यात्रुको वर्गीकरण

- नवीन दाहाल

वैशाख २९, २०७६

मेरो इयरफोनमा चन्ना मेरे आ गीत बजिरहँदा बसको साउन्ड बक्सबाट अरिजित सिंह अच्छा चल्ता हुँ भन्दै चिच्याइरहेका थिए, र पनि म चढेको गाडी कोटेश्वरबाट टसमस गरिरहेको थिएन । मःमका लागि तराईबाट काठमाडौ ल्याइने भैंसी–राँगाझैं नेपाल यातायात्को खलासीले मान्छे कोचेको कोच्यै थियो । हरेक दिन उभिएर यात्रा गर्दा–गर्दा बानी परेको मलाई आज चै खपिनसक्नु गर्मी महसुस भयो । पछाडि ढाडतिर टिसर्ट लुथ्रुक्कै भिजिसकेको थियो । जिन्दगीमा आमा–बुबाको आज्ञा मैले त्यति मानेको छैन, जति यी सहचालकले भनेको टेरेको छु, पछाडि सर्ने सहचालकको ठाडो आदेशलाई भद्र अनुरोधका रूपमा स्वीकार गरी म बारम्बार पछाडि सर्दै थिएँ । 

करिब १५ मिनेटपछि बस बामे सर्न थाल्यो । म सर्दा–सर्दा यति पछाडि पुगेँ कि जडीबुटी पुग्दासम्म मैले गाडीमा माथितिर हात समाउन राखिएको डन्डी टुंगिसकेको थियो । आफ्नो जीउ थाम्ने अन्तिम सहाराका रूपमा मैले सिटलाई लिए अनि त्यसमै अडेस लागेर उभिएँ । अब यहाँ १५ मिनेट नरोकी गाडी कुद्ने वाला थिएन । हैन कस्तो सारो रोक्या हो, यो गाडी ? यत्रा मान्छे छन् त अझ कति ठोस्नुपरो ? मान्छेलाई याँ ऐठन भैसक्यो । ज्याकेट लगाएका अनि ठूलो झोला भिरेर उभिरहेका एक अधबैँसेले झोक्किँदै भने । उनको कुरा सबैलाई चित्त बुझेको थियो, तर कोही बोलेनन् । सबैलाई बानी जो पर्‍या थियो । उनी सायद नयाँ थिए काठमाडौंका लागि, नत्र जो–कोही यसरी झोक्किने आँट गर्दैनन् अथवा वास्तै गर्दैनन् ।

भुइँमा मेरा खुट्टा कसको खुट्टामाथि परेको थियो पत्तो थिएन, कतैबाट गन्ध त कतैबाट बास्ना आइरहेको थियो । बसेका यात्रुमध्ये कोही निदाएका थिए अथवा निदाएजस्तो गर्दै थिए, कोही मोबाइल चलाउँदै थिए । कहिले कसको काखीमुनि नाक पर्छ पत्तो नहुने, कहिले कसले कुइनोले पछाडिबाट ढाड खुस्कने गरी हिर्काउँछ भेउ नपाइने । केही मिनेटका यस्ता यात्रामा जामका कारण घण्टौं बिताउनुपर्ने हुन्छ र त्यसबीच अनेकन किस्सा देख्न पाइन्छ । कतिपय रमाइला, कतिपय झर्को लाग्ने, कतिपय यादगार अनि कतिचाहिँ मन छुने किसिमका । 

गाडीमा एक किसिमका मानिस भेटिन्छन् जो अरूलाई दुःख होला कि भनेर खुब पिर लिन्छन्, जो अरूबाट जोगिएर उभिएका हुन्छन्, अरूलाई भएको अप्ठ्यारोलाई पनि बुझ्ने प्रयास गर्छन् र कहिलेकाहीं गाडीभित्र उभिएर पनि यात्रु व्यवस्थापनमा सहजीकरण गर्छन् । वृद्धवृद्धा, काखेनानीसँगकी आमा, बिरामी, अशक्त, अपांगहरूप्रति यस्ता मानिसको सहानुभूति हुन्छ ।

