२० वर्षपछि द कमान्डो हिरोको कम्ब्याक

- साप्ताहिक संवाददाता

वैशाख २८, २०७६

एउटा कर्मठ इमान्दार कमान्डो फौजीलाई चरम जालझेलमा पारेर जागिरबाट निकालिन्छ । नेपालआमा र आफ्नो माटोको कसम खाएर सेनामा होमिएको त्यो पात्र सूर्य, बिनाबर्दी पनि आफ्नो माटोको अस्तित्व बचाउन नेपालीमनको कमान्डो बनेर लड्छ र गुमेको भूमिफिर्ता ल्याउँछ । आजभन्दा २० वर्षअघि निर्मित चलचित्र द कमान्डो’ को कथा हो यो । खतरनाक द्वन्द्वका दृश्य समेटिएको कमान्डोका नायक हुन्— राजकुमार राई । खोटाङ, धरान, हङकङ, बेलायत हुँदै क्यानाडासम्मको यात्रामा राजकुमारले जीवनका थुप्रै आयामलाई नजिकबाट नियालिसकेका छन् । मोफसलको पीडा र दुर्गमता हुँदै युरोपको अत्याधुनिकतासँग आफूलाई अभ्यस्त बनाएका राजकुमार चलचित्रमा अभिनय गर्नु संयोग मात्र भएको बताउँछन् । तेक्वान्दोका पूर्व राष्ट्रिय खेलाडी राजकुमार एकताका हङकङको राष्ट्रिय टिमको सदस्य थिए । उनी तेक्वान्दोका हङकङ च्याम्पियन हुन् । सन् १९८४ र १९८५ मा हङकङलाई गोल्ड मेडल दिलाएका राजकुमारसँग अनोज रोक्काको जम्काभेट :

आराम हुनुहुन्छ ?

ठीक छु, दैनिक शारीरिक अभ्यास र सकारात्मक सोचले आफूलाई जवान महसुस गर्छु । 

अहिले कहाँ के गर्दै हुनुहुन्छ ?

म हाल परिवारसहित क्यानाडामा बस्छु । ब्यवसायिक खेलकुदबाट लामो समय टाढा भए पनि खेलप्रतिको लगावलाई मनबाट निकाल्न नसकिने रहेछ । क्यानाडामा तेक्वान्दो कोचका रूपमा निरन्तर ट्रेनिङ दिइरहेको छु । मेरा विद्यार्थीमा ६ वर्षदेखि ६५ वर्षसम्मका क्यानेडियन नागरिक छन् ।

विदेशमा खेलप्रतिको लगाव कस्तो पाउँनुभयो ?

वास्तवमा विदेशमा खेल खेल्नुलाई हार र जितभन्दा पनि स्वास्थ्य ठीक राख्ने उपयुक्त माध्यमका रूपमा लिइन्छ । खेलकुदलाई विदेशीहरू जीवनको अभिन्न पाटो मान्छन् । मानसिक रूपमा फिट रहन र तनावबाट मुक्त हुन पनि धेरैले खेलकुदकै सहारा लिन्छन् । 

आफ्नो खेल–कौशल आफ्नै देशमा खर्चन पाए हुन्थ्यो जस्तो लाग्दैन ?

अवश्य लाग्छ । म क्यानाडामा बसे पनि मन नेपालमै छ । यहाँ पैसा, इज्जत भए पनि आफ्नोपन पाइँदैन, जुन म खोजिरहेछु । 

खेलप्रति कसरी आकर्षित हुनुभयो ?

म खोटाङको सत्यश्वर गाविसमा सन् १९६१ मा जन्मिएको हुँ । मेरो बाल्यकाल सुखद थिएन, पारिवारिक कारणले ढिलो स्कुल भर्ना भएँ । अन्य साथीहरूको तुलनामा बलियो थिएँ । धरानसम्म पनि नझरेको म सन् १९८० मा गाउँबाटै बिट्रिस आर्मीका लागि छनौट भए । फौजीमा गुरुहरूले मलाई जोर नाडी भएको वलिष्ठ सिपाहीका रूपमा चिन्नुहुन्थ्यो, म जुनसुकै स्पर्धामा पहिलो हुन्थे । तेक्वान्दो खेलप्रति अगाव भएकै कारण आर्मीमा हुँदा पनि लुकीलुकी तेक्वान्दो सिक्थें । 

तेक्वान्दोलाई कसरी व्यवसायिक खेलका रूपमा विकसित गर्नुभयो ?

अग्रज गुरुहरूको मद्दतले तेक्वान्दोका सीपहरू सिक्दै गएँ । मलाई लाग्यो कि यो कलालाई अब देशलाई चिनाउन प्रयोग गर्नुपर्छ । दिनभरिको शारीरिक अभ्यास र आर्मीका क्रियाकलाप पछि सवै साथीलखतरानभएर आराम गरेका बेला म एक्लै तेक्वान्दोको अभ्यास गर्थें । शरिरको कुनै पनि भाग बाँकी थिएन, जहाँ चोट नभएको होस्, तर मेरो मनमा एउटा लक्ष्य थियो रिङ्मा विदेशी खेलाडीहरूलाई तह लगाएर देशको झन्डा फहराउने । 

बिट्रिस आर्मीमा रहँदा गार्‍हो भएन, खेल र सैनिकको दैनिकी एकसाथ व्यतीत गर्न ?

