुष्ट भएर काम गरे पक्कै सफल हुन्छु भन्ने कन्फिडेन्स थियो, तर टर्निङ प्वाइन्टचाहिँ जब मलाई दर्शकले चिन्नुभयो, उहाँहरूले रुचाइदिनुभयो त्यसलाई भनिँदो रहेछ । ‘पशुपतिप्रसाद’को भष्मे पात्रमा अभिनय गरेपछि मलाई कसैले नचिनेपनि मेरो त्यो पात्रलाई नचिन्ने दर्शक विरलै हुनुभयो । त्यसपछि मैले जात्रामा मूख्य भूमिकामा अभिनय गर्ने अवसर पाएँ । त्यसभन्दा अघि मैले मुख्य भूमिकामा अभिनय गर्ने अवसर पाएको थिइनँ । किनभने मलाई कसैले विश्वास पनि गर्दर्नैथे । पशुपतिप्रसादमा अभिनय गरेपछि चाहिँ मलाई चलचित्र क्षेत्रमा अघि बढ्न थप हौसला मिल्यो र सहज पनि भयो । त्यसैले मलाई युटर्न दिने पात्र अर्थात् भूमिका चलचित्र ‘पशुपतिप्रसाद’को ‘भष्मे डन’ हो । भष्मे डनले मलाई वृहत दर्शकमाझ पुर्‍याइदियो भने चलचित्र जात्राले मेरो काम गर्ने क्षमतामाथि विश्वास थप्ने काम गर्‍यो । किनभने चलचित्र जात्रापछि मैले सबै चलचित्रमा मुख्य भूमिकामा अभिनय गर्ने मौका पाएको छु । त्यसैले मेरो अर्को युटर्न भनेको चलचित्र जात्रा पनि हो । 

कति सालमा काठमाडौं आउनुभएको हो ? 

म २०५६ सालमा अध्ययनको सिलसिलामा काठमाडौं आएको थिएँ । 

सुरुमा काठमाडौं आउँदा कस्तो लाग्यो ? 

काठमाडौं आइसकेपछि त अचम्मै लाग्यो नि । केही समय बसेपछि केही दिन घुमेर फर्किनुपर्ने ठाउँ रहेछ जस्तो लाग्यो । भद्रगोल र अस्तव्यस्त, म तराईमा हुर्किएको हुनाले पहाड देखेको थिइनँ । पहाड भनेको सुनेको मात्र थिएँ । यत्रो पहाड कसरी हुन्छ भन्ने लाग्यो । काठमाडौं पुगेपछि दाइसँग बसेर आरआर क्याम्पसमा भर्ना भएँ । अध्ययनका क्रममा नाटकप्रति रुचि जाग्यो । पढ्दै जादा नाटक हेर्न पनि पाइन्छ भन्ने थाहा भयो । त्यसपछि नाटक हेर्न गुरुकुल जान थालें । त्यसपछि नाटकमा मेरो झुकाव बढ्न थाल्यो । केही समयपछि नाटकमा काम गर्छु भन्दा केही चिनेजानेका दाइहरूले गाली गर्नुहुन्थ्यो, किनभने त्यतिबेला नाट्य क्षेत्र सुस्ताएको अवस्थामा थियो । तैपनि मेरो झुकाव नाटकप्रति नै रह्यो ।

 

अरु पनि केही काम गर्नुहुन्थ्यो कि ? 

