अपराधको बदलिंदो प्रवृत्ति 

- हेमन्त मल्ल

वैशाख ३१, २०७६

पछिल्ला तीन आर्थिक वर्षको अपराध ट्रेन्ड हेर्दा पहिलेको तुलनामा अपराधको ग्राफ उकालो लागिरहेको पाइन्छ । ०७२/७३ मा अपराध १ दशमलव ७६ प्रतिशतले बढेको देखिन्थ्यो । त्यो ०७३/७४ मा बढेर १० दशमलव १५ प्रतिशत भयो । ०७४/७५ मा आउँदा झन्डै दोब्बर बढी करिब २४ दशमलव ९६ ले अपराधका घटना वृद्धि भए । चालू आर्थिक वर्षका ९ महिनामा करिब ३८ प्रतिशतले अपराध वृद्धि भएको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष नसकिएकाले यो आर्थिक वर्षको अपराध तथ्यांकमा अझै केही तलमाथि हुने सम्भावना छ । घट्छ कि बढ्छ अहिल्यै निष्कर्ष निकाल्न सकिँदैन, तर अहिलेसम्मको ट्रेन्ड हेर्दा अघिल्लो आर्थिक वर्षको तुलनामा अपराधका घटनामा झन्डै ३५ प्रतिशत वृद्धि हुने अनुमान गर्न सकिन्छ । 

पछिल्ला वर्षहरूमा महिला तथा बालबालिकामाथि हुने अपराध एकदमै बढेको पाइन्छ । यो वर्ष त महिला तथा बालबालिकामाथि अपराधका अनपेक्षित घटना घटे । बलात्कारजस्तो सभ्य समाजमा कल्पनै गर्न नसकिने घटनाले देशलाई वर्षभरि नै तरंगित बनायो । बलात्कारका घटनामा मानवीयता नै हराएको देखियो । वृद्धआमा तथा नाबालक छोरीहरूमाथिको बलात्कार सभ्य समाजका लागि अकल्पनीय र क्रूर विषय हुन् । यद्यपि त्यस्ता घटनाले वर्षभरि नै हाम्रो समाजलाई नराम्रोसँग हल्लायो । यो वर्ष सामाजिक अपराध पनि बढेको पाइन्छ । आर्थिक क्रियाकलापमा देखिएको वृद्धिले हुन सक्छ आर्थिक अपराध ग्राफ पनि उकालो लागिरहेको छ । संगठित अपराध पनि बढेको छ । यो वर्ष महिला तथा बालबालिकामाथि हुने अपराध, सामाजिक अपराध, संगठित तथा आर्थिक अपराधका घटना बढी भएको तथ्यांकले देखाउँछ । 

रोचक कुरा के छ भने असुरक्षाका कारणले अपराध वृद्धि भएको देखिँदैन । सुरक्षा र क्राइम वृद्धि फरक कुरा हुन् । एकतिर क्राइम बढिरहेको छ, तर मानिसहरूले असुरक्षाको अनुभव गरिरहेका छैनन् । क्राइम ग्राफ वृद्धि भैरहेका बेला पनि मानिसहरूले सुरक्षित फिल गरिरहेका छन् । काठमाडौं पनि निकै सुरक्षित बन्दै गएको छ । यहाँ मानिसहरू निसंकोच रातविरात हिँडडुल गर्छन्, काठमाडौंमा केही कुराको डर छैन । यसले मानिसहरूले आफूलाई सुरक्षित महसुस गरेको देखाउँछ । देशभर पनि आमनागरिकले असुरक्षित महसुस गरेको पाइँदैन । 

