अनुको अपेक्षित संन्यास

- साप्ताहिक संवाददाता

वैशाख २८, २०७६

विराटनगरमा भएको वुमेन्स साफ च्याम्पियन्सको तयारी चलिरहँदा टिमको कप्तान अरू कोही होइन, अनु लामा नै थिइन् । प्रतियोगिता सुरु हुनु केही दिनअघि मात्र उनले मिडियाको सामना गर्दै भनेकी थिइन, ‘टिमको तयारी राम्रो छ, हामी आफ्नै भूमिमा पहिलो पटक उपाधि जित्न सक्षम छौं ।’ त्यसको केही दिनपछि समाचार आयो, प्रतियोगिता खेल्ने टिमको अन्तिम सूचीमा अनुको नाम छैन । एक प्रकारले स्तब्ध बनाउने समाचार थियो, त्यो ।

नेपाली महिला राष्ट्रिय टिमको लामो समय सेवा गरेकी खेलाडीका लागि पनि त्यो सपना टुटेको क्षण थियो । अनु स्वयंले पनि आफू टिममा पर्दिनँ भन्ने कल्पनासम्म गरेकी थिइनन् । हुन त केही समयअघिदेखि उनी चोटग्रस्त थिइन्, तर स्थिति त्यस्तो पनि थिएन कि उनी प्रतियोगिता नै खेल्न नसकून् । त्यस्तै गम्भीर चोट थियो त उनी टिमको तयारीमा किन महत्त्वपूर्ण सदस्य हुन्थिन् ? एक प्रकारले आवेशमा आएर अनुले भनिहालिन्, ‘अब म नेपाली राष्ट्रिय टिमबाट खेल्दिनँ ।’

प्रतियोगिताको ठीक अघि त्यो खासै ठूलो समाचार भएन । केही दिनअघि मात्र अखिल नेपाल फुटबल संघले एन्फा डे मनायो र त्यसक्रममा अनुले पाइन्, एवार्डसँगै १५ लाख रुपैयाँ । यो एक प्रकारले साफ च्याम्पियनसिपमा उनी नपरेको क्षतिपूर्ति थियो, त्योभन्दा पनि उनले नेपाली महिला फुटबलमा गरेको सेवाको वास्तविक पुरस्कार थियो । जे होस्, ३२ वर्षीया अनुले फेरि एकपटक भनिन्, ‘अब मैले संन्यास लिएँ, नेपाली महिला राष्ट्रिय टिमबाट ।’

जति बेला उनले एवार्ड थापिन्, उनको अनुहारमा मिश्रित प्रतिक्रिया थियो । एकातर्फ उनी खुसी थिइन्, एवार्ड पाएकोमा । अर्कातर्फ उनको अनुहारमा दुःखको भाव पनि देखिन्थ्यो, विराटनगरमा खेल्न नपाएकोमा । भनिन्छ, कुनै पनि स्टार खेलाडीका लागि पनि आफ्नो खेल जीवनको अन्त्य कहिल्यै सहज हुँदैन । अझ भनौं, त्यस्ता खेलाडीको खेल जीवनको विरलै सुखद अन्त्य भएको छ । यसकै अर्को उदाहरण भइन् अनु पनि ।

अनु नेपाली महिला फुटबलले पाएका अहिलेसम्मका खेलाडीको सूचीमा केही अब्बल खेलाडीमध्ये पर्छिन् । उनले यस्तै मीठो बिदाइ पाउनुपर्ने थियो, तर त्यो सम्भव भएन । यसमा अनुलाई सधैं गुनासो रहने नै छ । अनुसँग जोडिएर आउने सबैभन्दा ठूलो तथ्य हो, उनी नेपाली महिला टिमका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् अर्थात् ३१ गोल । ढिलो–चाँडो यो कीर्तिमान भंग होला, तर यति धेरै गोल गर्ने खेलाडीले नेपाली टिमको कति सेवा गरेकी होलिन्, सजिलै अनुमान गर्न सकिन्छ ।

अनुको खेल जीवनले अहिले १५ वर्ष छुन थालेको छ र त्यसमध्ये लगभग एक दशक उनी नेपाली राष्ट्रिय टिममा रहिन् । यसबीच उनी लगातार पहिलो रोजाइकै खेलाडी भइन् । सन् २०१५ मा भने उनको खेल जीवनमा त्यति बेला निर्णायक मोड आयो, जति बेला उनको घुँडामा चोट लाग्यो र उनले आफ्नो स्वभाविक लय समात्न सकिनन् । त्यो चोटबाट मुक्त हुन उनले शल्यक्रिया गराइन् र एक वर्ष आराम गरिन् ।

यद्यपि उनी फेरि उही पुरानो अनुजस्तो खेलाडी भने रहिनन् । सन् २०१७ मा उनले फेरि राष्ट्रिय टिममा पुनरागमन गरिन्, तर त्यति बेलासम्म नेपाली महिला फुटबलको परिस्थितिमा धेरै परिवर्तन आइसकेको थियो । सन् २०१० मा ढाकामा भएको दक्षिण एसियाली खेलकुदका क्रममा अनुले पहिलो पटक राष्ट्रिय टिमबाट खेलेकी थिइन । त्यो त्यही समय थियो, जति बेला नेपाली महिला टिमले ११ वर्षको अन्तरमा अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेको थियो ।

त्यति बेला टिमकी कप्तान थिइन्, जमुना गुरुङ । उनीहरूको जोडी खुबै जमेको थियो, फरवार्डका रूपमा । अनुले कुल २८ क्याप जितिन् र त्यसक्रममा गरिन्, चार ह्याट्रिक पनि । उनकै नेतृत्वमा नेपालले १२ औं दक्षिण एसियाली तथा तेस्रो साफ च्याम्पियनसिप खेलेको थियो । उनी एपीएफकी खेलाडी पनि हुन् र अब उनले केही समय त्यही टिमबाट घरेलु फुटबल भने खेल्नेछिन् । यो उनको मनको पीडा भुलाउने राम्रो बहाना पनि हो । 

प्रकाशित :वैशाख २८, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्