२०६० साल तिरको कुरा हो । स्नातक तहमा अध्ययनरत छँदा मैले एउटा मदिरा पसलमा काम थालें । त्यहाँ म डिस्टिब्युटरका रूपमा काम गर्थें । मेरो व्यापार एकदमै राम्रो हुन्थ्यो । म छड्के हान्थें । मेरो मासिक तलब १ हजार ६ सय थियो, तर म दिनमै सोह्र सय कमाउँथें । मेरो व्यापार गर्ने शैली र व्यापार राम्रो हुँदै गएपछि म माथि अन्य कम्पनीको पनि आँखा पर्‍यो । कम्पनीको जागिर एकदमै व्यवस्थित हुन्छ भनेर कम्पनीको काम गर्न थालें, तर कहिँ पनि लामो समय टिक्न सकिनँ । किनभने मेरो झुकाव कला साहित्यतर्फ बढिसकेको थियो । तैपनि केही काम गर्नुपर्छ भनेर अफिस परिवर्तन गर्दा–गर्दा हैरान भएपछि आफैं केही गर्छु भनेर बिजनेस गर्न थालें । म अर्डर अनुसारको काम गर्थें । यो काम करिब तीन महिनाजति गरें । त्यसपछि एउटा सटर लिएर एउटा गाडी किन्ने सोंच बनाएको थिएँ । घरबाट चाहिँ रक्सी बेचेर हुँदैन अष्ट्रेलिया जानुपर्छ भन्ने दबाब आउन थाल्यो । अनि म सबै छाडेर आइएलटिएस गर्न थालें । आइएलटिस गर्दा पनि नाटक हेर्ने मेरो रुचि फेरिएन । म नाटक हेर्न गुरुकुल पुग्थें । त्यही क्रममा शिवरात्रिको दिन म गुरुकुल गएको थिएँ । त्यहाँ कसलाई नाटकमा अभिनय गराउने भन्ने विषयमा कुराकानी भैरहेको रहेछ । मलाई त्यहाँ सबैले चिनेकाले म जाने बित्तिकै यो छ त यसलाई खेलाउनु न भनेर साथीहरूले भने । त्यहाँ सडक नाटकका लागि मान्छे चाहिएको रहेछ । त्यतिबेला मसँग कुनै काम थिएन, पैसा पनि थिएन । जसले गर्दा पैसा कमाउनुपर्छ नाटक नगरौं कि भन्ने लाग्यो । केही समय सोंचेपछि पैसा भन्दा पनि मेरा लागि यो समयमा नाटक खेल्न पाउनु ठूलो कुरा हो भन्ने निर्णयमा पुगें म । २०६४ सालको चुनावको प्रचारप्रसार गर्न जनचेतनामूलक सडक नाटक थियो त्यो । त्यो नाटक गाउँ–गाउँमा गएर ५५ वटा शो देखाउनुपर्ने थियो जसबापत ५ हजार ५ सय रुपैयाँ पैसा पनि पाइने रहेछ । मैले काठमाडौं, भक्तपुर र ललितपुरका ५५ ठाउँमा सडक नाटकमा अभिनय गरें । त्यसपछि गुरुकुलबाट ५५ सय रुपैयाँ पनि पाएँ । त्यो नै मैले नाटकबाट पाएको पहिलो पारिश्रमिक थियो । केही समय पछि मैले गुरुकुलमै जागिर पाएँ । म त्यहाँ सेटमा काम गर्न थालें । 

सानोमा भविष्यको सपना के थियो ? 

मेरो त्यस्तो कुनै सपना थिएन । आमाको चाहिँ मलाई डाक्टर बनाउने चाहना थियो । त्यसैले आमा छेउछाउ भएको समयमा कसैले भविष्यमा के बन्ने इच्छा छ भनेर सोध्यो भने डाक्टर भनिदिन्थें । त्यो केही समयमात्र रह्यो, तर कहिल्यै यो बन्छु भन्ने सपना बोकेर हिडिन । बाल्यकालमा गाउँमा पनि मैले केही नाटकमा अभिनय गरेको थिएँ, तर अभिनेता बन्ने सपनाले होइन । 

चलचित्रको स्त्रिप्ट सम्झने क्षमताको विकास कसरी गर्नुहुन्छ ? 