तैपनि, अपराधका घटनामा किन वृद्धि भैरहेको छ त ? यसमा पर्याप्त अध्ययन/अनुसन्धान हुनुपर्ने हो, तर हामीकहाँ यस्तो अध्ययन–अनुसन्धान गर्ने चलन छैन । अपराधको बढ्दो ट्रेन्ड रोक्ने वा त्यसको निराकरण गर्ने उपायका बारेमा कसैले केही सोच्दैन, तर महिला तथा बालबालिका अपराधमा वृद्धि भयो भनेर सबै कराएको मात्र सुनिन्छ । रोक्न के गर्ने, कसरी इन्टरभेन्सन गर्ने र कसरी घटाउने भन्ने विषयमा कसैको ध्यान गएको पाइँदैन । यसमा सरकारले पनि प्रयास गरेको देखिँदैन । विदेशतिर क्राइम बढ्यो वा घट्यो भने प्रशस्त अध्ययन–अनुसन्धान गर्ने चलन छ । अध्ययन गरेर कसरी कहाँ नियन्त्रण गर्ने उपाय निकालिन्छ । अपराध निराकरण गरी अपराधमुक्त समाज निर्माणका लागि राज्यले अपराधको मूलको गहन अध्ययन/अनुसन्धान गर्नुपर्छ, तर नेपालमा अहिलेसम्म त्यस्तो अनुसन्धान गर्नेतर्फ राज्यले पहल गरेको पाइँदैन । अपराध न्यूनीकरणमा प्रहरीको भूमिका प्रमुख हुन्छ, त्यसमा विवाद छैन, तर अपराध नियन्त्रणका लागि प्रहरी मात्र पर्याप्त हुँदैन । हरेक समाज र व्यक्तिको पनि अपराध न्यूनीकरणमा उत्तिकै भूमिका हुन्छ । 

समाज कता गैरहेको छ ? के कारणले अपराधमा वृद्धि भैरहेको छ ? भन्ने प्रश्नको जवाफ खोज्नु अत्यावश्यक भैसकेको छ । अहिले महिला तथा बालबालिकामाथिका अपराध, संगठित अपराध तथा आर्थिक अपराधमा वृद्धि भएको देखिन्छ । अपराधका जस्ता प्याटर्नहरू देखिएका छन्, त्यसमा पूर्ण दोष प्रहरीलाई मात्र दिएर हुँदैन । अपराधको बढ्दो ग्राफका विभिन्न कारण हुन सक्छन् । नेपाली समाज एक दशक लामो द्वन्द्वपछि अर्थात ०६३ को लोकतान्त्रिक प्रक्रियापछि कताकता हल्लिएजस्तो, समाजिक संरचना भत्किएजस्तो देखिन्छ । समाजमा चौतर्फी रूपमा बढिरहेको असन्तुष्टिले पनि त्यही देखाउँछ । अहिले हरेकमा असन्तुष्टि छ । स–साना कुरामा ‘रियाक्ट’ गर्नु नेपालीहरूको बानी होइन, यो एकदमै सहनशील जात हो । यद्यपि अहिलेको नेपाली समाजमा सहनशीलता हराएको छ । जता पनि विरोध गरिहाल्ने, असन्तुष्टि व्यक्त गरिहाल्ने प्रवृत्ति बढेको छ । अपराधमा पनि यो कुरा ‘रिफ्ल्याक्ट’ हुन्छ । समाजमा बढिरहेको उद्दण्डता र असन्तुष्टि पनि अपराधको कारण हो । सहनशीलता नभएको तथा असंवेदनशील समाजमा अपराधका घटना बढी हुन्छन् । पछिल्ला वर्षमा हाम्रो समाज पनि संवेदनहीन भैरहेको देखिन्छ । यो सामाजिक चरित्रले कहीं न कहीं अपराधका घटनाको वृद्धिमा सहयोगी भूमिका खेलिरहेको छ । 

प्रहरीप्रति पनि आममानिसको गुनासो छ । अनुसन्धान गरेको छ कि छैन् जस्ता प्रश्न उठ्ने गरेका छन् । प्रहरीमा पनि राजनीतीकरण बढी, विभागभन्दा बाहिरबाट विभाग चलिरहेजस्तो पनि देखिन्छ । प्रहरीभित्र पनि केही कमजोरी छन्, लिडरसिपमा रहेकाहरूको पनि केही कमी–कमजोरी होलान । प्रहरीभित्रको करिअर प्रमोसन र सरुवामा पनि गुनासो आइरहेको छ । त्यो ‘कम्पीटेन्सी’मा पनि झल्किन्छ । काम किन गर्ने भन्नेमा झल्किन्छ । पुलिसले पनि बाटो बिराएजस्तो देखिन्छ । संघीयताले पनि यसमा असर पारेको होला । आफूले काम गरेअनुसार परिणाम निस्किएन् भने काम किन गर्ने भन्ने पनि हुन्छ । त्यसैले प्रहरीको क्रियाशीलतामा गिरावट आएको छ । 

