अमेरिकामा नेपालीको पिकनिक 

- साप्ताहिक संवाददाता

वैशाख २६, २०७६

अरू बेला सितिमिति भेटघाट गर्न मुस्किल । सबै आ–आफ्नो काममा व्यस्त । बिदाको समयदेखि नेपाली चाडपर्वहरूमा नेपालीहरूमाझ भेटघाटसँगै मनोरञ्जनका लागि अमेरिकामा पिकनिक संस्कृति मौलाउँदै गएको छ । जाडोको तुलनामा अहिलेको गर्मीमा पार्कलगायत शीतल ठाउँको खोजी गर्दै नेपालीहरू पिकनिकमा रमाउने क्रम बढेको छ । विशेष गरी नेपाली चाडपर्व, दसैंतिहार, नयाँवर्ष लगायत अन्य बिदाको समयमा नेपालीहरू पिकनिक आयोजना गरेर रमाइलो गर्छन् । 

एक–आपसमा भेटघाटसँगै साताभरिको कामको ह्याङ ओभरलाई हटाउन पिकनिक उपयुक्त माध्यम भएको यसमा रमाउनेहरूको धारणा छ । पछिल्लो क्रममा पार्टी कल्चरसँगै पिकनिक पनि अमेरिकामा रहेका नेपालीहरूको मनोरञ्जनको माध्यम भएको छ । खाने–पिउने सँगै नाचगान र नेपाली संस्कृति झल्कने पहिरन समेत लगाएर तन्नेरीहरू यस्ता कार्यक्रममा सहभागी हुन्छन् । 

‘पिकनिकमा खाने–पिउने त एउटा बहाना मात्र हो, नेपाली–नेपालीबीच भेटघाट, रमाइलो र आफ्नो संस्कार र संस्कृतिलाई एक–आपसमा आदान प्रदान गर्ने माध्यम पनि भएको छ यो,’ गण्डकी ग्रुपका संयोजक दिलीप सुवेदीले भने– ‘पिकनिक पनि यहाँ सांस्कृतिक र पार्टी कल्चरका रूपमा विकास हुँदै गएको छ ।’ 

सुवेदीका अनुसार यस्ता कार्यक्रममा नेपाली परम्परागत बाजामा नाच्ने–गाउने प्रचलनले व्यापकता पाउँदै गएको छ । अमेरिकामा रहेका खुल्लापार्कदेखि तालहरूमा विकेन्डमा रमाउने नेपालीहरूको संख्या दिनानुदिन बढिरहेको छ । 

यसले नेपाली मौलिकतासँगै नेपाली खानालाई पनि प्रर्वद्धन गर्दै आएको छ । पिकनिकमा नेपाली गीत संगीतलाई प्रर्वद्धन गर्न नेपाली गीत नै बजाउने गरिएको छ । सालको पात टपरी हुने गीतमा कम्मर भाँचिरहेको अवस्थामा टेक्सासको युलेस स्थित बियर क्रिकपार्कमा भेटिए पर्वतका नेत्र पौडेल । ‘विभिन्न चाडपर्वदेखि विशेष अवसरमा यसरी नै नेपाली समुदायले आयोजना गरेको पिकनिकमा सहभागी भएर मनोरञ्जन गर्दै आएको छु,’ असिन–पसिन पौडेलले भने ।

समुदाय तथा नेपाली संघसंस्थाहरूले यस्ता कार्यक्रम आयोजित गरेर सबैलाई एउटै थलोमा रमाउने वातावरण सिर्जना गरिरहेका छन् । गएको नेपाली नयाँ वर्षमा यहाँका पिकनिक स्पटहरू नेपाली समुदायले भरिएका थिए । त्यस्तै बिदाका अन्य दिन पनि नेपालीहरू जमघट हुने संस्कार मौलाउँदो छ । नेपाली समाज टेक्सासका अध्यक्ष सुमन थापाले भने– ‘बार्‍है मास पिकनिक गरेर मनोरञ्जन गर्ने क्रम बढ्दो छ ।’

 

प्रकाशित :वैशाख २६, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्