अवश्य गार्‍हो भयो तर आर्मीमा पनि खेलमा रुचि हुनेहरूका लागि राम्रो अवसर छ । आर्मीमा भर्ति भएसँगै सुरु भएको मेरो खेल जीवन १९८३ देखि व्यवसायिक रूपमा अघि बढ्यो । आर्मी जीवनमै रहँदा देशको लागि पदकहरू जित्नुभयो, फोर्सका लागि उत्कृष्ट योगदान पनि दिनुभयो, तर

रिटायड लाइफ किन विदेशमा बिताउँदै हुनुहुन्छ ?

म समयभन्दा अलिक अघि नै आर्मीबाट रिटायर्ड भए । आर्मीमा अझ पोस्टिङको सम्भावनालाई पन्छाउँदै सदाका लागि फौजीजीवन त्यागेर, देशमै केहि गर्ने उद्देश्य बोकेर आए पनि त्यो सम्भव भएन । सबैतिरबाट निराशा पाएँ र बिदेसिन बाध्य बनें । 

कस्तो निराशा ?

म राष्ट्रिय खेलाडी, कोच गर्न चाहन्थें, थप खेल्न चाहन्थें तर खिचातानी र चरम राजनीतिको चङ्गुलमा यसरी फसे कि मलाई आफ्नो खेल जीवनप्रति नै वितृष्णा लाग्न थाल्यो । एउटा खेलाडीले आफ्नो खेल देखाउन पाएन, सिकाउन पाएन भने के हुन्छ ? हो म निराशा र हीनताबोधको सिकार भए । दैनिक जीवनलाई सहज बनाउन केही गर्नुपर्ने बाध्यताले अन्ततः फेरि बिदेसिएँ । 

त्यो बेथितिविरुद्ध किन बोल्नुभएन ?

कसले सुन्ने हाम्रो बोली ? सबै आ–आफ्नो तालमा मस्त छन् । गोर्खा दक्षिणबाहु तेस्रो र पाँचौंबाट सम्मानित म साउथ एसियन बडिबिल्डङ प्रतियोगितामा नेपालबाट सहभागी हुने पहिलो खेलाडी थिए । मलाई राज्यले दिएको यही सम्मानले सदैव ऋणी बनाउँछ, तर पटक–पटकको प्रयासमा पनि मलाई देशले खेलाडीेको स्थान दिएन, यो गुनासो वा निराशा होइन, देशकै लागि केही गर्ने हुटहुटी हो ।

अब चलचित्रको कुरा गरौं । कसरी आउनुभयो रंगिन दुनियाँमा ?

मेरो फिल्मयात्रा पनि कम रोचक छैन । जीवनमा कहिल्यै पनि ग्ल्यामरस दुनियाँमा नभिजेको म एकैपटक अभिनयको प्रस्ताव आउँदा दंग परे । साथीहरूको लगानीमा बनेको द कमान्डोमा मेरो भूमिका आर्मीको अनि त्यसमा अत्यधिक द्वन्द्व भएका कारण गर्न सक्छु भन्ने लाग्यो । पहिलो चलचित्र द कमान्डोबाट मैले नसोचेको परिचय पाएँ, अहिलेसम्म पनि मलाई भेट्नेहरूले तपाईं द कमान्डोको हिरो होइन ? भन्छन् । 

तपाईंको चलचित्र हेर्ने दर्शकहरूको प्रतिक्रिया कस्तो छ ?

म हेन्डसम पनि होइन, तर मनको पवित्र छु, मलाई फोन, म्यासेजमार्फत शुभचिन्तकहरूले फेरि पनि अभिनयमा फर्कन सल्लाह दिनुहुन्छ । 

तयारी कस्तो छ त ?

अब चाँडै अभिनयमा फर्कन्छु । शरीरलाई अझ फिट देखाउन वर्कआउट गरिरहेको छु, सँगै अभिनय कक्षा पनि लिइरहेको छु । २० वर्षपछि फर्कंदा दर्शकलाई निराश पनि बनाउनु भएन । हामीले हलिउड स्तरको टेक्नोलोजी, विविधभाषामा डविङलगायतका कुरामा ध्यान दिइरहेका छौं । उत्कृष्ट लगानीसँगै आफ्नो चलचित्रलाई विदेशी चलचित्रसँग तुलना गर्न योग्य बनाउँछौं । 

कहिले सुरु होला तपाईंको यो ड्रिम प्रोजेक्ट ?

हामी स्क्रिप्टमा काम गरिरहेका छौं । अहिले म ५७ वर्ष पुगें । म आर्मी फिल्डको भएकाले कथा आर्मी र द्वन्द्वकै वरिपरि घुमेको छ । आफूलाई चलचित्रको क्यारेक्टरमा फिट देखाउन पनि मेहनत गरिरहेको छु । अन्तर्राष्ट्रिय स्तरको यो प्रोजेक्ट पक्कै सफल हुनेछ ।

 

प्रकाशित :वैशाख २८, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्