प्रहरीको काम जटिल प्रकृतिको हुन्छ । काम गर्दा कहिलेकाहीं विभागीय गल्ती स्वाभाविक हुन्छ । त्यस्ता विभागीय गल्तीमा कुन तहसम्मको दण्ड दिने भन्ने कुराले पनि महत्व राख्छ । ३३ किलो सुनकाण्डमा पनि त्यस्तै देखियो । जोखिम लिएर काम गर्दा त्यस्तो भयो । त्यो घटना नै भद्रगोल गराइयो, जोखिम लिएर सकारात्मक प्रयास गर्ने अधिकृतहरूलाई जुन किसिमले ‘ट्रिट’ गरियो, त्यसबाट सिंगो प्रहरी संगठनको मनोबलमा असर पर्‍यो । अब कोही जोखिम मोल्न चाहँदैनन् । जबकि गम्भीर अपराधमा प्रहरीले जोखिम लिनैपर्छ, जोखिम नलिने हो भने त्यसको परिणाम आउँदैन । केही घटनामा प्रहरीबाट पनि कमजोरी भएका छन्, जस्तो निर्मला पन्त हत्या प्रकरणमा प्रहरीले घटनाको ‘टेकओभर’ गर्न गल्ती गरेकै हो, तर त्यो घटनाको अनुसन्धान प्रक्रियामाथि सम्रगतामा प्रहार भयो । त्यो घटनाको अनुसन्धान प्रक्रिया नै गिजोलियो । अनुसन्धान प्रक्रिया गिजोलिएपछि त्यसले परिणाम दिन सक्दैन । कञ्चनपुर घटनाको अनुसन्धानमा बाहिरी पक्षको जसरी हस्तक्षेप भयो, त्यसले घटनालाई अझ गम्भीर बनायो नै अनुसन्धानलाई पनि अप्ठ्यारोमा पारिदियो । 

बितेका केही वर्षयता साइबर क्राइमका घटना निकै तीव्र गतिमा बढेको पाइन्छ । साइबर क्राइम नियन्त्रणका लागि विद्युतीय कारोबार ऐन छ, तर ऐनको अस्पष्टताले फनि साइबर क्राइमको चुनौती बढाइरहेको छ । साइबर त्राइम के हो, के गरे साइबर क्राइम हुन्छ भन्नेमा अहिले ठूलो विवाद छ । अहिलेको अवस्थामा स्पष्ट साइबर कानुन हुनुपर्छ । अर्कातर्फ, इन्टरनेटमा भएको अभूतपूर्व क्रान्तिले सबै मानिसको पहुँच साइबर स्पेशमा भयो । यद्यपि उनीहरू साइबरमा के गर्ने, के नगर्ने भन्नेमा सचेत भएनन् । साइबर सुरक्षाप्रति प्रयोगकर्ताहरू सचेत नहुनाले पनि साइबर क्राइमका घटनामा वृद्धि भएको हो । के गर्दा अपराध हुन्छ, कसरी चलाउने भन्ने विषयमा पनि सचेत हुन जरुरी छ । यही सचेतताको अभावमा पनि कतिपय साइबर क्राइम हुन पुग्छन् । यसले साइबर शिक्षा पनि महत्वपूर्ण विषय भैसकेको देखाउँछ । 

अर्कातर्फ, प्रहरीसँग अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिको अभाव फनि छ । साइबर क्राइम बढिरहेको छ, तर यसको जटिल त्राइम नियन्त्रणका लागि प्रहरीसँग पर्याप्त दक्ष जनशक्ति र प्रविधीको अभाव छ । जटिल अपराधका घटनाको अनुसन्धानका लागि पनि प्रहरीसँग पर्याप्त साधन–स्रोत पनि छैन । यसले पनि अपराधको न्युनीकरणमा कहीँकतै प्रभाव पारेको हुन सक्छ । 

(नेपाल प्रहरीका पूर्व डिआईजी मल्लसँग गरिएको कुराकानीमा आधारित)

 

प्रकाशित :वैशाख ३१, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्