नाटकमा अभिनय गर्ने रहर

- साप्ताहिक संवाददाता

वैशाख २९, २०७६

पोखरा थिएटरको गन्धर्व नाटकघरमा लगातार दुईवटा नाटक मञ्चन भयो । एउटा नाटक मञ्चन हुनेबित्तिकै दर्शकदीर्घामा बसेकाहरू स्टेजतिर गए । स्टेजमा भएकाहरू दर्शकदीर्घामा आए । नाटकमा अभिनय गर्ने स्कुलमा अध्ययनरत विद्यार्थी थिए । उक्त नाटक मञ्चन हुने कुरा कसैलाई भनिएको थिएन ।

त्यसैले पनि दर्शकदीर्घामा अरू कोही देखिएनन् । केही विद्यार्थी भने थिए । दुवै नाटक मञ्चन भएपश्चात् पालैपालो त्यसमा भएका गल्ती–कमजोरी औंल्याउन उपस्थित सबै जुटे । किनभने उनीहरू व्यवसायिक कलाकार थिएनन् । उनीहरू त केबल नाटकमा गरिने अभिनय सिक्दै थिए । कमजोरी थाहा पाइसकेपछि उनीहरू थप उत्साहित भए अनि लागे सुर्धानतिर ।

अदिति कोइरालाको निर्देशनमा दिप्सन श्रेष्ठ, आदित्य तिमिल्सिना, विपास्ना भण्डारी, स्वस्ति गुरुङ, रिजन केसी, समृद्धि रेग्मी, सुप्रिया पौडल, एन्जल कार्कीले नाटक देखाए । उनीहरूको नाटक सन्देशमूलक थियो । अभिभावकले आफ्ना बाबुनानीलाई खाली पढ–पढ मात्र भन्नु हुँदैन, उनीहरूलाई अरूका बालबालिकासँग दाँज्दा बालबालिकामा नकारात्मक प्रभाव पर्न सक्छ । आफ्ना सन्तानलाई अरूसँग दाँज्ने होइन, आफैसँग प्रतिस्पर्धा गर्न लगाउनुपर्छ भन्ने सन्देश उनीहरूको नाटकमा समेटिएको थियो । धनी र गरिबबीच भेदभाव गर्नु हुँदैन भन्ने सन्देशसमेत उक्त नाटकले बोकेको थियो । निर्देशकको जिम्मा पाएकी अदितिले नाटक सिक्दा रमाइलो लागिरहेको बताइन् । काठमाडौंकी अदितिले मामाघर आउँदा कार्यशालामा भाग लिने सौभाग्य जुराएकी हुन् । कम्प्युटर र मोबाइलमार्फत अंग्रेजी नाटक हेरे पनि अदितिले थिएटरमा पुगेर नाटक हेरेकी थिइनन् । 

ओजस्वी थापाको निर्देशनमा अर्को नाटक देखाइयो । ओजस्वी गौतम, समन गुरुङ, सुर्य कुइँकेल, रोहित केसी, अंकित तिमिल्सिना, समिरा थापा, आभा पौडेल, सेविजा खत्री आदि उक्त मञ्चमा देखिए ।

उनीहरूले अभिभावक गुमाउँदा बालबालिकामा पर्ने मानसिक पीडालाई नाटकमार्फत देखाउने प्रयास गरे । सबैको प्रयासमा नाटक सोचेजस्तै बन्यो— निर्देशनको जिम्मा पाएकी ओजस्वी थापाले भनिन् । ९ कक्षामा अध्ययनरत थापाले थिएटरमा आएर अहिलेसम्म नाटक भने हेरेकी छैनन् ।

कार्यशालाका कारण अब नाटक हेर्ने जोस बढेको उनले बताइन् । दुई दिनको तयारीमा देखिएको पर्फमेन्सबाट सबै सन्तुष्ट थिए । साथीहरूले केही कमजोरी बताइदिँदा उनीहरूले खारिने अवसर पाए, गल्ती सुधारे पनि । 

करिब २५ जना बालबालिका त्यहाँ अभिनय सिक्न पुगेका थिए । केही पहिल्यै नाटक हेरेका पनि थिए, कोही भने नाटकका बारेमा बल्ल थाहा पाउँदै थिए । कति त थिएटरमै पहिलो पटक पुगेका पनि थिए ।

नाटक तथा अभिनयप्रति आकर्षित गराउन बालबालिकालाई केन्द्रित गरेर कार्यशाला सञ्चालन गरिएको थिएटरका अध्यक्ष परिवर्तनले बताए । बालबालिकाप्रति आएको रंगमञ्चको आकर्षणले आगामी दिनमा रंगक्षेत्रप्रति नयाँ पुस्ताको आकर्षण वृद्धि हुने कुरामा थिएटर सञ्चालक दिलप्रसाद गुरुङ आशावादी छन् ।

राजाराम पौडेल

प्रकाशित :वैशाख २९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्