आफू बसेको भए सिट छोडिदिनु, उभिएको भए आरक्षित सिटमा बसेका सपांगहरूलाई नम्र भाषामा उठिदिन अनुरोध गर्नु यस्ता मानिसको स्वभाव हुन्छ । एक जना सरकारी जागिर खाने महिला हुनुहुन्छ, उहाँ बेलुकाको समयमा बानेश्वरबाट फर्कंदा कहिलेकाहीँ हामी सँगै पर्छौं । गाडीमा चढेपछि उहाँलाई चाँडोभन्दा चाँडो सिटमा बस्नैपर्छ । कुनै मानिसले खल्तीमा हात हालेर पर्स निकाल्न लाग्यो भने ओर्लिन लागेको थाहा पाउने अनि आत्तिएर उसको सिटको अगाडि गएर उभिहाल्ने, भरसक आफूचाहिँ बसिहाल्न खोज्ने । जसका लागि उहाँ एक–दुई जना मानिसलाई पेल्न, खुट्टा टेक्दै घुस्रन पनि पछि पर्नुहुन्न । हालत जे होस्, उहाँलाई बस्नैपर्छ र बसेपछि ङिच्च हाँस्नु पनि हुन्छ । 

अर्का किसिमका यात्रु हुन्छन् जसलाई अरूसँग बाल मतलब हुदैन । आफू बस्न पाए भयो । यस्ता मानिस प्रायः गरी १५ देखि २५ वर्ष उमेर समूहका हुन्छन् । कोहीचाहीं काठमाडौंका लागि नयाँ हुन्छन्, कोही यतैका रैथानेजस्ता । यिनीहरू जुन सिटमा मन लाग्यो त्यहीं बसिदिन्छ्न महिला, असक्त, जेष्ठ नागरिकजस्ता आरक्षित सिट त झन् यिनको प्यारो सिट हो । अटेर वर्ग नाम दिन सकिने यिनीहरू झोक्की स्वभावका, कसैको कुनै कुरा नसुन्ने किसिमका हुन्छ्न । महिलावादी यात्रुहरूको पनि आफ्नै हुकुमत छ ।

यस्ता यात्रु जो महिला सिटमा अरू जो–कोही बसेको देख्यो कि उठ्न भनिहाल्छन । युवा, अधबैंसे, वृद्ध जसलाई पनि यो हाम्रो सिट हो, तपाईं उठिदिनु भनिहाल्छन् अनि उठाएर आफू थपक्क उक्त सिटमा बस्छन् । चाहे परिस्थिति जे होस्, यस्ता महिलालाई आफ्नो अधिकारको विषयमा वकालत गर्दा बडो गर्व महसुस हुन्छ, यद्यपि सबै महिला त्यस्ता हुँदैनन् । 

अर्को एउटा वर्ग छ सार्वजनिक बसमा यात्रा गर्ने, त्यो हो— लोकसेवा, विभिन्न संस्थानदेखि लिएर कोरियन, जापनिज भाषाको परिक्षाको तयारी गरिरहेका— फ्रस्टेटेड बेरोजगार वर्ग । यिनीहरू प्रायः एक्लै हुन्छन, गाडीमा शान्त रूपमा बस्छन् । भद्र स्वभावका यिनीहरूमा बेग्लै तनाव हुन्छ, परिवार र आफ्नो भविष्यलाई लिएर सोचमग्न देखिने यिनीहरू सिटमा बसेका छन् भने अगाडि आफूले तयारी गरेको विषयको पुस्तक वा नोट झिकिहाल्छन् अनि पढ्न थाल्छन् । प्रायः गरेर २४ माथि अनि ३५ वर्षभन्दा तलको उमेर समूहका यिनीहरूमध्ये केटाहरूले प्रायः दाह्री पालेका हुन्छन्, प्रायःजसोको आँखा वरिपरी डार्क सर्कल हुन्छ, अनिदो, पढाइ अनि तनावले । छुटाउन नहुने अर्का यात्रुगण छन्— ११ र १२ कक्षामा पढ्ने विद्यार्थी यात्रुगण ।

यी हल्ला गरेर आतंक मच्चाउने किशोर–किशोरीहरू हुन्, अगाडि सिट खाली भए पनि सबैभन्दा पछाडि बस्न रुचाउने यिनीहरू जिन्दगीलाई बिन्दास तरिकाले जिइरहेका संसारकै सर्वाधिक बिन्दास प्राणी हुन् भन्दा फरक पर्दैन । ठूलो स्वरमा बोल्ने, सानो कुरामा पनि गलल्ल हाँस्ने, हाइफाइ रुचाउने । टिचरलाई गाली गर्नु, साथीहरूको मजाक उडाउनु, सिटमा एउटाको काखमा अर्को बस्नु, केटा–केटीले एक अर्काको हात समातेर यात्रा गर्नु यिनीहरूको विशेषता नै हो ।

प्रकाशित :वैशाख २९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्