कुनैपनि चलचित्रमा अभिनय गर्ने विषयमा कुराकानी भएपछि मैले सबैभन्दा पहिले पढ्ने भनेको स्क्रिप्ट नै हो । पहिलो पटक छड्केमा अभिनय गर्दा पनि मैले तीन महिना स्क्रिप्ट अध्ययन गरेको थिएँ । जसले गर्दा छड्केमा मैले बोलेका प्रत्येक डायलग मलाई अहिले पनि सम्झना छ । त्यसबाहेक अहिलेसम्म अभिनय गरेका प्रत्येक चलचित्रमा मैले बोलेका हरेक संवाद मलाई अहिले पनि याद छ । म अहिले पनि नबिराई भन्न सक्छु । यो क्षमता मैले आफूले नै विकास गरेको हुँ । किनभने लेखकले डायलग लेखेपनि कलाकारले त्यो डायलगलाई आफ्नो बनाउनसक्नुपर्छ भन्ने मान्यता राख्छु म । यो मेरो स्टायल हो । डायलग उच्चारण गर्ने शैलीमा हरेक चलचित्रमा फरकपन ल्याउने मेरो चाहना हो ।

अहिलेसम्म अभिनय गरेमध्ये तपाईं आफैंलाई मन परेको चलचित्र कुन हो ? 

मैले थुप्रै चलचित्रमा अभिनय गरें । तीमध्ये हरि मेरो जीवनको उत्कृष्ट चलचित्र हो । व्यपारिक हिसाबले चलचित्र घाटामा गयो होला, तर म एउटा कलाकार भएको नाताले मैले त आफ्नो कामको कदर गर्ने हो । मैले हरिबाट धेरै कुरा सिक्ने मौका पाएँ । त्यसैले मलाई सबैभन्दा मनपरेको चलचित्र हरि नै हो । पछि मैले चलचित्र प्रसादमा अभिनय गरेँ । त्यस बीच मैले नाटकमा पनि अभिनय गरेको छु । मैले केही समय अघि दुईवटा नाटकमा अभिनय गरेको थिएँ । त्यसैले भन्न चाहन्छु चलचित्र क्षेत्रमा आए पनि मैले नाटकलाई बिर्सिएको छैन । 

फुर्सदमा के गर्नुहुन्छ ? 

पुस्तक पढ्छु । गितार बजाउँछु । कविता लेख्छु । कहिलेकाहीँ परिवारसँग घुम्न पनि जान्छु । अहिले चाहिँ एउटा पुस्तक लेख्न थालेको छु । 

​​​​​​​

कस्तो पुस्तक ? 

मैले अहिलेसम्म अभिनय गरेका क्यारेक्टरहरूसँग सम्बन्धित रहेर लेख्दैछु, तर यो बायोग्राफी होइन । 

कस्ता पुस्तक बढी रुचाउनुहुन्छ ?

यतिबेला चाहिँ कविता बढी मन परिरहेको छ । कविताले थोरै शब्दमा धेरै कुरा भन्छ । त्यसैले कविता पढ्न रुचाउँछु । 

नेपाली चलचित्र कत्तिको हेर्नुहुन्छ ? 

अहिले त्यति चलचित्र हेरेको छैन । किनभने आफ्नो कुरालाई त्यागेर अरुको कुरा कपि गर्नतिर लाग्छु कि जस्तो लाग्छ । त्यसैले आफ्नो कुरा ल्याउँदा पो फ्रेस हुन्छ त अरुको फिल्म हेरेर त्यसकै सिको गर्न थालें भने त्यो त कपि हुन्छ, त्यसैले नहेरौं जस्तो लाग्छ । यद्यपि पहिले–पहिले भने म अत्यधिक चलचित्र हेर्थें । यतिसम्म कि दिनमा ४ वटासम्म चलचित्र हेरेको छु । अहिले पनि कसरी चलचित्र बन्दो रहेछ भनेर राम्रो काम हेर्नुपर्छ जस्तो लाग्छ, फेरि त्यसरी चलचित्र हेर्न जाँदा अरुबाट प्रभावित भइन्छ कि भन्ने डर पनि लाग्छ । त्यसैले म डिटेलमा चलचित्र हेर्दिनँ । 

तपाईँको दैनिकी कसरी बित्छ ? 

म बिहान ५ देखि ५ः३० सम्म उठिसक्छु, नित्यकर्म सक्छु । दुई चार किलोमिटर दौडन्छु । फर्किएपछि समाचार पढ्छु, तर सुटिङका बेला मेरा यी सबै सेडुअल परिवर्तन हुन्छन् । सुटिङको समयमा स्क्रिप्टमा ध्यान दिएको हुन्छु । भोलि गर्ने कुनै सिन छ भने म आजैदेखि तयारी गर्छु । किनभने सुटिङमा जानुभन्दा पहिले मैले एकपटक स्क्रिप्ट पढ्नैपर्छ । यसरी परिपक्व भएर गएँ भने सुटिङ स्पटमा मैले कसैसँग पनि झुक्नु पर्दैन । 

फिटनेसमा कत्तिको ध्यान दिनुहुन्छ ?

केही पनि गर्दिनँ । 

तपाईंलाई मन पर्ने खानेकुरा ? 

मलाई पिरो नभएको सबै खानेकुरा मनपर्छ । 

पहिरन कस्तो मन पर्छ ? 

पहिरनको मामलामा जति कन्सस हुनुपर्ने हो त्यति छैन । चलचित्रमा काम गर्ने मानिसमा ग्लामर हुनुपर्ने हो त्यो थाहा छ, तर त्यतातिर ध्यानै जाँदैन । पहिरन बाहिर ढाक्ने आवरण मात्र हो । यो कुराले जीन्दगीमा कुनै अर्थ राख्दैन । जीवनमा नाम राख्ने भनेको कामले हो । 

गीत संगीत कत्तिको सुन्नुहुन्छ ? 

धेरै सुन्छु, धेरैजसो क्लासिकल गीत सुन्छु, नेपाली गीत बढी रुचाउँछु । 

नेपाली कलाकार सम्झनुपर्दा क—कसलाई सम्झनुहुन्छ ? 

हरिवंश आचार्य, सुनिल पोखरेल, सौगात मल्ल आदि धेरै कलाकार मन पर्छन् । उहाँहरू जस्ता अरू पनि थुप्रै हुनुहुन्छ अहिले सम्झना आएन । 

सामाजिक सञ्जाल कत्तिको चलाउनुहुन्छ ? 

हेर्छु मात्रै खासै चलाउँदिन । 

कुन–कुन सामाजिक सञ्जालमा तपाईंको एकाउन्ट छ ? 

इन्स्टाग्राम र फेसबुकमा मेरो एकाउन्ट छ । 

सबैभन्दा मन पर्ने ठाउँ ? 

मलाई हिमाली क्षेत्र बढी मनपर्छ । तीमध्ये पनि गोसाइँकुण्ड जाऊँ–जाऊँ लाग्छ । 

चलचित्र जात्रैजात्रा कस्तो बनेको छ ?

यो पूर्ण रुपमा व्यावसायिक चलचित्र हो । यसमा भरपुर कमेडी र सस्पेन्स छ । यो चलचित्र जात्राको सिक्वेल भएकाले जात्राकै फ्लेवर पनि आउँछ । यो चलचित्र आम दर्शकलाई ध्यानमा राखेर बनाइएको हुनाले धेरैले रुचाउनुहुन्छ भन्ने विश्वास छ ।

तपाईं कुन भूमिकामा हुनुहुन्छ ? 

मैले अहिलेसम्म कुनै पनि पात्र दोहोर्‍याएको छैन, तर सिक्वेल स्टोरीको डिमान्ड अनुसार फडिन्द्र तिम्सिना पात्रको भूमिकामा अभिनय गरेको छु । जात्रामा भएका कमी कमजोरीलाई सुधार्ने प्रयास गरेको छु । 

प्रकाशित :जेष्ठ १, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्